नकारात्मक सोचको व्यवस्थापन

बिहिबार, ०८ साउन २०७७, १२ : ३४ प्रकाश जंग थापा
नकारात्मक सोचको व्यवस्थापन

सन् २००५ मा अमेरिकी एजेन्सी ‘नेसनल साइन्स फाउन्डेसन’ले एउटा अध्ययन प्रकाशित गरेको थियो। त्यो अध्ययनले मानवीय मस्तिष्कमा प्रत्येक दिन १२ हजारदेखि ६० हजारसम्म सोच उत्पन्न हुने देखाएको थियो। जसमध्ये ८० प्रतिशत नकारात्मक सोच हुने गर्छन्। र, ९५ प्रतिशत सोच अघिल्लो दिनकै दोहोरिएका सोच हुने गर्छन्। यस तथ्याङ्कअनुसार के स्पष्ट हुन्छ भने हामीले सकारात्मक भन्दा नकारात्मक सोच राख्ने गर्छौँ।

नकारात्मक सोच कुनै पनि व्यक्तिको लागि फलप्रद हुन सक्दैन। यस प्रकारको सोच राखेर स्पष्ट रुपमा सोच्न सकिँदैन। कुनै पनि विषयमा प्रस्ट हुन सकिँदैन। जटिल समस्या समाधान गर्न सकिँदैन। यति मात्र होइन, अत्यधिक नकारात्मक सोच राख्नाले शारीरिक रोग, भावनात्मक पीडा साथै डिप्रेसन जस्ता मानसिक रोग पनि निम्त्याउने गर्छ।

नकारात्मक सोचलाई पूर्ण रुपमा रोक्न सकिँदैन। यद्यपि हामीले व्यवस्थापन भने गर्न सक्छौँ। यसका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छः

मनोउपचार (साइकोथेरापी)
साइकोथेरापीमा प्रयोग हुने केही विधिमध्ये ‘एसेप्टेन्स एन्ड कमिटमेन्ट थेरापी’ एक हो। यसलाई छोटकरीमा एसिटी पनि भनिन्छ। यो विधि नकारात्मक सोच व्यवस्थापनको लागि सफलतापूर्वक प्रयोग गर्न सकिन्छ। यस विधिमा नकारात्मक सोचबारे सचेत भइन्छ। त्यसलाई अनुभूत गर्ने कोसिस गरिन्छ। कुनै पनि किसिमको मूल्यांकन गरिँदैन। यो सोच सही र यो गलत भनेर विभाजन गर्ने कार्य हुँदैन। केवल अवलोकन गर्ने कार्य हुन्छ। मस्तिष्कमा सोचहरु निरन्तर रुपमा आउने र जाने गर्छन् भन्ने बुझाइको विकास गरिन्छ। कुनै पनि सोच र विचार अन्तिम सत्यका रुपमा स्वीकार गरिँदैन। सोच जस्तोसुकै होस्, त्यसलाई पूर्ण रुपमा स्वीकृत गरिन्छ। अन्ततः सोहीअनुरुप कार्य सञ्चालन गरिन्छ। संक्षेपमा भन्नुपर्दा, एसिटी विधिले नकारात्मक सोचलाई निष्क्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

मानौँ तपाईंको डिभोर्स भयो। तपाईंमा जीवनभरि एक्लो हुने सोच विकास भयो। यस्तो अवस्थामा तपाईं एसिटी विधि अवलम्बन गर्न सक्नुहुन्छ। कसरी? तपाईं एक्लो हुने सोचलाई केवल सोचको रुपमा सीमित राख्नोस्। त्यो सोचलाई अन्तिम सत्य मान्नु आवश्यक छैन। नयाँ सम्बन्ध स्थापित गर्ने विषयमा सोच्न कठिन हुन सक्ला तर यसको अर्थ यो होइन कि तपाईं सधैँ एकल जीवन बाँच्नुस्। नयाँ विकल्प खोजी गर्न सकिन्छ। जब तपाईं तयार हुनुहुन्छ अनि मात्र नयाँ सम्बन्ध जोड्न प्रयासरत हुनोस्। नयाँ व्यक्तिलाई भेट्नुस्। विभिन्न चरणको डेटिङ जानोस्। एकले अर्कालाई चिन्ने र बुझ्ने कोसिस गर्नोस्। अनि आफ्नो मूल्य मान्यता अनुसारको जीवन बाँच्नुस्। यसरी तपाईं आफ्नो जीवनभरि एक्लो हुन्छु कि भन्ने नकारात्मक सोचलाई निष्क्रिय बनाउन सक्नुहुन्छ।

