बुढानीलकण्ठ घर भएकी अनिता भट्टाचार्य (नाम परिवर्तन) ७३ वर्षको उमेरमा हातमा उजुरी लिएर महानगरीय प्रहरी परिसर टेकुको दर्ता कोठामा उभिएकी थिइन्। उनको उजुरी थियो, कोठा भाडामा बसेका दिनेशले ९ महिनासम्म पनि कोठाको भाडा दिएनन्। त्यसो त रमेशले उनलाई भाडास्वरुप चेक दिएका थिए। तर चेक साट्न जाँदा बैंकमा चेक नै साटिएन। खातामा रकम नै नभएकाले हरेक पटक उनी बैंक धाउँदाधाउँदा हैरान भइसकेकी थिइन्।
उनले यो पङ्क्तिकारसँग गुनासो गर्दै भनिन्, ‘भाडा देऊ भन्दा तीन पटकसम्म चेक दिए। चेक साट्न जाँदा तीन पटक नै चेक बाउन्स भयो। अब यसरी म बूढी मान्छेलाई कति दुःख दिएको ?’
अनिताका अनुसार दिनेश व्यापार व्यवसाय गर्छन्। तर आजभोलि भन्दै भाडा नदिएका कारण ठगी गरेको भन्दै उनी प्रहरीकहाँ पुगेकी हुन्। अहिले दिनेश सम्पर्कमा छैनन्। ‘जहिले चेक दिए पनि बाउन्स मात्र हुन्छ, हामीलाई उनले बुढाबुढीले के गर्न सक्छन् भनेर हेपेर होला, अहिलेसम्म पैसा दिएका छैनन्। कुनै सम्पर्क पनि छैन। यो समस्याबाट छुट्कारा पाउन कानुनी उपचार खोज्न आएकी हुँ,’ उनले एकै सासमा आफ्ना सारा समस्या सुनाइन्।
त्यस्तै, भक्तपुरका बासिन्दा पठाओ राइडर श्याम खत्री पनि यस्तै समस्या लिएर उजुरी दर्ताका लागि आएका थिए। उनको समस्या पनि उस्तै तर अलि फरक थियो। उनले भक्तपुरकै अनुसंस्कृति सुनचाँदी पसलमा केही महिना पहिला घरमा रहेका सुन सफा गर्न भन्दै जिम्मा लगाएका थिए। लामो समयसम्म पनि पसलबाट खत्रीको २० तोला सुन फिर्ता आएन। उनले भने, ‘सफा गर्न दिएको केही दिनपछि सुन लिन जाँदा पसलेले काम सकिएको छैन, पछि आउनुस् भने। एक हप्तापछि जाँदा पनि सुन दिने सुरसार छैन। त्यसपछि मैले मेरो सुन मलाई तुरुन्त चाहियो भनेँ। उनले सुन त हामीले गालेर अन्तै बेचिसक्यौँ पो भने ! अर्काको सुन बिनाअनुमति यसरी हिनामिना गर्न पाइन्छ त ?’
आक्रोशित हुँदै खत्रीले सुनाए, ‘मलाई कि सुन चाहियो कि सुन बराबरको पैसा भनेर कड्किएपछि सुन त दिन सकिँदैन, सुन बराबरको पैसा दिन्छु भनेर १७ लाखको चेक दिएका थिए। दुवै चेक साटिएनन्।’
सुन पसलेबाट यसरी ठगिएका श्याम खत्री चेक बाउन्स भएपछि पटक–पटक आफ्नो पैसा दिन आग्रह गरे पनि दिन्छु दिन्छु भन्दै मिति सार्ने तर पैसा नदिएपछि टेकु प्रहरीकहाँ उजुरी गर्न बाध्य भए।
उनी भन्छन्, ‘पैसाका लागि साउन ४ गतेदेखि अहिलेसम्म समय दिएको नै हो, सधैँ ढाँटेपछि उजुरी दर्ता गर्नुको अरु विकल्प नै रहेन। मैले पैसा नदिए कानुनले कार्बाही गर्छ भनेर चेतावनी पनि दिएको हो, नटेरेपछि दोषीलाई कारबाही त हुनै प-यो नि !’
