काेराेना विरूद्ध सचेतना फैलाउँदै कलाकार

सोमबार, १० चैत २०७६, १० : ४७ शुक्रवार
काेराेना विरूद्ध सचेतना फैलाउँदै कलाकार

अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा कोरोना भाइरस संक्रमणबाट बच्न सुझावसहितको भिडियो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरिएको भिडियोमा उनले भनेकी छन्,‘कोरोना भाइरस संक्रमणबाट बच्न खोक्दा वा हाछ्युँ गर्दा कोहिनोले नाक र मुख छोप्ने गरौं। बेला–बेलामा साबुन पानीले हात धोऔं। अनावश्यक आँखा, मुख र नाक हातले नछोनुहोला। भीडभाडमा नजाऔं। ज्वरो आएमा, खोकी लागेमा र सास फेर्न ग्राहो भएमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौं। हात मिलाउनु वा अंकमाल गर्नुको साटो नमस्कार गरौं। ज्वरो र रुघा खोकी लागेको व्यक्तिबाट टाढा बसौं। आफैलाई ज्वरो र खोकी लागेको छ भने अरूबाट टाढा बसौं।’ उनले कोरोनाबाट बच्न सचेत हुनुपर्ने बताएकी थिइन्। ‘अहिलेको परिस्थितिमा सावधानी अपनाउनु जरुरी छ। सरकारले दिएको निर्देशनलाई पालना गर्न सक्यौं भने हामी सुरक्षित हुन सक्छौं,’ उनले भनेकी छन्।

संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यकबाहेक अधिकांश सेवा र कार्यहरू ठप्प गरेलगत्तै उनीसहित कलाकारहरू सामाजिक सञ्जालमार्फत यसविरुद्ध सचेतना जगाउन सक्रिय भएका छन्। अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत कोरोना भाइरस संक्रमणबाट बच्नलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। ‘कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउनु होला। कारण यसविरुद्धको औषधी पत्ता लागेको छैन्। सकिन्छ भनेर घरमा बस्नु उत्तम हुन्छ,’ उनले भनेका छन्,‘रुघा र खोकीलाई सामान्य रूपमा नलिनु होला। संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिएर स्यानिटाइजर र मास्कको प्रयोग गरेर सुरक्षित घरबाट बाहिर निस्किनु होला।’ उनले सावधानी अपनाएर घरबाट बाहिर ननिस्किएको बताएका थिए। ‘हाम्रो नमस्कार गर्ने संस्कार राम्रो हो भएकाले यसमा जोड दिएर सकेसम्म नमस्कार गरौं। यसमा सम्मान पनि पाइन्छ,’ उनले भनेका छन्।

आत्तरखेलस्थित नेपाल मेडिकल कजेलमा कार्यरत गायिका त्रिशाला गुरुङले सामाजिक सञ्जाल इन्स्टाग्राममा कोरोना भाइरस संक्रमण रोकथामका लागि सचेतना जगाउने भिडियो पोस्ट गरेकी छन्। सो भिडियोमा उनले कम अवधिमा कोरोना भाइरसले त्रास फैलाइरहेको हुँदा नआत्तिन समेत आग्रह गरेकी छन्। ‘कोरोना भाइरस संक्रमणबाट बच्न नियमित साबुन पानीले धुनुपर्छ। मास्क लगाउँदैमा संक्रमण हुँदैन भनेर ढुक्क हुनु हुँदैन्। संक्रमणको शंका लागेमा स्वास्थ्यकर्मी र संक्रमित भएको व्यक्तिको हेरचाह गर्नेले अनिवार्य मास्क लगाउनुपर्छ,’भिडियोमा उनले भनेकी छन्, ‘यसको लक्षण भनेको खोकी लागे, ज्वरो आए र सास फेर्न ग्राहो हुनु लगायत भएकाले कृपया खोक्दा कोहिनोले छोप्नु होला। अहिलेको अवस्थामा भीडभाडमा नगएर घरमा बस्नु राम्रो हुन्छ। संक्रमणको लक्षण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा जानुपर्छ। मचाँहि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर उपचार गराउन आग्रह गर्दछु।’

अधिकांश कलाकारहरूले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणबाट बच्न घरबाट बहिन नजान आग्रह गरेका छन्। घरमा परिवारसँग बसिरहेका कलाकारहरू पुस्तक पढ्दैदेखि व्यायाम गरिरहेको फोटो र भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। अभिनेत्री सुरक्षा पन्तले हात धुइरहेको फोटो पोस्ट गरेकी छन्। उनले कोरोना भाइरस संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेकी थिइन्।

अभिनेता दयाहाङ राईले कोरोना संक्रमणबाट बच्न विभिन्न उपायसहितको सूचना फेसबुकमा सेयर गरेका छन्। हास्य कलाकार दीपकराज गिरीले भिडियोमार्फत कोरोना संक्रमणबाट बच्न घरमा बसेर सरसफाइमा ध्यान दिन आग्रह गरिरहेका छन्। ‘हामी कामले गर्दा घर परिवारबाट टाढा रहन्छौं। अहिलेको स्थितिमा परिवारसँग सुरक्षित भएर बसौं,’ उनले भनेका छन्। कलाकारहरू सन्तोष पन्त, करिश्मा मानन्धर, दीपाश्री निरौला र ऋचा शर्मालगायतले कोरोना भाइरस संक्रमणबाट बच्न सुझावसहितका भिडियो, फोटो र स्ट्याटस पोस्ट गरिरहेका छन्।

Leave A Comment