नेपाली फिल्म क्षेत्रमा चिरपरिचित नाम हो, रामबबाबु गुरुङ। पटकथा लेखन र निर्देशनको पाटोलाई व्यावसायिक रुप दिइरहेका गुरुङले ‘अनागरिक’, ‘कबड्डी’का तीन सिरिज, ‘पुरानो डुङ्गा’ लगायतका फिल्महरु प्रदर्शनमा आइसकेका छन्। व्यावसायिक रुपमा सफल पनि भएका छन्। उनैले निर्देशन गरेको ‘सेन्टी भाइरस’ अहिले सबैभन्दा बढी कमाउने फिल्ममध्ये बनेको छ। कम बोल्ने र हुलमुल खासै मन नपराउने उनै गुरुङसँग पुष्पा थपलियाले गरेको अन्तरंग कुराकानी:
कत्तिको व्यस्त हुनुहुन्छ ?
(हाँस्दै) नयाँ फिल्मको स्क्रिप्ट पढ्दै बसेको छु। (देखाउँदै)। सबैले हिमालको कुरा मात्रै फिल्ममा ल्यायो भनेर हैरान पारे, त्यही भएर नयाँ काममा तराईका कुरा समेट्ने कोसिस गरिरहेको छु। (स्क्रिप्टमा केरमेट निकै थिए।)
त्यही त ! मलाई पनि केही साथीले किन हिमालको सिन मात्रै खिच्याहोला, सोधेर आइज भनेका थिए। केही कारण छ कि ?
हेर्नुस्, मेरा पितापुर्खा हिउँमै जन्मेहुर्केका हुन्। मेरो बाल्यकाल पनि ओखलढुङ्गामा बित्यो। हामी भनेको पहिलेका भेडा गोठाले। मेरो बुबा कान्छो छोरो भएकाले लाहुर जान पाएनन्, त्यही भएर किसानी काम गर्नुप-यो। अहिले पनि उसको गुनासो त्यही छ। हामी गुरुङ भनेको बाइसे चौबिसे राज्य हुँदा सेना बनेर गएको र मन परेको जति डाँडै ओगटेर बसेका रैथाने बासिन्दा हौं। बुबा आफू लाहुरे हुन नपाएका कारण हामी दाजुभाइलाई जसरी पनि लाहुरे बनाउने अडानमा हुनुहुन्थ्यो। माहोल त्यस्तै भएपछि ब्रिटिस लाहुरे त बनेरै छाड्ने सपना थियो मेरो पनि। तीन चोटीसम्म ट्राई गर्दा पनि नभएपछि म पढाइलाई अगाडि बढाउन काठमाडौँ आएँ। आफू जताको हो, स्वाद पनि त्यतैको आउने रहेछ। यही कारण मलाई जातिवादी पनि भन्छन्, हिमालको कथा मात्रै भन्यो भन्छन्। यस्तो सुन्दा दुःख लाग्छ। अर्को कुरा, फिल्मको कथा मुस्ताङको चार किल्ला क्षेत्र भन्ने ठाउँको छ अनि तराईमा गएर फिल्म सुटिङ गर्ने कुरा पनि त आएन। कथाअनुसार फिल्म खिच्दा ब्याकग्राउन्डमा हिमाल आएकोले होला, नत्र त्यहीँ नै खिच्ने इन्टेन्सन हैन। मेरो पात्र कुन ठाउँमा, कुन समयमा कहाँ हिँडिरहेको छ, त्यो देखाउँदा हिमाल देखिन्छ कि, जंगल देखिन्छ कि, बनमारा देखिन्छ, त्यो मेरो सरोकारको कुरा भएन।
अहिले मसँग यति धेरै स्क्रिप्टको थाक छ, कुनै राम्रा स्क्रिप्ट छन्, कुनै नराम्रा। तर म आफूलाई कम्फर्ट लाग्ने र मेरो नेचर सुहाउँदो फिल्म मात्रै गर्छु।
तपाईंका फिल्ममा हल्का राजनीति देखिन्छन् नि ? रत्नराज्य पढेर हो ?
