सर्‍याे दुई ठूला फिल्मको रिलिज: सरकारकै कारण डराए निर्माता

शुक्रबार, ३० फागुन २०७६, ०१ : ४२ भोला अधिकारी
सर्‍याे दुई ठूला फिल्मको रिलिज: सरकारकै कारण डराए निर्माता

विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशको अर्थतन्त्र धरासायी बनेको छ। छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको प्रभावले चीन र इटालीका सिनेमा घरहरु त बन्द भए तर अन्यत्र यसको खासै प्रभाव देखिएको छैन।

नेपालमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको भए पनि अहिलेसम्म संक्रमितहरु देखिएका छैनन्। तर नेपालीहरुको मनोवैज्ञानिक त्रासलाई मध्यनजर गर्दै ठूला बजेटका बक्स अफिसमा राम्रो कमाउने अपेक्षा गरिएका दुई फिल्म अनिश्चित कालसम्मका लागि रिलिज नगर्ने भएका छन्।
यता सिनेमा हलहरुमा भने दर्शकको कमी नभएको प्रतिक्रिया हल सञ्चालक तथा चलचित्र वितरकहरुको भनाइ छ।

रिलिज गर्न डराए
फागुन ३० गते प्रदर्शन मिति तोकेर पोस्टर गीत र टिजर सार्वजनिक गरेका दुई नेपाली फिल्मले कोरोना भाइरस (कोभिड १९) को कारण देखाउँदै फिल्म प्रदर्शन मिति अनिश्चित कालका लागि सारेका छन्। यसरी मिति सारेका दुई फिल्म पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’ र रेखा थापा अभिनित  ‘नीरफूल’ हुन्।

यी दुवै फिल्म निर्माण टोलीले गएको साता विज्ञप्ति नै जारी गरेर फिल्म रिलिज सारिएको जानकारी दिएका हुन्। यसअघि पनि ‘नीरफूल’को प्रदर्शन मिति सारेर चैत ७ गते पु-याइएको थियो। अब सो फिल्म ७ गते पनि रिलिज नहुने भएको हो।

सिनेमा भवनहरुले नियमित रुपमा सरसफाई र अन्य सचेतनाका उपायहरु अवलम्बन गरेको जनाए पनि फिल्म रिलिज गर्न निर्माताहरु डराएका हुन्।

नेपाल सरकारले नै सभा–सम्मेलन नगर्न र भिडभाडमा नजान गरेको अनुरोधलाई मध्यनजर गर्दै फिल्म रिलिज सारिएको ‘नीरफूल’का निर्देशक फूलमान वलले बताएका छन्।

यता जयनेपाल सिनेमा हलका सञ्चालक साङ दोर्जे लामाले अहिलेसम्मद र्शकको कमी महसुस गर्नु नपरेको बताए। उनले भने, ‘दर्शकहरु मास्क लगाएर भए पनि हलमा पहिलाकै तुलनामा राम्रै आइरहेका छन्। अहिले पनि  फिल्म हलमा दर्शकको कमी देखिएको छैन। पहिला एक पटक दर्शकको खडेरी नै परेको अवस्था थियो तर अहिले यस्तो महामारी फैलिएको हल्लाका बीचमा पनि दर्शकको अभाव महसुस गर्नुपरेको छैन।’ उनले पुस माघको तुलनामा अहिले दर्शकहरु घरबाट बढी नै निस्किएको अनुभव गरेको बताए।

उनले शुक्रबारसँग भने, ‘केही फिल्मीकर्मीहरुले डरको भरमा फिल्म सारेका हुन्। ‘सेन्टी भाइरस’ र ‘आमा’ हाउसफुलमा नै चलिरहेको पाएको छु।’ दर्शक हलमा गएनन् भन्नेहरुले एकपटक हलमा आएर हेर्न सुझावसमेत दिए।

फागुन ३० गते चल्ने भनिएको ‘म यस्तो गीत गीत गाउँछु २’ ले अनिश्चितकालका लागि प्रदर्शन मिति सारेको छ। सरकारले कोरोनाको संक्रमण रोकिएको समाचार नदिउञ्जेल फिल्मको प्रदर्शन मिति नतोक्ने भन्दै फिल्म निर्माण टोलीले अनिश्चितकालसम्म सारेको हो।

