विश्वब्याधिमा प्रेम टिकाउने टेक्निक

आइतबार, २८ असार २०७७, ०२ : ४० डा. विजेश बाँस्तोला

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि देश लकडाउनमा छ। यो महामारीले समाज सशंकित छ। कयौँ व्यक्ति छुट्टिएर बस्नुपर्ने अवस्था छ। यसको प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा यौन जोडीमा पनि पर्ने नै भयो। महामारीको यस्तो अवस्थामा कयौं यौन जोडी पनि टाढा भएर बस्नुपर्ने अवस्था छ। कयौं यौन जोडीको भेटघाट हुन नपाएको तीन महिनाभन्दा बढी भइसकेको छ। यस्तो अवस्थामा यौन जोडीबीचमा तनाव उत्पन्न हुनु स्वाभाविकै हो। तर, यौन जोडीबीचको तनाव व्यवस्थित गरी सम्बन्धलाई सृजनशील बनाउन भने अवश्य सकिन्छ।

विकल्प रोज्ने जोखिम
यौन जोडी एक आपसमा शारीरिक तथा मानसिकरुपमा नजिक हुन नपाएको अवस्थामा अविश्वास उत्पन्न भई तनाव बढ्न सक्छ। यस्तो महामारीको अवस्थामा वैकल्पिक यौन जोडीसँग सम्बन्ध गाँस्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। आफ्नो स्थायी यौन जोडी टाढा रहेको अवस्थामा नजिकै सहज रुपमा भेटिने नयाँ यौन जोडी रोज्ने पनि सम्भावना हुन्छ। तर, यसरी यौन जोडी नै परिवर्तन गर्नु उचित भने हैन। यौन जोडीको स्थायित्व हुनु नै बुद्धिमत्ता हुन्छ। यस्तो अवस्थामा आस्था, विश्वास, धैर्यता र सहनशीलता नै राम्रो उपाय हो। रोगको संक्रमणको अवस्थामा सुरक्षित अनिवार्य सर्त हो।

तन टाढा मन गाढा
एकातर्फ व्यक्ति त्रसित भएको अवस्था छ भने अर्कोतर्फ लापरबाही गर्नेको संख्या पनि उत्तिकै छ। शिक्षित वर्गले समेत लापरबाही गरेको देखिन्छ। यस्तो अवस्थामा यौन जोडीले एक आपसमा सामाजिक दूरी कम गर्ने र शारीरिक दूरी कम्तीमा दुई मिटर कायम गर्नुपर्छ। महामारीको अवस्थामा यौन जोडीले एक आपसमा शारीरिक सम्पर्क टाढा राख्नु नै बुद्धिमत्ता हुन्छ। जसले रोग सर्ने जोखिमबाट बच्न सकिन्छ। सच्चा प्रेम गर्ने यौन जोडीबीचको प्रेममा महामारीले पूर्णविराम लगाउँदैन। सच्चा प्रेम गर्ने यौन जोडीको आकांक्षा, मनोवृत्ति र अभ्यास सत्य, साँचो, सुन्दर नै हुन्छ। महामारीको यस्तो अवस्थामा सच्चा प्रेम गर्ने यौन जोडीबीचमा यौनको शारीरिक भोक गौण हुन जान्छ। यौन जोडीबीचको मानसिक, आध्यात्मिक, भावनात्मक यौन एकताको आस्था र विश्वास नै सर्वोत्तम हो। त्यसैले यो अवस्था यौनजोडीले आफूप्रति देखाउने कामुकताको अभ्यास मूल्यांकन गर्ने राम्रो मौका पनि हो।

