‘कथाले जोड्छ, सिद्धान्तले बाँड्छ’

शनिबार, ०४ भदौ २०७३, ०९ : ०० ईश्वर दाहाल , Kathmandu
‘कथाले जोड्छ, सिद्धान्तले बाँड्छ’

पत्रकार घनश्याम खड्काको उपन्यासकार अवतार सुरु भएको छ, ‘निर्वाण’ मार्फत । पाठकले यस उपन्यासलाई सह्राएका छन् । ईश्वर दाहालले शुक्रवारका लागि उपन्यासकार खड्कासँग ‘निर्वाण’मा केन्द्रित भएर संवाद गरेका छन् ।

दर्शन भन्नेबित्तिकै कसको ? हिन्दूको कि बौद्धको ? बाइबलको कि कुरानको ? भन्ने कुरा आउँछ । तर, उपन्यास भन्नेबित्तिकै यस्ता सवाल आउँदैनन् । उपन्यास वा समग्र साहित्य सहिष्णु विधा हो । कथाले मानिसलाई जोड्छ तर सिद्धान्तले बाँड्छ, विभाजन गर्छ । मैले सिद्धान्तलाई सोझोसोझो भन्नुभन्दा पनि उपन्यासमार्फत भनेको हुँ ।

के भन्नका लागि ‘निर्वाण’ लेख्नुभयो ?
जो जहाँ र जस्तो अवस्थामा भए पनि परिवर्तन सम्भव छ । निराश भएर, ‘डिप्रेसिभ’ भएर आत्महत्याको निचोडमा पुग्नु पर्दैन । बिहान घरबाट निक्लिएको मानिस साँझ घर फर्कन ढिला भयो भन्दैमा उसले बाटो बिराएको भन्नु पर्दैन । अर्थात्, हरेकको जीवन मोक्षदायी छ भन्नका लागि ‘निर्वाण’ लेखेको हुँ ।
यो त के नयाँ कुरा भयो र ? हजारौँ वर्षदेखि ऋषिमुनि, वेद, पुराण वा सम्पूर्ण धर्म दर्शनले भनेकै कुरा होइन र ?
हरेक मानिसले अरूले गरेको कुरा गर्दै गर्दिनँ भन्न सम्भव छैन । प्रेम त मानिसले उहिल्यै गरिसक्यो, अहिले हामीले किन गर्ने भनेर हुन्छ र ? मैले मेरो समयलाई मेरो भाषामा वा अहिलेको भाषामा भन्नुपर्छ ।
जीवन दर्शन वा अध्यात्मसँग जोडिएका रचनाहरू उपदेशात्मक शिल्प र शैलीमा लेखिन्छन् । तपाईंले त उपन्यास लेख्नुभयो ?
उपन्यास धेरै मानिसले पढ्ने विधा हो । ‘नन–फिक्सन’ भन्दा ‘फिक्सन’ मानिसहरूले ज्यादा पढ्छन् । वेद कठिन भएर आम मानिसले पढ्न सकेनन् । थोरैले पढे । वेदका टीकाहरू लेख्दा उपन्यास जन्मियो । तर, उपनिषद् पनि कठिन भएपछि पुराणहरू लेखिए । पुराण अति नै लोकप्रिय भए । पुराण भनेको वेदको उपन्यास हो । मैले सीधा प्रवचन दिँदा कसले सुन्छ ? तसर्थ मैले उपन्यास रोजेँ । अर्काेतर्फ दर्शन हो भन्नेबित्तिकै कसको ? हिन्दूको कि बौद्धको ? बाइबलको कि कुरानको ? भन्ने कुरा आउँछ । तर, उपन्यास भन्नेबित्तिकै यस्ता सवाल आउँदैनन् । उपन्यास वा समग्र साहित्य सहिष्णु विधा हो । कथाले मानिसलाई जोड्छ तर सिद्धान्तले बाँड्छ, विभाजन गर्छ । त्यसैले मैले सिद्धान्तलाई सोझोसोझो भन्नुभन्दा पनि उपन्यासमार्फत भनेको हुँ ।
बुद्धले पनि भोक नै सबैभन्दा ठूलो रोग हो भनेका छन् । संसारका बहुसंख्यक मानिस न्यूनतम रोजीरोटीमै केन्द्रित हुन बाध्य छन् । यस्ता मानिसले तपाईंले भनेको जस्तो ‘निर्वाण’ सोच्न भ्याउँछन् ?
भ्याउँदैनन् । तर, रोजीरोटी पूर्ति नै नहुने स्थितिमा सबैजना छैनन् । धेरै मानिस गरिब हुनुको मूल कारण केही मानिस अत्यधिक धनी भएर हो । धनीहरूले बुझ्नुपर्छ, कति सम्पत्ति भयो भने सन्तुष्टि प्राप्त हुन्छ ? सबैभन्दा पहिला, धनी भएका मानिसहरूले सोच्नुपर्छ र उनीहरूमा रूपान्तरण आउनुपर्छ ।  हामीले भन्ने गरेका धनी मानिस नै निर्वाणका प्रमुख भोक्ता हुन् । किनकि, उनीहरूसँग नै त्यागको सामथ्र्य छ । उनीहरूले निर्वाणलाई बुझे र अनुसरण गरे भने समाजमा शोषण कम हुन्छ । यसले तिनै  न्यूनतम रोजीरोटीमै केन्द्रित हुन बाध्यहरूलाई नै फाइदा पुग्छ ।
