मुड, मनोदशा अथवा मनस्थिति सधैँ एकै किसिमको हुँदैन। यो समय र परिस्थितिअनुसार परिवर्तन भइरहन्छ। कहिले मुड निकै राम्रो हुन्छ त कहिले निकै खराब। खराब मुड विकास हुनुका विविध कारणहरू हुन सक्छन्। जस्तैः अपराधबोध हुनु वा आफूलाई दोषी ठहर गर्नु, अस्वीकृत हुनु, अपेक्षित परिणाम प्राप्त नहुनु, दिइएको कार्यलाई पूर्णता दिन नसक्नु, पटकपटक असफलता सामना गर्नु, विगतका दुःखद क्षणबारे सोचमग्न हुनु, स–साना उलझनमा पर्नु, अरु मानिससँग भावनात्मक र सामाजिक रुपमा जोडिन नसक्नु आदि खराब मुड विकास हुनुका केही कारणहरू हुन्।
ह्वार्टन बिजनेस स्कुलका व्यवस्थापन प्राध्यापक सिगल बारसेड ‘भावनात्मक संक्रामक’ विषयका अग्रणी अनुसन्धानकर्ता हुन्। उनको अनुसन्धानले एक व्यक्तिको मुडले अर्को व्यक्तिको मुड, मूल्यांकन गर्ने क्षमता र स्वभाव प्रभावित पार्ने पुष्टि गरेको छ। त्यसैगरी विभिन्न अनुसन्धानले कार्यक्षेत्रमा एक व्यक्तिको मुडले घटनाक्रम प्रतिको अनुभूति, निर्णय गर्ने क्षमता, समस्या समाधान, ध्यान, उत्पादकता, कार्य निष्पादन, पारस्परिक अन्तरक्रिया र सांगठनिक संस्कृतिमा प्रभाव पार्ने देखाएको छ। त्यसैगरी केही मानिसमा खराब मुडले डिप्रेसन, निराशा, चिन्ता, संत्रास र डरको स्वरुप निर्धारण गर्न सक्छ। त्यसैले खराब मुडलाई लामो समयसम्म निरन्तरता दिनु, बेवास्ता गर्नु बुद्धिमानी होइन र त्यस खराब मुडबाट चाँडै उन्मुक्त रहनु आवश्यक छ।
राम्रो मुडमा रहन, मुड उत्थानका लागि निम्न मनोवैज्ञानिक विधि अवलम्बन गर्न सकिन्छ।
गतिविधि बढाउनेः
व्यायाम गर्नु, गतिविधि बढाउनु वा हिँड्नु मुड उत्थानको सशक्त विधि मानिन्छ। अब केही औषधिका प्रायोजनबारे चर्चा गरौँ। ‘प्रोज्याक’ डिप्रेसन कम गर्न प्रयोग गरिन्छ भने ‘रिटालिन’ ध्यान अभाव विकारबाट पीडित रोगीलाई प्रयोग गरिन्छ। व्यायामले यिनै औषधिले जस्तै काम गर्ने कुरा हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता जोन रेटीले पत्ता लगाएका छन्। व्यायाम घरमै पनि गर्न सकिन्छ। पुसअप, जम्पिङ ज्याक, योग आदि व्यायामका रुपमा गर्न सकिन्छ। घरभित्रै बसेर सहजै व्यायाम गर्नका लागि विभिन्न मोबाइल एप प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि व्यायाम सम्बन्धित धेरै एप एप्पल स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ। अनि आवश्यकताअनुसार प्रयोगमा ल्याउन सकिन्छ। त्यसैगरी जगिङ (बिहानीको हिँडाइ) प्राथमिकतामा राख्न सकिन्छ। जब मुड खराब हुँदा बाहिर हिँड्न थालिन्छ, हामी नयाँ वातावरणमा पुग्छौँ। हामीभित्र रहेको अफवाहको चक्र तोडिन्छ। फलस्वरुप हामीमा सकारात्मक मुड विकास हुन्छ। त्यसैले व्यायाम गर्ने, गतिविधि बढाउने मामिलामा कुनै सम्झौता नगर्नोस्।
सिर्जना गर्नेः
मुड उत्थानको अर्को सशक्त विधि हो सिर्जनात्मक कार्य गर्नु। अर्को शब्दमा भन्नुपर्दा, हातको प्रयोग गरेर आफ्नो विचार र भावनालाई कलामा उतार्नु। उदाहरणका लागि चित्र कोर्नु, मुर्ति निर्माण गर्नु, संगीत रचना गर्नु, गीत रचना गर्नु, भिडियो इडिट गर्नु, सफ्टवेयर डिजाइन गर्नु आदि। यी कुनै पनि चिज सिर्जना गर्दा त्यो उत्कृष्ट हुनुपर्छ भन्ने छैन। निकै आकर्षक देखिनुपर्छ भन्ने छैन। साधारण देखिने भए पनि हुन्छ। मुख्यतः मूर्त परिणाम प्राप्त गर्न सक्नुपर्छ। हातको प्रयोग गरेर कुनै पनि सिर्जनात्मक कार्यमा संलग्न हुनु आनन्ददायक हुन्छ। त्यसबाट प्राप्त हुने परिणामले सन्तुष्टि प्रदान गर्छ। यति मात्र होइन, आत्मविश्वासको स्तर पनि बढेर जान्छ। परिणामस्वरूप हामीमा राम्रो मुडको विकास हुन्छ।
