बेनिसाको व्यायाम

सोमबार, २२ असार २०७७, ०३ : १६ उपेन्द्र खड्का
बेनिसाको व्यायाम

दैनिक व्यायाम गर्ने अभिनेत्री बेनिसा हमाल ‘सेल्फ क्वारेन्टाइन’मा बस्दासमेत व्यायाम गर्न छुटाइनन्। फिल्म मेकिङ कोर्स गर्न केही महिनादेखि भारतमा बस्दै आएकी उनी त्यहाँ कोरोनाको त्रास बढ्न थालेपछि चैत ५ गते नेपाल फर्किएर ‘सेल्फ क्वारेन्टाइन’मा बस्दा समेत नियमित व्यायम गरिरहिन्। त्यसो त उनलाई कोरोनाको भय भने थिएन तर विदेशबाट आउनेबित्तिकै उनी सार्वजनिक जीवनमा प्रवेश गर्नुभन्दा बरु घरभित्रै सेल्फ क्वारेन्टिनमा रहनु उचित ठानिन्। विमानस्थलबाट सिधै पेप्सीकोलास्थित निवासमा पुगेकी उनी कोरोनाको महामारीका बीचमा पनि व्यायाम गरिन् र यतिबेला पनि उनले त्यसलाई जारी राखेकी छन्।

उनी भन्छिन्, ‘व्यायाम त मेरो जीवनकै अंग बनिसकेको छ।’ शुक्रवारसँगको कुराकानीमा अभिनेत्री हमालले सेल्फ क्वारेन्टिनमा रहँदा आफू बस्ने अपार्टमेन्टका सिँढीमा तलमाथि गर्दा नै पर्याप्त कसरत हुने गरेको बताइन्। पाँच फिट पाँच इन्च अग्ली उनको तौल ५४ किलोग्राम छ। छरितो ज्यान र सुन्दर अनुहारकी धनी अभिनेत्री हमालले सेल्फ क्वारेन्टिनमा बस्दा साँझ एक घण्टा अपार्टमेन्टकै कम्पाउण्डभित्र हिँड्ने गरेको सुनाइन्। नौ वटा फिल्म र दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी हमाल शारीरिक तथा मानसिक फिटनेसका लागि निक्कै सचेत छिन्। त्यसैले त उनी बिहान सात बजे उठछिन्। तर भारतमा बस्दा कलेज पनि बेलुका हुने भएकाले आफू अलि ढिलो सुतेर ढिलै उठ्ने गरेको उनले बताइन्। भारतमा बस्दा पनि आफूले जिम भने नछाडेको उनी बताउँछिन्। 

डेढ घण्टा जिम
बिहान उठिसकेपछि उनी कागती र तातो पानी पिउँछिन्। त्यसपछि हमाल ब्रेकफास्टका रुपमा रोटी, उसिनेको अण्डा तथा ओट्स खान्छिन् अनि फिटनेस क्लबमा पुग्छिन्। नेपालमा रहँदा आफू बस्ने अपार्टमेन्टमै भएको फिटनेस क्लबमा जिम गर्न पुग्छिन्। बिहानको आठ बजेदेखि करिब साढे नौ बजेसम्म कम्तीमा डेढ घण्टा जिम गर्छिन्। उनले भनिन्, ‘कहिलेकाहीँ दुई घण्टा पनि जिम गर्छु।’ ६ दिनको दैनिक तालिकाअनुसार शरीरका सबै भागको व्यायाम गर्ने गरेको उनी सुनाउँछिन्। कार्डियो, स्ट्रेचिङ, वेट लिफ्टिङजस्ता व्यायाम भने उनी दैनिक गर्छिन्।  सुटिङ तथा व्यस्त रहेको समयमा समेत कम्तीमा हप्तामा तीन दिन राम्रोसँग व्यायाम गर्ने बताइन्। हमालले भनिन्, ‘हप्तामा तीन दिन जिम गर्दा पनि पूरै बडीको एक्सरसाइज गर्न सकिन्छ।’ जिम सकेर घर फर्कँदा घडीको सुईले बिहानको करिब दस हान्छ। आफू बस्ने अपार्टमेन्टमै जिम हल भएकाले जिम गरिसकेपछि आफ्नै फ्ल्याटमा पुगेर उनी नुहाइधुवाइ गर्छिन्। 

जिम सकेर पाँचवटा अण्डा
नुहाइधुवाई गरिसकेपछि उनी खाजाको रुपमा ४/५ वटा अण्डा, फलफूल, उसिनेका सागसब्जी खान्छिन्। उनले जिमपछि खाने खाजाको सेड्युल सुनाइन्, ‘जिमपछि कति अण्डा खान्छु भन्ने कुरा अरु भेजिटेबल कति छ भन्ने कुरामा भर पर्छ।’ उनी मौसम अनुसारका फलफूल खान्छिन्। एभोकाडो, सुन्तला, स्याउजस्ता मौसमी फलफूल उनका प्राथमिकतामा पर्ने फलफूल हुन्। करिब दुई बजेतिर उनी खाना खान्छिन्। खानाका रुपमा दाल, भात (ब्राउन राइस), तरकारी खान्छिन्। भरसक साग खान छुटाउँदिनन्। खानपान गरिसकेपछि दैनिक काममा व्यस्त हुन्छिन्। सुटिङ नभएको तथा फुर्सद भएको दिन भने आफू घरमै बसेर पुस्तक पढ्ने गरेको सुनाइन्। अभिनेत्री हमाल बेलुका करिब आठ बजे खाना खान्छिन्। बेलुकीको खानाका रुपमा प्रायः रोटी, सागसब्जी तथा दाल खान्छिन्। कहिलेकाहीँ उसिनेको चिकेन खान्छिन्। उनी बेलुका प्रायः ११ बजेतिर सुत्छिन्। 

हतारमा जंकफुड
हमाल सकभर घरमै खानपान गर्छिन्। उनले सुनाइन्, ‘म घरमा खान मन पराउने मान्छे हुँ, बाहिर आफूले भनेजस्तो खान पाइँदैन।’ त्यसो त उनी अग्र्यानिक तथा हाइजेनिक खानपानमा पनि निक्कै सचेत छिन् उनी। हाँस्दै थपिन्, ‘सहरमा बसेर गाउँको जस्तो अग्र्यानिक खान त के सम्भव हुन्थ्यो ! त्यसैले काँचै खाने फलफूल २०/२५ मिनेट पानीमा भिजाएर खान्छु।’ उनी जंकफुड सकेसम्म कमै खान्छिन्। उनलाई चाउचाउ खासै मन पर्दैन। हतार भएको तथा अन्य खानपानको विकल्प नभएको अवस्थामा मात्रै उनी चाउचाउ खान्छिन्। 

दस वर्षअघि अस्पताल भर्ना
उनी वर्षमा एकपटक होलबडी जाँच गराउँछिन्। उनी करिब दस वर्षअघि जन्डिस भएर  एक पटक त अस्पताल नै भर्ना हुनु परेको थियो। त्यसैले उनी स्वास्थ्यका बारेमा थप सचेत हुन बाध्य भएकी हुन्। यसबाहेक सामान्य रुघाखोकी लाग्दा औषधि खाएको भए पनि स्वास्थ्यमा कुनै जटिल प्रकृतिका समस्या भएर अहिलेसम्म अस्पतालमा भर्ना भएर बस्नुपरेको अवस्था सम्झना छैन उनलाई। सामान्य रुघाखोकी लागेको अवस्थामा आफैँ औषधि किनेर सेवन गर्छिन्। रुघाखोकीले अलि बढी नै च्यापेको अवस्थामा भने अस्पतालमा पुगी विशेषज्ञ चिकित्सकसँगको परामर्शमा औषधि सेवन गर्छिन्। सुन्दरताका लागि राम्रै ब्रान्डका कस्मेटिक्सका सामग्री प्रयोग गर्छिन् उनी। अभिनेत्री हमाल अनलाइनमा सर्च गरेर पनि गुणस्तर हेरी कस्मेटिक्सका सामग्री प्रयोग गर्छिन्। कहिलेकाहीँ भने छालारोग विशेषज्ञको परामर्शमै कस्मेटिक्सका सामग्री प्रयोग गर्छिन्, उनी। 
लकडाउन खुकुलो भएसँगै उनी सामाजिक दूरी कायम गरेर सुटिङको तयारीका लागि सक्रिय हुन थालेकी छन्। 

Leave A Comment