हास्य जोडीः टुटफुट ‘ट्रेन्ड’

आइतबार, ०५ भदौ २०७३, १० : १८ डिबी खड्का , Kathmandu
हास्य जोडीः टुटफुट ‘ट्रेन्ड’

नेपाली हास्य टेलिसिरियलका दर्शकले महसुस गरेकै कुरा हो– राजनीतिक पार्टीमा आउने फुट र श्रीमान्–श्रीमती बीचको मनमुटाव उनीहरूका हँसाउने मुख्य मसला हुन् । तर,  मनमुटाव र टुटफुटबाट उनीहरू आफैँ पनि मुक्त हुन सकेका छैनन् । नेपालमा हास्य जोडी न जुट्न समय लागेको देखिन्छ, न टुट्न बेर ।

महको फाटोमा दर्शक ‘फेबिकोल’
नेपाली हास्यव्यंग्यमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई आदर्श मानिन्छ । उनीहरूकै सिको गरेर दर्शकलाई एकसाथ हँसाउने प्रण गरेका जोडीहरू धेरै छन् । अहिलेसम्म ‘अटुट’ रहेको उनीहरूको जोडी पनि टुक्रिनै लागेको थियो । तर, शुभचिन्तक र दर्शक ‘फेबिकोल’ भइदिए ।
आफूहरूबीच मनमुटाव आएको कुरा उनीहरूले पनि स्वीकारेका छन् । आपसमा मनमुटाव आएपछि हरिवंशले फिल्म ‘तँ त साह्रै नै बिग्रिस बद्री’ एक्लै गरे । उता शिव रेग्मी निर्देशित फिल्म ‘सुख–दुःख’मा मदनकृष्ण एक्लै देखिए । उनीहरूको जोडी फुटेको हल्लाले बजार तात्यो । उनीहरू आफैँले भन्दा पनि दर्शकस्रोताले यो कुरालाई बढी गम्भीर रूपमा लिए । किनकि, यो जोडीका सिर्जनामा दर्शकको रस बसेको थियो र उनीहरूलाई छुट्टाछुट्टै हेर्न दर्शकले चाहेनन् । शुभचिन्तक र दर्शकले उनीहरूलाई नछुट्न दबाब दिएपछि जोडिन बाध्य भए उनीहरू ।
फिल्म ‘सुख–दुःख’को पत्रकार सम्मेलनमै उनीहरूले आफूहरूबीच मन बाझिएको स्वीकार्दै मन माझ्ने घोषणा गरे । त्यसपछि उनीहरूबीच सम्बन्ध झन् सुमधुर देखियो । उनीहरूले त्यसबाट सबक सिके र आफूबीच मनमुटाव आए पनि दर्शकसम्म आउन नदिई सुल्झाइरहे । यसरी नेपाली कला इतिहासमै ऐतिहासिक जोडीका रूपमा आफूलाई उभ्याए । वि.सं. २०३८ सालमा ‘बैंकेश्वर’ प्रहसनबाट सहकार्य गर्दै उनीहरू मह जोडीमा परिणत भएका हुन् ।

जीतु र दमनको जोडीमा ‘भाइरस’
जीतु नेपाल र दमन रूपाखेतीको जोडी बजारमा जम्न थालेको थियो । तर, जम्दाजम्दै उनीहरूका मनमा यति चिसो पस्यो कि सम्बन्धमा बरफै जम्यो । छुट्टिन बाध्य भए ।
दिनेश डीसीले निर्देशन गर्ने हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ले उनीहरूलाई जोडिदिएको थियो । त्यसपछि उनीहरूले जोडी बनाएर सांगीतिक कार्यक्रम गीताञ्जली चलाए । गाईजात्राका कार्यक्रम हुन् वा अन्य स्टेज, यो जोडीको तारिफ झन् धेरै हुन थालेको थियो । यही क्रममा यो जोडीले ‘जिरे खुर्सानी’ टेलिशृंखला सुरु ग¥यो । ‘जिरे खुर्सानी’को ६५ भागपछि दमन एक्कासि हराए । उनीहरूको जोडी टुट्नुको कारण सोही शृंखलासँग जोडिएका अन्य कलाकार हुन् । जसले दमनलाई भड्काइदिए । यसलाई दमनले ‘भाइरस पसेको’ टिप्पणी गर्ने गरेका छन् । किनभने, उनीहरूको ठूलो झगडा थिएन, सुल्झिने मनमुटाव थियो । तर, उनीहरूले जोड्ने फेबिकोल पाएनन् । बरु, बलेको आगोमा घिउ थप्ने बढे र उनीहरू सधैँका लागि छुट्टिए ।
केसीको ‘के’ बुढातिर, ‘सी’ बुढीतिर