‘निर्वाण’को कथा वा घटनाचक्र लयबद्ध देखिँदैन । किन हो ?
कसैको जीवनमा पनि यो पछि यो हुन्छ भन्ने ग्यारेन्टी हुँदैन  । अर्थात्, जीवन आफैँ लयबद्ध बन्न सक्दैन । अहिले एक क्षणपछि के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । संसारका महान् मानिसहरूको पनि जीवनमा नसोचेकै घटनाक्रमले परिवर्तन भएको छ । एउटा राजकुमार बुद्ध बन्छ भन्ने कुरा कसरी संगत हुन्छ त ? दाउरेको छोरा अमेरिकी राष्ट्रपति हुने कुरा कल्पना गर्न पनि नसकिएला । सामान्य घटनाक्रमले हेर्ने हो भने त यी कुरा लयबद्ध लाग्दैनन् । हामीहरू उपन्यासमा जीवनभन्दा पनि संगति खोज्दा रहेछौँ । तर, जीवन आफैँमा संगत छैन ।
भनिन्छ– अध्यात्मको चरमबोध वा मोक्षबोध तर्क, गणित, विचार र बुद्धिभन्दा पर हुन्छ । अर्थात्, मोक्षलाई विचारले होइन, अनुभवले मात्र बुझ्न सकिन्छ ।  ‘निर्वाण’का पात्रहरू मोक्ष उन्मुख छन् । घनश्याम खड्का चाहिँ कहाँ छ ?
म पनि पात्रहरूजस्तै यात्रामा छु । म यात्राको पुछारमा हुँला । पात्रहरू अगाडि होलान् । तर, म पनि यात्रारत नै छु । किनकि, थाहा नभएको भाषामा केही पनि भन्न सकिन्न ।
लेखकहरू यो भएन, त्यो भएन भनेर अर्ती–उपदेश दिन्छन् वा  विरोध गर्छन् । तर, आफैँ चाहिँ त्यस्तो जिन्दगी बाँच्दैनन् भन्ने आरोप लगाइन्छ । तपाईंले ‘निर्वाण’मा संसारको नश्वरतालाई बुझे जिन्दगी सुखपूर्ण छ भन्ने विषय उठाउनुभएको छ । तपाईंले यो अनुभवले नै लेख्नुुभएको हो ?
मैले आफूलाई समीक्षा गर्दा के पाउँछु भने प्रतिक्षण जीवनमा गुनासाहरू घट्दै गएका छन् । हिजो कसैले त्यही कुरा भन्दा म रिसाउँथेँ भने अहिले त्यसलाई तटस्थ भावले हेर्ने कोसिस गर्छु । धमिलो खोला देख्दा यो खोला सङ्लिनकै लागि धमिलिएको हो जस्तो लाग्छ । किनकि, कुनै पनि खोला अनन्तसम्म धमिलो रहन सक्दैन ।
‘निर्वाण’ले स्वःमस्तीलाई जोड दिएको छ । यो लेखन घनश्याम खड्काको मस्ती हो कि प्रतिष्ठाको जोहो ?
प्रतिष्ठाका लागि त योभन्दा धेरै अरू बाटा छन् ।  प्रतिष्ठाको हिसाबले त राजनीति नै सबैभन्दा बढी आकर्षक विषय हो । सामान्यतः साहित्यकार ‘पावर’मा पुग्न सक्दैन । कुनामा बसेर लेखिरहनुभन्दा राजनीति गर्दा बढी प्रतिष्ठा आर्जन हुन्छ होला । मेरा कतिपय साथीहरू मभन्दा धेरै अगाडि पुगिसकेका छन् । मसँगै काम गरेका साथी महेश बस्नेत मन्त्री भइसक्नुभयो । मैले पनि राजनीति गरेको भए हुन्थेँ होला । साहित्यले प्रतिष्ठा आर्जन हुँदैन भन्ने त होइन तर प्रतिष्ठा आर्जन मेरो मुख्य ध्येय होइन । मस्तीसँगै प्रतिष्ठा आउँछ भने त्यो अर्कै कुरा हो ।
एउटा लेखकको हिसाबले ‘निर्वाण’मा कत्तिको जोखिम महसुस गर्नुभएको थियो ?
अप्रचलित बाटोमा हिँड्दाखेरि एक्लो परिन्छ कि भन्ने डर मलाई प्रशस्त थियो । तर, अप्रचलित नै भए पनि जानैपर्ने बाटोमा नहिँडी हुँदैन । घर पुग्ने बाटो दुर्गम भए पनि हिँड्नै पर्छ । उपन्यासका हिसाबले बिर्सिसकेको बाटोमा हिँड्दा केही डर लाग्नु स्वाभाविकै हो । तर, अहिलेको पाठकहरूको संवेदनशीलतालाई मैले नबुझेको रहेछु । अर्काेतर्फ एउटा लेखकले बजारलाई पनि हेर्नुपर्ने हुन्छ । साहित्य पाठकमा पुग्नुभन्दा अगाडि धेरै तह हुँदा रहेछन् । प्रकाशक हुन्छ, समीक्षकहरू हुन्छन् । समीक्षकका आआफ्ना धारणा हुन्छन् । यसले पनि साहित्यलाई असर पार्छ ।

 

Leave A Comment