मेरो हँसाउने काइदा

शनिबार, ०४ भदौ २०७३, ०९ : १६ ईश्वर दाहाल , Kathmandu
मेरो हँसाउने काइदा

हास्यकलाकारले हँसाउने विषयवस्तु कसरी छनोट गर्छन् ? उनीहरूको हँसाउने काइदा र तरिका के हुन् ? केही कलाकारले आफ्ना हँसाउने शैलीबारे शुक्रवारसँग कुरा गरेका छन् ।

‘भाषा प्रयोगमा विशेष ध्यान दिन्छु’
राजा राजेन्द्र पोखरेल
कमेडीको विषय छनोट तत्कालीन अवस्था हेरेर गरिन्छ । वर्तमानमा चलिरहेको वा बहस भइरहेको विषयमा ‘ह्युमर’ कम भए पनि हुन्छ । विशेष गरी यस्ता विषय छनोट गर्दा सामाजिक उत्तरदायित्वका पक्षलाई केन्द्रमा राखिन्छ । आम जनजीवनसँग जोडिएको विषयलाई प्राथमिकता दिइन्छ । त्यसै गरी जबर्जस्त हास्यरस भएको विषयलाई छनोट गरिन्छ । स्टेजमा कमेडी गर्दा त्यहाँ विभिन्न समूहका दर्शक हुन्छन् सबैलाई सबै विषयले नछुन पनि सक्छ ।
कतिपय साथीहरूको कमेडी ‘सेक्स ओरिएन्टेड’ हुन्छ । जसले सामाजिक, आर्थिक र राजनीतिक विषयसँग खासै सरोकार राखेको पाइँदैन । तर, धेरैजसो कमेडी राजनीतिक विषयमा केन्द्रित छ । किनकि, नेपाली समाज नै राजनीतिको पछाडि दौडिरहेको छ । समाजको सम्पूर्ण क्षेत्रलाई राजनीतिले प्रभावित गरेपछि स्वभाविक रूपमा राजनीति चर्चा र आवश्यकताको विषय बन्न पुग्छ । कमेडीमा प्रायः नेता केन्द्रमा देखिन्छन् । तर, बुझ्नु पर्ने कुरा के हो भने हामीले नेता वा व्यक्तिलाई भन्दा प्रवृत्तिलाई केन्द्रमा राखेका हौँ । नेता प्रवृत्तिलाई अभिव्यक्त गर्ने माध्यम मात्र हो । राजनीतिको विकृति र कमजोरीलाई उजागर गर्न अगाडि सारिएको पात्र मात्र हो नेता ।
अहिले कतिपय साथीहरूले राजनीतिरहित कमेडी पनि गरिरहनुभएको छ । मैले पनि गर्नेगरेको छु । अहिले देशमा आएका समस्याको पछाडि राजनीति नै मुख्य जिम्मेवार छ । राजनीतिलाई कमेडीको माध्यम बनाउन वा यसका कमजोर पक्षलाई उजागर गर्नु हाम्रो दायित्व हो । तर, राजनीतिक कमेडी गर्दा जोखिम पनि छ । किनकि, नेपाली समाज राजनीतिबाट सबैभन्दा बढी विभक्त छ । राजनीतिक कमेडी गर्दा एकचोटि एउटा दल, नेता वा उक्त राजनीतिक दलसँग सरोकार राख्ने सरोकारवाला रिसाउँछ भने अर्काेचोटि अर्काे दल वा नेता रिसाउँछ । एउटा दललाई कमेडीको विषय बनाउँदा ऊबाहेकका राजनीतिक दल खुशी हुन्छन् । राजनीतिक कमेडी गर्दा खुशी हुने पनि शतप्रतिशत खुशी हुन्छन् भने रिसाउने पनि शतप्रतिशत रिसाउँछन् ।
कतिपय व्यक्तिको हाउभाउ, बोली र लवजलाई देखेर पनि कमेडी डिजाइन गरिन्छ । पश्चिमतिर जाँदा एकजना पात्र भेटेको थिएँ । ऊ जुनसुकै विषय पनि जानेको छु जसरी गरी प्रस्तुत हुन्थ्यो । त्यसै गरी अर्काे पात्र जतिखेर पनि ‘मलाई था छ नि’ भनिरहन्थ्यो । अर्काे एउटा पात्र आफूलाई जतिखेर पनि गम्भीर देखाउने र अध्ययन गर्नुपर्छ अनि हुन्छ भन्ने भेटेको थिएँ । यी पात्रहरूको शैली र अभिव्यक्तिलाई मैले धेरै पटक धेरै ठाउँमा प्रयोग गरेको छु । यस्ता पात्रहरूले पनि कमेडीको आधार वा विषय प्रदान गर्छन् ।
