कोरोना भाइरस(कोभिड–१९) संक्रमणको महामारीले सामान्य अवस्थामा भन्दा गर्भवती भएको अवस्थामा तनाव बढ्ने चिकित्सकको तर्क छ। गर्भवती भएको अवस्था त्यसै पनि तनावको अवस्था हो।
त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझा गर्भवती महिलालाई रोगको महामारीको यस्तो अवस्थामा आफूलाई स्वास्थ्य समस्या आए के गर्ने, कहाँ जाने भन्ने तनावले सताउन सक्ने बताउँछन्। डा. वझाले भने, ‘कोभिड–१९ को विपत्तिले गर्भवतीमा तनाव बढ्न सक्छ।’ त्यसैले महामारीको यस्तो अवस्थामा गर्भवतीले विशेष सावधानी अपनाउनुपर्ने उनी सुझाउँछन्।
त्यसो त मनोविद् गोपाल ढकाल पनि महामारीको यस्तो अवस्थामा सामान्य व्यक्तिमा भन्दा गर्भवतीलाई बढी तनाव पैदा हुनसक्नेतर्फ सजग गराउँछन्। ढकालले भने, ‘गर्भवती भएको अवस्थामा महामारीका कारण शारीरिक र मानसिक दुवै किसिमले तनाव उत्पन्न हुन सक्छ।’ उनी महामारीले मानसिक तनाव थपिने बताउँछन्।
गर्भावस्थामा शारीरिक तनावमाथि मानसिक तनाव थपिँदा मनोवैज्ञानिक असर पुग्न सक्नेतर्फ डा. वझा सजग गराउँछन्। डा. वझाले भने, ‘गर्भवतीलाई रोगको संक्रमणको अवस्थामा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न जाँदा त्यहीँबाट पो कोरोना सर्ने हो कि भन्ने तनावले सताउनु स्वाभाविकै हो।’
महामारीको यस्तो अवस्थामा गर्भवतीले स्वास्थ्य संस्थामा सकेसम्म कम जानु नै उचित हुने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. गेहनाथ बरालको सुझाव छ। गर्भ रहेको पहिलो तीन, पाँच, सात र आठ महिनामा भने गर्भ जाँच गराउन जान डा. बरालको सुझाव छ। डा. बरालका अनुसार पहिलो तीन महिनामा अल्ट्रा साउण्ड गर्ने तथा रगत जाँच्नु पर्ने हुन्छ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञका अनुसार पाँच महिनामा बच्चाको शरीर कसरी विकास भएको छ भन्ने बारेमा थाहा पाउन अल्ट्रासाउण्ड गरिन्छ। त्यसैगरी साल लगायतको विकासको अवस्था सात महिनामा हेर्न सकिन्छ। डा. बरालले भने, ‘आठ महिनामा बच्चा पूर्णरुपमा विकास भएको छ वा छैन भन्ने थाहा पाउन सकिन्छ।’
स्वास्थ्य समस्या भए, टाउको दुखे, रिंगटा लागे, योनिबाट रगत बगे, चिकित्सकले दिएको मिति भन्दा सुत्केरी हुने समय नाघेको अवस्थामा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्ने चिकित्सक सुझाउँछन्। चिकित्सकको मतअनुसार यस्तो महामारीको समयमा गर्भवतीले स्वास्थ्य अवस्था सामान्य भए हतारिएर अस्पताल पुग्नुपर्दैन।
आमामा तनाव, बच्चा अस्वस्थ
चिकित्सकका अनुसार गर्भवती महिलामा तनाव उत्पन्न भएको अवस्थामा गर्भको बच्चालाई समेत असर पर्ने गर्छ। गर्भपतनसम्मको अवस्था आउन सक्छ। ढकाल भन्छन्, ‘आमाले तनाब लिएको अवस्थामा गर्भमा रहेका बच्चामा समेत शारीरिक तथा मानसिक असर पुग्न सक्छ। यसमा सचेत हुन जरुरी छ।’