पोलिटिकल साइन्स पढेपछि हल्काफुल्का राजनीति त गर्नै प-यो ! अखिलका केही दाइहरु राजकुमार राई, यज्ञदाइ आदिसँग मेरो राम्रो सम्बन्ध थियो। यसको मतलब अरुसँग नराम्रो थियो भन्ने हैन। अखिलमा लागेर जुलुससुलुस नारासारामा पनि टन्नै हिँडियो। तर टायरै बाल्ने, भित्तामा उक्लिएर भाषण नै ठोकिहाल्ने भने गरिएन। त्यस्तो बानी हुन्थ्यो भने, नेता बन्थेँ हुँला।
२०५४ सालदेखि ०६२ सम्म आरआर पढ्नुभयो, त्यो बेला त निकै आन्दोलन हुन्थ्यो होला है ?
अँ, त्यो बेलामा माले र एमाले फुटेको थियो। क्रान्तिकारी विद्यार्थीका नेताहरु पनि एकदमै सक्रिय थिए। अहिले मन्त्री बनेकी बिना मगर (खानेपानी मन्त्री) छन् नि, हो उनकै पाला त थियो नि त्यो ! यति भएपछि, अहिलेको जस्तो शान्त आरआर कहाँबाट पाउनु।
राजनीतिप्रति झुकाव कसरी आयो त ?
सानै छँदा नै कम्युनिस्ट विचारधारामा झुकाव भएको। घरको माहोल त्यस्तै भएर पनि होला सायद। फेरि हाम्रा गाउँका दाइहरुका संगतको फल पनि हुनसक्छ। काठमाडौँ आएर आरआर पढिसकेपछि त साथीको असर नै हो। अहिलेसम्म पनि मेरो विचार कम्युनिस्ट नै छ, भलै म राजनीति गर्दिनँ।
अर्काले गरेका कामलाई खोट लगाउनुअघि आफू कुन धरातलमा उभिएको छु भन्ने कुरा पनि ख्याल राख्नुपर्छ। समीक्षक इमान्दार भइदिएनन्, त्यसमा उसको इगो, नियत घुस्यो भने त्यो गतिलो होइन।
धेरै घुलमिल नहुने बानीले निर्माता कसरी पट्याउनुहुन्छ त ?
मलाई आफू व्यापारी हैन, सर्जक हुँ जस्तो लाग्छ। म आफैँ पनि फिल्ममा लगानी गरिरहेको हुन्छु। अनि घुलमिल कम हुने भन्दैमा फिटिक्कै नहुने भन्ने हैन। केही साथीहरु छन् मेरा पनि तर अन्यको जस्तो निकै नजिकको सम्बन्ध चाहिँ हुँदैन। मैले साथी बनाउँछु भन्दा पनि मान्छेहरु मसँग नजिक हुँदैनन्। खै के भएको हो ! मैले बनाएका केही साथी पनि तँ त निकै मुर्ख जस्तो लाग्छ, बोल्न पनि डर लाग्ने खालको भन्छन्।
जो मान्छे कम बोल्छन्, उनीहरु बोलेपछि खुत्रुक्कै पार्छन् भनेर डराएका होलान् नि !
खै के हो, त्यस्तो पनि हुन्छ र ? फेरि तपाईंले भनेजस्तो गम्भीर स्वभावको पनि छैन म। मानिसहरुले टाढाबाट हेर्दा मात्रै त्यस्तो देखिन्छ होला। म खासमा एकदमै सामान्य छु। नचिनेको मान्छेसँग बोलुँबोलुँ खालको काउकुती लाग्ने पनि हैन, अनि बोलिहाले पनि केही छैन। सरसंगत भनेको जरुरतअनुसार हुँदोरहेछ। अब अहिलेकै कुरा गरौं न। अस्ति तपाईँले फोन गर्दा म साथीहरुसँग थिएँ। पत्रकार मित्रहरुले समीक्षा लेखेर पुरै बजार तताइरहेका बेला, तपाईंको भनाइ के छ भनेर सोध्दा मेरो त पारो तातेको थियो। सबैले आ–आफ्नो समीक्षा दिइरहेका छन् त मैले बोल्ने कुरै थिएन। एकचोटी हाम्रो दीपेन्द्र लामाजीले नागरिककै अन्तिम पातोमा स्वर भन्ने फिल्मको रिभ्यु लेखेका थिए। त्यहाँ स्वरका २० बेसुर ताल हो या त्यस्तै लेखिएको थियो। त्यसका निर्देशकले भोलिपल्टै जवाफस्वरुप कुन स्वर, कुन बेसुर भन्ने काउन्टर दिइराखेका थिए। मलाई यस्तोखालको आफू राम्रो देखाउने दोहोरी खेल्न मन पर्दैन। सायद त्यही भएर मानिसलाई मेरो बोली तीतो लाग्छ होला।
कबड्डीको ह्याङओभरबाट किन निस्कनु त नि ? तपाईं आफैँ भन्नुस् न ! बल्लबल्ल एउटा फिल्म बनाएको छु, आफूलाई चिनाउने खालको। त्यहीँबाट निस्किएपछि त म कहाँ म रहेँ र !
