
नेपाली कांग्रेसको १४ औं महाधिवेसन आगामी वर्षको फागुन ७ देखि हुने कार्यतालिका छ। कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि र कांग्रेसका बारेमा छापाहरूमा आएका समाचारहरुको आँकलन गर्दा कांग्रेस अधिवेशन संघारैमा आएजस्तो देखिन्छ। कांग्रेस दुरदर्शी भएर एक वर्षपछि हुने अधिवेशनको तयारीमा अहिले नै जुटेको हो त ? होइन, पार्टी सत्ताको राजनीतिका निम्ति भैरहेका दौडधुप सतहमा आएका मात्र हुन्। कांग्रेस विधानअनुसार अधिवेशन एक वर्षपछि हुन्छ र त्यस्तै परिस्थिति आयो भने संविधानले ६ महिना थप्न सक्ने प्रावधान छ। यस आधारमा कांग्रेसको आगामी अधिवेशन २०७८ साउनसम्म गर्न सकिन्छ तर अहिले नै किन कांग्रेसमा यस्तो हतारो छ त ? यसका पछाडि कारणहरु छन्। अहिले कांग्रेसको राजनीतिमा पार्टीका मतदाता बनाउने, बढाउने र आफ्नो पकड बलियो बनाउने समय हो। कांग्रेसका मतदाता भनेका उसले बनाएका सक्रिय सदस्य हुन्। जुन तल वडा स्तर, जसलाई काग्रेसले बुथ कमिटी भन्ने गरेको छ, त्यहाँबाट आउँछन्। गाउँ बुथ कमिटीबाट १५ जना नगर बुथ कमिटीबाट आउने १७ प्रतिनिधिहरुले नै केन्द्रीय समितिका लागि २५ जना र प्रदेश समितिका लागि १७ जना महाविवेशन प्रतिनिधि चयन गर्छन्। कांग्रेसको सक्रिय सदस्य बन्न पहिला बनिसकेकाले नवीकरण गर्नुपर्ने हुन्छ भने कांग्रेसको सदस्य भइसकेका नागरिक सक्रिय सदस्य हुनसक्ने हैसियत राख्छन्।
कांग्रेस पार्टीका सक्रिय सदस्य अहिले करिब ४ लाख ५० हजार रहेको बताइन्छ। कांग्रेसले आगामी महाधिवेशनको अवसरमा सक्रिय सदस्य संख्या उदारताका साथ बढाउने छ। तीमये विजयकुमार गच्छदार कांग्रेसमा एकीकृत भइसकेपछि उनको खेमाबाट आएका सक्रिय सदस्य करिब २ लाख थपिने देखिन्छ। यस आधारमा ६ लाख ५० हजार सक्रिय सदस्य सहजै हुनेछन्। त्यो संख्याको डेढगुणासम्म सक्रिय सदस्य थप्ने पार्टी योजना भएकाले कांग्रेसका सक्रिय सदस्य ९ लाखको हाराहारी पुग्ने देखिन्छ। अहिलेको चलखेल त्यसैका लागि भैरहेको हो। खासमा मतदाता रिझाउने खेलमा छन्, कांग्रेसजन अहिले।
गुट राजनीतिको शिकार
कांग्रेस पार्टीको सदाबहार रोग मानिन्छ गुट–उपगुट। विगतमा पनि गुटहरु थिए। शीर्ष नेतृत्वबीच प्रतिस्पर्धा हुन्थ्यो। गुट राजनीतिको पछाडि राजनीतिक नीति, उद्देश्य र कार्यक्रमहरु हुन्थे। अहिले जस्तो व्यक्तित्वको झगडा, व्यक्तिवादी प्रतिस्पर्धा र पार्टी कब्जा गर्ने प्रवृत्ति देखिदैनथ्यो। अहिले भने कांग्रेसको गुट राजनीति नै मूलधारको राजनीतिजस्तो बनेको छ।
आउँदो चौधौँ अधिवेशन पनि पार्टीका नेताबीच होइन, गुटका नाइकेबीच प्रतिस्पर्धा हुने देखिदैछ। गुटका नेताको चुनावमा कुनै एउटा गुटको नेता विजयी हुने हुन्छ। गुटका नेतालाई सभापति बनाउने वा पार्टीको नेता चुन्ने ? कांग्रेसजनसामु अहं प्रश्न उपस्थित भएको छ।
