व्यायामको उल्टो सेड्युल

बुधबार, २६ चैत २०७६, ०४ : ४४ उपेन्द्र खड्का
व्यायामको उल्टो सेड्युल

अभिनेता पुष्प खड्काको ज्यान कम लोभलाग्दो छैन। पाँच फिट नौ इन्च अग्लो (५.९) अग्लो कदका उनको तौल ७१ किलो छ। टिपटप भएर हिँड्ने ३० वर्षीय उनको ज्यान फिट र स्मार्ट देखिन्छ।

कैलालीको ठिटो खड्काले ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले...’, ‘दुनिया बेग्लै छ...’, ‘त्यो मान्छेले हेरेको छैन...’ लगायत तीन सय बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन्।  त्यसैगरी आधा दर्जन फिल्ममा अभिनय गरेका उनलाई ‘मंगल’ र  ‘मारुनी’ले बढी चर्चामा ल्यायो।

उठ्दा बिहानको एघार बज्छ
उनी आफ्नो ज्यान फिट राख्नका लागि राम्रैसँग मिहिनेत गर्छन्। अभिनेता खड्काको फिटनेसशैली अलि फरक किसिमको छ। सुटिङ भएको समयमा उनी बिहान ६ बजे नै उठ्छन्। सुटिङ नभएको समयमा भने उनी उठ्दा घडीले बिहानको ११ हान्छ। उनले मुस्कुराउँदै भने, ‘सुटिङ नहुँदा नौ बजेभन्दा अगाडि उठ्ने त रेकर्ड नै छैन होला।’

खड्का उठिसकेपछि सबैभन्दा पहिला गीत अन गर्छन्। कोठामा एक्लै बसेर लाउड स्पिकरमा मज्जासँगले २/३ वटा गीतको धुनमा रमाउँछन्। बिहान प्रायः लभ तथा रोमान्टिक गीत सुनेपछि उनलाई शारीरिक र मानसिकरुपमा ऊर्जा आउँछ। उनले खित्के हाँसोको मज्जा लिँदै सुनाए,‘गीत सुनिसकेपछि मलाई ऊर्जा आउँछ, अनि उठ्छु।’ गीत सुनिसकेपछि ट्वाइलेट–बाथरुम जान्छन्।

खाजामा चारदाना अण्डा र एउटा आलु
हातमुख धोइसकेपछि दुई गिलास मन तातो पानी पिउँछन्। प्रायः उनकी बहिनीले पानी तताएर राख्छिन्। थर्मसमा तातो पानी नभए आफैँ तताउँछन्। तातोपानी पिइसकेपछि ब्रेक फास्टका रुपमा चारवटा उसिनेका अण्डा र एक दानो (उसिनेको) आलु खान्छन्। यति खाइसकेपछि गाउँबाटै ल्याएको गहुँको पिठोको रोटी र पिनट, बटर र एक दानो स्याउ खान्छन्। रोटी नखाएको दिन भने एक कचौरा ओट पानीमा भिजाएर चिनी नहाली खान्छन्। उनलाई प्रायः सबै किसिमका फलफूल मन पर्छ। उनी नियमित मिक्स जुस पिउँछन्। उनले भने, ‘स्याउ, एभोकाडो मिठो लाग्छ।’ ब्रेक फास्ट लिइसक्दा साढे एघार बजिसकेको हुन्छ।

अरु निस्कन्छन्, उनी छिर्छन्
त्यसपछि काठमाडौंको थापागाउँ बस्ने उनी साढे एघार बजे मोटरसाइकल स्टार्ट गरेर सिनामंगलको ‘ओयस्टर फिटनेस क्लब’ पुग्छन्। हतार नहुँदा भने आफैँ गाडी चलाएर हिँड्छन्। उनी जिम क्लबमा पुग्दा धेरैजसो व्यायाम गर्ने व्यक्तिहरु क्लबबाट फर्कँदै गरेका हुन्छन्। उनले हाँस्दै भने, ‘हामी ४/५ जना अल्छिहरुको ग्रुप छ। अरु निस्कँदा हामी जिम क्लब पुग्छौँ, गुरुले पनि अल्छी भन्दै गिज्याउनुहुन्छ।’

