वसन्त ऋतुको आगमनसँगै फूल फूलने क्रम बढ्छ। यो मौसममा फूलने फूलले वनजंगलदेखि बँगैंचासम्म रंगीचंगी र हराभरा हुन्छ। फूलको बास्ना र मनोरम दृश्यमा रमाउँदा कम आनन्द हुन्न। तर, कतिपय व्यक्तिलाई भने सुन्दर फुल्ने फूलले आँखामा बिझाउँछ।
फूल फुल्ने मौसमको सुरुआत भएसँगै आँखामा एलर्जीको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थाल्छ। फूल फुल्ने यो मौसममा फूलमा हुने परागकण आँखामा परी आँखाको एलर्जीको समस्या लिएर व्यक्ति अस्पताल पुग्ने गरेको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल बताउँछन्। डा. ढुंगेलले भने, ‘फागुनदेखि जेठ महिनासम्म फूलको परागकणका कारण आँखा रातो भएर अस्पताल आउने बिरामीको संख्या बढी हुन्छ।’
चिकित्सकका अनुसार फूलको परागकणको एलर्जीका कारण आँखा रातो भएर दुख्ने, बिझाउने, पोल्ने, चिप्रा लाग्ने, चिलाउनेजस्ता लक्षण देखिन्छन्। समस्या बढ्दै गए भाइरसको संक्रमण भई आँखा रातो भएर पाक्न सक्छ, जसलाई इन्फेक्टिभ भनिन्छ। कतिपय अवस्थामा भने आँखा रातो हुने, पोल्ने तथा चिलाउने जस्ता लक्षण देखिए पनि आँखामा चिप्रा बस्दैन।
संघर्षले मौसमी एलर्जी
मौसमी एलर्जीलाई चिकित्सकीय भाषामा ‘सिजनल एलर्जिक कन्जङटिभाइटिस (एसएसी) भनिन्छ। त्यसैगरी व्यक्तिको आँखामा बाह्रै महिना आउने एलर्जी पनि हुन सक्छ। वर्षैभरि हुने एलर्जीलाई ‘पेरिनियल एलर्जिक कन्जङटिभाइटिस (पिएसी)’ भनिन्छ।
त्यसो त मौसमी एलर्जी वसन्त ऋतुको सुरुआतदेखि बढ्दै जाने नेत्र रोग विशेषज्ञ डा. गोकर्ण ढकाल पनि बताउँछन्। डा. ढकालले भने, ‘फूल फुल्ने मौसममा फूलको परागकण हावामा फैलिएर आँखामा परेको अवस्थामा मौसमी एलर्जी हुन्छ।’
बाँसमा हुने धुलो, विभिन्न किसिमका फूलको परागकण, घाँसलगायतका कारण आँखामा एलर्जीको जोखिम हुन्छ। बटलब्रस, काइँयो, क्यामोमायल, सनफ्लावर, जस्मिनजस्ता बिरुवाको फूल फुल्ने समयमा आँखामा एलर्जीको समस्या देखिने चिकित्सक बताउँछन्।
फूलको परागकणमा हुने तत्व (प्रोटिन) आँखामा पर्दा शरीरले त्यस्ता तत्वसँग लड्ने क्षमताको विकास गर्छ। फूलको परागकणमा हुने ‘पोलेन’ नामक तत्वले एलर्जी हुन सक्छ।
नेत्र रोग विशेषज्ञ डा. ढकालका अनुसार बाहिरी वातावरणबाट आएका तत्व (एन्टीजेन)लाई शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) ले प्रतिरोध गर्छ। शरीरले त्यस्ता तत्वलाई प्रतिरोध गरेको खण्डमा शरीरबाहिरबाट आएका तत्व र शरीरको रोगप्रतिरोधात्मक क्षमताबीच संघर्ष हुँदा असरस्वरुप एलर्जी पैदा हुन्छ। जसका कारण आँखा रातो हुने तथा पोल्ने हुन्छ।
