प्रेमको नाटक

बिहिबार, ०१ साउन २०७७, १२ : ०९ शुक्रवार
प्रेमको नाटक

म सानैदेखि पढाइमा राम्रो थिएँ। मलाई साथीभाइले पढाइमा जान्ने मान्छे भन्थे। थिएँ पनि होला किनभने एसएलसीमा पनि  ८७ प्रतिशत ल्याएर जिल्लाकै राम्रो कलेजमा कमर्स पढ्न थालेको जो थिएँ। र, अहिले म १२ कक्षामा पढिरहेको छु। पोहोर म कलेज टपर थिएँ तर अहिले कलेजको त के क्लासकै  टप १० लिस्टमा पर्न मलाई मुस्किल छ। यसको  पछाडि एउटै  मात्र कारण छ, त्यो कारण हो– ऊ।

११ मा पढ्दै गर्दा मेरो कक्षामा एउटी केटीलाई खुब मन पराउँथेँ। त्यो मेरोे एकतर्फी माया थियो। म कलेज टपर भएको थाहा  पाएपछि भने उसले मसँग राम्रो व्यवहार गर्थी। मलाई बीचमा थाहा भयो– उसको प्रेमी रहेछ। मलाई लाग्यो– प्रेम गर्नु र पाउनु फरक कुरा हो। पाउन सकिनँ त के भयो, मनमनै प्रेम गर्न त पाइहालियो नि !

ऊ कलेजको मात्र होइन, एक दिन फेसबुकमा पनि साथी बनी। एक दिन उसले त्यही फेसबुकमा म्यासेज पठाएर मेरो फोन नम्बर मागी र फोन गरी।  

त्यो दिन मेरो जीवनकै सबैभन्दा रमाइलो दिन थियो र मेरा लागि स्मरणीय पनि। किनभने त्यो दिनभरि हामी बोलिरह्यौँ। बोल्दाबोल्दै कुन बेला रातिको एक बज्थ्यो, थाहै नहुने। 

यति लामो समय मैले कसैसँग पनि बोलेको थिइनँ। फोन राख्ने बेलामा भोलि भेट्ने निधो भयो। भेटमा उसले सोधी, ‘तिमी मलाई  अझै मन पराउँछौ ?’  

मैले मन पराउँछु भनी स्वीकार मात्र गरिनँ, उसलाई आफ्नो प्रेम स्वीकार गर्न प्रस्ताव नै राखेँ। आश्चर्य भयो, उसले प्रस्ताव स्वीकार गरी।

यसपछिका दुई दिन मोबाइलमा मज्जैले बोल्यौँ तर भेट भने हुन सकेन। एक दिन मैले जिस्किदै भनेँ, ‘तिम्रो क्लासको रोजिना एकदम राम्री छे नि !’

यति भनेको मात्र के थिएँ, ऊ मसँग खुब रिसाई र ब्रेकअप देऊ, नबोल मसँग भन्न थाली। बिना सित्ती रिसाएको देखेर म हैरान भएँ। पछि त मैले फोन गर्दा पनि उठाउन छाडी। 
उसको दादालाई पोल लगाउँदै भनिछ, ‘मुख छोडेर गाली ग-यो, त्यै भएर फोन नउठाएको !’ जबकि मेरो मुख छोड्ने बानी नै छैन। अनि त उसको दादाले मलाई खुब गाली ग-यो।  

मभन्दा पहिला उसका ६/७ जना प्रेमी थिए भनेर मैले उसको  स्कुलमा सँगै पढेको साथीबाट थाहा पाएँ। र, अस्ति भर्खर  उसलाई फिल्म खेल्ने अफर पनि पाई भन्ने कुरा थाहा पाएँ।  

उसको अचानक बद्लिएको व्यवहार र रुखोपनाका कारण लामो समयसम्म आफैँलाई नराम्रो ठान्न थालेँ। मलाई थाहा छ,  उसले एक दिन ठूलो नाम कमाउने छे। कमाओस्, मेरो शुभकामना छ।

हामी फेसबुकमा साथी भए पनि, हामी एकअर्कासँग बोलेका छैनाैँ। तर अस्ति फोन गर्दा उठाई र भनी मैले तिमीसँग नाटक  गरेकी थिएँ। खासमा राकेश भन्ने केटासँग ब्रेकअप भयो अनि उसलाई बिर्सन तिम्रो प्रेम प्रस्ताव स्वीकार गरेकी थिएँ। मलाई  माफ गरिदेऊ भन्न थाली।

म उसलाई खुब माया गर्छु। उसले जे गरे पनि ठिकै लाग्छ  मलाई। मैले म्यासेज गर्दा कहिलेकाहीँ मात्र रिप्लाई दिन्छे।  मेरो पढाइ बिग्रेको मूल कारण कसैलाई थाहा छैन। यो कुरा म कसैलाई भन्न पनि सकिराखेको छैन। यही कुरा सोच्दासोच्दै त घरिघरि मर्न पनि मन लाग्छ तर मेरो परिवार गरिब छ। त्यही भएर पनि मलाई हेला गरेकी होला भन्ने लागिरहेको छ। म उसको यो हदको उपेक्षा सहन सकिरहेको छैन। दिनदिनै मेरो  पढाइ बिग्रदै छ। म के गरौँ अब ? अनुभवी दादादिदीहरुले मलाई सुझाव दिनुप-यो।

Leave A Comment