साथीभाइलाई भेट्नेः
तपाईं चहकिलो साथीको संगतमा हुनुहुन्छ भने तपाईं पनि खुसी हुने सम्भावना २५ प्रतिशतले बढेर जान्छ। यो ‘हार्वर्ड विश्वविद्यालय’ र ‘युनिभर्सिटी अफ क्यालिफोर्निया’ को अध्ययनले देखाएको छ। त्यसैगरी विभिन्न वैज्ञानिक सोध अनुसन्धानले साथीभाइलाई भेट्दा नकारात्मक सोचको प्रवाह कम हुनुका साथै तनाव कम हुने निष्कर्ष निकालेको छ। त्यसैले समय–समयमा आफ्नो आत्मीय एवं मन मिल्ने साथीभाइहरुलाई फोन गर्नोस्। नियमित भेट्ने गर्नोस्। कफी पिउँदै संवाद गर्नोस्। मनको कुरा पोख्ने गर्नोस्। कोरोना महामारी जस्तो अवस्थामा व्यक्तिगत भेट सम्भव हुँदैन। यस्तो विषम परिस्थितिमा अनलाइन मिडियामार्फत् ग्रुप च्याट, भिडियो च्याट अथवा अनलाइन जमघट सञ्चालन गर्न सकिन्छ। यसरी साथीभाइसँग सम्पर्कमा रहँदा राम्रो मुड विकास गर्न सकिन्छ।
सहयोगी बन्ने
खराब मुडले जो कोहीलाई आत्मकेन्द्रित बनाउँछ। अरुको बारेमा सोच्न निकै कठिन हुन्छ। यस्तो अवस्थामा पनि सम्पूर्ण ध्यान अरुको वस्तुस्थिति अध्ययन र बुझ्नमा केन्द्रित गराउन सक्नुपर्छ। यसो गर्न सकियो भने अरुले भोगेका उतारचढावबारे अवगत हुन सकिन्छ। जसले हामीलाई आफ्नो दुःख भुल्न विशेष मद्दत गर्छ। विभिन्न अध्ययनअनुसार परोपकारी कार्य गर्नाले सकारात्मक भावना जाग्ने पुष्टि भइसकेको छ। त्यसैले सहयोगी हात बढाउने गर्नोस्। उदाहरणका लागि अशक्त व्यक्तिलाई बाटो काट्न सहयोग गर्नोस्। वृद्धवृद्धालाई कफीको प्रस्ताव राख्नोस्।
त्यसैगरी आफ्नो साथीको समस्या सुन्ने गर्नोस् र रचनात्मक समाधान दिनोस्। अरुको व्यक्तिगत विकासमा सहायता प्रदान गर्नोस्। यस प्रकृतिको साथ र सहयोगले तपाईंमा सकारात्मक मुड विकास हुन्छ।
आशावादी मानसिकता राख्ने
मनोवैज्ञानिक मार्टिन सेलिगम्यानको ‘लन्र्ड अप्टिमिजम’ पुस्तकमा आशावादी र निराशावादी व्यक्तिको सोच्ने शैलीका बारेमा वर्णन गरिएको छ। कुनै प्रतिकूल घटनाक्रम चल्दा, कुनै पनि चुनौतीपूर्ण अवस्थामा रहनु पर्दा निराशावादी व्यक्तिले त्यो घटनाक्रम, अवस्था स्थायी हुने र निकट भविष्यमा झन् व्यापक हुन सक्ने ठान्छन् र चाँडै नै हार खान्छन्। यद्यपि आशावादी व्यक्तिले त्यो घटनाक्रम र अवस्था अस्थायी हुने ठान्छन् र उपयुक्त कार्य योजना तय गर्छन्। तपाईंको खराब मुड विकास हुनुमा प्रतिकूल घटनाक्रम र चुनौती हो भने आशावादी मानसिकता विकास गर्नोस्। प्रतिकूल घटनाक्रम र चुनौतीबाट प्राप्त हुन सक्ने वास्तविक परिणामबारे सचेत रहनोस्। जुन कुरालाई पूर्ण रुपमा नियन्त्रण र परिवर्तन गर्न सक्नुहुन्छ, त्यसैमा केन्द्रित हुनोस्। तपाईंको यो कार्य पद्धति प्रभावकारी हुन नसके, सफलता प्राप्त हुन नसके केवल मुस्कुराउने कोसिस गर्नोस्। मुस्कानले मुड उत्थान गर्न निकै महत्वपूर्ण भूमिका खेल्छ। यसलाई अध्ययनले पनि पुष्टि गरिसकेको छ। त्यसैले राम्रो मुड विकास गर्न मुस्कुराउने र हाँस्ने हरेक अवसरको सतप्रतिशत सदुपयोग गर्नोस्।
Leave A Comment