कपितय साथीहरूले पूर्वी नेपाल जाँदा र पश्चिम नेपाल जाँदा फरकफरक कमेडी गर्नुपर्छ भन्ने मान्यता राख्छन् । तर, म लोकालिटीलाई खासै ध्यान दिन्नँ । फरक भूगोल वा क्षेत्रमा फरकफरक खालको कमेडी गर्नु एक किसिमको विभेद नै हो । मलाई कतिपय साथीहरूले ‘मधेशमा कार्यक्रम गर्दा हिन्दीमा कमेडी गर’ भन्नुहुन्छ । यसो भन्नुको पछाडि मधेशका मानिसहरू नेपालको मूलधारसँग परिचित छैनन् भन्ने दृष्टिकोण नै हो । म मधेशमा जाँदा पनि स्वाभाविक कमेडी नै गर्छु ।
अर्काे कुरा, पूर्वमा गएर कार्यक्रम गर्दा पश्चिमका केही भाषिका र लोक संस्कृतिसँग जोडिएका विषयसँग सम्बन्धित कमेडी गर्छु भने पश्चिममा गर्दा पूर्वका विषयसँग सम्बन्धित कमेडी गर्छु । जसले गर्दा सांस्कृतिक पक्षको आदानप्रदानमा सहयोग पुग्छ भन्ने मलाई लाग्छ ।
कमेडी गर्दा भाषाको प्रयोगमा विशेष ध्यान पु¥याउनुपर्छ । प्रशंसा मिसाएर व्यंग्य गरियो भने सन्तुलित हुन सकिन्छ । मैले कमेडीमा प्रस्तुत गरेका नेता वा पार्टीका कार्यकर्ताहरूले पनि तपार्इंले राम्रो गर्नुभयो भन्ने गरेका छन् । भाषा प्रयोगलाई ख्याल पु¥याइएन भने निकै गाह्रो पर्छ ।
यसपटकको गाईजात्रा विशेष कार्यक्रममा मेरा पनि प्रस्तुति रहनेछन् । नेपाल विश्वमा सायद एउटा यस्तो देश हो जहाँ आफ्नो मातृभाषा वा राष्ट्रभाषा बोल्दा कलिला नानीहरूले विद्यालयमा सजाय पाउँछन् । यो विषयसँग जोडिएको गाईजात्रे प्रस्तुति तयार पारेको छु । त्यसै गरी हाम्रो दक्षिणको छिमेकीलाई म यस पटक ‘तारिफ’ गर्दै छु ।

‘आम चासोको विषय छान्छु’
सन्दीप क्षत्री
मानिसहरू आफूलाई जानकारी नभएको विषयमा कुरा गर्दा हाँस्दैनन् । त्यसैले कमेडीका लागि विषय छनोट गर्दा आम मानिसलाई जानकारी भएको छनोट गर्न सक्नुपर्छ । नेपाली समाज राजनीतिप्रति अत्यन्तै जानकार छ, त्यसैले हामी आफ्ना प्रस्तुतिमा राजनीतिक विषयलाई बढी समावेश गर्छाैं । नेपालका चर्चित सेलिब्रेटी नेता हुन् । जसलाई सबै नेपालीले चिन्छन् । त्यसैले उनीहरूसँग सम्बन्धित कमेडी आमचासोको विषय बन्न पुग्छ । अर्काेतर्फ, आम जनजीवनलाई प्रभाव पारिररहेको विषयलाई पनि हामी प्राथमिकता दिन्छौँ । उदाहरणका लागि महँगीले गरिबदेखि धनीसम्मलाई छुन्छ । त्यसैले कमेडीको विषय छनोट गर्दा आमचासो र वर्तमानको विषय हुनु आवश्यक छ ।
हास्यव्यंग्यको क्षेत्रमा काम गर्नेहरूले आफूलाई अपडेट राख्नुपर्छ । आम मानिसहरू समाचार जान्न र बुझ्न पत्रिका, अनलाइन पढ्ने र टेलिभिजन हेर्ने गर्छन् । तर, म समाचारसँग सम्बन्धित जानकारी सँगसँगै कमेडीको विषय पहिचान वा खोजीका लागि पनि समाचार हेर्ने र पढ्ने गर्छु । समाचार वा विषयहरूलाई ‘ह्युमर’सँग जोड्दा सबैभन्दा ख्याल पु¥याउनुपर्ने कुरा के हो भने ‘ह्युमर’ र ‘ह्युमिलेसन’बीच कपालको रौंँ जतिको मात्र फरक हुन्छ । ‘ह्युमर’ जोड्दा ‘ह्युमिलेसन’ हुनबाट बचाउनु सबैभन्दा ठूलो चुनौती हो । हामीले ‘ह्युमर’को आड लिएर ‘ह्युमिलेसन’को ‘बाउन्ड्री क्रस’ गर्न पाउँदैनौँ । तर, बाउन्ड्री पुस गर्न भने पाउँछौँ । ‘ह्युमर’मा सत्य कुरा नै हुनुपर्छ । सत्य भएन भने मानिसले स्विकार्दैनन् । जे पायो त्यही भनेर हँसाउन खोज्यो भने मानिसले पागल भन्छन् । कमेडियन भन्दैनन् ।
