ठगिए फ्यान: डुबायो सेलिब्रिटी मोहले

सोमबार, ०३ चैत २०७६, ११ : ०३ पुष्पा थपलिया
ठगिए फ्यान: डुबायो सेलिब्रिटी मोहले

चितवनकी भगवती गैरे भारतीय अभिनेता अमिताभ बच्चनको एकदमै ठूलो फ्यान हुन्। सामाजिक सञ्जाल फेसबुकमा खाता खोलिसकेपछि उनले त्यहाँको सर्च इन्जिनमा सबैभन्दा पहिले उनै बच्चनको नाम लेखिन्। फेसबुकमा सयौँ अमिताभ बच्चन देखापरे। उनलाई लाग्यो, ठूला मान्छेको फेसबुक पनि धेरै नै हुने रहेछ ! सर्च गर्दा सबैभन्दा माथि देखिएको नाममा उनले फ्रेन्ड रिक्वेस्ट पठाइन्। साथी बन्ने अनुरोध गरेको केही क्षणमै अमिताभ बच्चनले स्वीकार पनि गरे। त्यति मात्रै होइन, उनले ‘हाँ बोलिए बेहेनजी’ भनेर म्यासेज पनि पठाइहाले। त्यसपछि त उनको खुसीको सीमा नै रहेन। महिनौँसम्म उनले छरछिमेकलाई आफू अमिताभ बच्चनको साथी रहेको डिङ हाँकिरहिन्।

यसपछि त उनलाई सेलिब्रिटी खोज्दै तिनीहरुसँग गफ गर्ने नशा नै लाग्यो। त्यसपछि उनले खोज्न थालिन्, चर्चित नामहरु। तीमध्ये एक जना थिए, रेखा थापा तथा शिल्पा पोखरेलका पूर्वपति छवि ओझा ! नेपाली फिल्म उद्योगका स्थापित निर्माता भए पनि बेलाबेलामा रेखा थापा र शिल्पा पोखरेलसँग नाम जोडिएर आउने हुनाले धेरैलाई जस्तै भगवतीलाई पनि उनीबारे चासो जागेर फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। रमाइलो के भइदियो भने, ‘छवि ओझा’ले पनि भगवतीसँग बेलाबेलामा मज्जैले गफगाफ गर्न थाले। ओझाले भगवतीलाई आफ्नो नयाँ फिल्ममा आमाको भूमिका अफर मात्र गरेनन्, तयारी थाल्नसमेत सुझाव दिए।
०००
केही समयअघि रुविना (नाम परिवर्तन), उमेर ३१ लाई राजेश हमालको फ्रेन्ड रिक्वेस्ट आयो। नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालको फ्रेन्ड रिक्वेस्ट आएपछि सुरुमा त उनलाई शंका लाग्यो। प्रोफाइल खोलेर हेर्दा पनि हमालका विभिन्न क्रियाकलापले उनलाई उक्त आइडी सही नै लाग्यो। यति भएपछि अस्वीकार गर्ने त कुरै आएन ! फ्रेन्ड रिक्वेस्ट स्वीकार गर्नेबित्तिकै ‘राजेश हमाल’ले नै कुराकानी गर्न थाले।

उनी त्यो दिनभर मख्ख परिन्। फ्रेन्ड भएको रातभर उनीहरुले पर्सनलदेखि प्रोफेसनलसम्मका गफगाफ गरे। श्रीमान् विदेश गएर एक्लोपना महसुस गरिरहेकी उनीसँगको कुराकानी दिन दोगुना रात चौगुनाका दरले बढ्दै गयो।

बिस्तारै ‘राजेश हमाल’ले आफू पछिल्लो समय फिल्म खेल्न कम गर्न थालेको र आफूलाई आर्थिक संकट लागेको भन्दै पैसा माग्न थाले। सुरुमा त रुबिनालाई देशकै महानायक अप्ठेरोमा परेकोमा चित्त कुँडिएर आयो। ‘देशलाई यत्तिको योगदान दिने व्यक्तित्वलाई यस्तो अप्ठेरो पर्दा एउटा प्रशंसकका रुपमा कसरी टुलुटुलु हेर्नु ?’ उनले शुक्रवारसँग भनिन्, ‘त्यसैले मैले उहाँलाई कुनै आनाकानी नगरी शुरुमा ५० हजार पठाइदिएँ।’

