धनको बाटो

बुधबार, २६ चैत २०७६, ०१ : २५ प्रकाश जंग थापा
धनको बाटो

फिडेलिटी इन्भेस्टमेन्ट्सको अध्ययनअनुसार ८८ प्रतिशत करोडपति स्वनिर्मित हुन्छन्। केवल १२ प्रतिशत पैतृक सम्पत्तिका कारण धनी मानिसहरुको वर्गमा पर्छन्। धनी हुने सपना सबैको हुन्छ तर थोरै मानिसहरु मात्र त्यो ८८ प्रतिशत भित्र अटाउन सक्षम हुन्छन्। आखिर किन ?

धनी नहुनुका कारण
धनी हुन नसक्नुका धेरै कारणहरु हुन सक्छन्। यस्तोमा निम्न कारणहरू माथि छोटो वर्णन गरौँ।

–पर्याप्त स्रोत साधनको अभावः
आर्थिक हैसियत बढाउन स्रोत साधनको विशेष महत्व रहन्छ। सीमित स्रोत र साधन भएको ठाउँमा धनी हुने वातावरण सिर्जना गर्न सकिँदैन। मानौँ तपाईं अविकसित ठाउँमा जन्मनु र हुर्कनु भयो। त्यहाँ कुनै पनि प्राकृतिक स्रोत छैन भने आर्थिक गतिविधि सञ्चालन गर्न सक्नुहुन्न। स्रोत भन्नाले निपुर्णता, कौशल पनि बुझिन्छ। मानौँ तपाईं सुन, फलाम लगायत युरेनियमको प्राकृतिक स्रोत टिकट हुनुहुन्छ, तर त्यसलाई सदुपयोग गर्ने कौशल छैन भने तपाईं सतप्रतिशत उही आर्थिक अवस्थामा रहन बाध्य हुनुहुन्छ।

–पीडित मानसिकता हुनुः
पीडित मानसिकता भएका मानिसहरु यस्ता भनाइहरू राख्ने गर्छन्। जस्तैः प्रयास गर्नुको कुनै औचित्य छैन, कसैले मेरो ख्याल गर्दैन, ढिलाइ भइसक्यो, परिस्थिति नै खराब, ती मान्छेहरुले गर्दा हो आदि। यस्ता भनाइहरू अथवा सोच राख्नेहरु आर्थिक उन्नति गर्न सक्दैनन्।

– सीमित विश्वास प्रणालीः
हरेक मानिसमा सीमित विश्वास प्रणाली हुने गर्छ। मानौँ तपाईंको सपना व्यवसायी बन्ने हो। मानौँ तपाईंका केही व्यवसाय असफल भए। यस्तोमा तपाईंमा ‘म मेरो सपना साकार गर्न सक्दिन किनभने हरेक पटक असफल हुन्छु’ भन्ने सीमित विश्वास प्रणाली विकास हुन्छ। मानौँ तपाईंलाई धेरै मानिसले धोका दिएका छन्। यस्तोमा तपाईंमा ‘म कोही मानिसलाई विश्वास गर्न सक्दिन किनभने तिनले कुनै पनि बेला धोका दिन सक्छ’ भन्ने विश्वास प्रणाली विकास हुन्छ। यस किसिमको विश्वास प्रणालीले धन कमाउने कार्य सुरुवात गर्न सहयोग गर्दैन। जस कारण तपाईं सधैँ गरिब हुनुपर्ने हुन्छ।

–जिम्मेवारी लिन नसक्नुः
जिम्मेवारी लिनु भनेको कुनै पनि परिस्थितिमा सकारात्मक प्रतिक्रिया जनाउनु हो। अथवा कुनै पनि घटनाक्रमबाट प्राप्त हुने परिणामप्रति स्वीकारोक्ति जनाउनु हो। धेरै मानिस त्यसो गर्दैनन् र अरुलाई दोषारोपण गर्छन्। जसकारण गरिब हुन पुग्छन्।

–सामाजिक अनुकूलनः
समाजमा अनुकूलनका धेरै उदाहरणहरू छन्। जस्तो पैसाले खुसी किन्न सकिन्छ, फेसन उद्योगमा सफल हुन पातलो हुनुपर्छ, महिलाहरु मात्र नर्सिङ पेशामा संलग्न हुनुपर्छ आदि। मानौँ तपाईंले पैसामार्फत खुसी किन्न वा खुसी हुन सकिने विश्वास राख्नु भयो। यस्तोमा तपाईं पैसाका लागि जे पनि गर्न तयार हुनु हुन्छ। जथाभावी लगानी गर्न थाल्नुहुन्छ। जसकारण तपाईं झन् धेरै गरिब बन्दै जानुहुन्छ।

