नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा स्वास्थ्यप्रति सधैँ सचेत हुन्छन्। त्यसैले त उनको ज्यान फिट र मजबुत देखिन्छ। चम्किलो र उज्यालो अनुहार देखिने उनको ज्यान पनि फुर्तिलो छ। पाँच फिट दुई इन्च (५.२) उचाइका ४९ वर्षीय शर्माको तौल ६० किलो छ।
दिनभरि विभिन्न राजनीतिक भेटघाट तथा दैनिक कार्यक्रममा व्यस्त रहने शर्मा शारीरिक तथा मानसिक रूपमा आफूलाई फिट राख्नका लागि नियमित व्यायाम गर्छन्। बिहानको पाँच बजे प्रायः उनी ब्युँझिसक्छन्। उठ्ने समय बेलुकीको सुताइमा पनि भर पर्छ। नियमित छ घण्टा सुत्ने उनी बेलुकी ढिला सुतेको अवस्थामा बिहानको उठाइ पनि केही ढिलो हुन्छ। बेलुका जुन समयमा सुते पनि बिहान ४/५ बजे ब्युँझन्छन्। निद्रा नपुगे फेरि सुत्छन्। निद्रा पुगेको अवस्थामा व्यायाम गर्नतिर लाग्छन्।
पानी पिएर मातापिताको स्मृति
निद्रा खुलेपछि एक लिटर मनतातो पानी पिउँछन्। हप्तामा पाँचपटक दुई पोटीका दरले नचपाइ पानीसँग लसुन निल्छन्। लसुन नखाएको दिन दुई चम्चा दालचिनीको धुलो पानीमा फिटेर पिउँछन्। कुनै दिन तातोपानीमा कागती र मह हालेर पिउँछन् अनि उनी योगा तथा ध्यान गर्न थाल्छन्। विभिन्न कारणले घर बाहिर बस्नु परेको अवस्थामा समेत उनी बिहान योगा गर्न छुटाउँदैनन्। शर्माले भने, ‘ओछ्यानमै गर्न सकिने भएकाले अरु व्यायाम छुटे पनि योगा गर्न भने छुटाउँदिन।’
ध्यान गर्दा सबैभन्दा पहिला उनी माता पितालाई सम्झन्छन्। शर्माले भने, ‘मेरो ध्यानको सुरुआत नै माता–पिताको स्मृतिबाट हुन्छ र मातापिताको स्मृतिबाटै टुंगिन्छ।’
कुनै समयमा उठ्नेबित्तिकै ध्यान गर्छन् र कुनै बेला भने उनी व्यायाम गरिसकेपछि पनि ध्यान गर्छन्। शारीरिक, मानसिक तथा आध्यात्मिक हिसाबले आफूलाई ध्यान गर्दा आनन्दित तुल्याउने उनको अनुभव छ।
काँधमा छोरो बोकेर आँगनमा दौड
‘एक किलो मिटर हिँड्छु’, शर्माले भने, ‘डेढ किलोमिटर जति दौडन्छु।’ आँगनमा हिँड्ने उनको व्यायामको एउटा टेक्निक बडो रमाइलो छ। आँगनमा हिँड्दा यु केजी पढ्ने सानो छोरा शीर्षकप्रकाशलाई पनि काँधमा बोकेर हिँड्छन्। शर्माले भने, ‘बिहान छोरालाई काँधमा बोकेर हिँड्नु पनि मेरो व्यायाममै पर्छ।’ त्यसपछि करिब पाँच सयपटक स्किपिङ खेल्छन्। एक पटकमा डेढ सयपटक गर्दै रोक्दै यो खेल खेल्छन्। २० पटक डिब्स गर्छन्। पेट सन्तुलित गर्नका लागि एक मिनेट गर्दै बिसाउँदै दुई मिनेट प्लाङ्क गर्छन्।