प्रतिरोध (काउन्टर) गर्ने
जीवनमा विविध घटनाक्रम चल्ने गर्छ। यस क्रममा हामीले कस्तो आन्तरिक प्रतिक्रिया दिन्छौँ ती सम्पूर्ण प्रतिक्रिया न्यूरल मार्गहरुमा इम्बेडेड (सम्मिलित) हुन्छन्। यसले हाम्रो भविष्यको स्वभाव निर्माणमा ठूलो भूमिका खेल्छ। भनाइको तात्पर्य, हामीले भविष्यमा कस्तो स्वभाव देखाउने भन्ने कुराको निक्र्याेल गर्छ। यदि कुनै पनि प्रतिकूल घटनाक्रम चल्दा हाम्रो आन्तरिक प्रतिक्रिया नकारात्मक भयो भने हामीले भविष्यमा देखाउने स्वभाव पनि नकारात्मक नै हुन्छ। हामीले गर्ने कार्य र हाम्रो अनुभूति सकारात्मक हुन सक्दैन। त्यसैले हामी मस्तिष्क पुनर्निर्माण कार्यमा सक्रिय हुनुपर्ने हुन्छ। यसको निम्ति एउटा सशक्त विधि हो, भिजुअलाइजेसन (प्रत्योक्षकरण)।

तपाईं नकारात्मक सोचबाट बाहिर आउन सक्नु भएको छैन भने ती यावत् नकारात्मक सोचलाई प्रतिरोध गर्नोस्। के यो सोच आवश्यक छ, के यो सोच मेरा लागि महत्वपूर्ण छ, के यी सोच उपयोगी छन् भन्ने जस्ता प्रश्नमाथि मन्थन गर्नोस्। अनि त्यस पश्चात् प्रत्योक्षकरण गर्नोस्। यस क्रममा नकारात्मक परिणाम भन्दा पनि सकारात्मक परिणामको परिकल्पना गर्नोस्। उदाहरणको लागि यदि यो आइडिया सफल भयो भने, यदि उनीहरुले मेरो आइडिया मन पराए भने, यदि म खुसी र सफल भएँ भने जस्ता कुरामा सोच विकास गर्नोस्। आफूले चाहेको परिणाम प्राप्त गर्न सफल भएको परिकल्पना गर्नोस्। अपेक्षित परिणाम प्राप्त गर्दा कस्तो भावना उत्पन्न हुन्छन् त्यसबारे पनि सजग हुनोस्।

बाह्य नकारात्मकताबाट टाढा रहने
बाह्य नकारात्मक कुराले हामी के सोच्छौँ, कस्तो अनुभूत गर्छौँ भन्ने निर्धारण गर्छ। उदाहरणको लागि हामी कस्ता मानिसलाई आदर्श मान्छौँ, सामाजिक सञ्जालमा कस्ता मानिससँग अन्तरक्रिया गर्छौँ, कस्ता समाचार पढ्ने र हेर्ने गर्छौँ त्यसले हाम्रो मस्तिष्कमा सकारात्मक वा नकारात्मक सोच उत्पन्न हुने भन्ने कुराको निर्धारण गर्छ। त्यसैले बाह्य नकारात्मक कुराबाट अलग हुने प्रयास गर्नोस्। यसका लागि जस्तोसुकै मानिसलाई आदर्श मान्ने गल्ती नगर्नोस्। सर्वप्रथम ती मानिसको स्तरबारे जानकार हुनोस्। सामाजिक सञ्जालमा विषाक्त, अपरिचित र असहयोगी मानिसलाई अनफ्रेण्ड र अनफलो गर्नोस्। आवश्यक परे ब्लक गर्ने विकल्प समेत प्रयोग गर्न सकिन्छ। त्यसैगरी समाचार हेर्न र पढ्नमा अधिक समय खेर नफाल्नोस्। महत्वपूर्ण कुरा फेक न्युजबाट बच्ने हरदम कोसिस गर्नोस्।

