हाम्रो नियति प्रकोप र डोजर विकास

बिहिबार, ०८ साउन २०७७, १२ : ५४ विश्वमणि पोखरेल
हाम्रो नियति प्रकोप र डोजर विकास

‘मनसुन र भनसुनले चलेको देश नेपाल’ भन्नुका पछाडि कारण छन्। मनसुन राम्रोसँग वर्षिएन हाम्रा भिरपाखा र तराईका तरेलीमा हरियो उम्रदैन। तराईका फाँट र पहाडका बेशी बाँझो बस्छन्। रोपाईं हुँदैन। नेपालको प्रमुख उत्पादन धान केही दशक अघिसम्म निर्यात हुन्थ्यो, अहिले परिस्थिति बद्लिएको छ। ठूलो परिणाममा चामल आयात भइरहेको छ। जे जति उत्पादन भए पनि अहिलेसम्म नेपालको प्रमुख बाली धान हो। नेपालीको प्रमुख खान्की पनि भात हो। नेपालको उत्पादनले चामलको आयातलाई केही हदसम्म नियन्त्रण गरेको छ। किसानी समाजमा असार, साउनका महिनालाई मानो रोपेर मुरी फलाउने याम भनिन्छ। त्यसैले मनसुन जसले सामान्यतः जेठ दोस्रो सातादेखि असोज दोस्रो सातासम्मका चार महिना वर्षा गराउँछ, त्यही वर्षा एकातिर सुन फलाउने माध्यम बन्दछ, अर्को तर्फ बाढी, पहिरो र डुबानको स्थिति निम्त्याउँछ, काल बनेर उर्लन्छ।

पछिल्लो दुई साता मनसुन निकै सक्रिय रह्यो। खेत रोप्न आवश्यक भन्दा अधिक पानी वर्षियो। अर्कोतर्फ मनसुनी वर्षाको प्रभावले मुलुकका विभिन्न क्षेत्रमा उग्ररुप लियो। सिन्धुपाल्चोक, तनहुँ, म्याग्दी तथा संखुवासभा जिल्लामा गएका ठूलाठूला पहिराले २९ असारसम्ममा ९३ जनाको मृत्यु भएको छ। बाढीमा दुई जनाको ज्यान गएको छ भने बाढीपहिरोमा परेर बेपत्ता हुनेको संख्या ५१ छ। नेपालमा जेठ ३० मा मनसुन प्रवेश गरेको मानिएको छ। यस अर्थमा एक महिनाको अवधिमा भएको मानवीय क्षति उच्च हो। विगत वर्षको तुलनामा यो वर्ष पहिरोको प्रकोप धेरै देखिएको छ। अहिले मनसुनको एक महिना नाघेको छ। बाँकी चार महिनामा यसको स्वरुप कस्तो हुने हो, आँकलन गर्न सकिन्छ। त्यसैले के कति क्षति हुन्छ, त्यो पनि अनुमान गर्न सकिन्न। मनसुनका शितलता र उग्रता दुवै छन्। यो वर्ष कुन पक्षको प्रवलता रहने हो त्यसैमा हाम्रो बाली वनस्पति र मानवीय जीवनको भविष्य छ।

हाम्रो देश मनसुन जत्तिकै अर्थ राख्ने प्रवृत्ति हो, भनसुन। हिजो राणाहरुको चाकरीतन्त्रदेखि, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सबै राजनीतिक व्यवस्थाका र कालमा भनसुुनले प्रवलता प्राप्त गरेको देखिन्छ। आसेपासे, नातापाता, आफ्नाले अवसरहरु पाउने परम्परा यही भनसुन प्रवृत्तिको उपज हो। हामी नेपाली काम, कर्म, क्षमता भन्दा पनि चिनजान, पहुँचलाई बढी महव दिने गर्दछौँ। नेपाली समाजको नियति हो। यस अर्थमा अहिले मनसुनको उग्रताबीच हामी दुइटा नियतिको शिकार छौं भन्न सकिन्छ। 

प्राकृतिक प्रकोप हाम्रो नियति हो। हामी संसारकै उच्च भूभागमा बस्छौं, मुलुकमा भिरालोपन व्याप्त छ। तराईका मैदान समुद्र सतहबाट करिब ४÷५ सय मिटरको उचाइमा रहेको छ। उता उच्च हिमालको उचाइ ६ देखि ८ हजार मिटरको हाराहारीमा छ। उत्तर दक्षिण १६० किलोमिटरको चौडाइमा यति धेरै अग्लोपनबाट कस्तो भिरालोपन हुन्छ अनुमान गरौं। यसबाहेक हाम्रो भूगोल स्थिर छैन। करोडौँ वर्ष अघिदेखि यसको सक्रियता जारी छ। भूकम्प त्यही चञ्चलताको उपज हो।