कांग्रेस राजनीतिमा खास गरेर दुई वटा बृहत् गुट अस्तित्वमा छन्। एउटा संस्थापन भनिने सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको गुट। यो गुट पार्टी संगठनमा सबैभन्दा बलियो मानिन्छ र आफैँमा संगठित देखिन्छ। देउवा गुटको प्रवल विरोधी गुटमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, शेखर कोइराला लगायतको एउटा ठूलो समूह छ। यो गुटमा भने आपसी समन्वय र एकअर्कालाई नेता स्वीकार गर्ने सहज अवस्था देखिदैन। यो गुटसँगै नजिकको सम्बन्ध राख्ने गणेशमान पुत्र प्रकाशमान सिंहको अर्को गुट अस्तित्वमा छ। १३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार कृष्ण सिटौला पनि बेग्लै गुटको खेतीमा सक्रिय देखिन्छन्। उनी पनि सतहमा देउवा गुटकै विरोधमा देखिन्छन्।
अधिवेशनसम्ममा यी गुट–उपगुट कसरी प्रस्तुत हुन्छन्, अधिवेशनको क्रममा गुटहरु कति प्रभावशाली हुन्छन् त्यसले कांग्रेस पार्टीको अनुहार स्पष्ट्याउने छ। १३ औँ महाधिवेशनमा देउवाको प्रतिस्पर्धामा रामचन्द्र पौडेलको उम्मेदवारी थियो। पौडेलको सभापति उम्मेदवारीलाई महामन्त्रीको पदमा बसेर सक्रिय सहयोग गर्ने रणनीति लिएका कोइरालाहरु अहिले आफैँ मैदानमा उत्रने बताउँदै आएका छन्। कोइरालाहरु, कोइरालाको विरासत र पार्टीमा लगानी दुवै दाबी गर्दै सभापतिको दौडमा देखिन्छन्। विपी पुत्र डा. सशांक कोइराला, जो अहिले महामन्त्रीको भूमिकामा छन्, उनी आफैँ मैदानमा उत्रने हुन् वा नोना कोइराला पुत्र डा. शेखर कोइरालालाई साथ दिने हुन्, यकिन भैसकेको देखिन्न। कोइराला विरासतको कुरा गर्दा शेखर, सशांक तथा गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला एकै ठाउँमा देखिन्छन्। बेलाबेलामा उनीहरुको पारिवारिक कोटरीको बैठक बसेको, छलफल भएको समाचारहरु बाहिरिने गर्छन्, जसमा शेखरको समेत सहभागिता हुने गरेको देखिन्छ। वंश परम्परावादलाई अघि सार्नेमा डा. सशांक अगाडि देखिएका छन्। विरासतकै बलमा महामन्त्रीको पदमा विजयी सशांक, महामन्त्रीको भूमिकामा भने सफल भने मानिदैनन्। सबै दोष देउवामाथि थोपरेर पानीमुनिको ओभानो अवस्थामा आफूलाई प्रस्तुत गरिरहेका छन् उनी। राजनीतिक परिदृश्यमा खासमा पार्टी राजनीतिमा प्रतिपक्षीय भूमिका निर्वाह गरिरहेका पौडेल र कोइरालाहरु आपसमा एक हुन्छन् त ? सबैभन्दा पेचिलो प्रश्न यही हो। अघिल्लो महाधिवेशनमा पौडेललाई सभापतिमा प्रस्तुत गरेर कोइराला गुटले महामन्त्रीको जिम्मेवारी पद प्राप्त गरेको हो। यस पटक पौडेललाई नेता नमान्ने अवस्थामा उनीहरु छन्। कोइराला परिवारबाट डा. शेखर कार्यकर्ताबीच बढी भिजेका र