सय माइक्रोनभन्दा मसिना कण आँखाले देख्न नसक्ने भएकाले फूलका सय माइक्रोन भन्दा मसिना कण आँखामा परेर एलर्जी हुनसक्ने नेत्ररोग विशेषज्ञ डा. ढकालले बताए। एकपटक आँखामा फूलको एलर्जी भएका व्यक्तिलाई पुनः एलर्जी हुने सम्भावना बढी हुने नेत्ररोग विशेषज्ञ बताउँछन्। डा. ढकालले भने, ‘पहिले नै फूलको एलर्जी भएको अवस्थामा शरीरमा त्यस्तो एलर्जीविरुद्ध लड्ने क्षमताको विकास हुने भएकाले अर्को मौसममा फेरि एलर्जी हुने सम्भावना बढी हुन्छ।’ त्यसैले अघिल्लो फूल फुल्ने मौसममा फूलको एलर्जी भएका व्यक्ति आउने मौसममा पनि सचेत हुनुपर्छ।
सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रविन्द्र शर्मा पनि फूलको परागकणमा हुने एलर्जेन तत्वले छाला तथा आँखामा एलर्जी गराउन सक्नेतर्फ सचेत गराउँछन्। डा. शर्माका अनुसार शरीरमा हुने एलर्जीले आँखामा पनि असर गर्न सक्छ।
मौसमी एलर्जी मात्रै हैन बाह्रै महिना हुने एलर्जीले पनि मानिसलाई सताएको हुन्छ। सामान्यतः बाह्रै महिना एलर्जी हुने कारणमा धुलाको कणको बढी प्रभाव देखिन्छ। डा. ढुंगेलले भने, ‘भान्सा बढारेको धुलो, गाई, भैंसी, कुकुर, बिरालोजस्ता जनावरको भुत्लाका कारण बाह्रै महिना एलर्जी हुन सक्छ।’ कार्पेटको धुलो, बाथरुमको ढुसीजस्ता कारण आँखामा बाह्रै महिना एलर्जी हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। ‘प्रायः महिला घरमा बस्ने भएकाले बाह्रै महिना हुने किसिमको एलर्जी महिलालाई बढी हुने गरेको देखिन्छ,’ डा. ढुंगेलले भने, ‘मौसमी एलर्जी भने पुरुषमा बढी देखिन्छ।’
आँखामा मात्रै हैन बाह्रै महिना हुने किसिमको एलर्जी छालामा समेत देखिन सक्ने छालारोग विशेषज्ञ डा. शर्मा बताउँछन्। काठमाडौं उपत्यकालगायतका सहरमा धुलोका कारण बाह्रै महिना एलर्जी हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। नेत्ररोग विशेषज्ञका अनुसार कतिपय व्यक्तिलाई अत्तर लगायतका कस्मेटिक्स सामग्रीको प्रयोग गर्नाले पनि आँखामा एलर्जी हुन्छ।
दुई थरी एलर्जी
सामान्यतः आँखामा सर्ने र नसर्ने गरी दुई किसिमको एलर्जी हुन्छ। चिकित्सकका अनुसार वातावरणीय प्रभावका कारण आँखा रातो भएर भतभती पोल्ने, आँखाको डिल सुन्निने तथा चिलाउने, सेतो धागोजस्तो लेग्रा आउने एलर्जीका लक्षण देखिन्छ। यस्तो लक्षणलाई चिकित्सकीय भाषामा ‘एलर्जिक कन्जङटिभाइटिस’ भनिन्छ। यसरी आँखामा एलर्जी भएको अवस्थामा सुरुवातको चरणमा आँखामा चिप्रा लाग्ने तथा दृष्टि कम हुने समस्या हुन्न। यस्तो एलर्जी नसर्ने किसिमको एलर्जी भएको डा. ढुंगेल बताउँछन्।
अर्कातर्फ ‘इन्फेक्टिभ एलर्जी’ का कारण आँखा रातो भएर चिप्रा लाग्ने, घाममा हेर्न नसक्ने, चिप्राले आँखा टालिने लक्षण देखिन्छन्। विभिन्न किसिमका भाइरसको संक्रमणका कारण आँखामा यस्तो समस्या उत्पन्न हुनसक्छ। संक्रमण भएको अवस्थामा एलर्जी एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने तर्फ चिकित्सक सजग गराउँछन्। आँखामा ‘कन्जनटाइभा’ नामक जालो (पत्र) हुन्छ। यो जालोमा एलर्जीको रियाक्सनका कारण एलर्जीका लक्षण देखिन्छन्।
