कोरोनाको संक्रमणमा यौन सजगता

बुधबार, २४ असार २०७७, ११ : ०६ शुक्रवार
कोरोनाको संक्रमणमा यौन सजगता

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको अवस्थामा यौन जोडीले यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्न हुन्छ वा हुन्न भन्ने प्रश्न उब्जिन सक्छ। तर यस्तो अवस्थामा यौन क्रियाकलाप तथा यौन सम्पर्क नगरेकै उचित हुन्छ। 

यो भाइरसको संंक्रमण भएको अवस्थामा उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, स्वासप्रश्वासमा समस्या हुने, शरीरका मांशपेशी तथा जोर्नीहरु दुख्ने लक्षण देखिन्छन्। यस्तो अवस्थामा शरीरको तापक्रम उच्च हुनुका साथै शरीर थकित हुन्छ। यसरी ज्वरो आएको अवस्थामा मस्तिष्कका कोषहरु बिग्रन्छन्। अर्कोतर्फ संक्रमणका कारण फोक्सोको ‘हावादर थैली झिल्ली’ लाई बिगारी संक्रमण जटिलतातिर धकेलिन्छ। 

संंक्रमणमा यौन सजगता
शूक्ष्म जीवाणु उचित वातावरण तथा माध्यममा वृद्धि–विकास हुन्छ। यसको उदाहरणका रुपमा कोरोना भाइरस (कोभिड–१९) लाई लिन सकिन्छ। नेपालमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम रहेको छ।
व्यक्तिमा कोरोना भाइरसको संक्रमण सुषुप्त अवस्थामा रहन सक्छ। यो भाइरसको संक्रमण भएको चार दिनदेखि २८ दिनसम्म चिह्न र लक्षण नदेखिई व्यक्तिको शरीरमा रहन सक्छ। शरीरको रोगप्रतिरोधात्मक प्रणाली कमजोर बनाएपछि रोगको चिह्न र लक्षण देखिन्छन्। त्यसैले संक्रमित क्षेत्रमा बस्ने व्यक्तिले यौन जोडीसँग यौन सम्पर्क गर्नु हुन्न। संक्रमणको महामारीको अवस्थामा एकथरी व्यक्ति उच्च मनोबलका साथ आफूलाई सामथ्र्यवान् बनाउन जोड दिन्छन्। अर्काथरी व्यक्ति आफ्ना इच्छा–आकांक्षा परिपूर्ति गर्न लालायित भएको पाइन्छ। यौनको मामलामा पनि यो लागू हुन्छ। 


व्यक्तिमा यो भाइरसको संक्रमण भएको अवस्थामा पहिलो कुरा त संक्रमित व्यक्तिलाई यौन सम्पर्क गर्नै मन लाग्दैन। संक्रमणका कारण शरीर शिथिल हुँदा सामान्यतः संक्रमण भएको अवस्थामा व्यक्तिलाई यौन र मैथुन गर्ने ऊर्जा हुन्न। संक्रमण भएको अवस्थामा व्यक्तिको शरीरमा जलविनियोजन (शरीरमा पानीको मात्रा कम) शरीरको तापक्रममा वृद्धि भई व्यक्ति स्वयं जोखिममा हुन सक्छ। त्यसैले जलविनियोजनलाई स्थापित गर्ने तथा शरीरको तापक्रम घटाउनु नै उत्तम उपाय हो। यस्तो अवस्थामा यौनजोडीबीचको यौन क्रियाकलाप तथा यौन सम्पर्कलाई थाति राख्नु नै उचित हुन्छ। 

सेल्फ क्वारेन्टाइनपछि यौन
यौन  जोडी पूर्णरुपमा स्वस्थ नभएको अवस्थामा यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्नु उचित हुँदैन। यौन जोडीमध्ये एकजना प्रभावित ठाउँबाट आएको अवस्थामा  सेल्फ क्वारेन्टाइनमा कम्तीमा एक महिना बसिसकेपछि  यौन जोडीसँगको यौन क्रियाकलापमा सहभागी बन्न उचित हुन्छ। प्रभावित क्षेत्रबाट आएका यौन जोडीसँग नजिकसमेत बस्नु हुन्न। र्‍याल, हाछ्यूँ, श्वासप्रश्वासबाट यो भाइरसबाट सर्ने भएकाले यौन जोडी पनि सँगै नबसेकै राम्रो। संक्रमणको जोखिम हुने भएकाले प्रभावित क्षेत्रमा बस्ने यौन जोडी तथा प्रभावित क्षेत्रबाट आएर भेट भएका यौन जोडीले जुठो खाने, एउटै भाँडाकुँडामा खाने तथा सँगै सुत्ने गर्नु हुन्न। यौन जोडीमध्ये एकलाई संक्रमण भएको अवस्थामा यौन जोडीमा भाइरस सर्ने भएकाले यस्तो अवस्थामा यौन सम्पर्क गर्नु हुन्न। 

यौन जोडीमध्ये एकजना प्रभावित ठाउँबाट आएको अवस्थामा  सेल्फ क्वारेन्टाइनमा कम्तीमा एक महिना बसिसकेपछि  यौन जोडीसँगको यौन क्रियाकलापमा सहभागी बन्न उचित हुन्छ।