थोरबहुत विरासतको ओज राख्दै आएको देखिन्छ। उता डा. सशांकको सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति भनेको विरासतबाट प्राप्त बिपीपुत्र हुनुको नाताबाहेक संगठनमा बलियो पकड देखिँदैन। आगामी फागुनसम्मका राजनीतिक आरोहबीच कोइरालाहरु कसरी प्रस्तुत हुनेहुन्, त्यसले कांग्रेसको आन्तरिक राजनीति निर्देशित गर्नेछ। बिपी र मातृका आपसमा लडेर पार्टी नै विभाजन गरेको कांग्रेस राजनीतिक पृष्ठभूमिमा शेखर र सशांकको राजनीतिक गतिविधिलाई मसिनोसँग केलाउन आवश्यक हुन्छ।
सतहमा देखिएका गुट राजनीति सङ्लिँदै चुनावी प्रतिस्पर्धा द्विपक्षीय हुने हुन्छ वा अहिले देखिएकै गुटहरु विकसित भएको अवस्थामा कांग्रेस नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने अवस्था छ। त्यसो त सभापति पदमा उम्मेदवार बन्ने घोषणा कृष्ण सिटौलाले फेरि पनि गरेका छन्। गणेशमान पुत्र प्रकाशमान पनि त्यस्तै गर्जन गर्दैछन्। उनीहरु भने राजनीतिको खालमा बसेको भन्दा पनि च्याँखे थापेका हुन्। कुनै एउटा पक्षले जित्ने भूमिका लागि उनीहरु उपयोग हुन सक्छन्। जस्तो अघिल्लो अधिवेशनमा सिटौलाको उम्मेदवारीले देउवालाई प्रकारान्तरले लाभ पुगेको बताइन्छ।
बलिया गुट कमजोर पाटी
पार्टीको सत्तामा पुग्ने खेल आफ्ना ठाउँमा छँदैछ। कांग्रेसले राष्ट्रिय राजनीतिमा भूमिका खेल्नुपर्ने हो। आफ्नौ गौरवशाली इतिहास र प्रत्येक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको यो पार्टी अहिले भने आफैँभित्र रुमल्लिने अवस्थामा पुगेको छ। कांग्रेस पार्टी उसकै लागि र मुलुककै निम्ति यो शुभसंकेत होइन। कांग्रेस केन्द्रीय राजनीतिमा प्रभावकारी हुन नसकिरहेको अवस्थामा मुलुकको राजनीति अस्थिर बनाउने खेलहरुको रचना भइरहेको देखिन्छ। पार्टी राजनीतिका गतिविधि कायम राख्दै प्रतिपक्षीय भूमिकामा बलियो उपस्थिति जनाउनु कांग्रेसको मात्र होइन, मुलुकको राजनीतिक आवश्यकता हो। नेकपाको बलियो सत्ताले जनअपेक्षा पूरा गर्न नसकेको मात्र होइन, संघीय गणतान्त्रिक राजनीतिक प्रणाली माथिका आक्रमणहरु धान्न र थेग्न नसक्ने पो हो कि भन्ने आशंका बढेका छन्। कांग्रेसजनले मुलुकको राजनीतिमा भैरहेका भित्रिया खेलहरू आत्मसात गर्दै त्यसै अनुसारका रणनीति बनाउन आवश्यक छ। आ–आफूमै पार्टी सत्ताका लागि लडिरहने भन्दा मुलुकको राजनीतिक दृश्यमा भैरहेका गतिविधिहरुलाई राम्रोसँग मनन् गर्दै त्यसै अनुसारका रणनीति चाल्न सक्नुपर्छ, मुलुकको जिम्मेवार पार्टीले। नेपालका दुवै छिमेकी यो हिमाली मुलुकमा राजनीतिक स्थायीत्वको पक्षमा देखिँदैनन्। उनीहरुका गतिविधि धमिलो पानीमा माछा मार्ने प्रकृतिको रहेको घटनाहरु औँल्याउँदै आएका छन्।
पराजितलाई पद ?
