युट्युवरको कमाइ

सोमबार, २६ फागुन २०७६, ११ : ५८ सुरज खड्का
युट्युवरको कमाइ

पछिल्लो आधा दशकदेखि नेपालमा युट्युवको क्रेज थामिनसक्नु भएको छ। युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु आजभोलि छ्याप्छ्याप्ती छन्। युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातिसँगै आम्दानीमा पनि मालामाल छन् युट्युवरहरु।

युट्युवबाट आम्दानी राम्रै हुन थालेपछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजाइन गर्न सक्ने हजाराैं युवायुवती च्यानल खोलेर युट्युवमा भिडियो हाल्न थालेका छन्। युट्युवमा भिडियो हाल्नेमा कलाकार, पूर्व मिस नेपाल, पत्रकारदेखि सामान्य युवायुवती पनि उत्तिकै छन्। सेसन बानियाँ, पूर्व मिस नेपाल शृंखला खतिवडा, उत्सव रसाइली, अनुप भट्टराई, भाग्य न्यौपाने, शिशिर भण्डारी, विश्व लिम्बुलगायत अहिले युट्युवमा नेपाली भिडियो हेर्ने दर्शकका लागि परिचित नाम हो।

कति हुन्छ कमाइ ?
युट्युवमा नियमित भिडियो हाल्ने र राम्रो भ्यूज जाने च्यानलबाट रामै आम्दानी हुने युट्युवर उत्सव रसाइलीले बताए। रमाइलो छ डटकम अनलाइनसमेत चलाइरहेका उनले युट्युवमा भिडियो अपलोड गर्नकै लागि पुतलीसडकको स्टार मलमा अफिस समेत राखेका छन्। रेडियो, अनलाइन हुँदै युट्युव च्यानल सुरु गरेका उत्सवले सुरुवातीको केही समय मज्जाको टिभीमा काम गरे। करिब १ वर्ष मज्जाको टिभीमा काम गरेपछि युट्युवमा रमाइलो छ नाउँको च्यानल बनाएको उनले सुनाए। चलचित्र र संगीत क्षेत्रसँग सम्बन्धित उनले गरेका रमाइला र अनौपचारिक भिडियोलाई दर्शकले रुचाए। १ वर्षमै उनले २ लाखभन्दा बढी सब्सक्राइबर पनि बटुले। युट्युवको कमाइले सन्तुष्ट देखिएका उनी भन्छन्, ‘यसैबाट स्टारमा अफिस र स्टाफको २ लाख रुपैयाँभन्दा बढीको मासिक खर्च मज्जाले पुगेको छ।’ लगभग तीन लाख जति महिनामा कमाइ हुन्छ।

चार लाख सब्सक्राइबर पुग्न लागेको च्यानल फिल्मी न्युजका सञ्चालक हुन् अनुप भट्टराई। उनको च्यानल पनि धेरै भ्यूज हुने च्यानल मध्ये एक हो। कन्टेन्टमा अनुपले अन्य धेरै च्यानलभन्दा अलि बढी नै मिहिनेत गर्ने गरेका छन्। उनको च्यानलले पनि हरेक महिना ३ लाख रुपैयाँभन्दा बढी कमाइरहेको छ। अनुप भन्छन्, ‘कमाइसँगै भिडियो बनाउनका लागि पनि राम्रै खर्च भइरहेको छ।’

कुनै महिना आफ्नो च्यानलको कमाइ ५ लाख रुपैयाँभन्दा माथि जाने समेत अनुपको भनाइ छ। च्यानलको कमाइको बारेमा उत्साहित हुँदै उनले भने रवि लामिछाने पक्राउ प्रकरणका बेला त मेरो च्यानलको भिडियोको भ्यूज अचाक्ली नै बढ्यो, ५ दिनमै ६०, ७० लाखभन्दा बढी भ्यूज पुग्यो।’ रवि लामिछाने प्रकरणको बेला च्यानलको मासिक आम्दानी ५ लाख नाँघेको उनले बताए।