हामीले भइरहेका घटना क्रमलाई पृथक ढंगले हेर्ने र अभिव्यक्त गर्ने हो । पृथक ढंगलाई हेर्न हामीलाई अभ्यासले सिकाउँछ । नेपालीले हात्ती देख्दा गणेश भगवान देख्ला तर अफ्रिकनले भयंकर जनावर मात्र देख्न सक्छ । जुनसुकै घटना क्रममा पनि ‘ह्युमर’ छ कि छैन भनेर खोज्ने बानीले नै हामीहरू ‘ह्युमर’ देख्छौँ ।
विषय छनोट भइसकेपछि त्यसलाई कसरी वा कुन माध्यमबाट अभिव्यक्त गर्ने भन्ने सवालमा पात्रको छनोट गरिन्छ । पात्र भनेको अभिव्यक्त गर्ने माध्यम हो । पात्रलाई जीवन्त बनाउन उसको हाउभाउ र लवजमा जोड दिइन्छ । मधेशी मूलको पात्र छ भने उसैको टोनमा बोलिदियो भने त्यो जीवन्त बन्न पुग्छ । तर, जात, भाषा र संस्कृतिलाई असर पु¥यानुहुँदैन ।
स्टेज कार्यक्रममा जाँदा कमेडीको पूर्वतयारीले मात्र पुग्दैन । दर्शकको मानसिकतालाई पनि बुझ्नुपर्छ । कतारमा कार्यक्रम गर्न जाँदा वर्षाैसम्म परिवारबाट बिछोडिएकाहरूको मानसिकतालाई बुझ्नुपर्छ भने प्लस टू कलेजको कार्यक्रम गर्दा टिनएजलाई बुझ्नुपर्छ । हामी कमेडियनहरूले कवि वा गायकको जस्तो सहजता पाउँदैनौँ । कविले आफ्नो कविता सुनाए पुग्छ । गायकलाई गाइरहेको गीत गाउन छुट छ । तर, हामीले जहिल्यै नयाँ गर्नुपर्छ । गीतको आयु लामो छ । तर, हाम्रा ह्युमरहरू निकै छोटो बाँच्छन् । तीनचार ठाउँमा एउटै जोक्स भन्ने बित्तिकै दर्शकस्रोता नाक खुम्च्याउन थाल्छन् । हामीलाई हरपल नयाँ नगरी सुखै छैन । कार्यक्रम गर्न जाँदा म जहिल्यै पनि मेरो अडियन्स कस्तो छ ? कुनकुन उमेर समूहका मानिस छन् भनेर सोध्छु र सोहीअनुसार आफूलाई तयार पार्छु ।
गाईजात्रामा चाहिँ मलाई आयोजकले आजसम्म बोलाएका छैनन् । मलाई पनि गाईजात्राका अर्डियन्सलाई आफ्नो प्रस्तुति देखाउन मन छ । तर, के गर्ने आजसम्म म अटाउन सकेको छैन । तैपनि, यसपालि गाईजात्राकै दिन पोखरामा कार्यक्रम गर्ने भएको छु ।
‘हास्यव्यंग्यलाई हास्यास्पद हुनबाट जोगाउनुपर्छ’
मनोज गजुरेल
दर्शक, स्रोता वा सबैको चासोलाई नै कमेडीको मूल विषयको रूपमा छनोट गर्दछौँ । विषय छान्नका लागि हिजोआज सामाजिक सञ्जालले सबैभन्दा बढी सहयोग पु¥याउँछ । जनताले सबैभन्दा बढी कुन विषयमा क्रिया–प्रतिक्रिया जनाउँछन् त्यसलाई नै बढी प्राथमिता दिन्छौँ । विषयलाई कुन दिशा दिने भन्ने कुरा चाहिँ स्रष्टाको स्व–सम्पादनमा निर्भर हुन्छ । एउटै विषयलाई एउटा मनोवृत्ति भएको स्रष्टाले एकथोक बनाउँछ भने अर्काे वैचारिक धरातल भएको स्रष्टाले अर्कै ‘म्यासेज’ दिन्छ । म चाहिँ सकेसम्म राष्ट्रिय राजनीति र समाजको केन्द्रमा भूमिका खेल्ने विषयवस्तु छान्छु । कतिपय अवस्थामा विषयसँगै पात्र पनि जोडिएर आउँछन् । पात्रको व्यक्तिगत मान मर्दन नहोस् । तर, ऊ सार्वजनिक भएको व्यक्तित्व भएका कारण सार्वजनिक पदको मर्यादा कायम हुन सकेको छ भने त्यसलाई विशेष आधार बनाइन्छ ।
