कोरोनाले करोडौँ फ्रिज

बुधबार, ३१ असार २०७७, ११ : ४८ पुष्पा थपलिया
कोरोनाले करोडौँ फ्रिज

सुनिलकुमार थापा निर्माता रहेको फिल्म ‘ए मेरो हजुर ४’ प्रतिक्षित फिल्म मध्येको एक हो। पतिको लगानी, पत्नीको निर्देशन र छोरीको अभिनय रहेको पारिवारिक फिल्म भनेर आलोचना खेपेको उक्त फिल्ममा युवा पुस्तामाझ चर्चित नायक अनमोल केसी पनि छन्।

अनमोल र सुहाना जोडी बनेको पहिलो फिल्म भएकाले पनि यो फिल्म प्रतिक्षाको सूचीमा परेको थियो तर फिल्मको ४५ प्रतिशत सुटिङ सकिन नपाउँदै कोरोना महामारीले प्रभावित बन्न पुग्यो।

‘ए मेरो हजुर ४’ को निर्माण टोली अब कोरोना सकिने समय या कोरोना निको बनाउने भ्याक्सिनको प्रतीक्षामा छ। निर्माता सुनिल थापाले भने, ‘पहिलो प्राथमिकता स्वास्थ्य हो, अनि मात्रै काम।’
संसारका सबै मानिस यतिखेर मर्कामा परेको भन्दै सुनिलले भने, ‘हामीलाई मात्रै मर्का परेको भए दुःख मनाउन हुन्थ्यो तर यहाँ त सबैको मर्का एकै छ।’

दशैंलाई प्रदर्शन मिति तय गरेर फिल्म सुटिङ सुरु गरेको फिल्मको सम्पूर्ण लगानी फ्रिज भएको भन्दै थापाले भने, ‘सबै व्यवसाय घाटामा छन्, हामी त झनै महाघाटामा प-यौं।’ 

प्राविधिक, कलाकारहरुलाई काम गरेसँगै पैसा दिए पनि, सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरु महँगो पैसा तिरेर पहिले नै निश्चित समयका लागि भाडामा लिएको तर अहिले काम ठप्प भएकाले घाटामा गएको उनको भनाइ छ। त्यसैगरी फिल्म निर्माण जस्तो काम एक्लैले गर्न नसकिने भन्दै उनले भने, ‘कम्तीमा पनि ३० जना नभई फिल्म सुटिङजस्तो काम सम्पन्न गर्न सकिँदैन, त्यसैले पनि अवस्था सामान्य नहुञ्जेलसम्म प्रतीक्षा गर्नुको विकल्प नै रहेन।’

फिल्म सुटिङ, डबिङ र एडिटिङको काम सके पनि हलवालाले फिल्म चलाउने अवस्था नबनुञ्जेल फिल्म सुटिङको तुक नभएको पनि उनको भनाइ छ।

सरकारले फिल्म सुटिङका लागि अनुमति नदिए पनि सधैं हात बाँधेर बस्न भने नसकिने थापाले बताए। उनले भने, ‘अबको १५ दिन जति हेरौं, यस्तै अवस्था रहे केही न केही त सोच्नै पर्छ।’

यता फिल्मको २५ प्रतिशत सुटिङ सकेका निर्देशक दीपेन्द्र लामा भने तिहारअघि आफू कुनै हालतमा सुटिङमा नजाने अडानमा छन्। उनले भने, ‘जबसम्म हामीहरु मानसिक तथा शारीरिक रुपमा स्वस्थ÷तन्दुरुस्त हुँदैनौँ, सुटिङमा जान सक्दैनौं।’ 

फिल्म समीक्षक समेत रहेका दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा कथा तथा पटकथा समेत दीपेन्द्रकै छ। किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘दुई नम्बरी’मा कलाकारहरु पल शाह, वर्षा राउत, दयाहाङ राई, बुद्धि तामाङ, जयनन्द लामा लगायतको मुख्य भूमिका रहेको छ।

माघको अन्त्यबाट छायांकनमा गएको फिल्म जनै पूर्णिमामा प्रदर्शन गर्ने तयारी निर्माण समूहको थियो। हालसम्म २५ प्रतिशत मात्रै सुटिङ सकिएकाले कथाबस्तुमा समेत केही परिवर्तन हुनसक्ने लामाको भनाइ छ। उनले भने, ‘अब तिहारपछि मात्रै फिल्म सुटिङ हुने भएपछि, पहिले भएका सुटिङका फुटेजहरु पनि धेरै काम लाग्ने छैन। त्यसैले तयार पारेको बजेट भन्दा करिब १५ लाख रुपैयाँ बढी खर्च हुनसक्ने देख्दैछु।’