युट्युवर शिशिर भण्डारीको च्यानल पनि युट्युवमा राम्रो कमाइ गर्ने च्यानल हो। भण्डारी युट्युव हेर्ने नेपाली दर्शकमाझ समस्यामा परेकाहरुको उद्धारको रुपमा समेत परिचित छन्। उनले विभिन्न समस्या परेका सर्वसाधारणको बारेमा बनाएको भिडियोबाट प्रभावित भई देशविदेशमा बस्ने नेपालीहरुले सहयोग रकम पठाउने गर्छन् र त्यसरी जम्मा भएको रकम पीडितसम्म पु-याउने माध्यम भण्डारी बनिरहेका छन्। सोसियल ब्लेडका अनुसार उनको च्यानले मासिक ६० हजारदेखि १० लाख रुपैयाँ आम्दानी गरिरहेको छ
शिसन बानियाँ पनि चर्चित नेपाली युट्युवर हुन्। उनले युट्युवमा उच्च क्वालिटीको भिडियो अपलोड गर्दै आइरहेका छन्। सोसियल ब्लेडका अनुसार बानियाँको च्यानलको मासिक आम्दानी कम्तीमा ६० हजारदेखि १० लाखसम्म हुन्छ।

आम्दानीसँगै प्रसिद्धि पनि
धेरै युट्युवरहरुको फ्यान फलोइंग निकै राम्रो रहेको छ। हिजोआज बरु टेलिभिजनका प्रस्तोताहरुलाई आम मानिसले नचिन्लान् तर धेरै युट्युवरहरुको अनुहार अहिले दर्शकमाझ स्थापित बनेको छ। उत्सव रसाइली, भाग्य न्यौपाने, शिसन बानियाँ, सबिन कार्की, आयुष रिमाललगायतका युट्युवरहरुले अहिले युट्युवबाटै सार्वजनिक परिचय बनाउन सफल भएका छन्। विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पुग्दा सेल्फी लिने, तपाईको कार्यक्रम नियमित हेर्ने गर्छु जस्ता प्रतिक्रिया पाउने गरेको उत्सवले बताए।

चुनौती र दुःख पनि उस्तै
युट्युवमा भिडियो हालेर पैसा कमाउन सोचेजस्तो सहज नभएको भट्टराई बताउँछन््। नियमित र अरुभन्दा फरक कन्टेन्ट हाले मात्रै भ्यूज जाने उनले बताए। युट्युवले समय समयमा आफ्नो नियममा गर्ने परिवर्तनले पनि तनाव दिने गरेको उत्सव बताउँछन्। उत्सव भन्छन्, ‘कतिबेला के नियम आउँछ थाहै हुँदैन।’

युट्युवे भनेर गरिएको सम्बोधनप्रति पनि उनीहरुको चित्त दुखाइ रहेको छ। आफूहरुले सिकिरहेको र सुरुवाती चरण भएकाले केही गल्ती भएको अधिकांश युट्युवरको भनाइ छ। युट्युवरका कारण कतिपय घटनामा अतिरञ्जना फैलिरहेको र प्रहरी प्रशासन नै अलमलमा पर्ने अवस्था आएको न्युज २४ का केन्द्रीय ब्युरो प्रमुख राजु श्रेष्ठले आरोप लगाए। आफ्नो भिडियो भाइरल बनाउने होडमा कतिपय युट्युवरहरुले घटनाको सत्यतथ्य नबुझी आफ्नौ स्वविवेक प्रयोग गर्दा धेरै घटना अतिरञ्जित बन्न पुगेको श्रेष्ठको भनाइ छ। स्थापित ठूला मिडिया जस्तो आफुहरुसँग सबै संयन्त्र नभएका कारण कहिलेकाँही कतिपय घटनाहरुको भिडियो बनाउँदा मिसगाइड भएको उत्सवले स्वीकार गरे।

सिस्टममा गर्ने परिवर्तनले पनि कुनैबेला तनाव दिने गरेका छन्।  ‘कुनै महिना त एकदमै कम पैसा आउँछ, त्यस्तो बेला मानसिक तनाव पनि हुन्छ।

कसरी आउँछ युट्युवमा पैसा ?
युट्युवमा भिडियो हालेर पैसा कमाउने हो भने सुरुमा च्यानल मोनेटाइज भएको हुनु पर्छ। च्यानल मोनेटाइज हुनका लागि केही मापदण्ड छन्। च्यानल मोनेटाइज हुन सबैभन्दा पहिला च्यानलमा १ हजार सब्सक्राइबर पुगेको हुनु पर्छ। त्यसपछि च्यानलमा ४ हजार घण्टा वाच टाइम पनि पुगेको हुनु पर्छ। यति भएपछि मात्रै आफ्नो च्यानल मोनिटाइज गर्न सकिनेछ। सम्पूर्ण मापदण्ड पूरा गरी च्यानल मोनिटाइज भएपछि मात्रै युट्युवमा अपलोड गरिएको भिडियोले पैसा कमाउन सक्छ। मोनेटाइजेसन भएको च्यानलमा अपलोड गरिएको भिडियोमा युट्युवले विज्ञापन राख्छ। त्यसरी राखिएको विज्ञापनहरुबाट नै हो पैसा कमाउने।

कति पैसा कमाउँछ भिडियोले ?
युट्युवमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको छ। पैसा कति कमाउने भन्ने मुख्य गरी दुई कुरामा निर्भर रहेको छ। भिडियोहरुको प्रकार र विज्ञापनहरुको मूल्यले भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ। नेपालबाट अपलोड गरेको भिडियोहरुको ट्रेण्ड हेर्दा ५ लाख भ्यूज भएको एउटा भिडियोले करिब ५ सय डलर कमाएको देखिन्छ।

युट्युवमा अपलोड गरिएका भिडियोहरुको भ्यूज, सब्सक्राइबर लगायतका विविध रेकर्डमार्फत सोसियल ब्लेडले च्यानलहरुको आम्दानी र र्यांकिंग गर्ने गरेको छ। सोसियल ब्लेडले देखाएको आम्दानीको डाटा आधिकारिक नभए पनि धेरै हदसम्म मिल्ने गरेको छ। सोसियल ब्लेडका अनुसार म्युजिक नेपाल नेपालको एक नम्बरको च्यानल हो। सोसियल ब्लेडका अनुसार नेपालका उत्कृष्ट १० युट्युव च्यानल यी हुन्।

टप १० नेपाली युट्युव च्यानल र आम्दानी
१. म्युजिक नेपाल              ४८ लाख         ४२४ देखि ६.८ हजार डलर
२. बुढासुब्बा डिजिटल      ३६ लाख ७.३ देखि ११६.१ हजार डलर
३. ओएसआर डिजिटल        ३० लाख         १५.८ देखि २५२.२ हजार डलर
४. न्युज २४  १५ लाख           २.६ देखि ४०.९ हजार डलर
५. मिडिया हब अफिसियल च्यानल  १५ लाख    ४.९ देखि ७८.३ हजार डलर
६. रामसार मिडिया प्रा.लि.  १५ लाख     २.५ देखि ३९.६ हजार डलर
७. तात्तातो खबर            १५ लाख         ३.३ देखि ३० हजार डलर
८. कान्तिपुर टिभी एचडी       १४ लाख  २.९ देखि ४७ हजार डलर
९. भ्वाइस अफ नेपाल          १४ लाख         २.४ देखि ३७.८ हजार डलर
१०. नयाँ नयाँ न्युज नेपाल      १४ लाख         ६३० देखि १०.१ हजार डलर


नेपाली टेलिभिजनका युट्युब च्यानलको आम्दानी
टेलिभिजनको युट्युव च्यानल       सब्सक्राइबर       आम्दानी
कान्तिपुर टिभी एचडी       १४ लाख               २.९ देखि ४७ हजार डलर
न्युज २४                    १५ लाख           २.६ देखि ४०.९ हजार डलर
एपी वान एचडी              २ लाख १३ हजार    ३०९ देखि ४.९ हजार डलर
हिमालय टिभी              ५ लाख ५२ हजार     २६५ देखि ४.२ हजार डलर
इमेज खबर               ३ लाख १७ हजार       ४२५ देखि ६.८ हजार डलर
एभिन्युज खबर   ३ लाख ६२ हजार    २५० देखि ३ हजार डलर
एबिसी न्युज नेपाल       १ लाख ६२ हजार          २३ देखि ३६५ डलर
माउन्टेन टिभी           १ लाख ४८ हजार           ३१ देखि ४९३ डलर
स्रोत:सोसियल ब्लेड