महपछि दर्शकले धेरै रुचाएको जोडी थियो, केदार घिमिरे ‘माग्ने’ र सीताराम कट्टेल ‘धुर्मुस’को केसी जोडी । उनीहरूले संघर्षका दिन सँगै बिताए । जब एउटा उचाइ पाए, त्यसपछि सँगै रहन सकेनन् ।
उनीहरूलाई मनदेखि जोडेको ‘मेरी बास्सै’ले हो । उता जीतुसँग फुटेका दमनले ‘मेरी बास्सै’ सुरु गरे । दमनसँगै ‘जिरे खुर्सानी’बाट सीताराम र केदार पनि सँगै आए । यो शृंखलाको पाँचौँ भागदेखि गाउँको कथा देखाउन थालियो त्यसपछि सीताराम धुर्मुस बने र केदार माग्ने बुढा । उनीहरूलाई दर्शकले रुचाए ।  सिरियलले ४० भाग पार गर्दा दमन छायाँमा परे र केसी जोडी जम्यो । त्यसपछि दमन एकातिर र यो जोडी अर्कातिर भयो, दमनले पछि सिरियल छाडे ।
दमनले छाडेपछि यो जोडीमा पनि मनमुटाव आउन थाल्यो । समय यस्तो आयो कि उनीहरूको बोलचाल बन्द भयो तर सिरियल दुइटैले छाड्न सकेनन् । सम्भवतः यो संसारकै यस्तो नमुना सिरियल भयो, जसमा एउटै शृंखलाका लागि सुटिङ फरक–फरक हुन्थ्यो ! उनीहरूको मन त कसैले जोड्न सकेन तर छुट्टाछुट्टै सुटिङ गरिएका दृश्यलाई सम्पादकले जोडेर केही समय देखाइदिए । उनीहरूको सम्बन्ध जोड्नै नसक्ने गरी बिग्रे पनि केही समय दर्शकले चाल पाएनन् ।
बिस्तारै सिरियलमा केदार घिमिरे ‘माग्ने बुढा’ले ‘तक्मे बुढा’ अर्थात् विल्सनविक्रम राई भिœयाए । उता सीतारामले सँगै काम गर्ने कुञ्जनालाई घरमै भिœयाइसकेका थिए । त्यसपछि स्टेजमा माग्ने बुढा र तक्मे बुढा सँगै देखिन थालेका छन् भने सीताराम र कुञ्जना त घरकै जोडी भइगए ।

