अर्थतन्त्रमा कोरोना सन्त्रास

सोमबार, ०३ चैत २०७६, ११ : ३४ दिलीप पौडेल
अर्थतन्त्रमा कोरोना सन्त्रास

चीनबाट सुरु भएको कोरोना भाइरसको सन्त्रासले विश्व अर्थतन्त्र प्रभावित भएको छ। कोरोनाको कारण नेपालमा मानवीय क्षति नभए पनि अर्थतन्त्रमा क्षति पुगेको छ।

दैनिक जीवनमा कोरोनाको प्रभाव देखिएको छ। पर्यटक आगमन नहुँदा होटल सुनसान छन्। बजारमा कालोबजारी बढेर सामान अभाव देखिन थालेको छ। वैदेशिक रोजगारी कटौती भएको छ। पर्यटन, सामान तथा कच्चा पदार्थ आयात, बजार, रेमिटेन्समा परेको असरले मुलुकको अर्थतन्त्र प्रभावित भएको छ। सुन र डलरको मूल्य बढेको छ।

मास्क, सेनिटाइजरलगायत वस्तुमा उच्च मूल्यवृद्धि भएको छ। कोरोना भाइरसको सन्त्रासले सामान अभाव हुन सक्ने भन्दै उपभोक्ताले दैनिक उपभोग्य वस्तु धेरै खरिद गर्दा कालोजबारी बढेको हो। मास्क, सेनिटाइजरलगायतका वस्तुको अभाव भएर उच्च मूल्यमा बिक्री भएको छ। कोरोनाको सन्त्रास निरन्तर लम्बियो भने सामानको मूल्य बढ्ने निश्चित छ।

कोरोनाको असर नेपालका सबै क्षेत्रमा परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए। ‘कोरोनाको सन्त्रासको प्रभाव अर्थतन्त्रका अवयवमा देखिएको छ,’ उनले भने।

अन्तर्राष्ट्रिय निकायहरुले कोरोनाका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत बिन्दुले आर्थिक वृद्धिदरमा कमी आउने अनुमान गरेका छन्। सरकारले अपेक्षित रुपमा पुँजीगत खर्च हुन नसकेको अवस्थामा कोरोनाले रेमिटेन्स, पर्यटन, व्यापारमा असर पार्ने भएकाले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान अर्थक्षेत्रका जानकारले गरेका छन्। यो वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।

नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत भएकाले कृषिबाहेका अन्य क्षेत्रमा यसको असर देखिएको छ। पर्यटन क्षेत्रमा असर पर्दा होटलमा खपत हुने कृषिजन्य वस्तु भएकाले त्यसमा पनि प्रभाव पर्छ। कोरोनाबाट अति प्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक सम्बन्धका कारण त्यसको असर यहाँ पर्छ। कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा असर देखिन सुरु भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले बताए। ‘नेपालको अर्थतन्त्रमा चुनौती थपिएको छ,’ उनले भने।

नेपाल आउने चिनियाँसहित अन्य देशका पर्यटकले धमाधम भ्रमण रद्द गरेका छन्।  भ्रमण रद्द भएपछि होटलले करोडौं रुपैयाँ घाटा व्यहोरेका छन्। तारे होटलदेखि पर्यटकीय होटलको अकुपेन्सी ह्वात्तै घटेको छ। कोरोना भाइरसको संक्रमण पर्यटन बजारमा असर परेको होटल एसोसिएसन अफ हानकी अध्यक्ष सिर्जना राणाले बताइन्। ‘कोरोना भाइरसले संसारभरि अप्ठ्यारो बनाएको छ,’ राणाले भनिन् ‘भ्रमण वर्षको सुरुवात भएकाले यसको असर नेपालमा पनि प-यो।’

विदेशी पर्यटकले भ्रमण रद्द गर्दा पर्यटन व्यवसायी मात्रै नभएर सिंगो मुलुकलाई नै नकारात्मक असर पर्ने भ्रमण वर्ष सचिवालय राष्ट्रिय संयोजक सुरज वैद्यले बताए। ‘होटल खाली हुँदा कृषकदेखि ट्याक्सी ड्राइभरलाई समेत असर पुग्छ,’ उनले भने। अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले आफ्नो उडान कटौती गरेका छन्। घटनाक्रमले भ्रमण वर्ष २०२० प्रभावित भएको छ। सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक आएका थिए।  सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सरकारले २० लाख पर्यटक भिœयाउने लक्ष्य सार्वजनिक गरेको थियो। कोरोना भाइरसको प्रभावले नेपाल सरकारको लक्ष्यमा असर पुगेको छ। सन् २०२० को जनवरी १ मा भव्य कार्यक्रमसहित घोषणा गरेको भए पनि एक महिना नबित्दै चीनमा फैलिएको कोरोना भाइरसको कारण त्यसको असर पर्यटन क्षेत्रमा देखिएको हो।

