पृथक् भक्तपुरे गाईजात्रा

शुक्रबार, ०३ भदौ २०७३, ०१ : १० सृजना खड्का , Kathmandu
पृथक् भक्तपुरे गाईजात्रा

‘देशका कतिपय पम्परागत संस्कृतिहरू मरेर गए । तर, मरेर गएका व्यक्तिहरूको सम्झनामा हरेक वर्ष मनाइने गाईजात्रा पर्व भने मरेको छैन । बरु, थप जीवन्तता पाउँदै छ,’ भक्तपुरकी कृष्णेश्वरी खाताखोको यो भनाइले गाईजात्राको जीवन्त परम्पराको पुष्टि हुन्छ । नेवार समुदायले मनाउने भक्तपुरकोे गाईजात्रा दिवंगत व्यक्तिहरूको नामबाट हरेक वर्ष सुरु हुन्छ । जनैपूर्णिमादेखि कृष्णअष्टमीसम्म आठ रात नौ दिन (च्याचा गुन्हु) सम्म चल्ने यो जात्रा भक्तपुरको सांस्कृतिक पहिचानसँग जोडिएको छ । वर्ष दिनभित्र दिवंगत भएका मानिसहरूको सम्झनामा मनाइने यस जात्राले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महŒव बोकेको संस्कृतविद् ओम धौभडेल बताउँछन् । ‘अन्य ठाँउभन्दा भक्तपुरको गाईजात्रा परम्परागत हुने भएकाले पृथक छ,’ उनी भन्छन्, ‘युवा वर्गले आत्मसात् गरेसम्म भक्तपुरको कला संस्कृति मर्दैन । बरु, मरेको व्यक्तिको नामबाट उक्त संस्कृति जुगाँैजुगसम्म अमर हुन्छ ।’
गाईजात्रा नेपाली समाजको एक महŒवपूर्ण सांस्कृतिक पर्व हो । नेवार संस्कृतिबाट सुरू भएको यो जात्रामा नेवार समुदायबाट पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गरिन्छ । नेपाल भाषामा ‘सापारु’ भनेर मनाउने यो पर्व नेवारहरूको मौलिक पर्व हो । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर मनाइने भएकाले यस पर्वलाई गाईजात्रा भनिएको हो । भक्तपुरको सांस्कृतिक महŒव बोकेको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ । गाईजात्राको अवसरमा सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाइने चलन छ । ऐतिहासिक प्रमाणअनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोकको सामना गर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरबाट मरेका व्यक्तिहरूको नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएका थिए । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
गाईजात्रा एक मनोवैज्ञानिक उपचार
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार संस्कृति भनेको जीवनमूलक हुनुपर्छ । ‘यदि यो जीवनमूलक भएन भने त्यो संस्कृति होइन विकृति हो,’ उनी भन्छन्, ‘नेवार समुदायले मनाउने गाईजात्राको मर्म प्रत्यक्ष रूपमा मानिसहरूको जीवनसँग एकदमै निकट छ । गाईजात्रा कुनै खुशियाली वा रमाइलो क्षण होइन । वर्ष दिनभित्र दिवंगत भएका व्यक्तिहरूको नामबाट उसको परिवारले सञ्चालन गर्ने पर्व हो ।’ गाईजात्रा दिवंगत व्यक्तिको नामबाट सञ्चालन हुने पर्व भए पनि त्यहाँभित्र भक्तपुरको कला संस्कृतिहरू जीवन्त रहेको उनी बताउँछन् । ‘सबैको घरमा मान्छे मरेको हुन्छ । त्यो समय भनेको मान्छेले आफूलाई आत्मसंयमित बनाउनुपर्ने समय हो । मान्छे मरिरहेका छन् तर पनि मानिसहरू खुशीसाथ रमाइलो गरिरहेका छन् । यो जात्राको प्रमुख विशेषता हो,’ उनी भन्छन्, ‘जात्रामा मान्छे म¥यो भनेर खुशीयाली मनाएको होइन । त्यो पीडा वा विरह भुलोस् भन्नका लागि ठट्यौली गरिएको हो । आफ्नो मान्छे गुमाएर शोक मनाएर बसेका परिवारका लागि यो एक प्रकारको मानसिक उपचार नै हो । दुःखलाई शक्तिमा बदल्नुपर्छ भन्ने खालको सन्देश बोकेको पर्व गाईजात्रा हो ।’
ताहामचा र साँचाभित्रको वास्तविकता
भक्तपुरको गाईजात्रामा वर्ष दिनभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात् डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको नाममा ताहामचा अर्थात् चारवटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामचालाई मृतकका घरको मूल ढोकाअगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधिबमोजिम पूजा गराइ नगर परिक्रमा गराइने धौभडेल बताउँछन् । महिलाको ताहामचामा हाकुपटासी र गरगहनाहरू लगाएर बनाइएको हुन्छ भने पुरुषहरूकोमा भने सेतो कपडाले बेरेर बनाउने गरिन्छ । त्यस्तै कतिपयले ताहामचा र साँचामा मृतकको फोटो पनि टाँस्ने गरेको पाइन्छ । गाईजात्राको वैज्ञानिक महŒवबारे प्रष्ट पार्दै ग्वंग भन्छन्, ‘हरेक वर्ष नगरमा मृत्यु भएका मानिसहरूको तथ्यांक राख्नका लागि पनि यस्तो खालको परम्परा चलिआएको हो । ताहामचा र साँचाको माध्यमबाट नगरमा मृत्यु भएका महिला, पुरुष र बालबालिकाहरू सबैको एकमुष्ट तथ्यांक आउँछ । त्यसैले पनि यो पर्व मानिसको जीवनसँग जोडिन जान्छ ।’ गाईजात्रा भनेको मरणको तथ्यांक निकाल्ने प्रविधियुक्त संस्कृति हो जसले नगरका मानिसहरूको मृत्युदर आर्कषक ढंगबाट निकाल्नका लागि मद्दत पु¥याउने ग्वंगको भनाइ छ । गाईजात्राको अघिल्लो दिन नै भक्तपुरको दरबार क्षेत्रबाट घिन्ताङघिसी नाच निकाल्ने गरिन्छ । भक्तपुरको गाईजात्राको प्रमुख आर्कषण घिन्ताङघिसी नाच हो । यो नाच विशेष तयारीका साथ कलात्मक शैलीमा हुने गर्छ । यसमा सहभागीहरूलाई नचाउनका लागि दुई सातादेखि अभ्यास गरी गाईजात्राको दिन निकालिन्छ ।

 

Leave A Comment