रेखाको लोभलाग्दो फिटनेश शैली

सोमबार, १२ साउन २०७७, १२ : ०६ उपेन्द्र खड्का
रेखाको लोभलाग्दो फिटनेश शैली

अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापा आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन्। पाँच फिट चार इन्च (५.४) कदको उचाइ भएकी उनको शारीरिक तौल ५० किलो छ। ज्यान फिट एण्ड फाइन। 

अभिनेत्री थापा बिहान पाँचै बजे उठ्छिन्। लकडाउनले भने उनको उठ्ने सेड्युल एक घण्टा धकेलिएर ६ बजे भएछ। उठिसकेपछि उमालेर सेलाउँदै गरेको मन तातो पानी पिउँछिन्। पानी पिएको १०/१५ मिनेटपछि ब्ल्याक कफी पिउँछिन्। त्यसपछि उनी जिमहल पुग्छिन्। 

उनको पर्सनल फिटनेस ट्रेनर बिजु पार्कीले फिटनेसका टेक्निक सिकाउँछन्। थापाले सुनाइन्,‘एक वर्षदेखि पर्सनल ट्रेनर राखेकी छु।’ मित्रपार्कस्थित आफू बसेको अपार्टमेन्टमै रहेको जिमहलमा व्यायाम गर्ने उनले सुनाइन्। बिहान साढे ६ बजेदेखि करिब नौ बजेसम्म जिम हलमा व्यायाम गर्छिन्। उनले भनिन्,‘डेढ, दुई घण्टा जिम गर्छु।’

नौ बजे व्यायाम गरिसकेपछि फर्किएर केही मिनेट आराम गर्छिन्। मुड चलेको दिनमा चिनी नहाली दूधको चिया पनि पिउँछिन्। उनले भनिन्, ‘एक वर्षसम्म भने  चिया मुखमै हालिनँ।’ त्यसपछि मन तातो पानीले नुहाउँछिन्।  नुहाइसकेपछि केहीबेर मेडिटेसन गर्छिन्। 

लन्चमा घ्यू
बिहानको ११ बजे उनको लन्च टाइम हो। लन्चको रुपमा उमालेर तयार गरिएको सागसब्जी (मिक्स बोयल भेजिटेबल), करिब एक सय ग्राम कुखुराको मासु, अण्डा, माछा, खसीको मासु, घ्यू, ब्राउन राइस हुन्छ। एक दिनमा एक किसिमको मात्रै माछामासुको आइटम खान्छिन्। उनलाई कुखुराको मासु मिठो लाग्छ। चामल भने ब्राउन र रेड राइस मात्र खान्छिन्। घ्यू खान कहिल्यै छुटाउँदिनन्। ‘घ्यू र भात मज्जाले खान्छु,’ थापाले सुनाइन्,‘भात भने घ्यूमा भिजाउन एक चम्चा मात्रै खान्छु।’

बिहानको खाना खाइसकेपछि करिब आधाघण्टा आराम गर्छिन् तर निदाउँदिनन्। पूर्वीय दर्शनअनुसार विष्णु, लक्ष्मीले सर्पमा आसन गरेर बसेको जस्तैगरी आराम गर्छिन्। आरामपछि एक कप कफी पिउँछिन्। 

व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ र फिट रहनका लागि ५० प्रतिशत व्यायाम, २५ प्रतिशत आराम र २५ प्रतिशत खानपानको भूमिकालाई उनी सूत्रका रुपमा लिन्छिन्। यसलाई आफूले सन्तुलित गरेको उनी सुनाउँछिन्। 

सुटिङमा व्यस्त रहँदा सुटिङ स्पटमै पनि आफू फिट रहनका लागि व्यायाम हुने उनको महसुस छ। स्वस्थ रहनका लागि खानाको ठूलो भूमिका रहनेमा उनी सचेत छिन्। धेरै खाएको खायै गर्दा पनि अस्वस्थ बन्ने जोखिम हुने कुरामा उनी सचेत छिन्। 

बेलुकीको खाना एक मुठ्ठी गेडागुडी
दिनभरि दैनिक काममा व्यस्त रहन्छिन्। बेलुकीको करिब तीन बजे एक देखि दुई कोसासम्म केरा खान्छिन्। अरु काम नभएको समयमा पढ्न थाल्छिन्। 

उनी बेलुकीको खाना सात बजेभित्र खाइसक्छिन्। थापाले सुनाइन्,‘छदेखि सात बजेभित्रमा डिनर खाइसक्छु।’ उनको बेलुकाको डिनर लाइट किसिमको हुन्छ। ‘काजु, बदाम, ओखरजस्ता ८÷९ किसिमका गेडागुडी मिक्स गरी जम्मा एक मुठ्ठी जति खान्छिन्। 