तीन आर्थिक आर्जनको बाटो
एम जे डेमार्कोको ‘दि मिलिनियर फास्टलेन’ पुस्तकमा धनी हुने तीन बाटोका बारेमा वर्णन गरिएको छ। ती हुनः साइडवाल्क (फुटपाथ), स्लो लेन (ढिलो मार्ग) र फास्टलेन (द्रुत मार्ग)।

फुटपाथमा हिँड्ने मानिसहरु पारिश्रमिकमा बाँचेका हुन्छन्। उनीहरु गरिब हुने अवस्थाभन्दा एक कदम मात्र टाढा हुन्छन्। भनाइको मतलब, जीवन सोचेजस्तो नहुने बित्तिकै अथवा कुनै प्राणघातक रोग लाग्नासाथ सडकमा आइपुग्छन्। ६० प्रतिशत वयस्क मानिसहरु यस बाटोमा बाँचेका हुन्छन्। उनीहरुले अथाह पैसा कमाउन नसक्ने होइन तर ती सबै पैसा ज्ञान र जिम्मेवारीको अभावमा शून्य हुन सक्छ। उदाहरणार्थ व्यावसायिक खेलाडी। व्यावसायिक खेलाडीले अथवा पैसा कमाउने भनेको युवावस्थामा मात्र हो। पछि बुढो भएर खेल्न नसक्ने भएपछि गरिब हुन समय लाग्दैन।

ढिलो लेनमा हिँड्ने मानिसहरु उच्च शिक्षा लिन्छन्। राम्रै पारिश्रमिक दिने जागिरमा आबद्ध हुन्छन्। र, बाँकी जीवन त्यसैमा कटाइ दिन्छन्। विशेषतः यस लेनका मानिसहरु पैसाका लागि समय लगानी गर्छन्। भविष्यमा राम्रो हुन्छ कि भनेर वर्तमान त्यागेर काम गर्ने स्वभावका हुन्छन्। अधिकांश मानिसलाई पैसा कमाउने यो बाटो सुरक्षित र उपयुक्त लाग्छ।

द्रुत लेनमा हिँड्ने मानिसहरु समय र ऊर्जाको लगानी गर्न जान्ने हुन्छन्। उनीहरुमा आत्मसन्तुलन, आत्मविश्वास उच्चस्तरीय रहन्छ। यति मात्र होइन, उनीहरु व्यवसाय सञ्चालन गर्न, चाँडोभन्दा चाँडो धन सिर्जना गर्न सक्ने क्षमताका हुन्छन्। अन्ततः विशिष्ट जीवनस्तर बाँच्न सफल हुन्छन्। यस लेनमा जेफ बेजोज, मार्क जुकरबर्ग जस्ता व्यक्तिहरु पर्छन्।

धनी मानिसका विशेषता
धनी मानिसहरु त्यसै धनी भएका हैनन्। भाग्यवश त झन् भएकै हैनन्। यस्ता केही विशेषताहरू छन् जसले उनीहरुलाई धनी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। ती विशेषताहरू यस प्रकारका छन्:

–धनी मानिसहरुसँग जीवनको उद्देश्य हुन्छ। विश्वका लागि जे गर्न चाहन्छन्, त्यसमा मात्र केन्द्रित हुन्छन्।

–उनीहरु व्यक्तित्व विकासमा समय र ऊर्जा लगानी गर्छन्। स्ट्यानली फ्यालोज अनुसन्धानअनुसार उनीहरु हरेक हप्ता पढ्नमा साँढे पाँच घण्टा र व्यायाममा ६ घण्टा लगानी गर्छन्। उनीहरु विशेषतः सफल मानिसका आत्मकथा, सेल्फ हेल्प अथवा व्यक्तित्व विकास र इतिहासका पुस्तकहरु पढ्ने गर्छन्।

–उनीहरु हरेक दिन १५ मिनेट एकान्तमा रहने गर्छन्। त्यसबेला उनीहरु जीवनबारे गहन सोच र विश्लेषणमा व्यस्त रहन्छन्।

–उनीहरु भीडको पछि लाग्दैनन्। यसर्थ भीड मानसिकताको प्रभाव देखिने त सम्भावना नै रहेन।

–उनीहरु चार वर्गका मानिससँगको सम्बन्धलाई विशेष महत्व दिन्छन्। ती हुन्ः प्रशिक्षक, गुरु, प्रशंसक र साथी। यीमध्ये गुरुको स्थान उच्च रहन्छ।