अनि समीक्षकका कुरा कत्तिको सही लाग्छन् नि ?
यसमा के बोल्नु ? कामलाई हेरेर राम्रो नराम्रो भन्ने अधिकार सबैमा छ, यो काम समीक्षकले झनै राम्रोसँग गर्नुपर्छ। कुरा कोट्याउने हो भने, तीन चार महिना यता कुनै फिल्मका समीक्षा नै आएका थिएनन्। समीक्षकहरु यति आत्तिएका रहेछन् कि, अहिले फेरि रिभ्युको मौसम चलिरहेको छ। यसको मतलब, म त सफल रहेछु नि ! फिल्म आएको दिनमै मैले ६/७ ओटा समीक्षा पढ्न पाएँ। तेरो काम राम्रो भएन, अल्छी भइस्, दर्शक ठगिस् भनेर मेरो खबरदारी गर्दा म फुल्लिनुपर्ने, गुनासो गर्नुपर्ने के पो छ र ! तर अर्काले गरेका कामलाई खोट लगाउनुअघि आफू कुन धरातलमा उभिएको छु भन्ने कुरा पनि ख्याल राख्नुपर्छ। समीक्षक इमान्दार भइदिएनन्, त्यसमा उसको इगो, नियत घुस्यो भने त्यो गतिलो होइन। हाम्रा फिल्ममा जनरा हुन्छ, टार्गेटेड अडियन्स हुन्छ, उद्देश्य हुन्छ, यसलाई पनि समीक्षकले ध्यान दिए हुन्थ्यो जस्तो लाग्छ। अहिले रामबाबु गुरुङले रंगशाला बनाउने अभियान देखाएर फिल्मको प्रचारप्रसार ग-यो भनेर मान्छेहरुले टाउको दुखाइरहेका छन्। हामीले गलत नै गरेको भए मुद्दा हाले भो त, कारबाही गराए हुन्छ त ! हैन र ? फेरि अभियान पनि व्यक्तिगत हैन नि ! यो त देशकै लागि हो।
अब फिल्मका पनि कुरा गरौं। के गर्दै हुनुहुन्छ नयाँ ?
यही भन्ने ठ्याक्कै छैन। एकदुई ओटा प्रोजेक्ट साइन त गरेको छु तर मेरो घरायसी समस्याका कारण स्क्रिप्टमा काम गर्न सकेको छैन। मेरी भतिजी बिरामी भएर एक महिना भारतमा बस्नुप-यो त्यही भएर मेन्टल्ली प्रिपियर छैन। एक दुई महिना केही काम गर्दिनँ होला। अनि फेरि यज्ञशसँग मिलेर पनि आर्टहाउसमा काम गर्ने योजना बनिरहेको छ।
अहिले नेपाली फिल्मको ट्रेन्ड कतातिर गइरहेको छ जस्तो लाग्छ ?
कता न कता। अलमल्लमा छ। राम्रो या नराम्रो छुट्याउन सकिएको छैन। फिल्म मेकरहरु आफैँ अलमल्लमा छन्। यस्तो बने राम्रो हुन्थ्यो भन्ने थाहा भएको भए, म किन चुप लागेर बस्थेंँ होला ? एउटा रमाइलो कुरा क्या, हामी फिल्म मेकरहरुको। समीक्षकले गरेको समीक्षा पढेर, यस्तो आरोप लाउनेले आफैँ फिल्म बनाएर देखाए भो त भन्छन्। मलाई निकै हाँसो उठ्छ, उसको काम समीक्षा गर्ने हो, हाम्रो काम फिल्म बनाउने हो। हामीले फिल्म नबनाए, उनीहरुले समीक्षा गर्न पाउँदैनन्, उनीहरुले समीक्षा नगरे हामीलाई काम राम्रो नराम्रोबारे थाहा हुँदैन। हाम्रो ट्रेन्ड यस्ता बहसमा अड्केको छ भन्दा ठीक होला।
तपाईंलाई दयाहाङ राईको स्टारडम धरापमा पारेको आरोप पनि लगाउँछन् नि मान्छेहरु ?
