हाेलीमा रङकाे जाेखिम

सोमबार, २६ फागुन २०७६, ०१ : ३९ उपेन्द्र खड्का
हाेलीमा रङकाे जाेखिम

गत वर्षको होलीमा रङको असरले एलर्जीको समस्या भएर २४ वर्षका युवा वीर अस्पतालमा उपचारका लागि पुगेका थिए। रङको एलर्जीका कारण ती युवाको अनुहार, आँखालगायतका भाग सुन्निएको थियो। एलर्जीको समस्या बढ्दै गएपछि ती युवा उपचारका लागि अस्पताल पुगेको वीर अस्पतालकी चर्म तथा यौनरोग विभागकी विभागीय प्रमुख तथा एसोसिएट प्रोफेसर डा. अनुपमा कुँवरले सुनाइन्। उपचारपछि भने उनमा रङको एलर्जी ठिक भयो। होलीपछि रङको एलर्जीको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बाक्लिने गरेको डा. कुँवरको अनुभव छ।

त्यसैगरी भीम अस्पताल भैरहवाका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन दर्नाल पनि एक वर्षअघिको होलीको तीतो अनुभव सुनाउँछन्। गत वर्ष होली खेल्ने क्रममा धादिङकी २४ वर्षीय गर्भवती महिलाको २० हप्ताको गर्भपतन भएको डा. दर्नालले सुनाए। दर्नालका अनुसार होलीमा भागदौड गर्दा चोटपटक लाग्ने तथा लडेर समस्या निम्तिँदा वर्षेनी गर्भवती महिला अस्पताल पुग्छन्। डा. दर्नाल भन्छन्, ‘होलीमा खेलिने रङले गर्भको भ्रुणमा प्रत्यक्ष असर नगरे पनि दौड्ने तथा भाग्ने गर्दा गर्भको भुणमा असर पुगी गर्भपतन हुन सक्छ।’

छालामा गम्भीर प्रकृतिको एनाफाइलासिस नामक एलर्जी भएको खण्डमा गर्भवती महिलालाई गम्भीर असर पुग्ने जोखिम हुन्छ। त्यसैले होली खेल्दा गर्भवती महिला निक्कै सचेत हुनुपर्ने डा. दर्नालको सुझाव छ।

रसायनको डर
डा. कुवर र डा. दर्नालले सुनाएका यी दुई घटनापछि अब चर्चा गरौं होलीमा रङमा प्रयोग हुने रासायनिक तत्वका बारेमा। चिकित्सकका अनुसर होलीमा प्रयोग हुने रङमा घातक रासायनिक तत्व (केमिकल) को मिसावट भएको पाइन्छ। रासायनिक तत्व मिसावटयुक्त रङले शरीरमा नकारात्मक असर पु-याउने जोखिम हुन्छ। 

रातो रङमा ‘मर्करी सलफाइड’, हरियो रङमा ‘कपर सल्फेट’, कालो रङमा ‘लिड अक्साइड’, हरियो रङमा ‘मालाकाइट ग्रिन’, चाँदी रङमा ‘अल्मिनियम ब्रोमाइड’, निलो रङमा ‘प्रुस्सियन ब्लु’ तथा ‘क्रोमियम आयोडाइड’जस्ता रासायनिक तत्वको प्रयोग गरी रङ बनाइन्छ। यस्ता रासायनिक तत्वले छालामा नकारात्मक असर गर्नेतर्फ सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रविन्द्र शर्मा सजग गराउँछन्।

डा.शर्माका अनुसार ‘मालाकाइट ग्रिन’, ‘मर्करी’, ‘लिड’जस्ता तत्वहरु क्यान्सरजन्य तत्वहरु हुन्। यस्ता तत्व मिसिएका रङको प्रयोग गर्नाले व्यक्तिमा क्यान्सरको जोखिम हुन्छ। त्यसैगरी रङमा औरामिन र रोडोमाइनजस्ता विषालु पदार्थ हुन्छन्। जसले मानव स्वास्यथ्यमा हानि पु-याउन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। प्रायः घरबाहिरै होली खेलिने भएकाले रङ र घामको मिश्रित प्रभावका कारण छाला सुख्खा हुने, रुखो हुने, कालो हुनेजस्ता असर देखिनेतर्फ डा. कुँवर सजग गराउँछिन्।

