मुटुरोग विशेषज्ञ रेग्मीको फिटनेश सूत्र

सोमबार, ०३ चैत २०७६, १२ : ०५ उपेन्द्र खड्का
मुटुरोग विशेषज्ञ रेग्मीको फिटनेश सूत्र

२५ गते आइतबार दिउँसोको साढे एक बजे ललितपुरको झम्सिखेलस्थित नेपाल हार्ट क्लिनिक पुग्दा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बिरामीको स्वास्थ्य जाँच गरिसकेका थिए। सायद उनले बिहानको खाना पनि भर्खरै खाएका थिए। किनकि टावेलले हातमुख पुछ्दैथिए। मुटुसम्बन्धी समस्या लिएर पुग्ने व्यक्तिका लागि सेवा प्रदान गर्नु मुटुरोग विशेषज्ञ डा. रेग्मीको दैनिकी हो।

स्मार्ट र फुर्तिलो ज्यान्दार ६० वर्षीय डा. रेग्मीलाई हेर्दा लाग्छ,–भर्खर ४५ हाराहारीमा पुगेका होलान्। उनको न त अनुहारका छाला चाउरिएका छन्, न चमकतामा नै कमी देखिन्छ। हट्टाकट्टा ज्यान परेका ६ फिट अग्ला डा. रेग्मीको तौल ८८ किलो छ। ३२ वर्ष चिकित्सकका रुपमा सेवा गरिसकेका उनमा जवान ठिटोभन्दा कुनै कमी छैन, ऊर्जा। सधैँ टिपटप देखिने डा. रेग्मी वीर अस्पतालस्थित मुटुरोग विभागका पूर्व विभागीय प्रमुखसमेत हुन्।

सधैँ चटक्कका लुगा लगाउने उनी आफू फिट र स्वस्थ रहने कुरामा निक्कै सचेत छन्। त्यसैले उनको ज्यान बडो मजबुत र लायकदार देखिन्छ।

नियमित प्राणायाम र ध्यान
व्यक्ति आफू शारीरिक तथा मानसिकरुपमा फिट रहने आ–आफ्नै किसिमका टेक्निक हुन्छन्। डा. रेग्मीको पनि व्यायामको टेक्निक छ। उनी बिहान छ बजे उठ्छन्। मोबाइलमा अलाम राखेर सुत्ने भएकाले उनको उठाइ छ बजे भन्दा ढिलो हुँदैन। उठेपछि उनी हातमुख धोएर थर्मसमा राखेको तातोपानी पिउन थाल्छन्। त्यसपछि सगरमाथा एफएम अन गरेर एफएमबाट प्रसारित हुने (खबरपत्रिका) पत्रपत्रिकाका समाचार सुन्छन्। डा. रेग्मी एफएम सुन्दै, घरवरिपरि हिँड्दै, वामअप गर्दै आधा घण्टा लगाएर आधालिटर पानी पिउँछन्।

पानी पिइसकेपछि डा. रेग्मी नुहाइधुवाइँतिर लाग्छन्। दाह्री काट्छन्। नुहाउँदा मनतातो पानीको प्रयोग गर्छन्। शरीर दैनिक नुहाउने भए पनि कपाल झर्ने सम्भावना हुने भएकाले कपाल भने हप्तामा तीनपटक मात्रै नुहाउँछन्।

नुहाइसकेपछि प्राणायाम र ध्यान गर्न थाल्छन्। डा. रेग्मीले भने, ‘करिब २० मिनेट प्राणायाम र ध्यान गर्छु।’ उनले प्राणायाम तथा ध्यानका केही टेक्निक सिकेका छन्। शारीरिक तथा मानसिकरुपमा फिट हुनका लागि उनी ध्यान र प्राणायाम गर्न छुटाउँदैनन्।