जिमपछि दुई कोसा केरा
जिम हलमा छिरिसकेपछि करिब २० मिनेट ‘स्ट्रेचिङ’ तथा ‘कार्डियो’ गर्छन्। यसरी वाम अप गरिसकेपछि शरीर तन्याकतुनुक हुन्छ। ज्यान तातेर शरीर लचिलो हुन्छ। त्यसपछि उनी दैनिक रुटिन अनुसारको व्यायाम गर्न थाल्छन्।

शरीर कस्तो सेपमा ल्याउने हो, त्यही आधारमा जिम गर्न सकिन्छ। शरीर मोटाउनु परेको अवस्थामा ‘बाइसेपट,‘ट्राइसेप’ वा शरीरको कुनै एक भागको एउटा मात्रै व्यायाम गर्छन्। धेरै तौल उठाउँदैनन्। नत्र दैनिक शरीरको दुई भाग (पार्ट) को व्यायाम गर्छन्। ‘शरीर फिट राख्नका लागि एक दिनमा नर्मल्ली दुईवटा मसल्सको व्यायाम गरिन्छ,’ अभिनेता खड्काले भने, ‘बाइसेप र चेस्ट, चेस्ट र ट्राइसेप, ब्याक र सोल्जर एकदिन गरिन्छ।’ स्लिम बन्नु परेको अवस्थामा उनी धेरै तौल उठाउँदैनन् र आलु तथा भात र मसलेदार खानपान कम गर्छन्। कार्डियो र स्ट्रेचिङमा बढी जोड दिन्छन्। जसले बोसो पग्लन सहयोग मिल्छ। उनी अहिले भने मोटाउने किसिमको व्यायाम गरिरहेका रहेछन्।

जिम गरिसकेपछि मुड चल्यो भने सोही क्लबमा उनी ‘स्टिम बाथ’ र सौना पनि लिन्छन्। खड्काले भने, ‘हप्तामा दुईपटक जति स्टिम र सौना लिन्छु।’ नुहाएर  उनले झोलामा बोकेका दुई कोसा केरा खाएर जिम क्लवबाट निस्कँदा दिउँसोको साढे एक जति बज्छ।
 
दुई बजे खाना
त्यसपछि उनी घरमा पुगेर खाना खान्छन्। शरीर स्लिम गर्नु परेको अवस्थामा उनी मसलेदार खानपान तथा चिल्लो कम खान्छन्। अभिनेता खड्काले सुनाए, ‘डाइटिङमा बसेको बेला ३० ग्राम चिकेनको मासु र एक कप भात खान्छु।’ मासुको आइटममध्ये उनलाई सबैभन्दा मन पर्ने चिकेनका आइटम नै हुन्। नत्र सामान्य दाल, भात, तरकारी खान्छन्। उनलाई हल्का ग्रेवी गरेको आलु, चना र काउली, सागको तरकारी खुब मन पर्दोरहेछ। खाना खाइसक्दा घडीको सुईले दुई हान्छ।

घर बाहिर चिकेन तन्दुरी
खाना खाइसकेपछि उनी दैनिक काममा निस्कन्छन्। घर बाहिर निस्कनु नपरेको दिन भने उपन्यास लगायतका पुस्तक पढेर तथा फिल्म हेरेर समय बिताउँछन् रे। बेलुका करिब पाँच बजे उनको खाजा खाने समय हो। खाजाका रुपमा गहुँको रोटी र सागसब्जीको तरकारी खान्छन्। उनले सुनाए, ‘घर बाहिर भएको दिन त चिकेत तन्दुरी खाजा खान्छु।’ तर सकेसम्म उनी घरबाहिरको खानपानलाई महŒव दिँदैनन् रे। आजकाल सुटिङको समयमा पनि खानपानमा समस्या हुन्न रे।

बेलुका चारवटा रोटी
सामान्यतः उनी बेलुका सात बजेतिर घर फर्कन्छन्। घर फर्किएपछि टिभि हेर्न थाल्छन्। केहीबेर सामाजिक सञ्जाल तथा इमेल, इन्टरनेटमा अपडेट हुन्छन्। त्यसपछि करिब साढे आठ बजे खाना खान्छन्। खानाको रुपमा घरमा जे तरकारी पाकेको छ, त्यहीसँग चारवटा रोटी खान्छन्। कहिलेकाहीँ बेलुकी खानाको रुपमा कुखुराको मासु र भात पनि खान्छन्। उनले भने, ‘रेगुलर खाना खान छोडेको चार वर्ष जति भयो।’