प्याकेजमा बिहानीको यो व्यायाम गर्न उनलाई ४० मिनेटको समय लाग्छ। सामान्यतः घडीको घण्टा काँटाले बिहानको सात हान्दा शर्माको व्यायाम सकिएको हुन्छ। उनी ढिलो उठेको अवस्थामा ढिलै भए पनि व्यायाम गर्छन्।
व्यायाम गरिसकेपछि मनतातो पानीले नुहाउँछन्। अनि पत्रपत्रिका पढ्न थाल्छन्। त्यसपछि उनको फोन गर्ने तथा नियमित कार्यको सेड्युलको योजना तय हुन्छ।
दाल, भात, तरकारी
घर बाहिर निस्कन हतार नभएको दिन व्यायाम सकिसकेपछि कन्फ्लेक्स, रोटी, फलफुलजस्ता खाजा (ब्रेकफास्ट) खान्छन्। उनले खाने बिहानीको ब्रेकफास्टको प्राथमिकतामा प्रायः घरमा बनाएको रोटी, आलु–मटरको तरकारी पर्छन्।
बिहानको खानाखाने नियमति समय नौ बजे भए पनि कतै जान हतार भएको दिन व्यायाम सकेपछि उनी खाना खान्छन्। छोराछोरी स्कुल जाने भएकाले उनको घरमा बिहान सबेरै खाना पाकिसक्छ।
‘बाहिर निस्किहाल्नुप-यो भने सिधै दाल, भात, तरकारी खाइन्छ,’ शर्माले ठट्यौली शैलीमा हाँस्दै भने। खानपानपछि बागडोलमा रहेको घरबाट नियमित कार्यका लागि बाहिरिन्छन्।
दिउँसो प्रायः घरबाहिरै हुने भएकाले दिउँसो खाजाका रुपमा यही परिकार खानुपर्छ भन्ने उनको सेड्युल छैन। समय, ठाउँ तथा परिवेशअनुसार खाजा खान्छन्। अफिसमा बस्दा भने फुरन्दाना, विस्कुटजस्ता खाजा खान्छन्।
चार ‘स’ मूलमन्त्र
स्वास्थ्य, सम्बन्ध, सम्पत्ति, सार्वजनिक प्रतिष्ठा गरी चारवटा ‘स’ शर्माको जीवनका मूल मन्त्र हुन्। यी चारवटा ‘स’ लाई ख्याल गरेर आफूले जीवनशैली अपनाउने गरेको शर्मा बताउँछन्।
त्यसो त उनी कहिलेकाहीँ अल्कोहल पनि पिउँछन्। उनी रुचि राखेरै त पिउँदैन। पिइहाल्नुपरे पनि जमघटका बेला सीमित मात्रामा वाइन, ह्विस्की, वियर पिउँछन्।
धूमपान भने कहिल्यै नगरेको शर्मा बताउँछन्। सामान्यतः उज्यालैमा घर पुग्छन्। घर बाहिर बसेर घरको फोन आएको समयमा मिटिङ्मा छु क्या भन्दै परिवारलाई ढाँट्ने उनको चलन छैन रे। कुनै काम परेको समयमा समेत सकेसम्म राति ढिलै भए पनि शर्मा घर पुग्छन्।
एक गिलास दूधमा हर्दी
बेलुका हल्का किसिमको खानपान गर्छन्। विगत १५ वर्षयता बेलुकाको खाना छोराछोरीका लागि पाक्छ तर शर्मा र उनकी श्रीमती कविताका लागि पाक्दैन रे। बेलुकी शर्मा सुप, भेज बोयल (उसिनेको सागसब्जी) खान्छन्। च्याउको सुप उनलाई मिठो लाग्छ। सुत्नुअघि परिवारका सबैले दूधमा बेसार हालेर खाँदा रहेछन्। शर्माले भने, ‘बेलुका हर्दी हालेको एक गिलास दूध अनिवार्य जस्तै खान्छौँ।’