कतिले जोडे, कतिले तोडे ?
नेपाली हास्य क्षेत्रमा जोडी बनाउने लहर अहिलेसम्म टुटेको छैन । ‘आरोहण शनिवार’ संस्थाले नाटक ‘वनदेवी’बाट खेम शर्मा र शिवहरि पौडेललाई जोडी बनाएर सघायो । झण्डै डेढ दशक सँगै देखिए पनि । तर, पछि खेम शर्माले नारायण त्रिपाठीसँग जोडी बाँधे । यसै गरी शैलेन्द्र सिम्खडा र उज्वल भण्डारीको जोडीले स्टेज र गाईजात्राका कार्यक्रममा राम्रो चर्चा कमायो । पछि उनीहरू आफैँ दुईतिर भए । किरण केसी र राजाराम पौड्यालले (किरा) जोडी बनाए । यो जोडीमा राजाराम अमेरिकातिर लागेपछि धमिरा लाग्यो । त्यसपछि एक्लिएका किरण केसीले शिवहरि पौडेलसँग नयाँ जोडी बाँधे । ‘जिरे खुर्सानी’मा ज्वाइँ–जेठानका रूपमा देखिन थालेपछि उनीहरू जोडीका रूपमा छन् ।
‘तितो सत्य’बाट रवि डंगोल ‘का बेमान’ र मञ्जु श्रेष्ठ ‘बिजुली’का रूपमा हँसाए । पछि उनीहरू कामकै सिलसिलामा यताउति परे । न दर्शकले खोजे न आफैँले । यता ‘का बेमान’ भने पूर्ण थापा ‘सुब्बा दाजु’सँग जोडीका रूपमा बेलाबखत देखिन्छन् । गाईजात्रे एल्बमका लागि शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलासाग’ले जोडी बाँधे तर दिगो भएन । पल्पसा डंगोल ‘चम्सुरी’ र अंशु महर्जन ‘हात्ती’ले जोडी बाँधेका छन् तर जम्ने सकेको छैन । ज्योति काफ्ले ‘नक्कली बाबुराम’ र विपना बस्नेत ‘हिसिला’ मौसमी जोडी हुन् ।
‘भद्रगोल’का अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले जोडीका रूपमा दर्शकलाई हँसाइरहेका छन् । रेडियो कार्यक्रम ‘रामविलास र धनियाँ’मार्फत जोडी भएका दीपकराज गिरी र दीपाश्री निरौला अहिलेसम्म सहकार्य गरिरहेका छन् । उनीहरूको जोडी ‘तितो सत्य’मा फस्टायो । अहिले फिल्मतिर लागेका छन् ।
नेपालमा जोडी
रंगमञ्चमा अभिनय गर्ने क्रममा कलाकारले जोडी बाँध्ने गरेको भेटिन्छ । नेपालमा राजपाल थापा र ध्रुवरत्न हाडा (हाडापाल जोडी)लाई पहिलो जोडीको रूपमा लिइन्छ । यसै गरी भीमबहादुर थापा र हेमजंग पाण्डेले आर्मी क्याम्प भित्रैबाट (थापा र पाण्डे) जोडी भएर क्याम्पभित्रै हास्यव्यंग्य कार्यक्रम गरेको बताइन्छ । उनीहरूले २०१६–०१७ सालतिर जोडी बाँधेको कलाकार बताउँछन् । यद्यपि, यो आधिकारिक भने ठानिएको छैन । त्यसपछि गुप्तसेन र मास्टर केशवको जोडी लोकप्रिय रह्यो । यसै गरी रामशेखर नकर्मी, कृष्ण नापित र आशाकाजी ठकु तीनजनाको जोडी बनाएर चर्चा बटुलेको भेटिन्छ । फिल्म ‘सिन्दुर’ बाट गोपालराज मैनाली ‘चंखे’ र वसुन्धरा भुसाल ‘नक्कली’ भएर देखिए । उनीहरूको जोडी त्यही फिल्मबाट यसरी जम्यो कि लगातार उनीहरूलाई जोडीका रूपमा देखाइयो । धेरै फिल्म र टेलिफिल्ममा उनीहरूले जोडीका रूपमा अभिनय गरेका छन्  ।
यसरी जोडी बाँध्ने चलन धेरै अघिदेखि नेपालमा चल्दै आएको हो । आजको दिनसम्म पनि धेरै हास्यव्यंग्य कलाकारहरूले जोडी बाँध्ने गरेको पाइन्छ । फाट्टफुट्ट कार्यक्रम पाए आफैँ कुद्ने नपाए जोडी बाँध्ने हास्यकलाकारहरूकै कारणले गर्दा पनि हास्य जोडी लामो समयसम्म टिकिराख्न सकेको छैन ।

 

Leave A Comment