–उनीहरु व्यक्तिगत जिम्मेवारी लिन्छन् र निरन्तर अगाडि बढ्छन्।

–उनीहरु आफ्नो विकासका लागि प्रतिक्रिया लिने गर्छन् आदि।

धनी हुन के गर्ने?
धनी हुन नसक्नुका प्रमुख कारणहरू, धन कमाउने बाटोहरु र धनी मानिसहरुका विशेषताहरूबारेमा ज्ञान प्राप्त गरेपछि धनी हुनका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) व्यवसाय खडा गर्नेः
कडाभन्दा कडा मिहिनेत गरेर अथवा ९ देखि ५ को जागिर खाएर धनी हुने सपना देख्नु मुर्खता हो। त्यसैले व्यवसाय गर्नुको विकल्प छैन। व्यवसाय सुरु गर्नुभन्दा अगाडि आफ्नो जीवन उद्देश्य थाहा हुनु आवश्यक छ। जीवन उद्देश्य, जुन सँग मिलान हुने व्यवसायमा आबद्ध हुँदा असफलता मिल्ने सम्भावना न्यून रहन्छ। त्यसैगरी व्यवसाय गर्दा पैसाको पछि लाग्नु फलप्रद हुन सक्दैन। व्यवसाय मानिसहरुको आवश्यकता पूर्ति गर्ने खालको बनाउने कोसिस गर्नोस्।

(ख) बहुमूल्य प्रदायक बन्नेः
एउटा सूत्रः धेरै मूल्य, धेरै मानिस, धेरै पैसा, यो सूत्रको अर्थ, जति धेरै मानिसलाई बहुमूल्य सेवा सुविधा दिन सकिन्छ, त्यति नै धेरै पैसा कमाउन सकिन्छ भन्ने हो। उदाहरणार्थ, विल गेट्सले विश्वभरका मानिसहरुलाई बहुमूल्य सेवा सुविधा दिएका छन्। त्यसैले त धनी छन्। त्यसैगरी एमाजोनका जेफ बेजोज, अलिबाबाका ज्याक माले संसारभरका मानिसलाई बहुमूल्य सेवा सुविधा दिएका छन्। त्यसैले त धनी छन्। अरु कसैले दिन नसक्ने सेवा सुविधा र उत्पादन दिन सक्नुहुन्छ भने तपाईंलाई धनी हुनबाट रोक्न कसैले सक्दैन। त्यसैले बहुमूल्य प्रदायक बन्ने प्रयत्न गर्नोस्।

(ग) व्यक्तित्व विकास गर्नेः
धनी हुने प्रक्रियामा व्यक्तित्व विकासको अत्यधिक महत्व छ। व्यक्तित्व विकासविना धनी हुन असम्भव छ। जब व्यक्तित्व विकास गरिन्छ, आत्म सन्तुलन, आत्मविश्वास र आत्मसम्मान कायम राख्न सकिन्छ। जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गर्न सकिन्छ। चुनौतीपूर्ण अवस्था आइपरे पनि हतोत्साहित हुने सम्भावना कम रहन्छ। त्यसैगरी पीडित मानसिकता हट्दै जान्छ। त्यसैले व्यक्तित्व विकास कार्यमा गम्भीरतापूर्वक लाग्नोस्। जीवनभरि अध्ययनकर्ता बन्ने लक्ष्य राख्नोस्।

(घ) समयको सदुपयोग गर्नेः
धनी हुनु भनेको कति पैसा कमाइ भयो भन्दा पनि कति चाँडै पैसा कमाइ भयो भन्ने अर्थ लाग्छ। मानौँ तपाईंले प्रत्येक वर्ष पाँच लाख आम्दानी गर्नुहुन्छ। यस्तोमा तपाईंले चालीस वर्ष काम गरेपछि मात्र दुई करोड आम्दानी गर्नुहुन्छ। यस अवस्थामा तपाईंलाई धनी भन्न मिल्दैन। कारण ? तपाईं त्यो पैसाले रमाइलो गर्न सक्नुहुन्न। बुढेसकालमा करोडपति हुनुको के अर्थ!। त्यसैगरी मानौँ तपाईंले वार्षिक एक करोड आम्दानी गर्नुहुन्छ। यस्तोमा तपाईंले केवल दुई वर्षमा दुई करोड आम्दानी गर्नुहुन्छ। त्यसैले तपाईंलाई धनी भन्न मिल्छ। यहाँ दुवै अवस्थामा दुई करोड नै हो आम्दानी। तर आम्दानी गरेको समय भने फरक छ। त्यसैले पैसा भन्दा समयलाई बढी महत्व दिनुस्।

Leave A Comment