ठूला कम्पनीका लागि अनाकर्षक युट्युब
पछिल्लो समय नेपाली गीतसंगीतमा अडियो क्यासेट तथा सिडीको बजार ठप्प छ। क्यासेट तथा सिडी बजारबाट विस्थापित बनेपछि संगीतमा आबद्ध गायकगायिका तथा संगीत कम्पनीहरु युट्युब, आइट्युन, गाना, साउन्ड्स लगायतका डिजिटल प्लेटफर्ममा आश्रित भएका छन्। यस्ता विभिन्न डिजिटल प्लेटफर्ममध्ये नेपालीले सर्वाधिक हेर्ने युट्युब हो। अहिले हरेक म्युजिक कम्पनी तथा गायकगायिकाले आफ्नै युट्युब च्यानल बनाएका छन्। र, तिनै च्यानलमार्फत गीतको भिडियो तथा फिल्महरु युट्युबमा अपलोड गर्ने गरेका छन्।

युट्युब सित्तैमा कन्टेन्ट हाल्न र सुन्न÷हेर्न पाइने स्ट्रिमिङ माध्यम भएकाले धेरै आम्दानी नहुने म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा बताउँछन्। गुगलले राख्ने विज्ञापनअनुसार आम्दानीको अनुपात देशअनुसार फरक हुने भएकाले युट्युबको आम्दानी त्यति स्थिर नहुने शर्माको भनाइ छ। नेपालमा हेरिने भ्युजको कमाई शून्यजस्तै हुने शर्माले बताए।

दुई वा तीन जनाको समूहमा काम गर्नेहरुलाई युट्युबले सहज बनाइदिएको तर ठूलो कम्पनीका लागि भने यो त्यत्ति फाइदाकारक नभएको बुढासुब्बा डिजिटलका जनरल म्यानेजर विश्व खड्काले बताए। खड्काका अनुसार नेपालमा हेरिने कन्टेन्टमा गुगल एड धेरै नआउने भएकाले पनि पनि भ्युजअनुसार युट्युबबाट खासै आम्दानी हुँदैन। नेपालबाट सञ्चालित च्यानलमा हेरिने भिडियोहरुको भ्युज ६० प्रतिशत बढी नेपालबाटै हुने र बाँकी अन्य मुलुकबाट हुने खड्काको भनाइ छ। नेपाल बाहिरबाट हेरिएको भ्युजबाट नै युट्युब च्यानलले आम्दानी गर्ने उनले बताए।

नेपालबाहिर हेरिने युट्युबका भिडियोहरुमा सामान्यतः एक हजार भ्युज बराबर एक अमेरिकी डलर बराबर कमाई हुने गर्छ। भ्युज धेरै भएका र नेपाल बाहिरबाट हेरिएका भिडियोहरुले युट्युबमा ठीकै आम्दानी गर्ने ओएसआर डिजिटलका निर्देशक रुपेन्द्र खड्गीले बताए।

बुढासुब्बा डिजिटलका खड्का भन्छन्, ‘युट्युबमा चलेका गीतका भिडियोहरुले कुल लागतको ४० देखि ६० प्रतिशतसम्म आम्दानी गर्न सक्छन्।’ तर युट्युबमै गीत हिट भएको खण्डमा गायकगायिकाले विभिन्न सांगीतिक कार्यक्रमबाट थप आम्दानीको दायरा फराकिलो बनाउन सक्ने उनले बताए।

नेपालमा अहिले म्युजिक नेपाल, हाइलाइट्स नेपाल, बुढासुब्बा डिजिटल, ओएसआर डिजिटल लगायतका कम्पनीहरु सक्रिय रुपमा डिजिटल प्लेटफर्ममा गीत तथा फिल्मको व्यापार गरिरहेका छन्।

Leave A Comment