कसले सुन्ने नाट्यकर्मीको आर्तनाद ?

शनिबार, २० असार २०७७, ११ : ५९ शुक्रवार
कसले सुन्ने नाट्यकर्मीको आर्तनाद ?

कोभिड १९ रोगका कारण सबैभन्दा बढी मनोरञ्जन उद्योगलाई मार परेको छ। त्यसै पनि मनोरञ्जन उद्योगको अवस्था उति राम्रो छैन, त्यसमाथि यो रोगका कारण कलाकारहरु नै डिप्रेसनमा पर्ने हुन् कि भन्ने चिन्ता नाट्य क्षेत्रमा छाएको छ। यस्तो अवस्था नआओस् भनी नाट्यकर्मीहरुको ५० भन्दा बढी समूहले हालै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालाई ध्यानाकर्षण बुझाएको छ।

ध्यानाकर्षण बुझाउने अगुवामध्ये एक देव न्यौपानेले उपकुलपति शर्माले आफूहरुको ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिएको बताए। शर्माले अहिलेसम्म कुनै नाट्यकर्मीले यसरी ध्यानाकर्षण नगरेकाले यसबारेमा संस्थाको ध्यानाकर्षण नभएको र यस कार्यले संस्थालाई घच्घच्याउने कार्य गरेको बताएका थिए।

थिएटर हबमा संलग्न न्यौपानेले नाट्य गतिविधिहरु ठप्प भएका कारण काठमाडौँ बाहिरबाट आउनेहरुलाई निकै अप्ठेरो परिरहेको बताए। ‘पैसा कमाउने अवस्था छैन,’ उनले भने, ‘खुलेर भन्न पनि नसक्ने र सहन सक्ने अवस्था पनि नरहेको अनौठो परिस्थिति नाट्यकर्मीहरुले झेलिरहेका छन्।’

निराशा गुम्सिने र यही कारणले एउटा पुस्ता नै नाट्यकर्मबाट पलायनै पो हुने हो कि भन्ने डर पनि रहेको केहीको छ। ‘राम्रा कलाकार गुमाइने पो हो कि ?’ न्यौपानेले आशंका व्यक्त गरे।

अप्ठेरोमा परेका केही नाट्यकर्मीलाई हबका तर्फबाट व्यक्तिगत सहयोग गरिरहेको तर त्यही सीमित स्रोत पनि निख्रिदै गएपछि सहयोग गर्न गाह्रो परिरहेको उनले बताए। थिएटर हबले कतिपय नाट्यकर्मीसँग सम्पर्कमा रहेर समस्या बुझ्ने र ब्रेन स्टर्मिङ गर्ने कार्य गरिरहेको पनि उनले बताए।

शारीरिक दुरी यसबेला आवश्यक पर्ने भएकाले भेला नभई गर्न सकिने कार्यलाई जोड दिनुपर्ने उनी बताउँछन्। ‘रेडियो नाटकलाई बढी जोड दिनुपर्ने बेला आएको छ ताकि नाट्यकर्मी साथीहरुलाई थोरै भए आर्थिक सहयोग हुन सकोस्,’ उनले भने, ‘यस्तो बेलामा साथीहरुलाई आर्थिक सहयोगले भन्दा पनि कामले आत्मसन्तुष्टि दिने हुनाले सोहीअनुसारको योजना बुनिरहेका छौँ।’

यस्तो बेलामा देशका सरकारी तथा गैरसरकारी संस्थाहरुले नाटकलाई भरपूर उपयोग गरिदिन पनि न्यौपानेले आग्रह गरेका छन्।

 

Leave A Comment