सकारात्मक मानिसको संगत गर्ने
सन् २०१३ मा ‘युनिभर्सिटी अफ नोट्री ड्याम’ का अनुसन्धानकर्ताहरुले कलेज पढ्ने विद्यार्थीमाझ एउटा अध्ययन सञ्चालन गरेको थियो। त्यस अध्ययनमा हरेक विद्यार्थी र उनको कोठामा सँगै बस्ने साथीको आनीबानी र स्वभाव बारेमा विस्तृत जानकारी सङ्कलन गरिएको थियो। त्यस अध्ययनमा जुन विद्यार्थीको रुममेट अर्थात् कोठामा सँगै बस्ने साथी नकारात्मक थियो, अनावश्यक चिन्ता लिने खालको थियो त्यो विद्यार्थी पनि नकारात्मक रहेको र अनावश्यक चिन्ता लिने खालको पाइयो। समग्रमा भन्नुपर्दा, अध्ययनले एउटा व्यक्तिमा विकसित नकारात्मक बानी अर्कोमा पनि प्रतिबिम्वित हुने पुष्टि गरेको थियो। यसलाई हामी केही उदाहरणमार्फत बुझ्न सकिन्छ। जस्तै अपशब्द बोल्ने व्यक्तिको संगतमा रहने व्यक्तिले प्रायः अपशब्द बोल्ने गर्छ। अत्यधिक पिउने व्यक्तिको संगतमा रहनेले नपिउने भन्ने हुँदैन। त्यसैगरी सफल व्यक्तिको संगतमा रहने सफल हुन्छन् भने असफल व्यक्तिको संगतमा रहने असफल। त्यसैले नकारात्मक सोच कम गर्नका लागि नकारात्मक मानिससँग कुनै पनि किसिमको सम्पर्क बन्द गर्नोस्। सकारात्मक मानिससँग मात्र संगत गर्नोस्, घुलमिल हुनोस्।
नकारात्मक बानीको बारेमा सचेत पनि रहनोस्।
नकारात्मक सोचबाट भौतिक रुपमा मुक्त रहने।
सन् २०१२ मा ‘ओहियो स्टेट युनिभर्सिटी’ले एउटा अध्ययन सञ्चालन गरेको थियो। त्यस अध्ययनमा सहभागी सबैलाई कागजमा आफ्नो शरीरको बारे मस्तिष्कमा उत्पन्न सम्पूर्ण नकारात्मक सोच लेख्न लगाइएको थियो। त्यस अध्ययनमा केही सहभागीहरुले आफूले लेखेको कागज च्यातेर फोहोर फाल्ने डस्टबिनमा फालेका थिए भने केहीले आफूसँगै राखेका थिए। जसले कागज डस्टबिनमा फालेका थिए उनीहरुमा केही मिनेटभित्र सकारात्मक सेल्फ इमेज विकास भएको थियो। तर कागज नफाल्नेहरुमा भने सकारात्मक सेल्फ इमेज विकास हुन सकेको थिएन। त्यसैले नकारात्मक सोचलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि एउटा कागज लिनुहोस्। मस्तिष्कमा उत्पन्न सबै नकारात्मक सोच कागजमा टिपोट गर्नुहोस्। सोच टिपोट गर्ने क्रममा सोचलाई सेन्सर नगर्नोस्। मस्तिष्क खाली गर्ने प्रयत्न गर्नोस्। अनि त्यसपछि कागजलाई च्यातेर वा कच्याककुचुक्क बनाएर डस्टबिनमा फालिदिनुस्। यदि तपाईं कागज खेर फाल्न चाहनुहुन्न भने आफ्नो सम्पूर्ण नकारात्मक सोच कम्प्युटर, ल्यापटप अथवा मोबाइलमा लेखेर डिलेट गर्न सकिन्छ।

Leave A Comment