खै होला र त लगाएका नि ! (हाँस्दै) न मैले स्टारडम बनाउने ठेक्का लिएको छु, न धरापमा पार्ने नै ! मैले दयालाई साँङ्लोले बाँधेर फिल्म खेलाएको हो र ? मैले बनाएका क्यारेक्टर उसलाई मनपर्छ त्यही भएर ऊ त्यसमा खुसी छ भनेपछि कुरा सक्किहाल्यो नि ! उसलाई मन परेन भने गर्दिनँ भन्ने अधिकार छ। यस्ता आरोपले मेरो मासुमा केही फरक पर्दैन।
अनि अर्को आरोप, रामबाबु गुरुङ ‘कबड्डी’बाट निस्कनै सकेन भन्छन् नि ?
किन निस्कनु त नि ? तपाईं आफैँ भन्नुस् न ! बल्लबल्ल एउटा फिल्म बनाएको छु, आफूलाई चिनाउने खालको। त्यहीँबाट निस्किएपछि त म कहाँ म रहेँ र ! अहिले मसँग यति धेरै स्क्रिप्टको थाक छ, कुनै राम्रा स्क्रिप्ट छन्, कुनै नराम्रा। तर म आफूलाई कम्फर्ट लाग्ने र मेरो नेचर सुहाउँदो फिल्म मात्रै गर्छु।
अनि सधैँ कम्फट जोनमा मात्रै बसिरहने ?
के गर्नु त। मलाई यहाँबाट धेरै टाढा जानु पनि छैन। म जे कुरामा कम्फर्ट हुन्छु, त्यही मात्रै गर्छु। अहिले ‘प्यारासाइट’ (अस्कर अवार्डप्राप्त फिल्म)को चर्चा छ, मलाई पनि त्यो फिल्म मनप-यो। ‘प्यारासाइट’ राम्रो लाग्यो भन्दैमा म पनि त्यस्तै बनाउँछु भन्दै हिँड्ने त ? नयाँ फिल्म भन्नेबित्तिकै नाम नयाँ, पात्र नयाँ, सबै नयाँ नै हुन्छ, बस् फ्लेवर मात्रै मेरो जाने हो। अब त्यति धेरै दुःख गरेर बनाएको आफ्नो ‘कबड्डी’को पहिचानलाई त्यत्तिकै खेर जान दिन्छु त म ? अनि अर्को कुरा, मलाई मेरो यो पहिचान धेरै टिक्ला जस्तो पनि लाग्दैन, यसको आयु अब त्यही दुई वर्ष जतिको होला। त्यसपछि नयाँ फ्लेवर ल्याउन सके मात्र म टिक्छु, नत्र मैले जानेको काम भनेको त्यही दुइटा हो, एउटा फिल्म बनाउन, अर्को खेतपाती गर्न। यता चल्न छाडेपछि गाउँ जान्छु, मस्त खेतिपाती गरेर बस्छु।
तपाईंका फिल्ममा शहरका मान्छे जहिले भिलेन किन हुन्छन् ?
म गाउँको मान्छे। एसएलसी सकिएपछि, शहरमा पढ्न आउँदा भोगेका दुःखले मेरो नजरमा शहरका मानिस भिलेन भए। मेरो सपनाको शहर र वास्तविक शहरमा मेल खान नसक्दाको परिणाम होला यो।
तपाईंले अनमोल केसीलाई आफ्नो फिल्ममा हिरो बनाउनुप-यो भने ?
त्यो पात्रको कुरा हो। अनमोललाई सुट हुने क्यारेक्टर भयो भने ह्वाई नट ? अहिले मेरो जुन फ्लेवर छ, त्यसैमा अनमोललाई राखेँ भने गाउँका मान्छे त ट्वाँ पर्छन् नि ! यस्तो चिप्लोचाप्लो मान्छे कताबाट आयो भनेर !
अब व्यक्तिगत कुरा पनि गरौँ न। गाउँबाट शहर आएको मान्छे संघर्ष कत्तिको गर्नुप-यो ?
के संघर्ष भन्नु ? पैसा थिएन भन्ने कुरालाई म संघर्ष मान्दिनँ। त्यो बेलामा हाम्रो गाउँका लगभग सात सय घर गुरुङको यहीँ काठमाडौं आएर बसेका थिए। हाम्रोतिर थर मिलेपछि सबै आफ्ना मान्छे ! अनि एक दिन एउटाको, अर्को दिन अर्कोको घरमा पाहुना लाग्दैमा ठिक्क हुन्थ्यो। फेरि कसैले भेटेको बेला एक दुई हजार गोजीमा पनि हाल्दिहाल्थे। दिनदिनै मम खान पाएन भने पनि, जो आफन्त भेट्छ, त्यो दिन अघाउञ्जेल खाइदिने ! स्पोन्सरमा चलेको जिन्दगीलाई संघर्ष भन्नै मिलेन नि ! मेरा त साथी पनि ट्यालेन्ट क्या सबै ! आर्मी र पुलिस खानदानका ! एउटा साथीको सिक्री बेच्यो भने एक हप्तासम्म मम खान पुगिहाल्थ्यो ! मम खान पाइएन भने मात्रै दुःख लाग्थ्यो।
चुरोट त टन्नै पिउनुहुदोरहेछ, कहाँबाट सिक्नुभयो ?
यो भनेको ‘अनागरिक’ फिल्म बनाउँदातिरको कुरा हो। मैले फिल्म बनाउन भनेर कसैबाट एक लाख, कसैबाट दुई लाख ऋण लिएको थिएँ। यसरी २१ लाख जम्मा गरेको थिएँ। एकजना साथीले योसँग पैसा छ भन्ने थाहा पाएर गोदावरी लगेको थियो जग्गा हेर्न। त्यो बेला एक रोपनीको तीन लाखमा जग्गा पाइन्थ्यो, अहिले त्यो करोडौँ पर्छ। त्यतिखेर पाँच रोपनी किनेको भए, कति धेरै फिल्म बनाउँथेँ होला ! (हाँस्दै) तर के गर्नु ? फिल्म बनाउने इच्छाशक्तिले जित्यो। पछि फिल्म त फ्लप। देश विदेश त घुमायो तर पैसा पुरै डुब्यो। ऋण तिर्न नसकेर भाग्दै हिँड्नुप-यो। नयाँ फिल्म बनाउँ भने पनि कसैले नपत्याउने ! फिल्मको लत यति लागेछ कि, त्यसरी चेत खाँदा पनि बानी छुटेन। ‘अनागरिक’ फिल्म बनाएपछि त झनै विभिन्न वर्कसपमा सहभागी हुने मौका पाएँ। त्यही क्रममा निश्चल बस्नेत, दयाहरुसँग चिनजान बढ्यो र सबै मिलेर फिल्म बनाउने आँटमा ‘कबड्डी’ जन्मियो। यो फिल्म पनि फ्लप भयो भने गाउँ जाने भन्ने थियो तर अहिलेसम्म यसैले अड्काएर राखेको छ। त्यहीँबाट चुरोट खान थालें। यो पनि फुर्सतको बेलामा मात्रै खान्छु, अहिले भने फुर्सत नै फुर्सत छ।
अनि प्रेमका कुरा पनि गरौं न। एकोहोरो प्रेममा पर्नुभएन युवा कालमा ?
हेर्नुस्, कहिल्यै लभ परेन। त्यही भएरै मेरो फिल्ममा एकतर्फी प्रेम बढी हुन्छ होला क्या !
अन्त्यमा तपाईँका रुचिका कुरा पनि सुनाइदिनुस् न ?
मलाई किताब पढ्न मनपर्छ। आख्यानमा मेरो मनपर्ने पुस्तक भनेको नारायण वाग्लेको ‘पल्पसा क्याफे’ हो। अनि गैरआख्यानमा भने सुधीर शर्माको ‘प्रयोगशाला’ मन परेको थियो। किनेर एक पानामात्रै पल्टाएको किताब भनेको हरिवंश आचर्यको ‘चिना हराएको मान्छे’ हो। अरु रुचि भनेको मलाई गितार सिक्न धेरै मन छ तर जति गर्दापनि हुँदैन। तीनओटा त गितार नै फुटाइसकेँ तर अहिलेसम्म पारा आएको छैन।
Leave A Comment