नेपालमा स्वास्थ्य क्षेत्रका संयन्त्रको ध्यान कोरोनाभाइरस (कोभिड–१९) तर्फ केन्द्रित हुँदा डेंगुको जोखिम भने बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरी महिनादेखि मार्च १३ सम्ममा ३६ जना व्यक्तिमा डेंगुको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा पनि डेंगुको संक्रमण देखिएको छ। महाशाखाको २००६ देखि २०१९ सम्मको तथ्यांक हेर्दा हालसम्म नेपालमा २१ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ।
नेपालमा जाडो मौसम नसकिँदै डेंगुका बिरामी देखिएकाले कुनै पनि समयमा संक्रमण फैलिएर महामारीको रुप लिन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। तर, कोरोना भाइरसको सतर्कताप्रति ध्यान केन्द्रित भएकाले डेंगु संक्रमणप्रति ध्यान कम गएको सरकारी अधिकारी स्विकार्छन््। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना सतर्कताका लागि जनशक्ति केन्द्रित भएकाले डेंगु नियन्त्रणको कार्यक्रम छायाँमा परेको स्विकारे। निर्देशक डा. पाण्डेले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा डेंगु फैलन नदिने उपायका बारेमा समन्वय भए पनि यो कार्यक्रम अहिले केही छायाँमा परेको छ।’ त्यसो त उनी आफैँ डेंगुको संक्रमणका कारण महामारी फैलिन सक्नेतर्फ सचेत गराउँछन्। सोही महाशाखाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाशप्रसाद साहले चैत दुई गतेबाट डेंगु नियन्त्रणका लागि तालिम दिने योजना भए पनि स्थगित गरिएको सुनाए। डा. साहले भने, ‘प्रत्येक प्रदेशबाट तीन जनालाई तालिन दिने योजना थियो। तर, स¥यो।’ निर्देशक डा. पाण्डेले डा. साहको तर्कको पुष्टि गर्दै भने, ‘दुई सातादेखि अन्य क्रार्यक्रम स्थगित भएका छन्।’ डेंगु नियन्त्रणका वार्षिक कार्यक्रम भने यथावत रहेको डा. पाण्डे बताउँछन्। त्यसो त डेंगु फैलिएको अवस्थामा नियन्त्रण गर्ने पर्याप्त प्राविधिकसमेत नभएको डा. साह बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन डेंगु फैलिएर महामारीको रुप लिँदैन भन्न नसकिने बताउँछन्। टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने टेकु अस्पतालमा जाडोपछिको यो मौसममा (चैत ४ गतेसम्म) डेंगुका बिरामी अस्पताल पुगेको जानकारी नभएको बताउँछन्। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने दैनिक १/२ जना व्यक्ति डेंगु संक्रमणको परीक्षण गराउन पुग्ने गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। यसबाट पनि थाहा हुन्छ कि नेपालमा डेंगु बाह्रै महिनाजसो देखिन थालेको छ।
बढ्दो संक्रमण
यो वर्षको सुरुआतमै धरानमा डेंगुको संक्रमण फैलिएको थियो। वैशाख÷जेठ महिनामा गर्मी हुने र पानी पर्दा धरानमा डेंगु फैलिएकाले यो वर्ष पनि डेंगु फैलने जोखिम छ। यही वर्ष धरानपछि काठमाडौंको बालाजु तथा नयाँबजार क्षेत्रमा डेंगु फैलिएकाले सचेत हुनुपर्ने चिकित्सक बताउँछन्।
