इतिहासमै पहिलो पटक ब्रिटिस गोर्खा सैनिकको भर्ती रोकियो

मङ्गलबार, ३० असार २०७७, ०१ : ३४ शुक्रवार
इतिहासमै पहिलो पटक ब्रिटिस गोर्खा सैनिकको भर्ती रोकियो

लाहुरे परिवारमा हुर्किएका बाँकेका सरोज मगर यो वर्ष खुल्ने ब्रिटिस आर्मी छाति नपाउने सुरमा थिए। लाहुरे बन्न चाहिने शारीरिक अभ्यासलाई तिखार्ने भन्दै घरपरिवारको सल्लाहमा २०७६ चैत १ गते पोखरा आए। लामाचौस्थित गोर्खा फिटनेस सेन्टरको होस्टलमा बसेर पूर्वअभ्यास सुरु गरेको एक हप्ता बित्न नपाउँदै नेपाल सरकारले कोरोना महामारीका कारण लकडाउन गर्ने हल्ला चल्यो। २५ जनाभन्दा बढी जम्मा हुन नपाउने सरकारी उर्दी जारी भएपछि सेन्टर संचालकले सरोजसहित पूर्वअभ्यास गरिरहेका करिब पाँच सय जना युवालाई आ–आफ्नो घर जान सुझाए। 

एक हप्ताअघि लाहुरे हुने जोश जाँगरसहित घर छाडेका सरोजलाई तत्काल घर फर्कंदा नरमाइलो लाग्यो। यो वर्ष कोरोनाकै कारण ब्रिटिस आर्मीमा भर्ती देखाउन पाएनन्। अब एक वर्ष मात्रै बाँकी छ उमेर, त्यसपछि के हुने हो उनी चिन्तित छन्। 

‘लाहुरे बन्ने ठूलो रहर थियो, यो वर्ष भर्ती खुल्ने भएन,’ सरोज भन्छन्, ‘तैपनि घरमै अभ्यास गर्न छाडेको छैन।’  
सरोजको त एक वर्ष बाँकी उमेर छ। उनी अर्को वर्ष भर्ती भिड्न सक्छन्। स्याङ्जाका विसन गुरुङका लागि भने ब्रिटिस आर्मी भएर टाटेपाङ्ग्रे बर्दी लगाउने सपना सधैँका लागि चकनाचुर भएको छ। अघिल्लो वर्ष कागजपत्रमा सानो त्रुटि भएपछि सुरुमै फालिएका उनी यो वर्ष अर्थात् ‘रेक्रुट इन्टेक २०२१’ मा जसरी पनि भर्ती लाग्ने ध्याउन्नमा थिए। फागुनबाटै पोखरा बसेर तालिम गरिरहेका विसन लकडाउनको हल्ला चलेपछि घर फर्किएर स्वअभ्यास गरिरहेका थिए। उनको सपना जपना नै ब्रिटिस आर्मी थियो। विश्वभर महामारीको रुपमा लिएको कोरोनाका कारण ‘रेक्रुट इन्टेक २०२१’ मा ब्रिटिस आर्मीमा भर्ती नखुल्ने जानकारी पाएपछि उनी विक्षिप्त छन्। ‘यो वर्ष भर्ती खुल्ने भएन, अघिल्लो वर्ष सुरुमै फालिएँ,’ विसन भन्छन्, ‘ अब मेरो उमेर बाँकी रहेन। ब्रिटिस आर्मी भएर टाटेपाङ्ग्रे बर्दी लगाउने सपना चकनाचुर भयो।’

सरोज र विसन मात्रै होइन, देशका विभिन्न जिल्लाबाट पोखरा आएका हजारौं युवाको लाहुरे बन्ने सपनामा कोराना महामारी बाधक भइदियो। उनीहरु लकडाउनको हल्ला चल्नेबित्तिकै घर फर्किसकेका थिए। लाहुुरे सपनालाई पछ्याउँदै दिनरात नभनी पूर्वअभ्यासमा खटिरहेका पोखरा–१४ चाउथेका डेबिट घर्तीमगरलाई यो वर्ष ब्रिटिस आर्मीमा भर्ती नखुल्ने भएपछि तनाव सुरु भएको छ। कक्षा १२ सकाएर लाहुरे बन्नकै लागि पढाइलाई स्थिगित गरेका उनी दैनिक अभ्यासमै थिए। पोखरा लामाचौरको एक भर्ती सेन्टरको होस्टलमा बसेर तालिम गरिहेका उनी पनि घर फर्किएर आफैँ दैनिक तालिम गरिरहेका छन्। ‘पहिलो वर्षमै भर्ती नापिएर ब्रिटिस आर्मीको कम्ब्याट लगाउने सपना थियो तर यो वर्ष नखुल्ने भो,’ लाहुरेजस्तै छोेटो कपाल बनाएका डेबिट भन्छन्, ‘कदम भर्ती नभए पनि अनुभव हुन्थ्यो। त्यो पनि लिन नपाइने भयो।’ 

कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयाँ दर्ता र क्षेत्रीय छनोट रद्द गरेको बेलायतको ब्रिटिस आर्मी मुख्यालयले जानकारी बाहिर ल्याएपछि थुप्रै युवाको लाहुरे बन्ने सपना चकनाचुर भएको छ। मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै यसपटक असहज परिस्थितिका कारण नयाँलाई अवसर दिन सम्भव नभएको जानकारी दिएपछि एक वर्ष मात्रै भर्ती देखाउने उमेर बाँकी रहेका युवालाई बढी असर गरेको छ। यसपटक अघिल्लो वर्ष अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका पाउने सूचना जारी भएपछि पहिलो पटक आवेदन गर्ने तयारी गरिएका युवा पनि तनावमा छन्। प्रतिस्पर्धाका निम्ति तयारी रहेका नेपाली युवाहरूले मुख्यालयले यो निर्णय सच्याउने आशा राखेका छन्। मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमान्डर रिचार्ड गुडम्यानले सूचना जारी गर्दै भनेका छन्, ‘म गम्भीर रूपमा सचेत छु कि कोभिड–१९ महामारीका कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ’मा हुन आएको फेरबदल स्वागतयोग्य छैन। अहिलेको समयमा भर्नाका गतिविधि सञ्चालन गर्न बिलकुल सम्भव छैन। रजिस्ट्रेसन र क्षेत्रीय छनोट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं।’ 

छनोट सम्भव नभएका कारण यो नयाँ आवेदकहरूको मूल्यांकन गर्न नपाइएको उनले बताएका छन्। ‘परिस्थिति अनुकूल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रीय छनोट सञ्चालन गर्नेछौं। यद्यपि जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सीमित गर्नुपर्नेछ,’ कर्णेल (महासेनानी) गुडम्यानले भनेका छन्।

सामान्य अवस्थामा छनोटका निम्ति धरान र पोखरामा फारम भर्ने व्यवस्था गरिन्थ्यो। हरेक वर्ष धरान र पोखरामा क्षेत्रीय छनोट हुन्थ्यो। क्षेत्रीय छनोटमा परेकालाई पोखरामा अन्तिम छनोटमा प्रतिस्पर्धा गराइन्थ्यो। यसपटक गत वर्षको इन्टेक–२०२० केन्द्रीय छनोट प्रतिस्पर्धाबाट बाहिरिएका युवालाई अवसर दिइने मुख्यालयले जनाएको छ। तर, यस्तो निर्णयलाई धेरै युवाले सच्याउन अनुरोध गरेका छन्। 

‘कस्तो निर्दयी निर्णय !’ उक्त सूचना जारी गरिएपछिे ब्रिटिस गोर्खा नेपालको फेसबुक पेजमा विशाल स्याङ्तान तामाङले भनेका छन्, ‘चार सय जनालाई खुसी बनाएरु हजारौंको आँखाबाट आँशु बगाउने। फ्रि, फेयर र ट्रान्सपरेन्ट भन्ने। यदि त्यसो हो भने सबैलाई बराबर अधिकार चाहिन्छ। हामी गरिबको लाहुरेबाहेक अर्को विकल्प छैन। न त सीप न त राम्रो पढाइ, ट्रेनिङकै सिलसिलामा पढाइ पनि बिग्रेको छ। के हामी गरिब अब मर्ने ?’ 
यसैगरी धेरै युवाले आफ्नो उमेर हद नाघ्न लागेकाले जसरी पनि अवसर दिन भनेका छन्। 
‘अन्तिम उमेर भएका र नेटमा नाम निकाल्न नसकेलाई पनि चान्स दियो भने सानो मौकाले उनीहरुको भविष्य बन्ने थियो कि,’ जीवनखागी खड्काले भनेका छन्। 

ब्रिटिस गोर्खा सैनिकको इतिहास २०६ वर्ष लामो छ। नेपाली युवा भर्ती हुने क्रम जारी छ। यसरी भर्ती रोकिएको इतिहासमै पहिलो पटक हो। ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर हाल बेलायतमा तालिमरत छन्। 
‘अन्तिम प्रतिस्पर्धाबाट कति बाहिरिएका छन् भन्ने ठ्याक्कै जानकारी छैन,’ पोखराको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरका संचालक  डिबी लामा भन्छन्, ‘पोखराबाट फर्किएका थुप्रै भाइहरू उमेर हद नाघेको हुन पनि सक्छ। यो निर्णयले धेरैलाई दुःखी बनाएको छ।’

बेलायतले अघिल्लो वर्षदेखि ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएपछि थुप्रै युवाको मुहारमा खुसी छाएको थियो। सन् २०१८ सम्म २ सय ३० जनाको दरले भर्ती गथ्र्यो। गत वर्ष ४ सय ३२ जना भर्ती लियो। ब्रिटिस गोर्खामा फस्र्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन्। सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाउन थालिएको हो। त्यही भएर पनि धेरै युवा भर्तीका लागि तयारीमा थिए। ‘पहिलेकोभन्दा झन्डै दोब्बर भर्ती लिन थालेपछि भर्ती भइन्छ कि भन्ने आशा थियो,’ पोखरा रामबजारका निमेष थापा भन्छन्, ‘अघिल्लो वर्ष देखाएन। यस पटक नापिन पर्ला भनेको भर्ती नै नखुल्ने भो !’

Leave A Comment