थिलथिलो गुरुङ फिल्म उद्योग

बिहिबार, ०८ साउन २०७७, ०१ : ३२ मनोज घर्तीमगर
थिलथिलो गुरुङ फिल्म उद्योग

कोरोना महामारी हुन्थेन भने पोखरा आसपासमा यतिबेला भटाभट गुरुङ फिल्म छायांकन भइरहेको दृश्य देख्न सकिन्थ्यो। फिल्म छायांकनका लागि यो समय उत्तम हो। नेपाली फिल्म उद्योगमा दोस्रो स्थान आगेटको गुरुङ फिल्म उद्योग यतिबेला कोरोना महामारीले थिलथिलो भएको छ। बनिसकेका फिल्म प्रदर्शन हुन पाएका छैनन्। बन्नेवाला फिल्म छायांकन हुन सकेका छैनन् भने केही फिल्म आधा काम भएर रोकिएका छन्। 

एकाधले आशाको त्यान्द्रो देखाए पनि एकपछि अर्को ‘फ्लप’का कारण नेपाली फिल्म उद्योग ओरालो लागिरहेको बेला गुरुङ फिल्म उद्योग चम्किएको थियो। गुरुङ फिल्म उद्योगको केन्द्र पोखरामा भटाभट एकपछि अर्को फिल्म बन्थे। फिल्मकर्मीबीच फिल्म बनाउन र प्रदर्शन गर्न तछाडमछाड नै हुन्थ्यो। कहिलेकाहीँ त फिल्म प्रदर्शन गर्ने समय जुधाएर एकआपसमा बाझाबाझ हुने अवस्था पनि थियो। ‘कोरोनाले गर्दा गुरुङ फिल्म उद्योग यतिबेला थिलथिलो भएको छ। फिल्मका कुनै पनि गतिविधि गर्न सकिएको छैन,’ गुरुङ फिल्म एसोसिएसन, नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ भन्छन्, ‘हाम्रो फिल्म उद्योगलाई कसरी चलायमान गराउन सकिन्छ भन्नेबारे छलफल गरिरहेका छौं।’

कोरोना सन्त्रास आउनु अघि पाँचवटा गुरुङ फिल्म प्रदर्शनमा आउनेवाला थियो। तीनवटा फिल्म सुटिङमा जाने तयारी गरिरहेका थिए। तर, ती सबै फिल्मलाई कोरोनाले डामाडोल बनाइदिएको छ। यसबाट करिब डेढ करोड रुपैयाँको लागत फ्रिज भएर बसेको छ। त्यसो त गुरुङ फिल्मको लागत पनि बढ्दै गइरहेको थियो। दुई दशकअघिसम्म दुई लाखमा बन्ने गुरुङ भाषाको एउटा फिल्मको लगानी अहिले एउटैको करोडसम्म पुग्ने भएको थियो। विसं. २०६५ वैशाख २५ गते गुरुङ फिल्म एसोसिएसन, नेपाल स्थापना गरेर निर्माता, निर्देशक, प्राविधिक, कलाकार व्यावसायिकतामा लागेपछि गुरुङ फिल्मले झन् व्यवस्थितरूपमा उद्योगको रुप लिन सुरु गरेको हो। विसं २०५२ सालमा युवराज मास्की रानामगरको निर्देशनमा पहिलो गुरुङ फिल्म पाते (माइली) बनेको थियो। लगत्तै गुरुङ समुदाय फिल्म उद्योगमा लगानी गर्न हौसियो। डाँफे बुढाको नामले ख्याती कमाएका कलाकार क्याप्टेन मीनबहादुर गुरुङले न्हाम्स्योन्होरी (कुहिरोभित्र) बनाए। त्यसपछि गुरुङ फिल्मले बिस्तारै गति लिन थाल्यो। ‘पछिल्लो समय वर्षेनी ८ वटा गुरुङ फिल्म बन्थे। यसले फिल्म निर्देशक, कलाकार, लाइटम्यान, कोरस, प्राविधिक लगायत सबै गरी करिब तीन सयजना गुरुङ फिल्मकर्मी चलायमान हुन्थे,’ निर्देशकसमेत रहेका जिफान अध्यक्ष भोजबहादुर भन्छन्, ‘अहिले गुरुङ कलाकारहरु पूर्णरुपमा बेरोजगार भएर बसेका छन्। कतिपयको घरमा चुल्हो बल्न पनि गाह्रो भइरहेको छ।’ 