कुनैबेला भने चिटिङ गछिन् रे ! उनले बेलुकीको खानाको चिटिङबारे सुनाइन्, ‘घरबाहिर निस्किएको बेला चिकेन र भेजिटेबल खान्छु।’ मान्छेको शरीर पहिलो घर भएकाले शरीरलाई दुरुपयोग नगरी व्यवस्थित गरेर सिंगारी सफा राखे व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सकिने उनको धारणा छ। पहिले–पहिले घरबाहिर खानपान गर्ने भए पनि आजकाल भने सकभर घरबाहिर खानपान गर्दिनन्,उनी।

बेलुकीको खानपानपछि केहीबेर समाचार, मिडियाहरुका सामग्री हेर्छिन्, पढ्छिन्। सामान्यतः दश बजे भित्रमा उनी सुतिसक्छिन्। सुत्नुअघि उनी हिलिङ् साउण्डका संगीत अन गर्छिन्। थापाले सुनाइन्,‘आफूलाई मनपर्ने हिलिङ साउण्ड अन गर्छु, अन गरेको पाँच मिनेटमै निदाइहाल्छु, साउण्ड बजिरहन्छ, म थाहै पाउँदिन।’

जंकफुडदेखि टाढा
उनी अग्र्यानिक तथा हाइजेनिक खानपानमा निक्कै सचेत छिन्। उनले सुनाइन्, ‘बजारबाट सागसब्जी ल्याएर पकाउनुभन्दा एक घण्टा अगाडि ममीले नून–पानीमा भिजाएर राख्नु हुन्छ।’

एक वर्ष अघिसम्म उनी बर्गर, पिजा लगायत र जंकफुड खान्थिन् रे ! तर, अहिले उनी जंकफुडबाट निक्कै टाढा छिन्। ‘संसारको सबैभन्दा हाइजेनिक र राम्रो खाना हाम्रै देशमा छ,’ थापाले भनिन्, ‘पहिला थाहा थिएन, ढिँडो रोटी खान्थिनँ। तर, अहिले ढिँडो, रोटी खान्छु।’ सुटिङको समयमा बाहिर जाँदा पनि उनी हाइजेनिक खानपानमै ध्यान दिन्छिन्।

उनी आफैँ पनि खाना बनाउँछिन् तर कहिलेकाहीँ सहयोगी दिदीले बनाइदिन्छिन्। उनले सुनाइन्, ‘तर, ममीले बनाएको खाना मिठो लाग्छ, त्यसैले धेरैजसो ममीले नै बनाउनु हुन्छ।’ 

‘सिटामोल पनि खाएको छैन’
उनी वर्षमा एकपटक ‘होल बडी चेकअप’ गर्छिन्। रमाइलो पक्ष, उनले जीवनमा अहिलेसम्म कुनै पनि किसिमको औषधि सेवन गरेकी छैनन् रे ! ‘कहिलेकहिले टाउको दुखेको समयमा सिटामोल भन्ने हुन्छ रे नि ! मैले त्यो पनि खाएकी छैन,’ थापाले औषधि नखाएको अनुभव बारेमा सुनाइन्। 

सिटामोलसम्म नखाएकी उनी बिरामी भएर अस्पताल भर्ना हुने समस्यामा अहिलेसम्म पर्नुपरेको छैन। उनले हाँस्दै भनिन्, ‘मेरो हिस्ट्री हेर्नु न, एक्सन गर्ने, बन्जी जम्प गर्ने, माथिबाट फाल हान्ने... छ। यसैैबाट पनि थाहा भैहाल्छ म कति स्वस्थ छु भन्ने कुरा।’

नो मेकअप
त्यसो त उनी फिल्मको सुटिङमा लाइट मेकअप गर्ने बाहेक मेकअप पनि गर्दिनन्। मेकअपका सामग्री पनि किन्दिन्। उनले भनिन् ‘म पहिल्यैबाट विदआउट मेकअप हिँड्ने केटी हो। म मेकअप नगर्ने केटीमा पर्छु।’ कस्मेटिक्स सामग्रीमा उनलाई खासै विश्वास लाग्दैन। कहिलेकाहीँ हल्का लिपस्टिक र गाजल भने लगाउँछिन्। ‘कस्मेटिक्समा मेरो पैसा खर्च नै हुँदैन,’ थापाले सुनाइन््, ‘घाममा हिँड्दा सन्सक्रिम भने  लगाउँछु।’ 

ग्ल्यामर क्षेत्रको व्यक्तिले मात्रै राम्रो र फिट रहनुपर्छ भन्ने धारणालार्ई परिवर्तन गरी सबै व्यक्ति स्वस्थ, फिट र सुन्दर बन्नका लागि दैनिक एक घण्टा व्यायाम तथा व्यवस्थित जीवनशैली अपनाउनुपर्ने उनको सुझाव छ।
लकडाउनको समयमा भने उनी फिल्मको स्क्रिप्ट र गीतको काम भइरहेको बताइन्। अवस्था सहज भए भदौको दोस्रो हप्ताबाट सुटिङ गर्ने तयारी रहेको उनले सुनाइन्।

Leave A Comment