आइएमई गरेर उनले कमल गुरुङको नाममा सो रकम पठाइदिएकी थिइन्। ‘राजेश हमाल’ले दान मागेका थिएनन्, बकाइदा फिर्ता गर्ने शर्तमा सापटी मागेका थिए। पछि फेरि थप रकम माग्न थाले र एकै चोटि पहिलेको रकमसमेत जोडेर दुई लाख फिर्ता दिने भन्दै कर गर्दै माग्न थालेपछि रुबिनाले सो रकम पनि दिइन्।

करिब छ महिनाको दौरानमा दिइएको रकम दुई लाख रुपैयाँ पुगेपछि भने उनले फेसबुक आइडीवाला ‘राजेश हमाल’सँग पैसा फिर्ता माग्न थालिन्। जब रुबिनाले पैसा फिर्ताको म्यासेज पठाइन्, त्यो म्यासेज हेरेर पनि कुनै रिप्लाई आएन। त्यसको भोलिपल्टदेखि फेसबुकमा ‘राजेश हमाल’ अलप भए।

रुबिना भन्छिन्, ‘श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको पैसा सेलिब्रिटीसँग गफ गर्ने र नजिक हुने रहरले गुमाएँ। न त यो कुरा श्रीमान्लाई सुनाउन सक्छु न त अरु कसैलाई ! जान्दाजान्दै आफैँ बेवकुफ भएको कसरी सुनाउनु ?’ उनलाई प्रहरीकहाँ जाने र उजुरी गर्ने आँट पनि आइरहेको छैन। उजुरी गर्नका लागि आवश्यक प्रमाण पनि आफूसँग नभएपछि उनी यतिबेला विलखबन्दमा परेकी छन्।
०००
यतिबेला एउटा भिडियो युट्युबमा ट्रेन्डिङ भइरहेको छ। युट्युबरहरु भिडियोवाला व्यक्तिको अन्तर्वार्ता लिन भ्याइनभ्याई दौडिरहेका छन्। उनी हुन्, टिकटकबाट भाइरल भएकी, गुराँस नानी। उनको वास्तविक नाम कृष्णा राई हो। भाइरल हुनुका कारण टिकटक मात्रै होइन, उनले दिने अन्तर्वार्ता पनि हो।

उनले नायक अनमोल केसीसँग फेसबुकमा गफ गर्ने, प्रेमगीत  ३ को निर्देशकले फिल्म खेल्न अफर गरेको, यसैकी नायिका कृष्टिना गुरुङले फोटो पठाऊ, फिल्मका लागि तिमी योग्य कि म भनेर फेसबुकमा धम्क्याएको जस्ता कुराले उनी युट्युबको ट्रेन्डिङमा छाएकी हुन्।

गुराँश नानीका यी कुरा दर्शकले नपत्याए पनि हँस्यौलीका लागि धेरैले ती अन्तर्वार्ता हेरे। उनका कुराकानी कति भाइरल भए भने उनको ट्रोल नै बन्यो। केही पत्रकार त अनमोल केसीका पछाडि दौडदै गुराँस नानीलाई चिन्नुहुन्छ भन्दै सोध्न थाले। स्वयं अनमोल पनि गुराँश नानी निकै खत्रा सेलिब्रिटी हुन् कि भन्दै लजाउँदै आफूले नचिनेको प्रतिक्रिया दिए।

सो प्रतिक्रिया सुनेकी गुराँश नानीले झनै चम्केर ठूलो मान्छे भएपछि आफूलाई भुलेको र आफू भने जति ठूलो बने पनि चिन्दिनँ नभन्ने भनेको कुराले अर्को ट्रेन्डिङ पायो। यो ट्रेन्डिङका कारण थरिथरिका युट्युबरहरुले गुराँशबाट प्रमाण खोज्न थाले, के साँच्चिकै अनमोलले उनीसँग कुराकानी गरेका थिए त ? नभन्दै अनमोलको फेसबुक आइडीबाट कुराकानी भएको पनि देखियो। तर सो आइडी नक्कली भएको पनि प्रमाणित भयो।

लामो समयसम्म कृष्णा उर्फ गुराँश नानीले फेसबुकमा नक्कली अनमोल केसीसँग गफिएको चालै पाइनन्। सोलुखुम्बुमा जन्मिएकी र भर्खरै सामाजिक सञ्जालमा जोडिएकी सोझी कृष्णाले आफू ठगिएको पत्तै पाउन सकिनन्।
०००
रुकुमकी शर्मिला कठायत, नेपाली फिल्म क्षेत्रका चल्तीका नायक पल शाहकी फ्यान हुन्। फ्यान भएकै कारण उनीले पल शाह नाम गरेको फेसबुक पेजमा लाइक गरेकी थिइन्। सो पेजमा विभिन्न समयमा बाढीपीडितका नाममा राहत संकलन गरेको भन्दै विवरण पनि राखिन्थ्यो।