कोरोनाअघि गुरुङ फिल्म बन्ने लहरै चलेको थियो। नेपाली फिल्म उद्योगपछि सबैभन्दा धेरै फिल्म बन्ने गुरुङ फिल्म उद्योगमा लगानी पनि धेरै भइसकेको छ। पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने पनि गुरुङ फिल्मको बढ्दो गतिलाई पुष्टि गर्छ। गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानमा दर्ता भएको तथ्यांकलाई मान्ने हो भने २०७१ मा ७ वटा फिल्म बने, २०७२ मा आएर यो संख्या १३ पुग्यो भने २०७३ मा १८ मा उक्लियो। फिल्म बन्ने क्रम निरन्तर उकालो लागेको देखिन्छ। २०७४ मा ९ फिल्म बने भने २०७५ मा १७ पुगे।  २०७६ मा ७ वटा फिल्म बनिसकेका थिए भने अरु बन्ने तयारीमा थिए। कोरानाकै कारण अरु फिल्ममा ब्रेक लाग्यो। गुरुङ फिल्मकर्मीबीच अघोषित प्रतिस्पर्धाजस्तै देखिएको थियो फिल्म बनाउन। फिल्म निर्माणको क्रम बढ्दा उनीहरुले पनि व्यावसायिकताको स्वाद लिन पाएका थिए। ‘गुरुङ फिल्म उद्योग दिन प्रतिदिन चम्किँदै थियो। अहिले ४ वटा फिल्म फ्लोरमा जानेवाला थिए,’ गुरुङ फिल्म एसोसिएसनका महासचिव मनोज भन्छन्, ‘गुरुङ फिल्म बनाएरै बाँच्ने कलाकार, निर्देशक, प्राविधिक थुप्रै थिए। स्टुडियोले पनि राम्रै काम पाएका थिए। अहिले ती सबै बेरोजगार छन्। गुरुङ फिल्म उद्योग नै धरासयी भएको छ। फिल्ममा गरेको लगानी पनि चल्न पाएन।’

सुरुमा आफ्नो भाषा, संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने भन्दै गाउँ परिवेशलाई केन्द्र बनाएर गुरुङ फिल्म बनाइन्थे। आजभोलि यसको धार पनि बदलिएको छ। आफ्ना मुद्दा स्थापित गर्न, विभेदमा पारिएका र मनोविज्ञानका कथासम्मका गुरुङ फिल्म बन्छन्। अझ बढी राजनीतिक मुद्दालाई पनि फिल्ममा उत्तिकै प्राथमिकता दिन थालिएको छ। कृष्णकुमार गुरुङले निर्देशन गरेको तमु ह्युला (गुरुङ राज्य) र ‘यम्फावती’ पछिल्ला उदाहरण हुन्। तमु ह्युलामा २७ लाख र यम्फावती निर्माणमा ८० लाख लगानी रहेको छ। ‘सुरु÷सुरुमा दुई चार लाखमा पनि फिल्म बने। पारिश्रमिकमा खासै खर्च हुन्थेन। सुटिङ जाँदा गाउँमा खान बस्न समस्या थिएन। सबै सहयोगी थिए, उतिबेलाको फरम्याट नै त्यस्तो थियो,’ भकारी फिल्म प्रोडक्सनका नामबाट ८ वटा गुरुङ फिल्म बनाइसकेका निर्देशक कृष्णकुमार गुरुङ भन्छन्, ‘अहिले सबै व्यावसायिक भए। जसले गर्दा लगानी बढी हुन थाल्यो। हाम्रो फिल्म उद्योग निकै चलायमान थियो। कोरोनाले खत्तमै बनाइथियो।’ 