ब्रेक फास्टमा गेडागुडी र दुईवटा अम्लेट
ध्यान र प्राणायाम गरिसकेपछि साढेसात बजे उनी ब्रेक फास्ट लिन्छन्। ब्रेकफास्टका रुपमा सबैभन्दा पहिला फर्सीका बियाँ, आलमोण्डजस्ता गेडागुडी तथा ड्राइफुड्स मिसाएर एक मुठ्ठी जति खान्छन्। त्यसपछि उनी एक कोसो केरा खान्छन्। कहीलेकाहीँ अन्य मौसमी फलफूल पनि खान्छन्। तर, केरा खान भने कहिल्यै छुटाउँदैनन्। गेडागुडी र केरा खाइसकेपछि दुईवटा अम्लेट र सादा परौठा खान्छन्। मंगलबार भने डा. रेग्मी अण्डा खाँदैनन्। ‘मंगलबार मेरो भेजिटेरियन डे हो, ’डा. रेग्मीले सुनाए, ‘मंगलबारको दिन अण्डाको सट्टा तरकारीसँग परौठा खान्छु।’ त्यसपछि चिनी कम हालेको एक कप चिया पिउँछन्। उनी कहिले ब्ल्याक टी पिउँछन् त कहिले दूध हालेको।

आमालाई ढोग
घरको बीच तलामा बस्ने उनी खाजा खाइसकेपछि तीन तलामाथि सुत्ने ८७ वसन्त पार गरेकी आमालाई भेट्न पुग्छन्। आमालाई भेटेर प्रत्येक दिन ढोग्नु उनको नित्य कर्म हो। उनकी आमाको स्मरण शक्ति केही कम भएकाले स्मरण शक्ति जोगाउनका लागि मुटुरोग विशेषज्ञ डा. रेग्मी केहीबेर आमासँग कुरा गर्छन्। आमाको स्मरण शक्ति कमजोर नहुने टेक्निक अपनाउँछन्।

बिरामी जाँच्दा उठ्दै बस्दै
यति कर्म गर्दा घडीले बिहानीको आठ हानिसकेको हुन्छ। आठ बजेपछि उनी घरको सबैभन्दा तल्लो तलामा रहेको क्लिनिकमा बिरामी जाँच्न सुरु गर्छन्।

बिरामी जाँचिरहँदा प्रत्येक एक घण्टाको अन्तरालमा एक कप ग्रिन्टी पिउँछन्। उनले सुनाए, ‘दिनभरिमा ४/५ कप ग्रिन्टी जान्छ।’ एक बजेसम्म उनी आफ्नो क्लिनिकमा बिरामीलाई सेवा दिनमै व्यस्त रहन्छन्। उनी बिरामी जाँच्दा पनि शरीरलाई वामअप गराउँदा रहेछन्। ‘बसेर बिरामीलाई सोध्छु,’ डा. रेग्मीले बिरामी जाँच्दा हुने वामअपको टेक्निक सुनाए, ‘उठेर बिरामी जाँच्छु, बिरामी जाँच्दा उठ्ने र बस्ने प्रक्रियाले मेरो शरीरको  व्यायाम हुन्छ।’ त्यति मात्रै हैन अर्को कोठामा मुटुको परीक्षण पनि गर्ने भएकाले बिरामी जाँचुञ्जेल उनी वल्लो र पल्लो कोठा गरिरहन्छन्, जसले उनको शरीरमा व्यायाम पुग्छ। दिउँसोको एक बजेसम्म बिरामीलाई सेवा दिनमै उनी व्यस्त रहन्छन्।

खानासँग सलाद
दिउँसोको एकदेखि दुई बजेसम्म डा. रेग्मीको खाना खाने समय हो। दिउँसोको खानाका रुपमा दाल, भात तरकारी खान्छन्। खानासँग काँक्रा, गाँजर तथा मुलाको सलाद उनलाई खुब मन पर्छ। उनले सुनाए, ‘म सलाद खुब खान्छु।’ हल्का ग्रेबी गरेको खसी, कुखुरा र माछाको मासु उनलाई मन पर्छ। हप्तामा दुईपटक खसीको मासु र भात खान्छन्। चिल्लो कमै खान्छन्।

खाना खाइसकेपछि केहीबेर आराम गरेर कहीले आफ्नो त कहिले अरुको क्लिनिकमा बिरामीको सेवा गर्न व्यस्त रहने उनी शुक्रबार भने दुई बजेपछि फुर्सदिला हुन्छन्। त्यसैले शुक्रबार बेलुका परिवारसँग फिल्म हेर्न जान्छन्।