हास्यव्यंग्यको धर्म र मर्म हुन्छ ।  हास्यव्यंग्यको नाममा ‘होलसेल’मा गाली गरेर सकारात्मक पाटोलाई ओझेलमा पार्नु हुँदैन । बरु, हास्यव्यंग्यमार्फत नै सकारात्मक पाटोलाई प्रोत्साहन गर्न सकिन्छ । हास्यव्यंग्य आफैँ हास्यास्पद र अराजक हुनबाट बचाउनुपर्छ । नकारात्मक पात्र वा प्रवृत्तिलाई मात्र आधार बनाएर हास्यव्यंग्य बन्छ भन्ने म विश्वास गर्दिनँ । मैले पूर्वमन्त्री लालबाबु पण्डितलाई लिएर हास्यव्यंग्य सिर्जना गरेको थिएँ । पण्डित नेपाली समाजका सकारात्मक पात्र हुन् । खाली देश डुब्यो, केही हुँदैन वा बर्बाद भो भन्ने विषयमा मात्र ताली बजाउने प्रस्तुतिको निर्माण गर्नु हुँदैन । बन्नु बिग्रनु संसारको प्रक्रिया हो । हामी स्रष्टाहरूले भइरहेको प्रक्रियालाई हाँसोको रङ पोतेर ‘केही हुँदै छ है’ भन्ने सन्देश दिन सक्नुपर्छ ।
मैले यस पटक लोकमान सिंह कार्कीको व्यंग्य गर्दै छु । यो राष्ट्रिय मुद्दाको विषय हुन सक्छ । लोकमान सिंह कार्की एउटा पात्रभन्दा पनि प्रतीक हो । जुन पात्रमार्फत जेजस्ता घटना भइरहेका छन् त्यसलाई अभिव्यक्त गर्नलाई मात्र पात्रलाई अगाडि सारिएको हो । लोकमान भन्ने बित्तिकै भ्रष्टाचार न्यूनीकरण वा पदको दुरुपयोग भन्ने मात्र बुझिन्छ । तर, मेरो प्रस्तुतिमा लोकमान नामक पात्रमार्फत नेपाली लोक संगीत, नेपाली चरित्रलगायत विषय पनि आउँछन् । यसरी एउटा पात्रमार्फत समाजका विविध विषयमा हास्यव्यंग्य गर्न सकिन्छ ।
नेपालको अवनति वा उन्नतिसँग राजनीति नै जोडिएको छ । राजनीतिक सुन्दर हुनुपर्छ भन्ने उद्देश्यले नै राजनीतिसँग सम्बन्धित हास्यव्यंग्यहरू बढी हुन्छन् ।  नेपालीहरू राजनीतिप्रति बढी सचेत छन् । तसर्थ, हामीले राजनीतिलाई छोएनौँ भने दर्शक स्रोताको अपेक्षालाई पनि पूरा गर्न सक्दैनौँ । भारतमा क्रिकेट र बलिउड प्राथमिकतामा पर्छन् भने अमेरिका र बेलायमा सेक्ससम्बन्धी जोक्स प्राथमिकतामा पर्छन् । तर, नेपालमा राजनीति नै प्राथमिकतामा पर्ने हो ।
पछिल्लो समाजका सबैभन्दा कमजोर भनिएकाहरूलाई मजाक बनाएर हास्यव्यंग्य गरिन्छ भन्ने कुरा आइरहेका छन् । यसप्रति हामी स्रष्टाहरू सजग हुनुपर्छ । जो हेपिएको छ, शोषणमा परेको छ वा आफूलाई कमजोर महसुस गर्छ उसलाई माध्यम बनाएर हँसाउनु ठीक होइन् । यसलाई हामीले परिवर्तन गर्न सक्नुपर्छ ।
राजनीतिमा समाज वर्गीय छ भनिन्छ । त्यसै गरी कमेडीका दर्शक पनि विभिन्न वर्गका छन् । एउटालाई मन परेको कमेडी अर्काेलाई मन नपर्न सक्छ । मेरो विचारमा कमेडी भनेको हेरुञ्जेल हाँस्ने मात्र होइन घरमा गएर पनि वर्षौंवर्ष सम्झने र मुहार सँगसँगै हृदय पनि हँसाउने हुनुपर्छ । बन्नुपर्छ ।

 

Leave A Comment