त्यसैगरी, मंगला सिमेन्ट उद्योगलाई पनि यस्तै समस्या जुध्नु परिरहेको छ। उद्योगले एक हार्डवेयर सञ्चालकसँग कारोबार गरेको थियो। त्यो कारोबारको पैसा निकाल्न नसकिएको उद्योगका कर्मचारी रवीन्द्र पौडेलले बताए। उनले भने, ‘हार्डवेयरले तीन लाख रुपैयाँको चेक दिएको थियो। साटिएन। हार्डवयेरले तीन पटकसम्म चेक दियो, तीनै पटक बाउन्स भयो। पैसा माग्यो कि, मैले पैसा दिएकै छु मेरो हिसाब मिल्यो, म पैसा दिन्नँ भन्छ। हामीले अब प्रहरीकहाँ गएर उजुरी दर्ता गर्छौं भन्दा पनि उसले म डराउँदिनँ, जे सुकै गर्नुस् भनेपछि उजुरी दर्ता गर्न आउन बाध्य भयौँ।’
त्यस्तै, गोर्खाका समीर पोख्रेल पेशाले शिक्षक हुन्। उनले विदेश जाने मानिसहरुलाई कुक वेटरको तालिम दिने काम गर्छन्। काम गर्दै जाने क्रममा उनको एउटी उपाशना नाम गरेकी युवतीसँग चिनजान भयो। ती युवतीले कामकै लागि कोही आए, चिनजान गराइदिनुस् भनेर आग्रह गरिन्। उनको आग्रहमा पोख्रेलले आफ्ना केही साथीलाई उनीमार्फत युरोपेली मुलुकमा कामका लागि भनेर नौ लाख ३० हजार तिरेर पठाउन खोजेका थिए। तर न उनका साथीहरु त्यहाँ गए, न त त्यो पैसा नै फिर्ता आयो। उनी भन्छन्, ‘मैले यति कुरामा चाहिँ बुद्धि पु¥याएछु कि पैसा दिने बेलामा चेक दिएको पनि थिएँ र लिएको पनि थिएँ। यसले मलाई कानुनी उपचारका लागि सहयोग ग-यो।’ पैसा माग्दा नदिएको र चेक दिँदा चेक बाउन्स भएको उनले बताए। उनका अनुसार ती युवतीले चलाएको त्यो संस्था मेनपावर नभएर एउटा कन्सल्टेन्सी मात्र रहेछ, जसले विदेशका लागि वर्किङ भिसा पाउँदैन। अहिले ती युवती सम्पर्कविहीन छन्।
‘मैले अब पैसा नदिए प्रहरीकोमा उजुरी गर्छु भन्दा पनि उनले त्यसलाई सामान्य हिसाबले हेरेको हुँदा फँसैको पैसा निकाल्न उजुरी दर्ता गर्न आएको हुँ,’ उनले थपे।
त्यस्तै गरी भक्तपुर ठिमीका दीपेन्द्रले पनि व्यापार व्यवसाय गर्न भनेर साथीलाई २० लाख सापटी दिएका थिए। उनले साथीलाई दिएको त्यो रकम फिर्ता लिन नसक्दा प्रहरीसमक्ष उजुरी दर्ता गराउनका लागि धाउनु परेको छ। उनले भने, ‘भक्तपुरको आफ्नो जग्गा बेचेर साथीलाई २० लाख व्यवसायका लागि भनेर असार २९ गते सापटी दिएँ, केही महिनामै फिर्ता गर्छु भनेको रकम साथीले अझै फिर्ता गरेनन्।’
दीपेन्द्र भक्तपुरमै जग्गासम्बन्धी कारोबार गर्छन्। पैसा फिर्ता चाहियो भनेर बारम्बार मागेपछि एभरेस्ट बैंक र बैंक अफ एसियामा उनले १०/१० लाखको चेक दिएका थिए। दुवै बैंकको खातामा पैसा नै नभएकाले चेक बाउन्स भयो। ‘बाध्य भएर उजुरी नै दिनुपर्ने अवस्था आयो,’ उनले भने।
महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अहिले यसरी चेक बाउन्स भएर उजुरी दिनेको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ। अहिले कारोबार गर्न सबैभन्दा सजिलो माध्यम चेक नै छ। विश्वासको भरमा चेक लेनदेन बैंकमा पुगेर चेक साट्न खोज्दा खातावालाको खातामा पैसा हुँदैन अनि चेक बाउन्स हुन्छ। ठूला व्यापारिक लेनदेनदेखि घरजग्गा कारोबार हुँदै सामान्य लेनदेनसम्ममा पनि चेक बाउन्सको विवाद विकराल बन्दैछ, जुन परिस्थिति भरपर्दो र सुरक्षित मानिने बैंकिङ प्रणालीका लागि मुख्य चुनौतीको विषय बन्न पुगेको छ। महानगरीय प्रहरी परिसर टेकुमा यस्ता घटनाका उजुरी दिनहुँ २५ देखि ३० वटासम्म दर्ता हुने गरेका छन्।
आठ महिनाको अवधिमा मात्रै काठमाडौं उपत्यकाभरि बैंकिङ कसुरसम्बन्धी तीन हजार एक सय सात मुद्दा दर्ता भएका छन्। यो अवस्था कतिसम्म विकराल छ भने प्रहरी परिसर टेकुमा मात्रै यी आठ महिनामा ४ सय ५८ मुद्दा दर्ता भएका छन्।
तीमध्ये परिसरले साउनयता २१६ मुद्दालाई फछ्र्योट गरिसकेको टेकुका प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले बताए।
उजुरी कसरी अघि बढ्छ ?
मानौँ तपाईं ठगीमा पर्नुभयो। प्रहरी कार्यालयमा तपाईंले चेक बाउन्स मुद्दामा आफ्नो जाहेरी दर्ता गर्नुहुन्छ। मुद्दा दर्ता भइसकेपछि दोषीमाथि अनुसन्धान हुन्छ। अनुसन्धानको म्याद ६० दिन हुन्छ र ती दिनमा दोषी किटान गरिएकाहरुलाई ६० दिनसम्म हिरासतमा राखी अनुसन्धान गरिन्छ।
नायब उपरीक्षक बोगटीका अनुसार अनुसन्धान सकिएपछि विशेष सरकारी वकिलमार्फत उच्च अदालत पाटनमा फौजदारी अभियोगमा मुद्दा दर्ता हुन्छ। चेक बाउन्स मुद्दामा दोषीबाट जाहेरीवालालाई बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिना जेल सजाय हुने व्यवस्था रहेको बोगटी बताउँछन्।
किन घट्छन् त यस्ता घटना ?
प्रहरी प्रवक्ता बोगटीका अनुसार अहिले मान्छेमा पैसाको मोह निकै बढ्दो छ। मान्छेलाई झुक्याएर, ठगेर, व्यवसाय गर्नेजस्ता अनेक बहाना बनाएर पैसा निकाल्छन् र त्यस पैसाबाट सोचेजस्तो आम्दानी गर्न सक्दैनन्। उनीहरु आफू पनि दुःख पाउँछन् र अरुलाई पनि फँसाउँछन्।
‘समस्यामा परेपछि क्षणिक झन्झटबाट उम्किन चेक दिन्छन्,’ बोगटी भन्छन्, ‘बैंक खातामा पैसा हुँदैन। दीर्घकालमा त्यही चेकले मानिसलाई जेल पु-याउने गर्छ।’
फाैज्दारी ऐन बनेपछि बाउन्समा उजुरी बढ्यो
होविन्द्र बोगटी
पहिले सामान्य रुपमा हेरिने गरेको चेक बाउन्स मुद्दालाई कहिलेदेखि प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरी सजाय दिन थालेको हो ?
– बैंकिङ कसुर ऐन २०६४ लाई परिमार्जित गरी २०७४ मा चेक बाउन्स मुद्दालाई फौजदारी ऐनअन्तर्गत राखी यसमा कारबाही गर्न सुरु गरिएको हो। यसरी कारबाही सुरु गरेपछि चेक बाउन्सका मुद्दालाई पहिलो प्राथमिकतामा राखी दोषीलाई हिरासतमा राखेर अनुसन्धान गर्न थालेपछि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ।
अहिले मान्छेले समस्या समाधानका लागि चेकमा कारोबार गर्छन्। अनि खातामा पैसा नभएपछि चेक बाउन्स हुन्छ। चेक बाउन्स भएको मितिले एक वर्ष भित्रमा सम्बन्धित प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता गराइसक्नु पर्ने हुन्छ। दोषीलाई जाहेरी दर्ता भएको मितिले छ महिनाभित्रमा प्रहरीले पक्राउ गरिसक्नु पर्ने हुन्छ। चेक बाउन्स भएको मितिबाट एक वर्षसम्म जाहेरी नदिएको खण्डमा प्रहरीले जाहेरी दर्ता गर्दैन।
प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ महिना भित्रमा प्रतिवादी पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरी विशेष सरकारी वकिलमार्फत उच्च अदालतमा पेस गर्नुपर्छ। प्रतिवादी फरार रहेर पक्राउ गर्न नसकेमा उजुरी दर्ता भएको मितिबाट उजुरीसम्बन्धी अदालतमा बुझाउनु पर्छ।
खराब नियत भएकाले अपराध घटाए
अधिवक्ता किरण पौडेल
खराब नियत भएका मानिसहरुले अहिले समाजमा बढी मात्रामा बैंकिङ कसुरसम्बन्धी अपराधका घटना घटाइरहेका छन्। बैंकिङ कसुरसम्बन्धी कानुन कडा भए पनि कानुनको पालना भएन भने कानुन कार्यान्वयन हुँदैन। अहिले चेक बाउन्सको मुद्दालाई गम्भीर रुपमा हेर्न थालिएको छ। मानिसको आपराधिक मानसिकतामा सुधार हुन नसकेकाले घटनाहरु बढिरहेका छन्।
चेक विनिमय पत्र ऐन २०३४ को दफा १०७ मा बैंकमा पर्याप्त निक्षेप छैन भन्ने थाहा भएर पनि जानाजान चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी काटिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त पैसा नभएको कारणबाट चेक अनादर भएमा चेकमा उल्लेखित रकम समेत धारकलाई भराई तीन हजार जरिवाना र तीन महिना सजायको व्यवस्था गरिएको छ।
त्यस्तै बैंकिङ कसुर ऐन २०६४ ले आफ्नो खातामा पैसा नभएर पनि चेक काटेर तीन पटकसम्म बाउन्स भएमा दोषीलाई बिगो भराई बिगोबमोजिम जरिवाना र ३ महिनासम्म जेल सजाय गरेको छ।
यस्ता घटना किन बढ्दै गइरहेको छ भने मानिसले अहिले सबैभन्दा सजिलो कारोबार चेकमा गर्छ। दिनेले पनि सजिलोका लागि चेक दिन्छ र लिनेले पनि चेक नै लिन्छ। अनि बैंक खातामा रकम हुँदैन र मानिस झन्झटमा फँस्छन्। त्यसपछि, मानिसले प्रहरीकोमा उजुरी गरेपछि प्रहरीले पक्राउ गर्छ र हामीले सिधै आफ्नो रकम प्राप्त गर्न सक्छौँ भन्ने आशा हुन्छ। त्यही कारण बैंकिङ कसुरमा उजुरी दिनेको संख्या बढ्दो छ।
चेक अनादरको विषय बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कारबाही गर्नु उपयुक्त होइन। सबैभन्दा उपयुक्त उपचारको बाटो भनेको विनिमय अधिकारपत्र ऐन, २०३४ ले निर्धारण गरेको कानुनी प्रक्रियाअनुसार चेक अनादर मुद्दा लिएर ऐनले तोकेको जिल्ला अदालतबाट कानुनी उपचार लिनु नै हो। चेक अनादर आर्थिक अपराधसँग सम्बन्धित एउटा कसुर हो, यसका लागि चेक अनादरसम्बन्धी कसुरको दण्ड सजायमा कानुनी रूपमै एकरूपता ल्याउन कानुनमा समसामयिक संशोधन गरिनु पर्छ।
हैसियत बिर्सन थाले
मीना उप्रेती,समाजशास्त्री
पछिल्लो समय चेक बाउन्सको घटनामा प्रायः पढेलेखेका मानिस, महत्वाकाङ्क्षा राख्ने, बढी मात्रामा पैसाको खेलो गर्ने मानिसहरुले घटाएको पाइन्छ। उनीहरु आफ्नो हैसियतभन्दा माथि रहेर कारोबार गर्छन्, यो बिर्सिन्छन् कि भोलि मैले यो पैसा फिर्ता गर्नुपर्छ।
मानिसहरु दुई किसिमले पैसाको कारोबार गर्ने गर्छन्। एकथरिले कुनै व्यापार व्यवसाय गर्न, त्यसबाट नाफा कमाउने उद्देश्य राखेर ऋण लिने या सापटी लिने गर्छन्। अनि अर्कोथरि पैसा खेलाउने आदत बसेका हुन्छन्। उनीहरुले यताबाट उता सल्टाउन सक्छु भन्ने अति आत्मविश्वासले पैसा खर्च गर्ने अनि भोलि के हुन्छ भनेर त्यसको परिणामबारे सोच्दैनन्। यस्तो सोचले आफू पनि झन्झटमा फँस्छन् र अरुलाई पनि दुःख दिन्छन्। मानिस पैसाविना बस्न नसक्ने भयो, उसलाई हरेक कुरामा पैसा खर्च गर्न मन लाग्छ, पैसाका लागि जे पनि गर्ने मानसिकताले हाम्रो समाजलाई नै नकारात्मक दिशातर्फ डो¥याउँछ। हामीले पैसाको कारोबार पनि आफन्त साथीभाइसँग गरेका हुन्छौँ। जब भनेको बेलामा तिर्न सक्दैनौँ त्यति बेला हाम्रो सम्बन्ध पनि चिसिँदै जान्छ र त्यसले दुर्घटना घटाउने अवस्था आइपर्न सक्छ।
सरसापटीमा भोलिको बारेमा जसले सोच्दैन, जब उसलाई तिर्नु पर्ने अवस्था आउँछ, तिर्न नसकेपछि बहाना बनाउन थाल्छ। त्यसपछि ठगी नै गर्नुपर्ने अवस्था आउँछ। भोलि वा पर्सि दिन्छु भनेर भाका राख्न थाल्छ। उसको बैंक खातामा पैसा हुँदैन र पनि उसले चेक काटेर दिन्छ। चेक लिने मान्छेले पनि चेक नसाटिएपछि अरु कुनै विकल्प पाउँदैन र प्रहरीकोमा उजुरी गर्ने अवस्था आउँछ। यसले दुवैलाई असर पार्छ।
हामी मानिस समाजमा बस्छौँ। समाजमै मिलेर हरेक क्रियाकलाप गर्छौँ। हाम्रो समाज पछिल्लो समय पैसामुखी हुन पुगेको छ। मान्छेहरु अहिले निकै महत्वाकांक्षी भएका छन्। मानिसहरुलाई विलासी जीवन बिताउन रमाइलो लाग्छ। यस्तोमा आर्थिक विचलनहरु धेरै आउँछन्। जस्तै, उनीहरु ऋण लिएर गाडी किन्ने, घर किन्ने, व्यापार व्यवसाय गर्ने तर त्यो पैसामा डुब्ने, ऋणकै पैसामा गरगहना किनेर लगाउने, हुनेखानेको देखासिकी गर्ने गर्नाले हामीले हाम्रो समाजलाई नकारात्मक दिशातिर धकेलिरहेका छौँ। हामीले व्यापार व्यवसाय राम्ररी व्यवस्थापन गर्न नसक्नु, आफ्ना काममा असमझदारीहरु बढ्नु, पैसाकै कारण आफ्ना मान्छेहरुसित नराम्रो सम्बन्ध हुने गरेको छ।
समाजमा लोभ बढ्यो
निर्मला ढकाल,समाजशास्त्री, प्राध्यापक, त्रिचन्द्र कलेज
अहिलेको समयमा मानिसहरु पैसाको कारोबार गर्न पटक्कै नडराउने भए। व्यापार व्यवसायका लागि भनेर उनीहरु ऋण लिन्छन्। उनीहरुले आफूले लिएको त्यो ऋण के प्रयोजनका लागि लिएको हो भन्ने नै बिर्सन्छन्। ऋण दिनेले पनि ब्याजको लोभमा दिन्छन्। पछि गएर त्यही लोभले उनीहरु दुःख पाउँछन्।
हामी समाजमा बस्ने सामाजिक मान्छे हौँ, एकअर्काको दुःखमा साथ दिन्छौँ। हामी सबै कारोबार विश्वासका आधारमा गर्छौँ। एक लाख ऋण दिँदा महिनाको १० हजारको ब्याजको लोभमा पर्छौं। अनि ब्याज त के साउँको पनि फिर्ता आउने टुङ्गो हुँदैन र हामीले दुःख पाउँछौँ। अहिले बैंकिङ कारोबार नै व्यापक रुपमा गरिन्छ। बैंकमा खाता त हुन्छ तर पैसा हुँदैन। पैसा नभए पनि हामीले तिर्ने ठाउँमा बिनापैसाको चेक निडरताका साथ काटेर दिनुपर्ने मान्छेलाई दिन्छौँ। ऊ चेक साट्न बैंक पुग्छ। खातामा पैसा छैन। चेक साटिँदैन अनि लिने–दिने दुवैले सास्ती भोग्नुपर्ने हुन्छ।
मानिसहरु अहिले धेरै विलाशी जीवनयापन गर्न रुचाउँछन्। पैसा खर्च गर्ने क्रममा पनि उनीहरु अघिपछि केही नसोची खर्च गर्छन्। उनीहरु महँगा गाडी, सुविधासम्पन्न घरजग्गाजस्ता अचल सम्पत्ति जोड्न ऋण काढ्छन्। उनीहरु आफ्नो हैसियत के छ भन्ने नै बिर्सिन्छन्। यस्ता घटना गाउँमा भन्दा शहरमा बढी घट्ने गरेको पाइन्छ। मानिस व्यापार व्यवसाय गर्नका शहर पस्छन्। उनीहरु व्यापार गर्न ऋण लिन्छन्। व्यापार व्यवसायमा पनि सोचेजस्तो फाइदा हुँदैन। ऋण तिर्ने मिति पनि नजिक सर्दै जान्छ। अब त्यो ऋण कसरी तिर्ने ? केही समय समस्या सल्टाउन भन्दै उनीहरु बिनापैसाको चेक काटेर दिन्छन् र कानुनी झञ्झटमा फँस्छन्। यस्ता घटनाले मानिसलाई आपराधिक मानसिकतातर्फ डो¥याउने सम्भावना बढी हुन्छ। त्यसपछि उनीहरुले ठगी गर्ने, पैसा तिर्ने बेला भाग्ने, भोलिपर्सी भन्दै झुक्याउने कार्यहरु गर्न थाल्छन्।
अहिलेको परिवेशमा पैसालाई मानिसले निकै सामान्य सोचेर खर्च गर्दै जान थालेका छन्। यसले भविष्यमा के परिणाम निम्त्याउँछ भन्ने कुराको ख्याल नै गर्न छाडिएको छ। हामी निकै महŒवकांक्षी छौँ। आफ्ना आवश्यकता पूरा गर्न मानिस जुनसुकै हद पार गर्न पनि तयार हुन्छ। हामीले सभ्य समाजको परिकल्पनाका लागि आफ्नो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ।
Leave A Comment