बेलुका रोटी तरकारी
दैनिक कामबाट बेलुकीको करिब आठ बजे फुर्सद भएर उनी भान्सामा छिर्छन् र बेलुकीको खानपान गर्छन्। बेलुकीको खानाको रुपमा भने रोटी, तरकारी, फलफूल तथा सलाद खान्छन्। ‘बेलुका कहिल्यै भात खाँदिन,’ डा. रेग्मीले सुनाए, ‘धेरै वर्ष भयो बेलुका भात खान छोडेको।’ अमिलोले उनलाई एलर्जी हुने भएकाले अमिलो नहुने किसिमका मौसमअनुसारका फलफूल खान्छन्। अमिलो नभएका स्याउ, एलो मेलन (तर्बुजा) एउटा, खर्बुजा, अनार डा. रेग्मीको प्राथमिकतामा पर्ने फलफूल हुन्।

बेलुकीको खानपान गरिसकेपछि शनिबार र आइतबार टिभी हेर्छन्। अरुबार लेखपढ गर्नतिर लाग्छन्। उनको सुत्ने नियमित समय रातिको ११ बजे हो।

शनिबार हाइकिङ डे
शनिबार उनको हाइकिङ डे रहेछ। प्रत्येक शनिबार आफू हाइकिङ जाने उनले सुनाए। शनिबार हाइकिङ जाने एउटा ग्रुप नै बनाएका रहेछन्। त्यसैले परिवार तथा साथिभाइसँग शनिबार डा. रेग्मी स्वयम्भु, चन्द्रागिरी, दक्षिणकाली, लाँकुरीभञ्ज्याङ लगायतका ठाउँमा हाइकिङ जान्छन्। यसरी हाइकिङ जाँदा झम्सिखेलबाट नै हिँडेर जाने गरेको उनले सुनाए। हाइकिङ जाँदा भरपुर व्यायाम हुन्छ। नजिकका ठाउँमा सकभर उनी हिँडेरै पुग्ने बानी छ।

निमोनियाले इमेर्जेन्सीमा भर्ना
डा. रेग्मी पाँच वर्ष अघि मानसरोवर गएका थिए। त्यहीँ उनलाई निमोनिया भएछ। उनी एम्बुलेन्समै फर्किएर धुलिखेल अस्पतालमा इमेर्जेन्सीमा भर्ना भएछन्। डा. रेग्मीले सुनाए, ‘त्यो समयमा एक दिन हस्पिटलाइज भएको बाहेक आजसम्म अस्पतालमा भर्ना भएर उपचार गर्नुपरेको सम्झना छैन।’ कहिलेकाहीँ उनी एसिडिटीको औषधि खान्छन्। कहिलेकाही निन्द्रा नलागेको अवस्थामा निन्द्राको औषधी सेवन गर्छन्। पेटको कब्जियत हुनबाट बच्नका लागि त्रिफला पनि खान्छन्। तर, उनले ६० वर्षको उमेरसम्ममा कुनै पनि किसिमका नियमित औषधि खानु परेको छैन। कहिलेकाहीँ ज्वरो आउँदा घरमै आराम गर्छन्।

उनी प्रत्येक वर्ष ‘होलबडी’ स्वास्थ्य जाँच गराउँछन्। रगतको जाँच प्रत्येक छ महिनामा गर्छन्। डा. रेग्मीले प्रफुल्लित मुद्रामा हाँस्दै भने, ‘थ्याङ्स गड अहिलेसम्म कुनै रोग लागेको छैन।’ त्यसो त उनी अग्र्यानिक खानपानमै जोड दिन्छन्। चाउचाउलगायतका जंकफुड तथा प्याकिङ गरिएका खाद्यपदार्थ उनी खाँदैनन्। फ्रेस जुस घरमै बनाएर खान्छन्। होटलमा कमै खान्छन्। तारेको खानपान सकभर खाँदैनन्, उनी।

उनले अहिलेसम्म धूमपान गरेका छैनन् रे। कहिलेकाहीँ भोजभतेर तथा जमघटको समयमा सीमित मात्रामा अल्कोहल भने पिउँदा रहेछन्। ‘वियर पिउँदा एक बोतलभन्दा पिउँदिन, ह्विस्की ९० एमएलसम्म पिउँछु,’ डा. रेग्मीले हाँस्दै भने, ‘त्यो भन्दा धेरै पिउँदिन, त्यो पनि कहिलेकाहीँ मात्रै हो, नियमित पिउने बानी छैन।’

Leave A Comment