उनको घरमा ५० प्रतिशत माछामासु खाने र ५० प्रतिशत नखाने रहेछन्।‘श्रीमती जी र छोरी स्वीकृतिले माछामासु खानुहुन्न, म र छोरा खान्छौं,’ शर्माले ठट्यौली शैलीमा हाँस्दै सुनाए, ‘हामी पुरै सन्तुलनमा छौँ। आमाले छोरीलाई साथ दिइन्, मैले छोरालाई साथ दिइराखेको छु।’ शर्मालाई पनि मासुमा धेरै रुचि नहुने भएकाले उनको घरमा मुस्किलले मात्रै मासु पाक्छ रे। प्रायः शनिबार उनको घरमा मासु पाक्छ। मासुका आइटम खानुपर्दा शर्मालाई खसी र कुखुराको मासुका आइटम नै मन पर्छ।
सुत्नुअघि गीतसंगीत सुन्छन्। परिवारसँग बसेर सकारात्मक किसिमका गफगाफ गर्छन्। जसले शारीरिक मात्रै हैन, मानसिक स्वास्थ्यमा पनि लाभ मिलेको अनुभूति हुन्छ। त्यसो त उनी कविता, गीत पनि फुराउँछन्। उनका शब्दमा मनग्यै शब्दको कम्पोज भएका छन्। उनी प्राकृतिक तथा राष्ट्रप्रेमका गीत गाउँछन्। उनी आफैँ कम्पोजसमेत गर्छन्। फुर्सदको समयमा पनि गीतसंगीतमा रमाउँदा उनी प्रफुल्लित हुन्छन्। मोटरसाइकल चलाउने भए पनि उनी अरुले चलाएको गाडी राम्रोसँग हेर्छन् मात्रै। त्यसो त उनकी छोरी स्विकृतिलाई पनि गीत–संगीतमा निक्कै रुचि रहेछ। प्रायः राति १० देखि ११ बजेको समयमा शर्मा सुत्छन्।
अग्र्यानिकमा जोड
आफू र परिवार शाकाहारी खाना नै बढी मन पराउने गरेको उनी बताउँछन्। उनी अग्र्यानिक खानपानमा निक्कै जोड दिन्छन्। बेलाबखत जंक फुड खाने भए पनि प्राथमिकतामा भने विलकुल नपर्ने शर्मा बताउँछन्। शर्माले भने, ‘बाहिर जिल्लामा यात्रामा जाँदा स्याउ, सुन्तोला, पानी क्यानबियर किनिएला तर सकेसम्म जंक फुड किनिन्न।’ घरमा पनि सकेसम्म जंकफुड नभित्रिने उनले सुनाए।
त्यसो त उनी बेलाबखतमा स्वास्थ्य जाँच पनि गराउँछन्। एकदेखि डेढ वर्षको अन्तरालमा शर्मा होल बडी जाँच गराउँछन्। सामान्यतः वर्षमा चारपटक रक्तदान गर्छन्। कम्तीमा पनि वर्षमा दुईपटक रक्तदान गर्ने उनले बताए। २०४७ सालको चैत महिनामा उनलाई टाइफाइड भयो। त्यो उनको स्वास्थ्यमा भएको नमिठो अनुभूति हो। औषधि खाएपछि उनलाई टाइफाइड ठिक भयो। २०४८ सालको जेठ महिनामा टाइफाइड ठिक भएपछि आजसम्म आफूले कुनै औषधि खाएको सम्झना नरहेको उनी सुनाउँछन्।
जुकाको औषधिबाहेक सामान्य रुघाखोकी लागेको अवस्थामा पनि आफूले एक ट्याब्लेट पनि औषधि प्रयोग नगरेको बताउँछन्। करिब दस महिनाअघि खुट्टा दुखे पनि औषधि भने खानु परेन।
शर्मा घामबाट अनुहार जोगाउनका लागि सनब्लक र मोश्चराइजर लगाउनेबाहेक कुनै पनि क्रिम पाउडर लगाउँदैनन्।
Leave A Comment