उठ्ने समयमा सुत्ने तर्खर, मध्य रातमा भोक
खाना खाइसकेपछि फिल्मका स्कृप्ट भए पढ्छन्। नत्र फेरि फिल्म हेर्न थाल्छन्। उनी मुडअनुसार सुत्छन्। फिल्म नहेरेको दिन तथा भोलिपल्ट काम भएको दिन १२ बजे सुत्छन्। तर, फिल्म हेरेको दिन त उनी यति फिल्म हेर्छन् कि फिल्म हेर्दाहेर्दै घडीले बिहानको तीन हानिसकेको पत्तै पाउँदैनन्। ‘अरु उठ्ने बेलामा मेरो सुत्ने समय हुन्छ’, उनले अप्ठेरो मानेजसरी खित्का छोडेर घतलाग्दो गरी हाँस्दै सुनाए, ‘बेलुकाबाट ननस्टप भोलिपल्ट बिहान ४÷५ बजेसम्म फिल्म हेरेको रेकर्ड पनि छ।’ १२ बजेपछि फिल्म हेर्ने क्रममा उनलाई नौ बजे खाएको रोटी तरकारीले छोड्छ, र भोक लाग्छ। भोक लागेपछि भान्सामा छिरेर रोटी, बिस्कुट, ओड्स खान्छन्। ‘राति भोक लाग्छ भनेर बहिनीले खानेकुरा बनाएर राखिदिएकी हुन्छे’, उनले हाँस्दै भने, ‘नखाइकन निद्रै लाग्दैन राति २/३ बजे आफैँ पनि अण्डा उसिनेर खान्छु।’

मात्नेगरी रक्सी
उनी कहिलेकाहीँ पार्टी तथा मिल्ने साथीभाइको जमघटमा अल्कोहल पनि पिउँछन्। तर नियमित भने पिउँदैनन् रे। उनको प्राथमिकतामा यही अल्कोहल पर्छ भन्ने रहेन छ। खड्काले सुनाए,‘यो भन्ने नै छैन। वियर, राम्रा खालको हार्डड्रिङ्स पनि पिउँछु। फर्मालिटीका लागि चाहिँ पिउँदिन।’

तर उनी सकभर पिउँदैनन् रे, साथीभाइसँग बसेर पिएपछि भने मात्नेगरी नै पिउँदा रहेछन्। उनले भने, ‘म पिउँदिन पिएपछि त मात्ने गरिनै पिउँछु।’ तर उनी नियन्त्रित रुपमै पिउँछन् रे। अल्कोहल पिएर बदमासी गर्नु भएको त्यस्तो क्षण छ कि छैन भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘यो भन्यौ भने त यतिबेलासम्म कुरा गरेको स्याडोमा पर्छ, नभनौँ।’
त्यसो त उनी साथीभाइसँग रेष्टुरेन्टमा पुगेर अल्कोहल नपिउँदा रहेछन्। घरमै पिउँछन् रे।

अग्र्यानिक खानपान
त्यसो त उनी अग्र्यानिक खानपानमा पनि निक्कै सचेत छन्। चाउचाउलगायतका जंक फुड उनी खासै खाँदैनन्। मम, चाउमिन पनि खाँदैनन् रे। जिम गरेको समयमा छिटो तौल बढाउनका लागि फुड सप्लिमेन्ट खान्छन्। फुड सप्लिमेन्ट खाँदा प्रशस्त पानी पिउँछन्। दैनिक करिब पाँच लिटर पानी पिउँछन्।
अहिलेसम्म होलबडी जाँच गरेका छैनन्। पखाला लागेको समयमा भने साथी डाक्टरको परामर्शमा मेडिकल पसलबाट औषधि किनेर खान्छन्। रुघा, खोकी लाग्दा औषधि खाँदैनन् रे। उनी कहिलेकाहीँ फेसियल, क्लिन्चिङ गर्छन्। सकेसम्म राम्रा किसिमको कस्मेटिक सामग्री प्रयोग गर्छन्। उनले अहिलेसम्म धेरै किसिमका कस्मेटिक्स सामग्री प्रयोग गरिसकेछन्। मोश्चराइजर तथा सनब्लक क्रिम लगाउँछन्।

Leave A Comment