एलर्जीको जोखिम सबै उमेर समूहका व्यक्तिमा हुन्छ। अन्य मौसममा सुसुप्त अवस्थामा रहने भए पनि फूल फुल्ने मौसममा बच्चाको आँखा रातो हुने, पोल्नेजस्ता समस्या हुन्छन्। जसलाई ‘भर्नल क्रिर्याटो कन्जङटिभाइटिस’ भनिन्छ। यो एलर्जिक कन्जङटिभाइटिसकै एउटा प्रकार हो। यस्तो मौसमी समस्या पाँचदेखि १५ वर्षका बच्चामा बढी देखिने गरेको नेत्र रोग विशेषज्ञ डा. ढुंगेल बताउँछन्। बच्चामा हुने यस्तो एलर्जी १५ वर्षपछि आफैँ पनि ठिक हुने उनको तर्क छ।
त्यसो त सबै व्यक्तिलाई एलर्जी हुन्छ नै भन्ने पनि छैन। एलर्जी हुने कुरा व्यक्तिको शरीरमा पनि भर पर्छ । कोही व्यक्तिलाई एलर्जी हुने कारणले अर्को व्यक्तिलाई नहुन पनि सक्छ।
बच्ने उपाय र उपचार
फूलको एलर्जीको समस्या हुने व्यक्तिले त्यस्ता फूल फुल्ने वातावरणबाट टाढा रहनुपर्छ। आँखामा हुने मौसमी एलर्जीको समस्याबाट बच्नका लागि फूल फुलेका ठूला रुखमुनि नजान डा. ढंगेलको सुझाव छ। कालो चस्मा लगाएको खण्डमा केही हदसम्म भए पनि एलर्जीको समस्याबाट बच्न सकिन्छ। घाममा हिँड्दा चस्मा, ह्याट तथा टोपी लगाउन चिकित्सकको सुझाव छ।
रातो, पहेँलो, निलो रंगका फूलका कणले आँखामा बढी असर गर्न सक्ने भएकाले यस्ता फूलबाट टाढा बस्नुपर्छ। पहिले–पहिले फूलको एलर्जीको समस्या भएका व्यक्तिले फूल फुल्ने मौसममा अझ बढी सचेत रहनुपर्ने डा. ढकालको सुझाव छ। आँखामा फूलको एलर्जीको समस्या हुने व्यक्तिले गार्डेनमा काम गर्दा सचेत हुनुपर्छ।
सामान्यतः बिहानको एघार बजेपछि फूलका परागकण उड्ने भएकाले दिउँसोको समयमा सतर्क हुन छालारोग विशेषज्ञ डा. शर्माको सुझाउँछन्। डा. शर्माले भने, ‘हावा चल्दा परागकण उड्छन्, जसले एलर्जीको जोखिम हुन्छ।’ त्यसैले दिउँसो तथा बेलुका धेरै फूल फुलेको ठाउँमा जाँदा सचेत हुनुपर्ने उनी सुझाउँछन्। चिकित्सकका अनुसार डिँडडुल गर्दासमेत शरीर ढाक्ने किसिमले कपडा लगाउनाले एलर्जीबाट बच्न सकिन्छ। धुलो–धुवाँबाट बच्न त आवश्यक हुन्छ नै।
मौसमी एलर्जी सरुवा किसिमको नहुने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा भने नसर्ने चिकित्सक बताउँछन्। मौसमी एलर्जीको सुरुमै संक्रमण नहुने भए पनि एलर्जी रहिरहेको अवस्थामा संक्रमणको जोखिम हुने चिकित्सक बताउँछन्। संक्रमण भएको अवस्थामा अन्य व्यक्तिलाई समेत सर्ने भएकाले बेलैमा उपचार गर्न नेत्ररोग विशेषज्ञ डा. ढुंगेल सल्लाह दिन्छन्। एलर्जी बढ्दै जाँदा दृष्टी नै गुम्नेसम्मको जोखिम हुन्छ। त्यसैले बेलैमा औषधि उपचार गर्नुपर्छ। औषधि उपचारपछि भने आँखामा हुने एलर्जी ठिक हुने चिकित्सक बताउँछन्। एलर्जीको उपचार गर्दा एन्टी एलर्जी आइड्रप, इन्जेक्सनको प्रयोग गर्न सकिन्छ। संक्रमण बढेको खण्डमा एन्टिबायोटिक्सलगायतको प्रयोग गर्न सकिने चिकित्सक बताउँछन्।
Leave A Comment