भौगर्भिक चलखेलकै कारण हिमाल बनेका हुन्, पहाड बनेका हुन् र खोलानालाको वहावले माटो काट्ने, थोपर्ने लाखौँ वर्षदेखिको प्रक्रियाबाट तराईका मैदान बनेका हुन। अध्ययनहरुका अनुसार  प्रकोप जोखिमका हिसाबले नेपाल विश्वमा बीसांै स्थानमा, बाढी पहिरोको जोखिममा ३० औँ स्थान र भूकम्पीय जोखिममा ११ औँ स्थानमा पर्दछ। हिमालका काखमा दुई दर्जन जति हिमनदी जुनसुकै बेला बिस्फोट हुने स्थितिमा छन्। मन्द गतिमा उचालिइरहेको हिमालय पर्वतमाला, हिमाल, पहाडका भिरालोपन, कमजोर र कलिला पहाड अनि छोटो समयमा हुने अत्यधिक मनसुनी वर्षाका कारण प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको छ नेपाल। कहाँ, कहाँ कस्तो प्रकोपको जोखिम छ ? त्यसबारे अध्ययन भएका छन्। गोरखा भूकम्पपछि अध्ययन विशेष गरेर भूकम्प प्रभावित जिल्लाहरुमा भौगर्भिक अध्ययन भएर कतिपय स्थानबाट बस्ती स्थानान्तरण गर्नुपर्ने प्रतिवेदन तयार गरिए। त्यस्ता प्रतिवेदन त्यत्तिकै थन्किए, कार्यान्वयन भएन।

सिन्धुपाल्चोक, दोलखामा केही वर्ष यता प्रकोपका धेरै घटना देखिन्छन्। यसका पछाडि अरनिको राजमार्गको एलान्इमेन्ट त कारण होइन ? अहिलेको डोजर विकास कति कारक बनेको छ, स्थिर माटो चलाएर कमजोर बनाउने मामलामा ? सिन्धुपाल्चोकको खाँडीचौर भन्दा उत्तर पूर्व अरनिको राजमार्ग लाखौँ वर्ष अघिको हिमपहिरोमाथि बनेको कुरा धेरै अगाडिदेखि चर्चाको छ। त्यो राजमार्गलाई राम्ररी सञ्चालन गर्ने हो भने तल गड्तिर होइन माथि सिरानतिर सार्नुपर्ने हुन्छ। त्यता ध्यान दिइँदैन। हामी कहिले जुरेको नियति भोग्दछौ, कहिले लार्चामा दुखद् घटना व्यहोर्छौं।

खाँडीचौरबाट जिरी जाने स्विस सरकारले बनाएको बाटो र त्यहीँबाट तातोपानी जाने अरनिको राजमार्गमा देखिएका प्रकोपबारे तथ्यगत अध्ययन गर्दा निचोडहरु निस्कन्छन्, त्यसमा तत्परता कसले लिने ? दोष मनसुनलाई मात्र दिने होइन, हाम्रो भूबनोट अनुसारको पूर्वाधार विकासमा काम किन गरिदैन ? जथाभावी पाखा खोस्रने डोजर इन्जिनियरिङले पहिरो नित्म्याउन कति भूमिका खेलेका छन् भनी किन अध्ययन गरिँदैन ? त्यसको लेखाजोखामात्र होइन, बन्देज लगाउने काम कसले गर्ने हो ? सरकारका थरिथरिका निकाय छन् प्रकोपबारे अध्ययन गर्ने।

खानी तथा भूगर्भ विभागले वर्षेनी विभिन्न स्थानको प्रकोप नक्सा प्रकाशित गर्देैआएको छ। नक्सा एकातिर, भौतिक निर्माण अर्कोतर्फ। सरकारको जल उत्पन्न प्रकोप न्यूनीकरण महाशाखा तथा गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्था प्राधिकरण पनि छन्। सबै जसोको काम अंग्रेजीमा रिपोर्ट बनाउने, बजेट सक्नेमा केन्द्रित देखिन्छन्। अहिलेसम्म सरकारी निकायबाट  भएका अध्ययनहरुको कार्यान्वयन भएको थियो भने प्रकोपको ठूलो जोखिममा हामी हुँदैनथ्यौं। विकासको पर्याय सडक बनेको समयमा विषयविज्ञका सुझाव सुनिँदैन, प्रतिवेदनहरुमा धुलो जम्ने स्थिति आउँछ। ग्रामीण विकास तथा कृषि सडक आयोजनाका नाममा जथाभावी डाँडापाखा खन्ने–खोतल्ने काम रोकिनु पर्दछ भन्ने आवाज लामो समयदेखि उठेको हो।

डोजर इन्जिनियरिङको विकासलाई सबैभन्दा बढी प्राथमिकता स्थानीय विकास मन्त्रालय अन्र्तगतको यही आयोजनाले दिएको हो। अहिले संघीय नेपालमा पनि डोजर इन्जिनियरिङ जारी छ। प्रकोप जसले भोग्ने हो, समाधान खोज्न पनि ऊ आफैँ सक्रिय हुनुपर्दछ। त्यसका लागि स्थानीय तहको सक्रियता आवश्यक हुन्छ। हामी आफू बसेको जमिन कस्तो छ, भूबनोट कस्तो छ, कस्ता–कस्ता जोखिम छन्, त्यसबारे अब स्थानीय तहका जिम्मेवार चनाखो हुनुपर्दछ। प्रत्येक वडा कार्यालयहरुले आफ्ना वडाको प्रकोप नक्सा तयार गरेर त्यसै अनुसार बसोबासको व्यवस्था गर्ने, जमिनको प्रकृति र बनोटअनुसार विषयविज्ञको सुझावअनुसार मात्र पूर्वाधार विकासको काम गर्ने हो भने प्रकोप न्यूनीकरण सम्भव छ। 

 

Leave A Comment