गुरुङ फिल्मलाई उद्योगकै रुपमा विकसित गराउन डिजिटल प्रविधिले अझ सजिलो बनाइदिएको थियो। पहिले भिएचएस ९००० र भिएचएस ३००० का क्यामेराले खिचिने फिल्म अहिले सेभेन डि, मार्क ३, मार्क ५,  भिएफएक्ससम्म पुगिसकेका छन्। प्राविधिक सँगै विषयवस्तु, कलाकारको अभिनय, निर्देशकीय क्षमतामा पनि धेरैजसो खारिएका छन्। गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानका संस्थापक अध्यक्ष चर्चित अभिनेता माओत्से गुरुङका अनुसार अहिले सरदर वर्षमा १५÷२० वटा गुरुङ फिल्म बन्छन्। सुरुमा पाँच÷छ लाखमा फिल्म बन्थे भने अहिले ती फिल्ममा कम्तीमा २० देखि बढीमा ४० लाखसम्म लगानी हुन्छ। सरदरमा गन्ने हो पछिल्लो समय एउटा फिल्ममा ३० लाख लगानी पर्न आउँछ। अहिलेसम्म करिब १ सय ४० वटा फिल्म बनिसकेकाले गुरुङ फिल्ममा झन्डै २५÷३० करोड लगानी भइसकेको छ। ‘नेपालीपछि सबैभन्दा ठूलो फिल्म उद्योग गुरुङ फिल्म नै हो’ बहुचर्चित फिल्म कृपा, तिनागा (आज भोलि), सुराक, नकइँ फु, पुरानो डुङ्गा, मनको बाबरी लगायतका फिल्म निर्देशन÷निर्माण गरिसकेका बहुचर्चित अभिनेता माओत्सेको दाबी छ, ‘सरदरमा वार्षिक साढे दुई करोड लगानीलाई कम भन्न मिल्दैन। तर, अहिले कोरोनाले गर्दा सबै कुरा ठप्प बनाइदियो’ माओत्सेले केही समयअघि एक करोडभन्दा बढीको लगानीमा नेपाली फिचर फिल्म ‘पुरानो डुंगा’ बनाएका थिए। जसले बजार पिटेको थियो। 

गुरुङ फिल्मको बजार गाउ“घरदेखि विदेशसम्म फैलिएको छ। यसले गर्दा पनि फिल्म बनाउनेहरु हौसिएका हुन्। अधिकांश गुरुङ फिल्मले लमजुङ, गोरखा, पर्वत, तनहु“, मनाङ, मुस्ताङ, स्याङ्जा आदि जिल्ला र पोखरा, काठमाडौंलगायतका शहरहरुमा हुने च्यारिटी शोबाटै लगानी उठाउने गरेका छन्। यो बाहेक हङकङ, बेलायत, जापान, दुबई, कोरिया, अमेरिका, क्यानडालगायतका देशमा हुने च्यारिटी शोले फिल्मकर्मीको गोजी गरम हुन्थे। ‘प्रोजेक्टरबाट गाउ“–गाउ“मा प्रदर्शन गर्ने चलन पनि बढेको थियो। कोरोनाका कारण मासमा जानै मिलेन। फिल्मसम्बन्धी सम्पूर्ण क्रियाकलाप ठप्पै छ’ गुरुङ फिल्म एसोसिएसन, कास्की शाखाकी सल्लाहकार एवं निर्देशक जसु गुरुङ भन्छिन्। अहिले पोखरामा गुरुङ फिल्म निर्माण गर्ने दुई दर्जनभन्दा बढी कम्पनी छन् निर्देशक, कलाकार, प्राविधिक, निर्मातालगायत गरी पाँच सय ५० भन्दा बढीको जमात तयार भइसकेको छ। जिफानले हङकङ, जापान, काठामाडौं, लमजुङ र पोखरामा शाखा विस्तार गरिसकेको छ भने अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजनामा छ। गुरुङ फिल्मबाटै उदाएका चर्चित नायिका सिपोरा गुरुङ, रजनी गुरुङ, रिश्मा गुरुङ, अनु गुरुङलगायतले त नेपाली फिचर फिल्ममा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेका छन्। तर, यति ठूलो गुरुङ फिल्म उद्योगलाई अहिले कोरोनाले थपक्कै बनाइदिएको छ। तैपनि गुरुङ फिल्मकर्मी त्यत्तिकै बसेका छैनन्। यस उद्योगलाई चलायमान बनाउन जिफानले केही नयाँ योजना ल्याएको छ। 