आमामा तनाव उत्पन्न भएको अवस्थामा गर्भमा रहेको बच्चाको शारीरिक तथा मानसिक वृद्धि–विकासमा नकारात्मक प्रभाव पर्ने जोखिम हुन्छ। आमामा तनाव उत्पन्न भएको अवस्थामा गर्भमा रहेको बच्चा शारीरिक तथा मानसिक रुपमा अस्वस्थ जन्मने जोखिम हुने भएकाले तनाव व्यवस्थापन गर्न मनोचिकित्सकको सुझाव छ।
डा. वझाले पनि यस्तो संक्रमणको महामारीको अवस्थामा तनाव व्यवस्थापन गर्ने विषयलाई नै जोड दिएका छन्।
तनाव व्यवस्थापनका उपाय
यस्तो महामारीमा गर्भवतीले तनाव व्यवस्थापनका विभिन्न टेक्निक भने अपनाउन सकिने मनोचिकित्सक बताउँछन्।
गर्भवतीले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनका लागि पोषणयुक्त खानपानमा निकै ध्यान दिनुपर्छ। डा. वझाले भने, ‘विभिन्न किसिमका भिटामिनयुक्त खानपान, दुध र दुधजन्य पदार्थ, फलफूल, हरियो सागपात, गेडागुडी, माछामासु सन्तुलित रुपमा खानुपर्छ।’
त्यस्तै पानी प्रशस्त पिउनुपर्छ। घाममा बस्दा ‘भिटामिन–डी’ पाइने भएकाले गर्भवतीलाई विशेषगरी बिहानीपखको घाममा बस्न चिकित्सक सुझाउँछन्। गर्भवती भएको अवस्थामा रासायनिक परिवर्तन हुने भएकाले त्यसको सन्तुलनको लागि खानापन तथा सन्तुलित व्यायामको आवश्यकता हुन्छ।
महामारीको अवस्थामा पोषणयुक्त खानपानको सहज उपलब्धता पनि नहुँदा आमा र बच्चाको स्वास्थ्यमा असर पुग्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। यस्तो अवस्थामा परिवारका सदस्यले जोहो गरेर गर्भवतीलाई पोषिलो खानपानको व्यवस्था मिलाइदिनुपर्ने हुन्छ।
गर्भवती भएको अवस्थामा शारीरिक तथा मानसिक रुपमा सक्रियताको आवश्यकता पर्ने भएकाले यस्तो अवस्थामा व्यायम पनि गर्नुपर्ने ढकाल बताउँछन्। घरबाहिर हिँडडुल गर्दा संक्रमणको डर हुन्छ। यस्तो अवस्थामा घर वरिपरि नै हिँडडुल गर्न चिकित्सकको सुझाव छ। गर्भावस्थामा नियमितरुपमा हल्का किसिमको व्यायाम गर्न चिकित्सक सुझाउँछन्। डा. वझाले भने, ‘हल्का किसिमको गर्नाले स्ट्रेस हर्मोन (कोर्टिसोल र एड्रिनालिन) कम हुन्छ।’ त्यसो त मनोविद् ढकाल पनि सन्तुलित व्यायामले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुनुका साथै शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सकिने सुझाउँछन्। जसले आमा र गर्भमा रहेको बच्चामा स्वास्थ्य लाभ दिन्छ। खानपान तथा व्यायाममा मात्रै हैन, गर्भवती महिलाले सुत्ने विषयमा पनि सचेत हुनुपर्छ। गर्भवती महिलाले बेलुका बेलैमा सुती आठ घण्टा मस्त निदाउनुपर्ने चिकित्सकको सुझाव छ।