देश विदेशबाट लाखौँको सहयोग आएको भन्दै रकमसहित धन्यवाद दिएको देखेपछि शर्मिलालाई पनि सहयोग गर्न मन लाग्यो।

उनले पटकपटक किस्तामा पैसा पठाउन थालिन्। पल शाहको म्यानेजर बताउने आमोद भट्टराईको नाममा आइएमईमार्फत शर्मिलाले पैसा पठाउँथिन्। ‘बिस्तारै त्यो फेसबुक आइडीबाट मलाई आफ्नी आमा बिरामी परेको त कहिले के भएको भन्दै पल शाहले पैसा माग्न थाले,’ शर्मिलाले फेसबुकमा भनिन्, ‘मैले सम्मान गर्ने यस्तो व्यक्तित्वले जब एकदमै निजी कुरामा सहयोग माग्न थाले, मलाई शंका लाग्न थाल्यो। नभन्दै म त लामो समयदेखि भावनात्मक रुपमा र आर्थिक रुपमा ठगिएकी पो रहेछु।’

त्यसपछि उनले टेलिभिजनबाट प्रसारण हुने एउटा सोमा गएर यसबारे बताइन्। टिभी सो, सक्कली पल शाह, आइएमई र प्रहरीको साइबर क्राइमको मद्दतले पल शाहको नक्कली आइडी चलाउने आमोद भट्टराईलाई पक्राउ गर्न सफल पनि भयो।
०००
संसारकै सबैभन्दा धेरै मानिस जोडिएको सामाजिक सञ्जाल फेसबुकमा सेलिब्रिटीसँग जोडिन सजिलो भएसँगै सजिलैसँग ठगिने क्रम पनि उत्तिकै बढिरहेको छ। माथिका उदाहरणले कसरी सर्वसाधारणको भावना र पैसा सामाजिक सञ्जालमार्फत दोहन भइरहेको छ भन्ने स्पष्ट पार्छ।

खासगरी सेलिब्रिटीका वास्तविक आइडी कुन हो र कुन होइन भन्ने छुट्याउन नसक्दा अधिकांश सर्वसाधारणहरु ठगिएका छन्। अलि चलाख प्रहरीसम्म पुगेर त्यस्ता ठग नक्कली सेलिब्रिटीलाई तह लगाउन सफल हुन्छन् भने सोझाहरु पीडित नै भइरहने अवस्था रहिरहन्छ।

फेसबुकबाट ठगिने धेरै
महानगरीय अपराध महाशाखाको साइबर सेल (विद्युतीय अपराध शाखा) मा आएका सबैभन्दा धेरै मुद्दा पनि नक्कली फेसबुक आइडीकै छ। आर्थिक बर्ष २०७६ र ७७ को हालसम्म दर्ता भएको मुद्दा हेर्ने हो भने ५ सय ५५ वटा अपराध फेक फेसबुक आइडीबाट भएका छन्।

साइबर सेलका प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंह नक्कली सेलिब्रिटीको ठगाईमा पर्ने अधिकांश पीडितहरु प्रहरीसम्म जानै डराउने र समाजमा आफ्नै बेइज्जती हुने डरका कारण पनि ती घटना गुपचुप हुने हुनाले यसको वास्तविक तथ्यांक फेला पार्न नसकिने बताउँछन्।

उनले महिला र बालबालिकाको मुद्दा छुट्याइने तर कलाकारको छुट्टै तथ्यांक नराखिने बताए। ‘हाम्रा लागि कलाकार र आम मानिस बराबरी हुन्, त्यसैले उनीहरुको मुद्दा छुट्टै राख्ने भन्ने नै हुँदैन।’

‘सामाजिक सञ्जालका धेरै सकारात्क पक्ष भए पनि सर्वसाधारणले बुझ्नै पर्ने कुरा के हो भने एक प्रकारले नाम कमाइसकेका सेलिब्रिटीसँग फाल्तु कुरा गरेर बस्ने समय हुँदैन,’ सिंहले भने, ‘कहीँकतै आफू ठगिए पनि यस्ता कुरा प्रहरीलाई रिपोर्ट गरेको खण्डमा अरु ठगिनबाट जोगिन्छन्। एउटा नागरिकको कर्तव्य यो पनि हो भन्ने बिर्सन हुँदैन।’