सहयोग उठाएर छोटा फिल्म बनाउने 
गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले छोटा फिल्म निर्माण गर्ने अभियान चलाउने भएको छ। कोभिड —१९ को महामारीका कारण ठप्प भएको गुरुङ फिल्म उद्योगलाई चलायमान बनाउन यसो गर्न लागिएको हो। जिफानका अध्यक्ष भोजबहादुर गुरुङका अनुसार यसका लागि विभिन्न व्यक्ति विशेष तथा संघसंस्थाबाट आर्थिक सहयोग जुटाइनेछ। त्यो सहयोग रकमबाट गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मूर्त अमूर्त संस्कृति, आफ्नै प्रथाजनिक कानुन, मूल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै विभिन्न तमु (गुरुङ) संघ संस्थाहरुको मर्मलाई छोटा फिल्मनिर्माण गरिनेछ। ‘यसका लागि तमु धि युकेले प्रशंसा गर्दै १ लाख ५० हजार रुपैयाँ सहयोग पठाइसकेको छ,’ जिफान अध्यक्ष भोजबहादुर भन्छन्, ‘हङकङ लगायतले सहयोग पठाउँदैछन्। हामीले हाम्रै संघसंस्थालाई पत्राचार गरेरै सहयोग माग गरेका छौं।’

गुरुङ फिल्म उद्योगमा रहेका श्रमजीवीहरुलाई कोभिड १९ को कारणले दैनिकीमा परेको समस्यालाई फिल्म निर्माणको माध्यमबाट सक्रिय र यसै क्षेत्रमा निरन्तर क्रियाशील रहन प्रेरित गर्ने जिफानको उद्देश्य । २५ वर्षभित्र बनेका गुरुङ फिल्मलाई पुनरावलोकन गर्दै अब बन्ने फिल्मको शैली तथा कथा लेखनमा रचनात्मक सुधार गरिने जिफानका महासचिव मनोज गुरुङले जानकारी दिए। ‘अहिलेसम्म एउटै धारमा फिल्म बनाइएको रहेछ। अब मौलिकता खोज्ने तथा समुदायमा मात्र सीमित गुरुङ फिल्मको दायरा फराकिलो पार्न स्वदेश तथा विदेशमा तमु चलचित्रहरुको महोत्सव गर्ने योजनामा छौं,’ महासविच गुरुङ भन्छन्, ‘फिल्मलाई गैर गुरुङ समुदायबीच पनि लैजाने अनि फिल्म निर्माणमा समेत उनीहरुलाई सहभागिता गराउने योजना छ।’ यो अभियानले यो क्षेत्रमा क्रियाशील भएका कलाकार, प्राविधिक, निर्देशक, निर्माता गरी करिब ३ सयजनालाई फेरि चलायमान बनाउने जिफानको अपेक्षा छ। ‘हामीले सहयोग उठाएको रकम थोरै थोरै भए पनि दिएर छोटा फिल्म बनाउन लगाउनेछौं,’ जिफानका अध्यक्ष भोजबहादुरले अभियानको योजना सुनाए, ‘यसबाट फिल्मकर्मी पनि चलायमान हुने भए भने बेरोजगार भएकाहरुलाई दुई चार सुको आम्दानी पनि हुने भयो। यही क्षेत्रमा लागिरहन प्रेरणा पनि हुने भयो।’

Leave A Comment