सामान्यतः नेपालमा मनसुनको अन्त्यमा डेंगुको संक्रमण देखिने भए पनि पछिल्लो समय मनसुनको अगावै डेंगुको संक्रमण देखिन थालेको छ। डा. पुनका अनुसार यो वर्षको सुरुआत (वैशाख/जेठ) मा धरानमा डेंगुको संक्रमण देखिनु नेपालमा केही वर्ष अघि डेंगुको संक्रमण देखिने मौसम भन्दा फरक हो। ‘नेपालको सन्दर्भमा पानी परिसकेपछि असोज/कात्तिक महिनामा डेंगुको जोखिम हुन्छ,’ डा. पुनले भने, ‘यो मौसममा गर्मी हुने र पानी जम्ने भएकाले लामखुट्टेले फुल पार्ने उपयुक्त वातावरण हो।’ चिकित्सकका अनुसार लामखुट्टेले जमेको सफा पानीमा फुल पारी वृद्धिविकास गर्छ। त्यसैले ढुक्क भएर बस्ने अवस्था भने नरहेको डा. साह बताउँछन्।
तराईमा मात्रै हैन एडिस जातका लामखुट्टे पाइने पहाडी तथा हिमाली क्षेत्रमा समेत डेंगुको जोखिम हुन्छ। मुस्ताङ, ताप्लेजुङ, दोलखाजस्ता हिमाली जिल्लामा समेत डेंगुको संक्रमण देखिन थालेको छ। गर्मी बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा समेत डेंगुको संक्रमण देखिन थालेको चिकित्सक बताउँछन्।
सहरी क्षेत्र, नयाँ बस्ती तथा सडक क्षेत्रमा डेंगुको जोखिम बढिरहेकोे चिकित्सक बताउँछन्। डा. पुनले भने, ‘टायर तथा खाल्डाखुल्डीमा पानी जम्दा डेंगुको जोखिम हुन्छ। तराईमा बढी जोखिम हुने भए पनि डेंगु संक्रमित व्यक्ति तराईबाट नेपालका विभिन्न ठाउँमा सहजै आवतजावत गर्ने भएकाले एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्छ। संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा सर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्।
आधिकारिक रुपमा नेपालमा सन् २००४ मा एकजना विदेशीलाई डेंगुको संक्रमण देखिएपछि हरेक वर्ष संक्रमण देखिँदै आएको डा. पुन बताउँछन्।
महाशाखाको तथ्यांकलाई हेर्दा पनि सन् २००६ पछि हेरक वर्ष डेंगुको संक्रमण देखिँदै आएको छ। २०१९ मा स्वास्थ्य परीक्षण गराएकामध्ये करिब १८ हजार व्यक्तिमा डेंगुको संक्रमण देखिएको थियो। त्यसैगरी सन् २०१८ मा ४३ जिल्लामा डेंगु देखिँदा आठ सय बढी व्यक्ति संक्रमित भए। २०१७ मा २८ जिल्लामा फैलिँएको डेंगुका कारण २१ सय बढी व्यक्ति संक्रमित भएको महाशाखाले जनाएको छ।
छिटो फैलन्छ,संक्रमण
डेंगु– १, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका डेंगु हुने डा. पुन बताउँछन्। स्वास्थ्य परीक्षण गरी डेंगु हो वा हैन भन्ने एकिन गर्न सकिन्छ।
चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो, डेंगु। एडिस जातको लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोकेको अवस्थामा डेंगुु सर्ने डा. पुन बताउँछन्। डा. पुनले भने, ‘यो जातको पोथी लामखुट्टेले टोक्दा गेँगु ज्वरो सर्छ।’ त्यसो त डा. साह पनि पोथी लामखुट्टेले व्यक्तिलाई टोक्दा डेंगु सार्ने बताउँछन्। १६ डिग्री भन्दा बढी तापक्रम यो जातको लामखुट्टेका लागि उचित वातावरण भएको चिकित्सक बताउँछन्।
एउटा लामखुट्टे ४५ दिन बाँच्न सक्ने भएकाले एकपटकमा सय वटा फुल पार्छ। यसले जीवनभरमा ९ पटक फुल पार्ने चिकित्सक बताउँछन्। यसरी हेर्दा संक्रमित लामखुट्टेले पारेको फुलमा भाइरस हुने भएकाले एउटा लामखुट्टेले त्यसको जीवनमा नौ सयवटा संक्रमित लामखुट्टे जन्मन्छन्। जसका कारण बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण नगर्दा महामारीको जोखिम निम्तन सक्छ। आफू जिउनका लागि थोरै समयमा धेरै व्यक्तिको रगत चुस्ने भएकाले छोटो समयमै धेरै व्यक्तिमा डेंगु सर्ने जोखिम हुन्छ।
