खेल्न नजाने यौन सुखद नष्ट

मङ्गलबार, १३ साउन २०७७, ०१ : २० डा. दिनेश बाँस्तोला
खेल्न नजाने यौन सुखद नष्ट

प्रतिस्पर्धात्मक खेल खेल्नुपूर्व महिलाले आफ्नो उच्चतम क्षमता देखाउने उमेरको ख्याल गर्नुपर्छ। पुरुषको भन्दा महिलाको शारीरिक तथा मानसिक र सामाजिक समस्याहरु भिन्दै किसिमका हुन्छन्। पुरुषको भन्दा महिलाको शारीरिक तथा मानसिक वृद्धि र विकास पनि फरक हुन्छ। उचित उमेर समूहको छनोट नगरी असन्तुलितरुपमा खेल खेलेको अवस्थामा महिलाको न त प्रतिस्पर्धात्मक खेलमा राम्रो सफलता मिल्न सक्छ न त यौन जीवन नै सुखद हुन सक्छ। 

असन्तुलित खेलकुदको कारण महिला खानपानमा क्रम भंगता हुने, रजश्वला नहुने, हड्डीहरु छिद्र हुने जस्ता समस्याको जोखिम हुन्छ। यस्ता समस्याका कारण महिला शारीरिक तथा मानसिक अस्वस्थता हुँदा यौनजीवन सुखद हुने कुरै भएन।

अशोभनीय यौन
अधिकांश महिला खेलाडीले खेल क्षमता बढाउन भन्दै तौल घटाएको पाइन्छ। तौल घटाउने नाममा सन्तुलित खानपानलाई कम गरेको देखिन्छ। खाना कम गर्दा शरीरलाई आवश्यक ऊर्जाको पूर्ति नभई ‘खाने क्रमभंगता रोग’ लाग्छ। यस्तो रोग लागेको अवस्थामा खाना देख्यो कि बान्ता हुनेजस्तो मानसिक समस्याको जोखिम पनि त्यत्तिकै बढ्दै जान्छ। यस्तो अवस्थामा प्रतिस्पर्धात्मक खेल खेल्दा नतिजा हात लाग्ने सम्भावना कमै हुन्छ। 

खेलका मामिलामा ज्यान छरितो पार्ने चक्करमा खाना नखाएर समस्या निम्तिएको अवस्थामा यौन इच्छा, आकांक्षा र यौन क्रियाकलाप गर्नु अशोभनीय र अरुचिको विषय हुन्छ। आनन्दमय र सुखद यौनको त कल्पना पनि गर्न सकिन्न। यस्तो अवस्थामा तनाव हुने भएकाले यौन सम्पर्क पनि गर्नु हुन्न। 

खेल र यौन जीवनलाई सन्तुलित तथा परिणाममुखी बनाउनका लागि सन्तुलितरुपमा खानपान गर्नुका साथै कम्तीमा ६ घण्टा आनन्दले निदाउनुपर्छ। 

हर्मनको गडबडीले समस्या
तीव्र व्यायाम तथा सन्तुलित खानपानको अभावमा व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फिट रहनका लागि ऊर्जाको कमी हुन्छ। जसको परिणामस्वरूप महिला हार्मोनहरु कम निष्कासित हुन्छन्। हार्मोनहरुको सामान्य नियमनले नै रजश्वला हुन्छ। 

रजश्वला बन्द वा असन्तुलित भएको अवस्थामा महिलाको शरीर त्यति चलायमान हुँदैन। कतिपय महिला त कडा किसिमको व्यायाम तथा खेल खेल्दा रजश्वला नै नहुने सम्भावना पनि हुन्छ। तालिम तथा खानपानमा अचानक फेरबदल हुँदा पनि रजश्वलामा समस्या निम्तन सक्छ। त्यसैले खेलकुद तथा सन्तुलित खानपानको कमीका कारण यौनमा आउने समस्याप्रति सचेत हुनुपर्छ। 

महिला खेलाडीले पूर्व रजश्वला, रजश्वला र रजश्वलापछिका केही दिन (करिब दस दिन) शारीरिक कार्यविज्ञानअनुसार क्षमता देखाई उच्च परिणाम निकाल्न असम्भव हुन्छ। महिलाको यस्तो अवस्थामा महिला स्वयं र सम्बन्धित व्यक्तिले ध्यान दिन जरुरी छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्दा त झन् समस्या निम्तने जोखिम हुन्छ। रजश्वलाको समयमा खेल्दा ढाड दुख्ने, कम्मर दुख्ने र शरीर पूरै दुख्ने समस्याले सताउँछ। यस्तो समस्याले सताउँदा न त खेलमा सफलता मिल्छ न त यौन जोडीसँ आनन्द लिन सकिन्छ। 

यौन इच्छा, आकर्षण र क्रियाकलाप पनि हार्मोन सन्तुलित हुँदा मात्र हुन्छ। अर्कोतर्फ प्रतिस्पर्धात्मक खेलमा पनि नतिजा ल्याउन कठिन हुन्छ। त्यसैले खेलाडीले रजश्वला होस् वा अन्य समयमै किन नहोस् सन्तुलित रुपमा व्यायाम गर्नुका साथै सन्तुलित खानपान गर्नुपर्छ। 

रजश्वलाको अवस्थामा महिलाको हार्मोनको उतार–चढाव हुँदा यो समयमा कडा किसिमको खेल खेल्नु र यौन सम्पर्क गर्नु उचित हुन्न। डिम्भ निष्कासनको समयमा घुँडा अगाडिको कुरुसियल लिगामेन्टको चोटको जोखिम हुन्छ। जसले महिलालाई खेल खेल्न कठिन हुन्छ। यस्तो अवस्थामा यौन सम्पर्क पनि असहज बन्छ। 

हड्डीको क्षिद्रताः
खेलको असन्तुलन तथा खानपानको असन्तुलनका कारण खेलाडीमा स्ट्रोजेनको मात्रा कम हुन्छ। स्ट्रोजेनको तहमा कमी र पोषणतत्वको कमीका कारण क्याल्सियममा पनि कमी हुन्छ। क्याल्सियमले हड्डी मजबुत पार्ने र मांशपेशी खुम्चने ल्याकतमा कमी आउँछ। क्याल्सियमको कमीका कारण खेल र यौनमा दुर्बलता ल्याउँछ। 

क्याल्सियमको कमीका कारण पुरुषको लिंग ठडिने र खुम्चने तथा महिला यौनीका मांशपेशीहरु फुल्ने र खुम्चने सम्भावनामा कमी आउँछ। जसले यौन इच्छा, आकांक्षा र क्रियाकलापमा कमी हुन्छ। हड्डीको घनत्व घट्दै गएर हड्डी कमजोर बन्दै जान्छ। फलस्वरुप हड्डीको बनावट सही दिशामा जाँदैन। जसका कारण ‘तनवी हड्डी (स्ट्रेस फ्याक्चर)’ भाँचिने र हड्डीमा अन्य चोटपटक लाग्ने जोखिम हुन्छ। जसले महिला खेलाडीको खेल जीवन बिग्रँदै जान्छ नै यौन जीवनमा पनि ठूलो असर पुग्न जान्छ। 

त्यसैले विशेषगरी महिला खेलाडीले खेल खेल्दा आफ्नो उमेर समूह, रजश्वलाको समय ख्याल गनुपर्छ। त्यसैगरी खेलको सही नतिजा र सुखद यौन जीवनका लागि विशेषगरी महिला खेलाडीले सन्तुलित खेल अभ्यास गरी सन्तुलित खानपान गर्नु आवश्यक हुन्छ। 
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment