असामाजिक नबनोस् सामाजिक सञ्जाल

बुधबार, २६ चैत २०७६, १२ : ३३ शुक्रवार
असामाजिक नबनोस् सामाजिक सञ्जाल

हरेक मानिसका आफ्ना कमजोरी हुन्छन्। अझ अहिलेको देखावटी कुरामा रमाउने यो समाजमा त मानिसका कमजोरी छताछुल्ल नै हुने गर्छन्। जो कसैले पनि त्यो कमजोरीमाथि खेल्न सक्छ, कमजोरीको फाइदा उठाउन सक्छ।

शुक्रवार साप्ताहिकले अघिल्लो साता सामाजिक सञ्जालले कसरी सर्वसाधारणको भावनाको दोहन गर्ने तत्वहरु सक्रिय रहेका छन् र तिनलाई ठगी गरिरहेका छन् भन्ने समाचार प्रकाशित गरेको थियो।

जब कुरा पैसा, प्रख्याति र प्रयासको आउँछ, त्यहाँ सर्वसाधारण सहजै आकर्षित हुन्छन्। ठूलासँग हिमचिम बढाउने, उनीहरुसँग तस्बिर खिचाउने, त्यसको प्रचार गर्ने र आफू पनि उनीहरुसरह चर्चित भएको सपना देख्ने रहर पलाउँछ।

‘शुक्रवार’मा हरेक साता त्यस्ता कार्यक्रम आयोजक वा प्रशंसकहरुको सेलिब्रिटीसँग कुममा कुम जोडेर तस्बिर खिचाएका हुन्छन् र त्यो छापिदिन आग्रह आइरहेको हुन्छ। यसको अर्थ, समाजका लब्ध प्रतिष्ठित वा सामान्यजन पनि चर्चित व्यक्तिसँग तस्बिर खिचाएर आफू ऊसरह बनेको वा उसको पहुँचमा आफू रहेको देखावटीपना बढेर गएको छ।

जसले यस्तो गर्छ, उसको वाहवाही हुनुका कारणले त्यस्तो वाहवाही सुनेको वा देखेको व्यक्तिले अर्को कुनै सेलिब्रिटीसँग तस्बिर खिचाउने फेसबुकमा राख्ने, तस्बिर खिच्न नपाए पनि त्यस्ता सेलिब्रिटीसँग कुरा गर्ने र आफूले त्यसको डिङ हाँक्ने अवसर खोजिरहेको हुन्छ।

मानव जातिमा आफ्नो खालीपन भर्ने एउटा चाहनास्वरुप यस्तो रहर पलाउँछ। आफूभन्दा प्रसिद्ध व्यक्तिसँगको संगतले आफू पनि सोही सरह प्रख्यात भएको अनुभूति हुन्छ। यस्तो अनुभव र अनुभूतिका लागि सर्वसाधारणले सक्दो प्रयास गर्छन्। कसैले त्यसका लागि आर्थिक रकम नै खर्च गर्छन् भने कसैले शारीरिक र मानसिक रुपमा खर्च गर्छन्।

मानिसको यो कमजोरी थाहा पाएका व्यक्तिहरुले सेलिब्रिटीको आवरणमा ठग्ने अवसर पाउँछन्। पहिला सेलिब्रिटीको आवाज दुरुस्त नक्कल गरेर कयौँ मानिससँग रमाइलो गर्ने प्रचलन धेरै पुरानो हो। रेडियोका कार्यक्रम सञ्चालकको आवाजजस्तै दुरुस्त निकालेर लामो समयसम्म कुराकानी गर्नु केहीको सोख थियो।

यतिबेला सेलिब्रिटीको तस्बिरको दुरुपयोग हुन थालेको छ। सामाजिक सञ्जालमा नक्कली सेलिब्रिटी बनेर प्रशंसकहरुको मानसिक, शारीरिक र आर्थिक शोषण गर्ने कार्य भइरहेको छ। यसको प्रमाणका रुपमा हरेक दिनजसो प्रहरी कार्यालयमा दर्ता हुने उजुरी र प्रहरीको सक्रियताले नै देखाउने गरेको छ।

ठगीका कयौँ सन्दर्भमा सर्वसाधारणको सोझोपन नै कारक तत्व रहने गरेको छ। कतिपय अवस्थामा सरसापटका कुरामा विश्वास गरेर दिइने रकम र त्यसको दुरुपयोग पनि हुन्छ। जब आफू ठगिएको थाहा हुन्छ, त्यसपछि तत्कालै कार्बाहीको तहमा गइहाल्नु पर्ने हुन्छ। तर एउटा झिनो आशाका कारण सर्वसाधारण प्रहरीकहाँ गइहाल्दैनन्। खासगरी आफू बेबकुफ भएको हेर्ने रहर कसैलाई पनि हुँदैन। प्रहरीकहाँ पुग्दा आफू बेबकुफ ठहरिने डरका कारण अधिकांशले यस्ता घटनालाई रिपोर्ट गर्दैनन्। जसका कारण ठगहरुको मनोवल उच्च रहने गर्छ।

तापनि पछिल्लो समयमा सर्वसाधारणको चेतना बढिरहेको छ। यही कारणले पनि प्रहरीकहाँ उजुरी बढ्दो छ। उजुरी बढ्नुको अर्थ सधैँ व्यापक ठगी बढ्नु मात्र होइन। कहिलेकाहीँ समाजमा लुकीछिपी भइरहेका क्रियाकलापहरु सतहमा आउनु पनि हो। तसर्थ, ठगिने कुरालाई लिएर सर्वसाधारण आफू सचेत त हुनुपर्छ नै, कथं ठगिएको अवस्थामा तुरुन्त प्रहरीकहाँ रिपोर्ट गर्न पनि डराउनु वा धक मान्नु हुँदैन। यस किसिमको एउटा रिपोर्टले प्रहरीकहाँ अपराधको प्रवृत्ति र शैलीबारे डाटा उपलब्ध हुन्छ। यस्तै डाटाले समाजको ट्रेन्ड कता गइरहेको छ भन्ने बुझ्न सजिलो हुन्छ।
पछिल्लो समय उजुरी बढ्नुको अर्थ एक हिसाबले सचेतना बढ्नु पनि हो।

Leave A Comment