तर दुर्भाग्य, कांग्रेस पार्टीलाई कसरी राष्ट्रिय राजनीतिमा प्रभावशाली बनाउने ? कसैसँग पनि स्पष्ट नीति र दृष्टिकोणको पाइँदैन। विरोधका लागि विरोधको राजनीतिमा सबैजना उत्साही देखिन्छन्। पार्टी सभापति शेरबहादुर देउवाकै कारण स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेसको उपस्थिति न्यून रहेको आरोपमा सभापतिलाई कमजोर बनाउने खेल भयो कांग्रेसमा। निश्चय नै पार्टीको कमजोर हैसियत प्राप्त हुनका पछाडि प्रमुख जिम्मेवार पार्टी सभापति देउवा नै हुन्। यसको अर्थ उनकै कारण चुनावमा कमजोर नतिजा हात लागेको भन्न मिल्दैन। नेपालको राजनीतिक गणितमा कांग्रेसको आफैँ मात्र सिंगो एक तिहाइको हैसियत राख्छ। राजनीतिक हिसाबले कांग्रेसले शक्तिशाली हैसियत प्राप्त गरेको हो। चुनावको समयका प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवाले माओवादीलाई साथमा लिएर चुनावी मैदानमा उत्रने रणनीति अख्तियार गरेका थिए। त्यसमा उनी सफल हुन सकेनन्। पहिलो चरणमा सम्पन्न स्थानीय चुनावसम्म एमाले माओवादी आपसमा प्रतिस्पर्धामा थिए। कांग्रेसको बलियो पकड रहेको भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल पुत्री रेणु दाहाललाई तिकडम गरेर मेयरमा विजयी गराउने भूमिका खेलेका देउवाको रणनीति सफल हुन सकेन। देउवाको रणनीति सफल हुन नसक्नुको परिणाम मान्नुपर्छ, अहिलेको कांग्रेसको अवस्थाका पछाडि। विगतका चुनावजस्तै एमाले र माओवादी फरक–फरक राजनीतिक पार्टीको हैसियतमा चुनावमा भिडेका थिए भने सायद राजनीतिक हिसाबले कांग्रेसको हैसियत एक नम्बरमा हुन्थ्यो। दुई ठूला पार्टी एमाले र माओवादी एकीकृत भएको अवस्थामा कांग्रेस नराम्ररी खुम्चिएको हो। यो धरातलीय यथार्थको वस्तुगत विश्लेषण कांग्रेसभित्र हुन सकिरहेको छैन। विरोध गर्नुलाई नै राजनीति भन्न चाहने नेताहरूका कारण कांग्रेस अन्योलमा देखिन्छ। जसले पार्टीलाई नै कमजोर बनाउँदै लगेको छ। घटनाहरुले औँल्याएका छन्, पार्टी सभापतिले अधिवेशनमा प्राप्त मताधिकार अनुसार काम गर्ने अवसर पाएनन्। निर्वाचनमा पराजितहरुले पद रोज्ने, भाग खोज्ने र हरेक निर्णयमा विमति जनाउने राजनीतिले अन्ततः पार्टीलाई नै कमजोर बनाएको हो। अधिवेशनमा विजयीले तोकिएको अवधिसम्म पार्टी चलाउने तथा पार्टीमा सन्तुलन राख्ने उसको जिम्मेवारी हो। अधिवेशनमा पराजितहरुले सभापतिका कामकार्बाहीमाथि आलोचनात्मक समीक्षा गर्ने हुनसक्छ। तर, कांग्रेस लगायतका नेपालका सबैजसो पार्टीहरुमा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई स्वीकार नगर्ने, पराजितहरुले पद दाबी गर्ने, भागबण्डा खोज्ने, पार्टी सत्तामा सुरक्षित स्थान खोज्ने प्रवृत्ति मौलाएको छ। भागबण्डाको राजनीतिले गुट जन्माउने, गुट विकसित भएर पार्टी नै कमजोर बन्दै जाने हुन्छ। कांग्रेस अहिले त्यसकै शिकार भएको छ। कांग्रेस त्यही गुटको दुष्चक्रमा फँसेको छ, फँसिरहेको छ। आउँदो चौधौँ अधिवेशन पनि पार्टीका नेताबीच होइन, गुटका नाइकेबीच प्रतिस्पर्धा हुने देखिदैछ। गुटका नेताको चुनावमा कुनै एउटा गुटको नेता विजयी हुने हुन्छ। गुटका नेतालाई सभापति बनाउने वा पार्टीको नेता चुन्ने ? कांग्रेसजनसामु अहं प्रश्न उपस्थित भएको छ। होसियार, अझै पनि समय छ !
Leave A Comment