त्यसैगरी सरकारको गाइडलाइनको पालना गरी जथाभावी हिँडडुल नगर्दा यो भाइरसको जोखिमबाट बच्न सकिन्छ। यसमा सचेत हुनुपर्छ। गर्भवती महिलामा तनाव उत्पन्न भएको अवस्थामा बच्चा जन्माउनसमेत कठिन हुन सक्ने भएकाले तनाव व्यवस्थापनका टेक्निक अपनाउनुपर्ने चिकित्सक बताउँछन्।
तनाव लिएर समस्या समाधान नहुने भएकाले स्वस्थ जीवनशैलीको व्यावस्थापन गर्नु नै बुद्धिमता हुन्छ। कोभिड–१९ जस्तो संक्रमणको महामारी प्राकृतिक प्रकोप भएकाले यस्तो महामारीबाट जोगिँदै सकारात्मक दृष्टिकोण राख्न मनोचिकित्सक डा. वझाको सुझाव छ। डा. वझाले भने, ‘सकारात्मक सोच राखेर आत्मबल बलियो बनाएको खण्डमा आमा र बच्चाको स्वास्थ्यमा लाभ मिल्छ।’
टाउको दुख्ने, कुनै स्वास्थ्य समस्या भएको अवस्था, सुत्केरी हुन दिएको मितिभन्दा एक हप्ता कटेकोजस्ता अवस्थामा भने तुरुन्तै स्वास्थ्य संस्था जानुपर्ने डा. बराल सुझाउँछन्। डा. बरालले भने, ‘स्वास्थ्य समस्या भएको, रोग लागेको वा संक्रमण भए जुनसुकै अवस्थामा पनि स्वास्थ्य संस्था जानुपर्छ।’
गर्भवतीमा कोरोनाको संक्रमण भएको भए गर्भमा रहेको बच्चामा भाइरस सर्ने जोखिम अत्यन्तै न्यून रहेकाले नडराउन डा. बरालको सुझाव छ। बच्चा जन्मिसकेपछि भने संक्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम हुन्छ। यसमा सावधानी अपनाउनुपर्ने हुन्छ।
सकारात्मकमा सोच
त्यसैगरी आफूलाई प्रिय लाग्ने संगीतको धुनमा रमाउनाले पनि तनावक कम भई मन शान्त हुन्छ। सकारात्मक किसिमका समाचार सामग्री हेर्ने, सुन्ने तथा पढ्नाले शारीरिक तथा मानिसक रुपमा ऊर्जा मिल्छ। जसले तनाव कम गर्न मद्दत मिल्छ।
अनावश्यक रुपमा विभिन्न मिडियामा नकारात्मक किसिमका समाचार सामग्री नसुन्न, नहेर्न र नपढ्न मनोविद् ढकालको सुझाव छ। मान्छेको मृत्यु भएको, कोरोना संक्रमित बढिरहेको जस्ता समाचार सामग्रीले थप तनाव निम्त्याउने जोखिम हुने उनी बताउँछन्। त्यति मात्र हैन, टिभीमा समाचार हेर्दा पनि दैनिक दुईपटक भन्दा नहेर्न मनोचिकित्सकको सुझाव छ। सकारात्मक सोचले नै आत्मबल बढी स्वस्थ रहन सकिने कुरामा चिकित्सकको एक मत छ।
महामारीको अवस्थामा गर्भवतीले आफन्तसँग शारीरिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा भने नजिक हुन आवश्यक हुन्छ। महामारीको यस्तो अवस्थामा आफन्तसँग शारीरिक रुपमा भेट हुन नसके पनि विभिन्न सञ्चार माध्यममार्फत बोलेर आफन्तसँग नजिक हुनुपर्ने डा. वझाको सुझाव छ। डा. वझा भन्छन्, ‘यस्तो अवस्थामा गर्भवतीले श्रीमान्, आमाबुवा, सासुससुरासँग नजिक हुन आवश्यक छ।’
यसले गर्भवतीको मन शान्त भई तनाव कम गर्न मद्दत मिल्छ।
Leave A Comment