नेपाल आइडल: पुराना र नयाँ आइडलको संयुक्त भिडन्त

शुक्रबार, २३ फागुन २०७६, १२ : १८ शुक्रवार
नेपाल आइडल: पुराना र नयाँ आइडलको संयुक्त भिडन्त

यो साता नेपाल आइडल सिजन ३ मा सिजन २ का टप प्रतियोगीसँग अहिलेका प्रतियोगीलाई भिडाइएको थियो। सिजन ३ ले सिजन वनको जस्तो दर्शकको मनमा डेरा जमाउन नसकिरहेको बेला आयोजकले चलाखी गरे। पुराना प्रतिस्पर्धीहरुलाई नयाँसँग भिडाएर आइडलको माहोल तताउन खोज्यो।

एपिसोड एक्काइसमा उनीहरुलाई यसरी निम्याइएको थियो। पहिलो गायनमा केल्भिन ग्लान तामाङ र अमित बरालले ‘म त तिम्रै हो’ गाएका थिए। अहिले नेपाल आइडलमा प्रतिस्पर्धीमध्ये केभिन दह्रो बन्दै जान थालेका छन्। केभिनको प्रस्तुति सुनेपछि जज कालीले यस्तो प्रस्तुति हेर्न बाहिर गएको भए टिकट काट्नु पर्नेथियो भन्दै प्रशंसा गरेका थिए।

त्यस्तै मेगा श्रेष्ठ र सिजन वनका प्रताप दासले ‘ए मेरो हजुर ३’को गीत गाएका थिए। गोल्डेन माइक होल्डरसमेत रहेकी मेघाको प्रस्तुति पनि कम देखिएको छैन। यी दुईको युगल गायन निकै जमेको देखियो। दुईको गायनबाट प्रभावित अडियन्स उठेर रेस्पेक्ट गरेका थिए।

बुद्धले गरे जजकै क्यरिकेचर
त्यस्तै अर्की प्रतिष्पर्धी रचना रिमालसँग गायक बुद्ध लामाले ‘मेरी आमा’ गाए। यो गीतमा रचना र बुद्ध जमेको देखियो। गायनलगत्तै बुद्ध लामाले जज न्ह्युको क्यारिकेचर गरेका थिए। ‘आधि बाटो हिँडेपछि’ बोलको गीत गाएर जज न्ह्युलाई उडाएका  थिए। 

त्यस्तै अर्का प्रतिस्पर्धी किरण भुजेललाई सिजन २ की अस्मिता अधिकारीले साथ दिएकी थिइन्। यो जोडीले ‘तिम्रो मायाले बाँधेर राख’ गीतलाई बडो सुन्दर ढंगले प्रस्तुत ग-यो। अस्मिता र किरणले स्टेजमा नाचीनाची गाएर जज र अडियन्सको मन जिते।

त्यस्तै मुस्कान रानाभाटलाई सघाउनका लागि सिजन दुईका विजेता रवि ओड आइपुगेका थिए। यो जोडीले ‘दुई कौडीको बुद्धि’मा मुस्कानले निकै राम्रो गाएकी थिइन्।

अर्का प्रतियोगी प्रवीण बेडवाललाई निशान भट्टराईले साथ दिएका थिए। ‘लाउरे जाने रैला’ गाउँदा माहोलमा स्तर थपिएको महसुस गराएको थियो। प्रवीण नेपाल आइडल सिजन ३ को दाबेदार मानिएका छन्।

सिजन २ का सुमित पाठक र सिजन ३ का प्रतिस्पर्धी नेशन पुन मगरले ‘समाचार’ बोलको गीत प्रस्तुत गरेका थिए।

यस्तै सज्जा चौलागाई र विक्रम बरालले ‘गल्ती’ बोलको गीत गाए। यो गीतमा यो जोडी यति जम्यो कि जजहरु स्टेजमा नै गएर बधाई दिए।
यही एपिसोडबाट झापाकी रचना रिमाल प्रतिस्पर्धाबाट आउट भइन्।

एपिसोड बाइसमा मुक्ति शाक्य अतिथिका रुपमा आएका थिए। ‘डल्ली रेशम’ हिट गीतका गायक रोमान्टिक मुडमा थिए। अब आइडलमा सात जना प्रतिस्पर्धी बाँकी रहेका छन्।

Leave A Comment