शुरु भयो नेपाल स्टार

शुक्रबार, ३० फागुन २०७६, ०१ : १८ शुक्रवार
शुरु भयो नेपाल स्टार

गएको शनिबारदेखि नेपाल टेलिभिजनमा नयाँ रियालिटी सो ‘नेपाल स्टार’ शुरु भएको छ। पहिलो एपिसोडमा पोखरा अडिसन देखाइएको छ। रामकृष्ण ढकाल, अञ्जु पन्त र संगीकार आलोकश्री यस सोको निर्णायक रहेका छन्।
यो सोको पहिलो अंकमा निकै मिहिनेत गरेको पाइयो। खासगरी पोखराको सुन्दरता देखाउन निर्देशकले कुनै कसर छाडेको देखिएन। यसमा सहभागी प्रतियोगीहरु तुलनात्मक रुपमा निकै कम देखिए।

बेसुरा जुरेश
दर्शकलाई बेसुराहरुका राजा देखाउन होला खड्गप्रसाद जिसी (जुरेश)लाई मनग्य ठाउँ दिइएको थियो। उनले न सुरमा गाए, न तालमा गाए। तापनि जज रामकृष्णले उनलाई अर्को गीत गाउन अनुरोध गरे। उनले फेरि अर्को बेसुरमा ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ’ गाउँदा जज अञ्जु कुर्सीबाट नै आउट भइन्।

डाक्टरले पारे निराश
अर्का प्रतियोगी सुरेश पुर्वे पेसाले डाक्टर भए पनि रहर पूरा गर्न त्यहाँ पुगेका थिए। सानैदेखि गायनमा रुचि राख्ने उनलाई परिवारले डाक्टरी पढ्न आग्रह गरे। डाक्टर बनिसकेपछि गायकीमा केही गर्न ‘जिन्दगीको के भरोसा’ गाए। तर उनको गायन फिट नभएपछि अर्को गाउन जजहरुले आग्रह गरे। यसपछि डाक्टरले ‘तिम्रो मेरो सम्बन्धको प्रश्न सोध्न मन लाग्यो’ गाए। यो पनि बेसुरा गाएपछि जजहरु निराश देखिए।

यस्तै अर्का प्रतियोगी सागर केसी ‘तिमी हौ लाखौँको धड्कन’ बोलको गीत गाए। जजहरुले उनलाई अर्को गीत गाउन अनुरोध गरे। उनले ‘निष्ठुरी मोरीले’ गाउँदा त झनै बेसुर सुनिए।

सबै बेसुरा भने थिएनन्। कुर्बान अलि खानको गायन जजहरुले रुचाए। उनले ‘तिम्रो त्यो हँसिलो मुहारको’ गाए। दोस्रो गीतमा उनले शब्दमा गल्ती गरे पनि सम्भावना देखेर जजहरुले उनलाई सेलेक्ट गरे।  
त्यस्तै दिपेश लामा छनोटमा परे भने समूल सुनार जजहरुले बिदा दिए।

बाबा नहुँदाको पीडा
निशान बरालले पनि राम्रै गाए। उनले ‘सीसा त होइन तर यो दिललाई टुक्राइदियौ’ गीत गाएका निशान छनोट भए। छनोट भए पनि दुःखी मुडमा बाहिर निस्किएका निशानको परिचय बुबाविहीन छोराको रुपमा गराउँदा माहोल केही दुःखी देखिएको थियो। आमाको प्रेरणाले संगीतमा जम्न चाहेको उनले बताए।

दृष्टिविहीन रुपेशलाई जजको रेस्पेक्ट  
रुपेश भण्डारी जन्मै दृष्टिविहीन भए पनि त्रिवेणी संगीतायल पोखरामा संगीत सिकिरहेका छन्। उनले ‘सपना भुलाई सारा’ गाएर जजहरुलाई मन्त्रमुग्ध बनाए।

सफल गायकको नपत्याउँदो सफलता
प्रतिस्पर्धामा झलकमान गन्धर्वको नाति ‘सफल गायक’ पनि आइपुगेका थिए। सात वर्षदेखि उनी भारतमा काम र अध्ययन गरिरहेका रहेछन्। उनको गायनले जजहरुलाई आकर्षित गर्न त सकेन, उल्टै गालीसमेत खाए। जज आलोकले त आफ्नो बाजेको नाकै काटेकोसमेत भन्न भ्याए। तर उनलाई निर्णायकहरुले अर्को राउन्डका लागि निमन्त्रणा दिएका छन्।

Leave A Comment