चिकित्सकका अनुसार रङमा चमकता ल्याउनका लागि ‘स्बेस्ट्स’,‘सिलिका’जस्ता धुलो बनाइएका सीसासमेत मिसिन्छ। जसले ‘क्यान्सर,’ ‘अन्धोपन’को जोखिम हुन्छ। तर एक दिन यस्ता रासायनिकयुक्त रङको प्रयोग गर्दा क्यान्सरको जोखिम नहुने भए पनि नियमित भने यस्ता रङको प्रयोग गर्न नहुने क्यान्सर रोग विशेषज्ञ बताउँछन्। क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यका अनुसार रासायनिक तत्वयुक्त रङ नियमित र अत्यधिक प्रयोग गरेको खण्डमा क्यान्सरको जोखिम हुन्छ।

जोखिम र सावधानी
चिकित्सकका अनुसार होलीमा खेलिने यस्ता कृत्रिम किसिमका रङको प्रयोगले विशेष गरी व्यक्तिको छाला तथा आँखामा असर पुग्ने जोखिम हुन्छ। रसायनयुक्त रङ फोक्सोमा पुग्दा दमको समस्या बढ्छ।

रसायनयुक्त रङको प्रयोगले कपालमा समेत नकारात्मक असर पुग्नेतर्फ एस्थेभा स्किन क्लिनिककी छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवाली सचेत गराउँछिन्। डा. ज्ञवालीका अनुसार कृत्रिमरुपमा तयार गरिएका रासायनिक रङको असरले कपाल सुख्खा हुने, झर्ने क्रम तथा टुक्रिने क्रम बढ्छ। ‘रासायनिक रङको प्रयोग गर्नाले टाउकाको छालामा एलर्जी, इन्फेक्सन हुन सक्छ’, डा. ज्ञवाली भन्छिन्, ‘कपालमा हुने विभिन्न किसिमको रोग भएको अवस्थामा रोग बल्झिन्छ।’

त्यसैले छालामा रङको असर हुनबाट बच्नका लागि होली खेल्नुभन्दा आधाघण्टा अघि जैतुन, नरिवल, आलमोण्डलगायतको तेल कपालमा लगाउन छाला रोग विशेषज्ञको सुझाव छ।

त्यसो त बेलुन हान्दा आँखाको पर्दा च्यातिने, मोतिबिन्दुको जोखिम हुन सक्ने नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल बताउँछन्। डा. ढुंगेल भन्छन्, ‘जोडसँग आँखामा बेलुनले लाग्यो भने आँखाको ज्योति नै गुम्न सक्छ।’

नेत्ररोग विशेषज्ञका अनुसार रङमा हुने रासायनिक तत्व आँखामा प-यो भने आँखा रातो हुने, पोल्ने, दुख्ने, आँखाको बाहिरपट्टिको जालोमा क्षति पुग्ने जोखिम हुन्छ। नेत्र रोग विशेषज्ञ डा. ढुंगेलले भने, ‘आँखाको वरिपरि छाला हुँदै रासायनिक तत्वयुक्त रङ आँखाभित्र पसेर जम्यो भने आँखाको संरचनामै क्षति गर्ने डर हुन्छ।’ कसैलाई छोटो त कसैलाई लामो समयसम्म आँखामा एलर्जी हुने चिकित्सक बनाउँछन्।