सुदर्शन थापा प्रोडक्सनबाट जारी गरिएको विज्ञप्तिमा सरकारले सावधानी अपनाउन भनिएको कुरालाई हृदयंगम गर्दै तत्काल प्रदर्शन नगर्ने जनाइएको हो।

यसै  फिल्मकी अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालहरुमा स्टाटस लेख्दै भनेकी छन्, ‘मेरा दर्शक मेरा भगवान हुन्। म मेरा दर्शकको स्वास्थ्यलाई जोखिममा राखेर फिल्म हेर्नू भन्न सक्दिनँ। त्यसैले चलचित्रको प्रदर्शन सार्ने निर्णय गरेका छौँ। म चाहन्छु पहिले सबै नेपाली स्वस्थ भएपछि सँगै बसेर चलचित्र हेरौँला।’

हल्लाले तर्सिए निर्माता !
कोरोनाका बिरामीहरु भारतमा समेत देखिन थालेपछि र नेपाल सरकारले पनि सचेतना अपनाउन सार्वजनिक ठाउँमा भेला, सम्मेलन नगर्न गरेको आग्रहपछि फिल्म निर्माता तर्सिएको ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठ क्रेजीले बताए।

‘देशको अवस्था आत्तिई हाल्नुपर्ने मैले त देखेको छैन,’ वितरक श्रेष्ठले भने, ‘सरकार र केही अनलाइनले कोरोना आतंकको हल्ला फिँजाएपछि फिल्मीकर्मी पनि प्रदर्शन गर्न डराए।’

आफूले देशै भरका हलहरुमा अवस्था बुझिरहेको बताउँदै वितरक श्रेष्ठले अहिलेसम्म हल नै बन्द गर्नुपर्ने गरी दर्शक आउन बन्द नगरेको बताए। ‘अहिलेसम्म दर्शक डराएर हलमा सिनेमा हेर्न आउन छाडेका छैनन्,’ उनले भने, ‘दर्शक बहादुर छन् भने निर्माता किन डराएका होलान् ? फिल्मको चार्म घटेको छैन। राम्रो फिल्म चल्यो भने मास्क नै लगाएर भए पनि फिल्म हेर्न दर्शक आउँछन्।’

अर्का फिल्म वितरक गोविन्द शाहीले कोरोना भाइरसका कारण सभा सम्मेलन बन्द भए पनि हल बन्द नभएको बताए। वितरक शाहीले भने, ‘सरकारले सभा सम्मेलन लगायत भिडभाडमा नजान अनुरोध गरे पनि दर्शकले फिल्मलाई माया गरिरहेका छन्। फेरि जबसम्म कुनै एक जना प्रमाणित बिरामी देखिँदैनन्, डराउनुको तुक पनि छैन।’

‘अहिले सरकारले अनावश्यक हल्ला गरेका कारण केही दर्शकमा प्रभाव त परेको छ,’ उनले भने, ‘हल नै बन्द गर्नुपर्ने गरी प्रभाव परेको छैन। अहिलेसम्म नेपालमा कोरोना भित्रिएको पनि छैन। कसैलाई कोरोना भएको तथ्य पनि आएको छैन। त्यसैले पनि दर्शक आफैँ ढुक्क देखिएका छन्।’

उता चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म वितरक तथा प्रदर्शक नरेन्द्र महर्जनले भने अलिक फरक धारणा राखे। उनले भने, ‘केही दिन अगाडिको तुलनामा कम भइरहेको छ तर अघिल्लो महिनाको जस्तो सुख्खा नै बस्नु परेको छैन।

गत साताको शुक्रबार र शनिबार दर्शक हलमा आएका थिए भने त्यसपश्चात् अलिक कम देखिएको महर्जनले बताए। ‘अहिले अनेक थरिको हल्लाले पनि दर्शकलाई फिल्म हलसम्म तान्न केही कठिनाई भएको अवस्था छ,’ महर्जन भन्छन्, ‘तर हल नै बन्द गर्नुपर्ने अवस्था भने छैन। अबको शुक्रबारबाट भने दर्शक फेरि हलमा आउने कुरामा म विश्वस्त छु।’

चैत अन्तिममा एक साथ तीन वटा अपेक्षा गरिएका फिल्म प्रदर्शनको तयारीमा छन्। ‘प्रेम गीत ३’, ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ले भने अहिलेसम्म तोकेको रिलिज मिति चैत २८ लाई परिवर्तन गरेका छैनन्।

Leave A Comment