नेपालमा वैदेशिक रोजगार गन्तव्य मुुलुकले पनि कामदार लैजान कटौती गरेका छन्। नेपालको प्रमुख कतारले नेपालीलाई त्यहाँ लैजान रोक लगाएको छ। कतार सरकारले नेपाली कामदारलाई लैजान रोक लगाएपछि त्यसको असर रेमिटेन्समा पर्ने निश्चित छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अर्को सूचना नआउँदासम्म कतार श्रम स्वीकृति रोकिएको बताए। कतारको आग्रहअनुसार नेपालले कामदार पठाउन रोक लगाएको छ। कुबेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको भने दक्षिण कोरियाले हवाई उडान तालिकालाई एक महिना पछि धकेलेकोे छ। यसरी रोजगार गन्तव्य मुलुकमा नेपाली कामदार जान नपाएपछि त्यसको प्रत्यक्ष प्रभाव रेमिटेन्समा देखिन्छ। गत आवमा विदेशबाट आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो। यसले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा २४.४ प्रतिशत योगदान पु-याएको छ। यो वर्षको ६ महिनामा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ रेमिटेन्स आएकोमा अब घट्ने अनुमान गरिएको छ।

कोरोना असरले सेयर बजार डामाडोल भएको छ। सेयरमा लगानी गर्न छाडेर सुन र डलरमा लगानी गरेपछि यो साता सुन र डलरको मूल्य निरन्तर बढेको छ।

कोरोनाकै कारण नेपाली रुपैयाँ कमजोर भएपछि डलर महँगो भएको हो। वैदेशिक रोजगारी कटौती भएकाले आयातमुखी अर्थतन्त्र भएको नेपालका लागि फाइदाभन्दा धेरै घाटा पुग्छ। विदेशबाट सामान आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्छ। यसले यहाँ रहेको डलर सञ्चिति घट्छ भने सामान खरिद महँगो पर्छ। यसले बजारमा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा पर्छन्।

लगानीकर्ताले सुन तथा अमेरिकी डलरमा गरिएको लगानीलाई सुरिक्षत ठानेर लगानी गरेपछि मूल्य बढेको हो। मंगलबार सुनको मूल्य तोलाको ८२ हजार सात सय रुपैयाँ र एक डलरको खरिद दर एक सय १८ रुपैयाँ ९० पैसा पुगेको छ। आफ्नो लगानी सुरिक्षत गर्न सुन र डलरमा लगानी बढाएपछि त्यसको असर नेपाली बजारमा परेको छ। गत वैशाख २ गते सुन तोलाको मूल्य ५९ हजार ६ सय रुपैयाँ रहेको सुन ११ महिनाको अवधिमा तोलामा २३ हजार एक सय रुपैयाँ बढेर मंगलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको छ। डलर एक सातामै तीन रुपैयाँ बढेर एक सय १८ रुपैयाँ ९० पैसा पुगेको छ।

कोरोना प्रभाव नहट्दासम्म लगानीकर्ता सुन र डलरमै झुम्मिने देखिएको छ। ठूलो अर्थतन्त्र भएका मुलुकका स्टक एक्सजेन्जमा सेयर कारोबार निरन्तर घटिरहेकाले त्यसको प्रभाव सुन र डलरमा परेको हो। कोरोनाको असरले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए। ‘सुनको मूल्य दिनदिनै बढिरहेको छ,’ उनले भने, ‘कहाँसम्म पुगेर रोकिन्छ भन्न सक्ने अवस्था छैन।’

कोरोना प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ। अर्गनाइजेसन अफ दी पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज् (ओपेक) ले तेल उत्पादनमा कटौती गरेपछि मूल्यमा गिरावट आएको हो। कोरोना भाइरसको कारण कच्चा तेलको माग कम भएकाले उत्पादन घटाएका हुन्। कोरोना भाइरसको असरले विश्व अर्थतन्त्र सुस्ताएको छ। औद्योगिक उत्पादन कटौती भएको छ, सवारी आगमन घढेकाले तेलको माग कम हुने भएकाले उत्पादन कटौती गर्दा मूल्य घटाएका हुन्। अमेरिकी कच्चा तेलको बेञ्चमार्क यूएय वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल साढे ३० डलरमा झरेको छ। एकैदिन झण्डै ११ डलरले गिरावट आएको हो। मार्च ५ मा प्रतिब्यारेल ४५ डलर थियो। तर, ४ दिनमै मार्च ९ मा १५ डलर घटेको हो।

Leave A Comment