यस्ता लक्षण
चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेको १० दिन सम्ममा डेंगुका लक्षण देखिन्छन्। एक्कासि उच्च ज्वरो आउनु डेंगुको मुख्य लक्षण हो। लक्षण देखिएको एक हप्तासम्म ज्वरो आउन सक्ने डा. पुनले बताए। टाउको दुख्ने, आँखाको गेडी दुख्ने, छालामा साना राता डाबर देखिन्छन्।
चिकित्सकका अनुसार सुरुआति चरणमा शरीरका हाडजोर्नी तथा मांशपेशी दुख्ने, वाकवाकी तथा बान्ता हुनेलगायतका लक्षण देखिन्छन्। यस्ता लक्षणलाई डेंगु फिबर भनिन्छ। शरीरमा संक्रमण फैलिएर लक्षण लम्बिएको अवस्थामा गिँजा र नाकबाट रक्तश्राव हुने, पिसाब रातो हुने, दिसा कालो हुनेलगायतका लक्षण देखिन्छन्। डा. पुनका अनुसार यस्तोे लक्षणलाई ‘डेंगु हेमोरेजिक फिबर’ भनिन्छ। संक्रमणले कडा रुप लिएको अवस्थामा मृगौला, कलेजो, मुटु, शरीरको स्नायु प्रणालीमा नकारात्मक असर गर्न सक्छ।
समस्या जटिल बन्दै जाँदा व्यक्तिको ज्यान जान सक्ने भएकाले लक्षण देखिनासाथ चिकित्सकको परामर्शमा उपचार गर्न चिकित्सकको सुझाव छ।
बच्नु नै राम्रो उपाय
यसको संक्रमणबाट बच्न सबैभन्दा पहिले त लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ। डेंगु फैलिएको खण्डमा विषादीको धुवाँ छरिने भए पनि यो प्रभावकारी नभएको चिकित्सक बताउँछन्। महाशाखाका डा. साहका अनुसार यस्तो (फगिङ) धुवाँले बयस्क लामखुट्टे मात्रै मर्ने भएकाले प्रभावकारी हुन्न। यस्तो धुवाँ व्यक्तिको घरभित्र छर्कनुपर्ने भएकाले व्यक्तिको स्वासप्रश्वासमा समेत असर पु-याउन सक्नेतर्फ चिकित्सक सचेत गराउँछन्। त्यसैले सर्च एण्ड डिस्ट्रोय विधि अपनाई लामखुट्टेको अण्डा नस्ट गर्ने तथा पानी जम्न नदिने उपाय अपनाउनु नै प्रभावकारी हुने उनको सुझाव छ।
लामखुट्टेको वृद्धिविकासका लागि फुल पार्ने उपयुक्त वातावरण जमेको सफा पानी भएकाले विशेषगरी मनसुनको समयमा पानी जम्ने किसिमका टिनका डब्बा, रंगका खाली डब्बा, टायर, ट्युब, खालि ड्रम नराख्न डा. पुनको सुझाव छ।
यसको फुल एक वर्षसम्म पनि बाँच्ने भएकाले फुल रोप्ने गमला, फुलदानी, एयर कण्डिसन, पानीको टैंकी राम्रोसँग सफा गर्नुपर्छ। डा. साहले भने, ‘सुख्खा ठाउँमा एक वर्षसम्म लामखुट्टेको अण्डा बाँच्ने भएकाले त्यस्ता अण्डामा पानी पर्दा लामखुट्टे उत्पादन हुन्छन्।’ त्यसैले लार्भा बन्न नदिई अण्डा नस्ट गर्नुपर्ने उनको सुझाव छ। डेंगुको संक्रमणबाट हुने मृत्युदर भने एक प्रतिशतभन्दा कम हुने भएकाले नआत्तिन चिकित्सक सुझाउँछन्।
डेंगुको संक्रमण भएको अवस्थामा डेंगविरुद्धको कुनै विशेष औषधि नभए पनि लक्षणको आधारमा उपचार गरिने चिकित्सक बताउँछन्। जुन लक्षण देखियो त्यसैको उपचार गरिन्छ। यस्तो संक्रमण हुँदा उपचारका साथै प्रशस्त मात्रामा झोलिलो खानेकुरा खान डा. पुनको सुझाव छ। तारन्तार बान्ता हुने, पेट दुख्ने, शरीर आलस्य हुने तथा रक्तश्राव भयो भने तुरुन्तै उपचार गर्नुपर्ने हुन्छ।
Leave A Comment