‘सेलिब्रेटीहरु आफ्नो फेसबुक आइडी आफैँ चलाउँदैनन्, त्यसका लागि मान्छे राखेका हुन्छन् भन्ने कुरा पनि थाहा पाउन जरुरी हुन्छ,’ साइबर सेल प्रमुख सिंह बताउँछन्।

नक्कली सेलिब्रिटीबाट मान्छे नठगिऊन् भनेर नै सेलिब्रिटी वा आधिकारिक मान्छे हो कि होइन भनेर भेरिफिकेसनसमेत गर्न मिल्छ। नेपालकै धेरै कलाकारको सामाजिक सञ्जालमा भेरिफाइड आइडी चलाउने गरेका छन्। भेरिफाइड भएको आइडीबाट कुरा गरे आफू ठगीमा पर्नु नपर्ने पनि सिंहको सुझाव छ।

नक्कली आइडीबाट लुटिनेसँगै पछिल्लो समय जस्तो पायो त्यस्तै लिंकमा क्लिक गर्दा फेसबुक ह्याक हुने समस्या निकै धेरै मात्रामा देखिएको पनि उनको भनाइ छ। त्यसैले जस्तो पायो त्यस्तै लिंक नखोल्न उनी सुझाउँछन्।

नक्कली सेलिब्रिटीबाट जोगिने सबैभन्दा सजिलो उपाय भनेको नै प्रयोगकर्ता आफैँ सचेत हुनु रहेको सिंहको भनाइ छ।

के भन्छन् सक्कली सेलिब्रिटी
चल्तीका कलाकारका फ्यानहरु कुन आइडी सक्कली र कुन नक्कली भन्ने छुट्याउन नसक्दा समस्यामा पर्ने गरेका छन्। उनीहरु सक्कली कलाकार भन्दै नक्कलीसँग कुराकानी गरिरहेका हुन्छन् र विभिन्न ठगीका मुद्दा बोकेर प्रहरी चौकी धाउन बाध्य भइरहेका छन्। तथापि यस्तो मुद्दा दर्ता गर्नेको संख्या निकै थोरै हुन्छ।

उदाहरणका रुपमा पल शाहको घटनालाई लिन सकिन्छ। यसैगरी नायिका आँचल शर्मा, रेखा थापा लगायतको नक्कली फेसबुक आइडीबाट पनि ठगीका घटनाहरु बाहिर आइरहेका छन्। यी घटना प्रहरी चौकीसम्म भने आइपुगेका छैनन्।

नायक पुष्प खड्काको पनि फेक फेसबुक आइडी निकै छन्। ती आइडीबाट ठगीजस्ता गम्भीर मुद्दा नआए पनि उनका फ्यानहरुलाई फ्लर्ट गरेको स्क्रिन सट उनका शुभचिन्तकहरुले पठाउने गरेको उनले बताए। त्यति मात्रै होइन, नक्कली आइडीबाट सक्कली आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाएर एक्सेप्ट गर्न म्यासेज पठाएको कुरा पनि खड्काले बताए।

यस्ता नक्कली पुष्प खड्काहरुको फ्लर्टबाट जोगिने उपाय के हुनसक्छ त ? अभिनेता खड्का भन्छन्, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताहरु थोरबहुत सजग त हुनैपर्छ। प्रयोगकर्ता आफैँ सचेत नहुञ्जेलसम्म नक्कलीको फन्दामा परिरहिन्छ।’

यता नायिका पूजा शर्मा भने यसलाई सकारात्मक तरिकाले लिन्छिन्। उनले भनिन्, ‘फ्यानहरुलाई हामीबारे जान्ने इच्छा भइरहेको हुन्छ अनि त्यस्ता आइडीबाट उनीहरुले हाम्रोबारे सूचना पाउँछन्।’ तर ठगी हुने, पैसा माग्ने, आफ्नो नामको दुरुपयोग भइरहेकोतर्फ भने सेलिब्रिटी र प्रशंसक दुवै पक्ष सचेत हुनुपर्ने उनी बताउँछिन्।

‘ठगीजस्ता कुरामा प्रयोगकर्ता आफैँ सचेत हुनुपर्छ,’ पूजा भन्छिन्, ‘कुनै पनि सेलिब्रिटीले आफ्ना फ्यानसँग पैसा माग्दैनन्। कुन आइडीमा कस्ता कुरा लेखिएका छन्, कुन आइडी धेरै अपडेट भइरहन्छ र नयाँ फोटोहरु अपलोड भइरहन्छ, भेरिफाइड नभए पनि त्यो वास्तविक हुनसक्छ। धेरै कुरा जाँच गरेपछि मात्र विश्वास गर्नुपर्छ।’

Leave A Comment