महामारीका समयमा सबै घाटामा गएको स्मरण गर्दै लामाले भने, ‘यो कुरा निर्माताहरुले पनि राम्रोसँग बुझेका छन्, त्यसैले उनीहरु पैसा थप गर्न मानसिक रुपमै तयार छन्।’

तुरुन्तै फिल्म तयार भए पनि विश्वका फिल्म हल नचलेसम्म नेपालका हलहरु खोल्न नसकिने लामा बताउँछन्। उनले भने, ‘सरकारको अनुमति पाएर नेपाली फिल्म हल खुले पनि ती कन्टेन्ट अभावका कारण बन्द हुन्छन्।’ पुराना फिल्म चलाउँदा दर्शक झनै भड्कन सक्ने भन्दै लामाले भने, ‘हामी नेपालीहरु डिजिटल फिल्म पैसा तिरेर हेर्ने प्रवृत्तिका पनि छैनौं।’

डिजिटल माध्यम प्रयोग गरेर रिलिज गर्न नेपाली फिल्म तयार छ कि छैन भन्ने बहस चलिरहेका बेला, लामा भने, ‘यसका लागि अझै केही समय पर्खनुपर्छ। डिसहोम र युट्युबमा प्रदर्शन गर्ने तयारीमा रहेकाहरुले कुनै हालतमा लगानी उठाउन सक्दैनन्।’

हामी नेपालीहरु फ्रिमा पाए फिल्म हेर्ने तर इन्टरनेटमा पैसा तिरेर नहेर्ने प्रवृत्ति भएको भन्दै उनले भने, ‘तयार भएका फिल्मलाई यदि ओटिडी प्लेटफर्ममा रिलिज गर्ने हो भने पनि, लगानी सुनिश्चित राखेर फिल्म किन्न नेपालका डिजिटल प्रविधिले सक्दैन।’

त्यसो भन्दैमा हात बाँधेर बस्न नहुने भन्दै उनले नायिका ऋचा शर्माले राम्रो सुरुवात गरेको लामाले बताए। उनले भने, ‘केही वर्षपछि यसले पक्कै फाइदा देला तर धैर्य गर्न सक्नुपर्छ।’

यस्तै अर्का निर्माता माधव वाग्लेको नयाँ फिल्म पनि छायांकनमा जाने तयारीमा थियो। कलाकारलाई सम्झौतासमेत गराएका उनले पहिलो किस्ताको रकम समेत विभिन्न प्राविधिकलाई उपलब्ध गराइसकेका थिए।
बैंकबाट करोड ऋण लिएर बनाउन लागेको नयाँ फिल्मको रकम फ्रिज हुँदा आफू पीडामा परेको भन्दै वाग्लेले भने, ‘बैंकले किस्ता तिर्न फोन गर्न थालेको धेरै भइसक्यो।’

यस्तै अवस्था रहे, निर्माताहरु फिल्म क्षेत्रमा लगानी गर्न डराउलान् नि भन्ने जिज्ञासामा वाग्लेले भने, ‘यो ग्ल्यामर लाइन हो, नयाँ मान्छे धेरै आउँछन्।’

‘फिल्म क्षेत्र भनेको जुवाको खालजस्तै हो, पाँचजना म्यारिज खेल्न बसेको छ भने जित एउटाकै हुन्छ तर अर्कोपल्ट जित्ने आशमा हारेकाहरुले पनि खेल्न छाड्दैनन्,’ फिल्म उद्योगको प्रवृत्ति खोतल्दै भने, ‘छोटो समयमा धेरै पैसा कमाएकाहरु फिल्म क्षेत्रमा आकर्षित हुन्छन्। हामी नियमित, बिचलित नभइकन फिल्ममा लगानी गर्ने निर्माता त औंलामा गन्न सकिने छौँ। अरु त सबै रमाइलो गर्न आएका हुन्, खर्च गर्छन् अनि बाटो लाग्छन्।’ 

जो फिल्म निर्माणबाहेक अन्य व्यवसाय गर्दैनन्, लकडाउनले गर्दा निकै मर्कामा परेको वाग्लेको भनाइ छ। यसबाट उम्कन सरकारले नै केही राहतको प्याकेज ल्याउनुपर्ने उनले सुझाए। साथै सरकारले आफूहरुलाई हेला गरेको भन्दै आफूहरुले धेरै कर तिर्न नसक्नाले पाखा परेको गुनासो पनि गरे। भने, ‘हाम्रो वर्षमा १२५ फिल्म रिलिज भयो भने पाँच ओटा मात्रै सफल हुन्छ। त्यसमा पनि तीन ओटाले लगानी उठाउँछ र दुई ओटा फाइदामा जान्छ। त्यो दुइटा फिल्मले तिरेको कर सरकारले नदेख्दो रहेछ।’ 

 

Leave A Comment