आफ्नो यौन जोडीले सच्चा प्रेम भावले यौन गरेको हो वा शारीरिक तृप्ति मेट्न मात्रै यौन गरेको हो भन्ने कुरा छुट्याउन आवश्यक हुन्छ। यदि सच्चा प्रेम भावले माया र यौन गरेको भए लामो समयसम्म यौन जोडीबीच भेट नभएको अवस्थामा समेत धैर्यता रहन्छ। तर, शारीरिकरुपमा यौन तृप्ति मेट्न मात्रै यौन गरेको भए त्यस्तो यौन जोडीबीचको सम्बन्धमा दरार उत्पन्न हुने सम्भावना धेरै हुन्छ। पूर्वीय ग्रन्थलाई हेर्दा सच्चा प्रेम भावकै कारण १६ सय गोपिनीको मनमा कृष्ण अटाएको देखिन्छ।
अहिलेको महामारीको अवस्थामा शारीरिकरुपमा यौन सामीप्य हुने तथा यौन तृप्ति मेट्नेजस्ता यौन क्रियाकलाप गर्नाले संक्रमणको जोखिम हुन्छ। यसमा यौन जोडीले हेल्चेक्र्याइँ गर्नुहुन्न। तन टाढा भए पनि सच्चा प्रेम गर्ने यौन जोडीबीचको मन गाढा हुन्छ।

 प्रेम टिकाउने टेक्निक
संक्रमणको यस्तो अवस्थामा यौन जोडी अत्यन्तै संयमित भएर आवेशमा नआई एक–अर्काको भावना बुझ्ने, अन्तस्करणमा पस्ने, माया र प्रेमको विषयमा सृजनशील क्रियाकलाप गर्नु आवश्यक हुन्छ। व्यक्तिको शारीरिक दूरी टाढा भए पनि भावनात्मक दूरी कायम राख्नका लागि आजकाल विभिन्न प्रविधिले सहयोगी भूमिका खेलेका छन्। विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको प्रयोग गरी यौन जोडीबीचमा एक आपसमा भावना तथा विचार व्यक्त गर्न सकिन्छ। एक आपसमा आफ्ना मनका बह पोख्न सकिन्छ। यसरी यौन जोडीबीचमा आफ्ना मनका बह पोख्नाले एक आपसमा नजिकिन तथा आत्मियता कायम गर्न सकिन्छ। सामाजिक सञ्जालको माध्यमबाट सुरक्षितरुपमा एक आपसमा यौन गतिविधिका कुरा गरेर तथा यौन क्रियाकलाप गरेर पनि यौन सन्तुष्टि लिन सकिन्छ। यस्तो उपाय अपनाउनाले पनि यौन जोडीबीचको प्रेममा दरार उत्पन्न हुने समस्याबाट बच्न सकिन्छ। तर, यौन गतिविधि यौन जोडीको चाहना र स्वीकृतिमा गर्नुपर्ने हुन्छ।

सामाजिक दूरी कायम राखेर भेट गरी यौन जोडीलाई मन पर्ने लुगा–कपडा, रुमालजस्ता सामग्री एक आपसमा साट्न सकिन्छ। यौन जोडीका यस्ता सामग्री स्पर्श गरेर, सुँघेर पनि यौन सन्तुष्टि लिन सकिन्छ। जसले यौन जोडीबीचको प्रेम मजबुत बनाउन सहयोगी भूमिका खेल्छ। यौन सम्पर्क नभए पनि यौन आकर्षण, यौन भाव, यौन दृष्टि, यौन सुनुवाइ, यौन स्पर्श, यौनको सोचले पनि यौनानन्द लिन सकिन्छ। तर, शारीरिक सम्पर्कजस्तो न्यून र पवित्र कार्यलाई मात्रै यौनका रुपमा बुझ्नु हुन्न।
त्यसैले भावनात्मक, मानसिक र अहिलेको विकसित सञ्चार माध्यमबाट यौन आकर्षण प्रदर्शन गर्न सकिन्छ। यौन जोडी भेट्न नपाउँदा शारीरिकरुपमा यौन तृप्ति मेट्ने चाहना भएको अवस्थामा यौनका वैकल्पिक साधन प्रयोग गरेर पनि यौन तृप्ति मेट्न सकिन्छ। त्यसैले माया र प्रेम निष्पक्ष, स्वस्थ हुन आवश्यक छ। यस्तो प्रेमलाई संक्रमणले छेक्न सक्दैन।
प्रस्तुति : उपेन्द्र खड्का

Leave A Comment