होली खेल्दा कन्ट्याक्ट लेन्स र चस्माको सकभर प्रयोग नगर्न डा. शर्माको सुझाव छ। यस्तो रङले ओठमा असर पु-याउने भएकाले ओठमा पनि लिपगार्डको प्रयोग गर्नुपर्छ। होली खेलिसकेपछि तुरुन्तै नुहाउँदा छाला तथा कपालमा रङले हुने असरबाट बच्न सकिने डा. कुँवरको सुझाव छ। त्यसो त होली खेलिसकेपछि नुहाउँदा पनि सकभर बास्नाहीन साबुन तथा मोश्चराइजरको प्रयोग गर्नुपर्छ। डा. कुँवर होली खेल्नुभन्दा आधा घण्टाअघि मोश्चराइजर तथा क्रिम लगाएर रङ खेल्नाले छालामा हुने एलर्जीबाट केही हदसम्म भए पनि बच्न सकिने बताउँछिन्। कडा साबुनको प्रयोग गर्दा घाउसमेत हुनसक्ने भएकाले यसमा सजग हुन डा. ज्ञवालीको सुझाव छ। छालामा समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानुपर्छ। रङ खेल्नुपूर्व नेल पेन्ट वा नेल भार्मिसको प्रयोग गर्नाले नङमा असर नहुने चिकित्सक बताउँछन्।

होली खेल्दा शरीर ढाक्ने किसिमका कपडा लगाउनाले रङको असरबाट बच्न सकिन्छ। रासायनिक तत्वयुक्त रङको कारण कतिपय व्यक्तिमा तत्काल समस्या निम्तिने त कतिपय व्यक्तिमा समस्याले दीर्घकालीनरुप लिने चिकित्सक बताउँछन्।

रङको कारण एलर्जी हुँदा छाला चिलाउने, पोल्नेजस्ता समस्या हुनुका साथै छाला फुस्रो तथा रातो हुने, चहर्याउने, छालामा मसिना बिमिरा आउने, डाबर देखिने, घाउ हुने जोखिम हुनसक्नेतर्फ छालारोग विशेषज्ञ सजग गराउँछन्। डा. शर्माले भने, ‘छालामा रङको एलर्जी भएको अवस्थामा कन्याएर घाउ भई संक्रमण हुनसक्छ, जसले गम्भीर समस्या निम्तन सक्छ।’ एलर्जीका कारण ज्यानै जाने जोखिम कम भए पनि शारीरिक तथा मानसिक रुपमा तनाव भने उत्पन्न हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार रासायनिक रङले शरीरका संवेदनशील अंगमा गम्भीर असर पुग्नसक्छ। छालामा डन्डिफोर, एलर्जी, छाला सुख्खा र संवेदनशील हुने व्यक्तिले यस्ता रङ नखेल्न छालारोग विशेषज्ञको सुझाव छ।  बालबालिकाको छाला कोमल हुने भएकाले बालबालिकामा रासायनिक रङले बढी असर गर्छ। कतिपय व्यक्तिको त कानमा पनि असर गर्छ।

प्राकृतिक रङको प्रयोग
त्यसो त प्राकृतिक चिकित्सक डा. डीबी सुनुवार होलीमा प्राकृतिक किसिमका रङको प्रयोग गर्न सुझाउँछन्। विभिन्न किसिमका फूलबाट तयार गरिएका रङको प्रयोग गर्न उनको सुझाव छ। डा. सुनुवार भन्छन्, ‘प्राकृतिक रङको प्रयोगले स्वास्थ्यका लागि लाभदायक हुन्छ।’ तर अहिले प्राकृतिक रङ अभाव हुने भएकाले कृत्रिमरुपमा बनाइएको रङले शरीरमा नकारात्मक असर पुग्ने जोखिमबाट सजग हुनुपर्ने उनको सुझाव छ। विभिन्न वनस्पति तथा फूलबाट प्राकृतिक रङ बनाइन्छ। होलीमा प्राकृतिक रङको प्रयोग गर्दा छालामा हानि नगरी चमकता आउने डा. सुनुवार बताउँछन्। प्राकृतिक रङ पनि नेपाली बजारमा पाइने उनी बताउँछन्।

मनोविद् गोपाल ढकाल होलीमा रासायनिक रङको प्रयोगका कारण व्यक्तिको शरीरमा असर पुग्दा तनाव उत्पन्न हुनसक्नेतर्फ सजग गराउँछन्। त्यसैले पाएसम्म शारीरिक तथा मानसिक स्वास्थ्यका लागि प्राकृतिक रङको प्रयोग गर्न उनको सुझाव छ। कालो रङ निराशाको प्रतीक भएकाले होलीमा कालो रङको प्रयोग सकभर नगर्न उनकोे सुझाव छ।

Leave A Comment