टेलिसंवाद: ‘बढी बजारिया बन्न खोज्नु हुँदैन’

बुधबार, २६ चैत २०७६, ०१ : ३६ शुक्रवार
टेलिसंवाद: ‘बढी बजारिया बन्न खोज्नु हुँदैन’

दुई दशकदेखि नेपाली चलचित्र र टेलिभिजन शृंखला निर्देशनमा उत्तिकै सक्रिय रहेका निर्देशक ऋषि लामिछाने यतिबेला चर्चित कथाकार माया ठकुरीका कथामा आधारित फिल्म निर्माणको तयारीमा छन्। यही समयमा उनले निर्देशन गरेको ‘दृष्टि’ शृंखला डिसहोम र युट्युबमा ट्रेन्डिङमा परिरहेका छन्। ईश्वरकुमारले उनै लामिछानेसँग गरेको छोटो शृंखला संवादः

एक दर्जन बढी चलचित्र बनाएर पनि सिरियल बनाउँदै हुनुहुन्छ, चलचित्र नफापेर हो ?
मेरा सबै फिल्म चलेका छन्। मेरो पुस्ताको म एक्लो व्यक्ति हुँ, जो फिल्म र सिरियल दुवैमा उत्तिकै सक्रिय छु। दर्शकले मेरा कामलाई उत्तिकै मन पराएका छन्। चाहे त्यो चलचित्र होस् वा सिरियल। मलाई चलचित्र र सिरियल दुवै मज्जैले फापेको छ।

तपाईं एक पटक त फिल्म लेखक पनि हुनुभयो क्यार ! कहाँ पुग्यो लेखनयात्रा ?
त्यो फिल्म (खबरदार)को बारेमा मैले सरितालाई समेत भनेको छैन। एकथरि लेख्न खोजेको थिएँ, अर्कै बन्यो। मैले नै बिर्सिसकेको रहेछु, तपाईंले सम्झाइदिनु भयो। म निर्देशक हुँ, निर्देशनमा नै रमाउँछु। तर एउटा निर्देशकले लेख्न चैँ जान्नु पर्छ भन्ने लाग्छ।

हाम्रा टेलिसिरियल इन्डियन सिरियलका नक्कल हुन्छन् ?
अरुको कुरा मलाई थाहा छैन। मैले चाहिँ विशुद्ध नेपाली सिरियल नै बनाएको हुँ। मेरो सिरियलमा कल्चर नेपाली छ, पात्र नेपाली छन्, सबैथोक नै नेपाली छ ! अब कसैले मेरो सिरियल, इन्डियन सिरियलसँग तुलना गर्छन् भने त्यो त राम्रो कुरा हो नि ! कमसेकम त्यो लेभलको सिरियल बनाएछु मैले। यो त बहुतै खुसीको कुरा भयो।

धेरै कुरा नेपाली हुन खोजे पनि कथा चैँ नेपाली भएन भन्ने गुनासो हुन्छ नि ?
त्यो त भन्नेलाई थाहा होला। मैले नेपालको शहरी जीवनको कथामा सिरियल बनाएको छु। र, त्यसलाई दर्शकले यति रुचाइदिनु भएको छ कि सिरियल साँच्चिकै तन्किएको छ।

जहिले पनि पारिवारिक कथा नै रोज्नु हुन्छ ? किन हो ?
परिवार बिना के छ र संसारमा ? परिवार नै हाम्रो सबथोक हो। त्यसैले म पारिवारिक कथामा नै बनाउन रुचाउँछु।

तपाईंको ‘दृष्टि’का केही भाग हेर्दा ज्यादै सुस्त र अनावश्यक स्लो पेसका लागे नि ?
केही दर्शकलाई त्यस्तो लाग्छ, केहीलाई त्यही राम्रो लाग्छ। केही कुराहरु सिरियलमा कमजोरी छन्। त्यसको मलाई ज्ञान छ। तर हामीले बजार पनि बुझ्नुपर्ने हुन्छ। दर्शकले यसलाई मन पराइरहनु भएको छ।

बजारको नाममा कमजोरी नै रहन दिने कि सुधार्ने पनि ?
मेरो सिरियल हरेक हप्ता ट्रेन्डिङमा आइरहेको छ। ‘परिचय’, ‘परिवर्तन’ लगायतका अन्य कामलाई जस्तै यो कामलाई पनि दर्शकहरुले माया दिइरहनु भएको छ। त्यो नै हाम्रो सबैभन्दा राम्रो पक्ष हो। केही प्राविधिक कुरामा भएका कमजोरीहरु बिस्तारै समयसँगै ठीक हुँदै जानेछन्। दर्शक खुसी हुनुहुन्छ, त्यो नै हाम्रो फाइदा हो।

नेपाली दर्शकको नाडी मज्जैले छाम्नु भएको छ है ?
त्यस्तो पनि होइन तर मैले मेरा दर्शकलाई बुझेको छु। त्यहीअनुसार सिनेमा, सिरियल बनाइरहेको छु। १४ वटा फिल्ममध्ये  ९ ओटा रिलिज भए, कुनै असफल भएका छैनन्। मैले बनाएका सिरियलका बारेमा त मैले बोल्नु जरुरी छ जस्तो लाग्दैन।

तपाईंका पकेट दर्शकबाहेक नयाँ दर्शक पनि खोज्ने बेला भएन र ?
तपाईंले भन्नुभएको ठीक हो। बढी बजारिया बन्न खोज्नु हुन्न। आफ्ना दर्शकलाई चिनेर, बुझेर उनीहरुको चाहना अनुसारको सिरियल निर्माण त गर्नुपर्छ नै नयाँ दर्शक बनाउने बाटो पनि खोज्नुपर्छ। सस्तो लोकप्रियता मात्र खोज्नु हुँदैन। आफ्नो कामप्रति इमान्दार हुनुपर्छ, जस्तो काम गरे पनि।

नेपाली फिल्म वा सिरियल कुन स्थानमा छन् जस्तो लाग्छ ?
नेपाली फिल्म र सिरियलको स्तर उन्नति हुँदै गएको छ। यही गतिमा गइरहन सक्यौँ भने अवश्य पनि एक दिन राम्रो हुने मेरो विश्वास छ।

अब ठूलो पर्दामा फर्कने कि सिरियालमै अल्झिरहने ?
पहिलो कुरा त पर्दा सानो–ठूलो हुन्छ भन्ने कुरा म मान्दिनँ। हामीले काम गर्ने हो। सानो पर्दामा ठूलो पर्दाका भन्दा बढी दर्शक छन्। चलचित्रको सन्दर्भमा भने हामी यतिबेला कथा फाइनलको चरणमा छौँ। आउँदो वर्ष सायद नयाँ फिल्म घोषणा नै गर्ने तयारीमा छौँ।

Leave A Comment