नेपाल आइडल: पवनकलीको ठट्टा

शुक्रबार, ३० फागुन २०७६, ०१ : २५ शुक्रवार
नेपाल आइडल: पवनकलीको ठट्टा

नेपाल आइडल फाइनलको नजिक आइपुगेको छ। यस पटक माम्पीले पवनकलीको रुपमा कार्यक्रम सञ्चालन गर्न आएकी थिइन्। एक समय उनी पवनकलीको रुपमा दर्शकमाझ लोकप्रिय बनेकी थिइन्। उनले स्टेजमा देखिना साथ जजहरुलाई उडाउनु उडाइदिइन्। नर्सिङ्गाको धुनमा स्टेजमा नाच्दै आएकी उनी सबैलाई ठीक छौ भन्दै सबैलाई हँसाउने प्रयास गरिन्। उनले न्ह्यु वज्राचार्यलाई अझैँ ‘न्हु’ भन्छौँ कि ‘वोल्ड’ भन्छौँ भन्दै उल्याउन भ्याइन्। न्ह्यु चाहिँ आफूलाई उल्याएको देखेर रमाइलो मानिरहेका थिए। अर्का जज कालीलाई उनले ‘नाम साट्न पाए हुने’ भन्दा दर्शकको हाँसो थामिएन। यस्तै अर्की जज इन्दिरालाई ‘झन् झन् सेउसी देखिदै गएकी छौँ, के खान्छौ हो ?’ भन्दै सोध्दा हलभरि हलल्ल हाँसो गुञ्जियो।

एक से एक प्रस्तुति
प्रतियोगी मुस्कान रानाभाटले ‘पटौली’ लोकगीत गाएकी थिइन्। निकै सुरिलो भाकाको सो गीत प्रायः मूलधारमा नसुनिने भएकाले सबै दङ्ग परेर गीत सुनिरहेका थिए। आफ्नो जिज्ञासा रोक्न नसकेर जजहरुले सोधे पनि, ‘यो गीत त कहिल्यै सुनिएको थिएन नि ? कसको गाएको ?’

गीतका पछाडि मुस्कानकी आमा थिइन्। बाल्यकालमा उनकी आमाले सुनाउँथिन् र सोही भाका यतिबेला सुनाइरहेकी थिइन्। गायकीको मिठासका कारण मुस्कानले रेस्पेक्ट एन्ड राइज पाइन्।

अर्का प्रतियोगी नेसन पुन मगरले ‘के खान्छेऊ कमला’ गाए। आफूलाई भर्सटायल गायकका रुपमा स्थापित गरेका नेसनको गायकीले यसमा पनि राम्रै तारिफ पायो। उनले यो गीत प्रस्तुत गरिरहँदा जजहरु मात्र होइन, अतिथि मीरा राणाले पनि आफ्नो नाच्ने रहरलाई रोक्न सकिनन्।

कडा प्रतिस्पर्धी प्रवीण बेडवालले ‘जिम्वाल बाको आँगनीमा’ गाए। सधैँझैँ उनको यस गायकीलाई पनि जजहरुले सराहना गरे।

केभिन ग्लान तामाङले ‘माछी काँडैले’ गाए। केभिनको गायकी स्टेजमै सुन्न भनेर चितवनबाट उनकी हजुरआमा नै आएकी थिइन्। प्रस्तुतिपछि हजुरआमाले उनलाई स्टेजमा नै पुगेर नाति केविनलाई हौसला दिएकी थिइन्। ‘आफूले नै आइडल जितेर आउनू भनेर आशीर्वाद दिएर पठाएको’ हजुरआमाको भनाइ थियो।

अर्की प्रतिस्पर्धी मेघा श्रेष्ठले ‘तिम्रो नै माया’ गाइन्। मेघाले आधुनिक र पप गीतलाई मज्जैले गाएर दर्शकको मनमा घर बनाइसके पनि लोकगीतमा उनको प्रस्तुति कुनै हिसाबले कम देखिएन। तर सोचे जति उनले पर्फमेन्स दिन सकिनन्। जजले पनि गायनमा कमजोर नै देखे।

मीरा राणाको आतिथ्य
यस अंकको आइडलमा मीरा राणा अतिथिका रुपमा आएकी थिइन्। यस पटक प्रतियोगीहरुले लोकगीत गाएर दर्शक तथा जजको मन जित्नुपर्ने थियो। मीराको मन त प्रतियोगीहरुले जिते तर मीरा राणाजस्तो वरिष्ठ गायिकाले आफ्नो बखान आफैँ गरेको भने सुहाएन।

न्ह्युले मीराको गायकीको प्रशंसा गरिरहेका बेला आफू स्टेजमा नाच्दै गाउने पहिलो गायिका भन्ने बखान गर्न भ्याइन्। सबै कुराको पहिलो गायिका आफू नै भएको बखान अरुलाई गर्न लगाएको भए राम्रो हुन्थ्यो।

‘जादुगर’ सज्जा
मोरङकी सज्जा चौलागाईंले ‘वारि तुँवालो’ बोलको पुर्वेली लोकगीत गाइन्। यस गीतमा उनले घुमीघुमी नाचेर सबैलाई छक्क पारिदिइन्। जज इन्दिराले उनको गायनबाट आफू हार खाएको समेत बताइन् भने सबै अडियन्स् र जजहरु उठेर रेस्पेक्ट गरेका थिए। टिपिकल गीतबाट सज्जाले भरपूर मनोरञ्जन दिएकी थिइन्। अतिथि मीराले आफू तरुनी समयमा नाचेको झल्को लागेको बताइन्। जज न्ह्युले पनि अचम्मै लागेको बताउँदै भने, ‘यो मान्छेले जादु नै चलायो है !’ सज्जाले नै यस साताको पर्फमेन्स अफ द विक जितिन्। उनले पच्चिस हजार रुपैयाँ पाइन्। 

त्यस्तै भोटिङ आउट भएका किरणकुमार भुजेल प्रस्तुतिका लागि आइडल मञ्चमा पुनः देखापरे। उनी अतिथि मीरा राणाका लागि गीत गाउन स्टेज चढे। उनले ‘त्यही जोवनमा’ बोलको गीत गाएर मनोरञ्जन दिलाए।

Leave A Comment