यस्तो संक्रमणको समयमा यौन आवेश, उत्तेजना तथा जिद्दीपनले जीवन बर्बाद हुने जोखिम हुन सक्छ। यस्तो अवस्थामा यौन जोडी संयमित हुन आवश्यक छ। यौनको त कुरै छाडौं कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा यौन जोडीले न्यूनतम तीन मिटर टाढाको दूरिमा बसेर कुराकानी गर्नुपर्छ। केही समय पहिले विशेषगरी पाको उमेरका व्यक्तिलाई कोरोना भाइरसले छिटो आक्रमण गर्ने भनिए तापनि अहिले किशोरावस्थाका व्यक्ति पनि यो भाइरसको संक्रमित भएको देखिन्छ। किशोरावस्था तथा वयस्क अवस्थामा यौन क्रियाकलाप तथा यौन सम्पर्क बढी हुने भएकाले यौन जोडी कोरोना भाइरसको जोखिमबाट बच्नका लागि यौन सम्पर्कमा पनि सचेत हुन आवश्यक छ। किशोरावस्थाका व्यक्तिले यो संक्रमणपछि पनि हजारौँपटक यौन सम्पर्क गर्न पाइन्छ।

धैर्य गरौं
यस्तो संक्रमणको अवस्थामा भेटघाट, भोज, भतेर, बन्द हुँदा उपलब्ध भएको यौन जोडीसँग समय बिताउनु, यौन क्रिडा तथा यौन सम्पर्र्क गर्न मन लाग्नु स्वाभाविकै देखिन्छ। तर, यौन जोडीको उपलब्धता भयो भन्दैमा यौन सम्पर्क गरिहाल्नु उचित हुँदैन। यौन जोडीमध्ये एक वा दुवैको नाकबाट सिँगान चुहेको तथा शरीरको तापक्रम बढेको लगायत संक्रमणको लक्षण देखिएको अवस्थामा यौन जोडीसँग यौन क्रियाकलाप तथा यौन सम्पर्कका लागि सहभागि भैहाल्नु हुन्न। कोभिड–१९ को संक्रमण नै नभएको अवस्थामा समेत यौन जोडीमा रुघा लागेको खण्डमा यौन सम्पर्क गर्ने इच्छा भए–नभएको मनस्थितिलाई पनि ध्यान दिन जरुरी छ। संक्रमणको महामारीको अवस्थामा यौन जोडी संक्रमित नभएको अवस्थामा समेत सशंकित हुनुपर्ने अवस्था रहन्छ। 
कोरोना भाइरसको संक्रमण भएको अवस्थामा संक्रमित व्यक्तिले खोक्दा थुकका छिटा तथा र्‍याल निस्कन्छ। थुकका छिटा तथा र्‍याल शूक्ष्मदर्शका यन्त्रबाट देख्न सकिन्छ। संक्रमित यौन जोडीले नजिकै रहेर श्वास फेर्ने, खोक्ने, हाछ्यूँ गर्ने तथा चुम्बन गरेको अवस्थामा यौन जोडीमा भाइरस सरी संक्रमणको जोखिम अत्यधिक हुन्छ। संक्रमित यौन जोडीसँग यौन सम्पर्क गरेको अवस्थामा यौन जोडीलाई पनि संक्रमित गराउँदैछु भन्ने कुरा भुल्नु हुन्न। त्यसैले कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा व्यक्तिले यौनजोडीसँग यौन क्रियाकलाप नगर्नु नै बुद्धिमानी हुन्छ। 

यौनको वैकल्पिक विधि
यौन जोडीमध्ये एकमा कोरोनाका लक्षण देखिएको वा कोरोना प्रभावित ठाउँबाट आएर यौन जोडीसँग भेट भएको अवस्थामा भाइरस प्रभावित नभएको जोडीलाई यौन इच्छा तथा चाहना हुनु स्वाभाविकै हो। संक्रमणको जोखिम रहेको अवस्थामा यौन इच्छा तथा चाहना भएका व्यक्तिले वैकल्पिक यौन साधनको प्रयोग गरी यौन तृप्ति मेटाउन भने सकिन्छ। यस्तो अवस्थामा यौन तृप्ति मेट्ने वैकल्पिक विधिका रुपमा यौन खेलौना (सेक्स टोय), आफैँ हस्तमैथुन, यौनाङ्ग चलाउनेजस्ता विधि अपनाउन सकिन्छ। सेक्स टोय प्याकिङ र निर्जिव हुने भएकाले भाइसर सर्ने सम्भावना कमै हुन्छ। यस्ता यौनका सामग्री पुनः प्रयोग गर्नुपरेको अवस्थामा भने सफा र निर्मलीकरण गर्न आवश्यक हुन्छ।

यौनमा चिकित्सकको सजगता
कोरोना भाइरसको उपचार तथा सेवामा खटिने स्वास्थ्यकर्मीले समेत भाइरसको संक्रमण निर्मूल नभएसम्म यौन जोडीसँग यौन सम्पर्क गर्नु हुन्न। कोरोना संक्रमण प्रभावित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा पुगेको स्वास्थ्यकर्मीले यौन जोडीबाट टाढा रही खानपान पनि छुट्टै भाँडाकुँडामा गर्नु उचित हुन्छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम हुने भएकाले त्यस्ता स्वास्थ्यकर्मीले यौन सम्पर्क गरेको खण्डमा यौन जोडीमा संक्रमण सर्ने जोखिम हुन्छ। त्यसैले स्वास्थ्यकर्मी यौनका मामलामा समेत सचेत हुन आवश्यक छ। 
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment