दैनिक व्यायाम गर्नाले खेलाडीमा शारीरिक तथा मानसिकरुपमा सकारात्मक सोचले प्रभाव पार्छ। व्यायामले शरीरका ‘कोषमा’ इन्सुलिनको संवेदनशीलतामा वृद्धि गर्छ।
व्यायामले शरीरभित्रका आन्द्रा, भुँडीका ‘बोसेयुक्त पिण्ड’ घटाउँछ। यसको अर्थ आन्द्रामा बोसो जम्मा हुन पाउँदैन। त्यसैगरी मुटुजन्य धमनी शीरा प्रणालीको काममा अझ क्रियाशीलता बढाउँछ।
तर, महिलाले तीव्र तथा कडा किसिमको व्यायाम गर्दा भने रजश्वलाको ‘ल्युटिअल’ तहको दोषले रजश्वला नहुने, कम हुने तथा रजश्वलाजन्य कार्यहरुमा कमी हुने सम्भावना बढ्छ।
कडा किसिमको खेल तथा व्यायामले महिलाको रजश्वलामा रक्तप्रवाह कम हुने र नहुने पनि सम्भावना हुन्छ। कतिपय महिलाको त रजश्वलाको नियमित समय नै पछाडि धकेलिएर रजश्वलाको चक्र नै लामो हुनसक्छ।
रजश्वला नियमित र अनुकूल नहुनुमा विभिन्न किसिमका हार्मोन तथा ‘पेपटाइट्स’हरुले भूमिका खेल्छन्। जसमा कडा वा हल्का किसिमको व्यायाममा भर पर्छ।
रजश्वला चक्रको हेक्का
प्रतिस्पर्धात्मक खेल जित्नका लागि व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा फिट छ वा छैन भन्ने कुराले बडो महत्वपूर्ण भूमिका खेलेको हुन्छ। रजश्वलाको अवस्थामा महिलामा तनाव उत्पन्न हुनु स्वाभाविकै हो। यस्तो अवस्थामा खेल खेल्दा नतिजा नकारात्मक आउने सम्भावनालाई नकार्न सकिँदैन।
त्यसैले सम्बन्धित व्यक्ति तथा निकायले खेलाडीको खेल खेल्ने समयमा रजश्वला चक्र पर्छ वा पर्दैन भन्ने कुरा खेलाडीलाई सोध्नुपर्छ। खेलाडीले पनि सम्बन्धित व्यक्ति तथा निकायलाई आफ्नो रजश्वला चक्रका बारेमा बताउनु उचित हुन्छ। यदि प्रतिस्पर्धात्मक खेल खेल्ने समयमा रजश्वला चक्र परेको अवस्थामा वैकल्पिक खेलाडीको व्यवस्था गर्नु उचित हुन्छ। रजश्वला भएको अवस्थामा सामान्य खेल अभ्यास गर्न भने सकिन्छ।
प्रतिस्पर्धात्मक खेल खेल्ने महिला खेलाडीका लागि व्यवस्थापकले सरसफाइका सामानको समायोजन गरिदिनुपर्छ। रजश्वला हुँदा सामान्यतः २४ घण्टामा एउटा प्याड प्रयोग गरे पुग्छ। २४ घण्टामा तीनवटाभन्दा बढी प्याड फेर्नुपर्ने अवस्था आए त्यसलाई असामान्य अवस्थाका रुपमा लिइन्छ। यस्तो अवस्थामा चिकित्सकसँग राय लिनु नै उचित हुन्छ।
रजश्वला भएको अवस्थामा प्रतिस्पर्धात्मक खेल खेल्नुपरेको अवस्थामा त्यस्ता महिला खेलाडीको यौन जोडी भए यौन जोडी पनि सँगै हुनु उचित हुन्छ। यौन जोडी सँगै हुँदा महिला खेलाडीमा मानसिकरुपमा हौसला मिल्न सक्छ। तनाव कम हुँदा नतिजा आफ्नो पोल्टामा पार्न सहयोग मिल्छ। तर, रजश्वलामा भएको अवस्थामा यौन सम्पर्क भने नगर्नुनै उचित हुन्छ।
व्यवसायिकरुपमा खेल खेल्ने महिला खेलाडीको प्रतिस्पर्धाको तनावका कारण रजश्वलामा अनियमितता भए पनि ६८ देखि ९८ प्रतिशत महिलाको रजश्वला सामान्य अवस्थामा आउँछ। त्यसैले खेलको समयमा रजश्वला अनियमितता भयो भन्दैमा अतिहाल्नुपर्दैन्।
खेल हार्ने समय
रजश्वला भएको अवस्थामा यौनजन्य हार्मोनहरुमा उतारचढाव भइरहन्छ। जसले महिलाको तौलमा पनि उतारचढाव आउँछ।
पूर्व रजश्वलाको अवस्थामा ‘स्टेरोइड’ हार्मोनको सन्तुलनमा फरक आउँछ। रजश्वलाको अवस्थामा विशेषगरी ‘प्रोजेस्टेरोन’को कमीका कारण ‘स्ट्रोजेन’को मात्रा बढ्छ। परिणामस्वरुप महिलाको शरीरमा पानी र नुनको शोषणमा वृद्धि भई मिर्गौलाको नेफ्रनबाट नुनको मात्रामा वृद्धि हुन्छ। यसको अर्थ रजश्वलाको समयमा शरीरमा पानीको मात्रा बढी हुन्छ। त्यसैले अघिपछिको समयमा भन्दा रजश्वलाको समयमा महिलाको तौलमा वृद्धि हुन्छ। जसका कारण खेल खेल्न पनि असहजता उत्पन्न हुन्छ।
यस्तो अवस्थामा श्वासप्रश्वासको मात्रा पनि घटी यसको दरमा वृद्धि हुन्छ। जसले श्वासप्रश्वासमा असहजता निम्तन्छ। परिणामस्वरुप शारीरिक तथा मानसिक ऊर्जामा कमी आई प्रतिस्पर्धामा खेल कौशल प्रदर्शन गर्न मुस्किल पर्छ। पूर्व रजश्वलाको समयमा पनि पेट दुख्ने भएकाले यस्तो अवस्थामा पनि प्रतिस्पर्धात्मक खेल खेल्नु उचित हैन।
रजश्वलाको अवस्थामा शारीरिक तथा मानसिक तनावका कारण प्रतिस्पर्धामा असफल हुने तनाव उत्तिकै हुन्छ। जसले असफलताको जोखिम हुन्छ।
खेल जित्ने समय
रजश्वलापछिको अवस्थामा भने रगतमा ‘स्ट्रोजेन’को मात्रा बढ्छ। जसले शरीरका कार्यलाई सकारात्मकतिर डो¥याउँछ। विशेषगरी मुटुका धमिनी र शीराजन्य श्वासप्रश्वास स्नायुप्रणालीमा सकारात्मक प्रभाव पार्छ। यसले शारीरिक तथा मानसिक क्षमतामा वृद्धि हुन्छ।
त्यसैगरी भ्रुण निष्कासनपछि (रजश्वला भएको १४ दिनपछि) को अवस्थामा मुटुका शीरा र धमनी, प्रणालीको क्षमतामा अतुलनियरुपमा वृद्धि हुन्छ। रजश्वला भएको १४ दिनपछि महिला खेलाडीको शरीरको प्रणालीले भार थाम्न सक्ने उच्चतम बिन्दुमा पुगेको हुन्छ। त्यसैले रजश्वला भएको १४ दिनपछि महिला शारीरिक तथा मानसिकरुपमा मजबुत हुने भएकाले यस्तो अवस्थामा प्रतिस्पर्धात्मक खेल खेल्दा नतिजा आफ्नो पोल्टामा पार्ने सम्भावना बलियो हुन्छ। त्यसैले महिला खेलाडीले प्रतिस्पर्धात्मक खेलको छनोट गर्दा आफ्नो रजश्वला हुने समय, डिम्ब निष्कासनको समयका बारेमा थाहा पाउनु जरुरी छ।
हर्मनले तनाव
महिला प्रजनन् प्रणालीमा असर कम गर्ने, बहुआयामिक तह घटाउने विशेषगरी ‘हाइपोथालामो’जन्य ‘पिट्युटरी एड्रोनल’ अक्ष नै हो। कर्टिशोलले पिट्युटरी ग्रन्थीको ‘ल्युटेनाइनाइजिङ’ हार्मोनलाई दबाएर राख्छ भने भ्रुणाशयको स्ट्रोजेन र प्रोजेस्टेरोन श्रावलाई दबाएर राख्छ। जसले तोकिएका उत्तकहरुलाई स्ट्रोजेनका संवेदनशीलतामा अवरोध पु-याउँछ। त्यसैले बढेको कर्टिशोलको तहले रजश्वलाजन्य क्रियाकलापलाई व्यवधान पु-याउन महत्वपूर्ण भूमिका खेल्छ। यसरी रजश्वलामा व्यवधान पुग्नुको प्रमुख कारण नै शारीरिक तथा मानसिक तनाव हो। रगत चुहिएको अवस्थामा समेत महिला खेलाडीमा तनावको स्थिति उत्पन्न हुन्छ।
चिन्ता, उदासिनता, कुपोषण, खानापानमा असन्तुलन, जीवनशैलीको क्रमभंगता, दीर्घकालीन रुपमा गरिने कडा किसिमका व्यायामले रजश्वलामा असन्तुलन ल्याउँछ। यस्ता विषयमा पनि ध्यान दिन आवश्यक हुन्छ।
त्यसैले कुनै पनि प्रतिस्पर्धात्मक खेल खेल्नुपूर्व व्यक्ति शारीरिक तथा मानसिकरुपमा खेल खेल्नका लागि पूर्णरुपमा तयार छ वा छैन भन्ने कुरामा बडो ध्यान दिन आवश्यक छ।
प्रस्तुतिः उपेन्द्र खड्का
Leave A Comment