फेरि पनि विवादमा तीजे गित

बिहिबार, १५ साउन २०७७, ११ : ५० पुष्पा थपलिया
फेरि पनि विवादमा तीजे गित

अबको तीज, नो व्रत प्लिज
नो खुट्टाको पानी, महिला पुरुष दुबै नै बराबरी
युट्युबमा राखिएको उक्त गीत सुनेर, सञ्जय सापकोटा नाम गरेका व्यक्तिले निकै दुःखलाग्दो प्रतिक्रिया दिए। उनको प्रतिक्रिया छ, ‘गाउन पायो, कलाकार हो भन्दैमा मन लाग्दी गाउन पाइँदैन ! जन्मिएर २२ वर्ष भएँ, आजसम्म कोही मान्छेलाई व्रत बस्न बाध्य पारिएको र खुट्टाको जल खान लगाएको कहीँ देखेसुनेको छैन। व्रत बस्नु कुनै महिला वा पुरुषको नितान्त व्यक्तिगत र स्वेच्छा कुरा हो। कसैले जर्बरजस्ती व्रत बस्न लगाएको छैन। गायिकाले कुन धर्म मान्छिन् वा मान्दिनन् त्यो मेरो मतलबको कुरा होइन तर उनको यो गीतमार्फत हिन्दु धर्मप्रति दुष्प्रचार र घृणा पैदा गर्ने काम भए भएकै हो ! सम्बन्धित सबैको ध्यान जाओस् ! हाइलाइटस् नेपालले केही कदम चाल्छ भने ठीकै छ, नभए हामी श्रोतागणले युट्युब च्यानलविरुद्ध कदम चाल्नु नपरोस् !  

उनको यस प्रतिक्रियालाई तीस भन्दा धेरैले मन पराएका छन्। त्यस्तै अन्य प्रतिक्रियाले पनि उनैलाई थप्थपाएका छन्।
हिन्दु महिला धर्मावलम्वीहरुको चाड तीज नजिकिँदै गर्दा हरेक वर्ष गीतले माहोल तताउने गर्छ। माहोल त बनाउँछ नै साथमा काण्ड बोकेर पनि आउने गरेको छ। कहिले लय बिगारेको, कहिले तीजमा लगाउने ड्रेसअप बिगारेको, कहिले केटाले पनि तीज गीत गाउन थालेको त कहिले तीज गीत पनि दोहोरीजस्तो भद्दा भएको भन्दै संस्कृतिमा विकृति फैलाएको आरोप गायकगायिकाले खेप्ने गरेका छन्।

अब भने बिस्तारै यस्ता संस्कृतिको विकृतिवाला आरोपलाई संगीत क्षेत्रका मानिसले पचाइसकेका छन्। यता श्रोता दर्शकले पनि त्यस्ता गीतलाई तीज गीतका रुपमा स्वीकार गरिसके।  

यस पटकको विवादमा भने गायिका सोफिया थापा थपिएकी छन्। गायिका थापाले धर्म नै संकटमा पार्न लागेको आरोप लगाउँदै माफी माग्न, युट्युबबाट गीत हटाउन आग्रह गर्दै यदि त्यसो नगरे उनीमाथि भौतिक आक्रमणसमेत हुने धम्की दिइएको छ।

आपत्ति जनाउनेहरुले गायिका थापाका शब्दमाथि बढी चित्त दुखाएका छन्।
गायिका थापाले गएको साउन ४ गते युट्युबमा सो गीत राखेकी थिइन्।

गीत राखेको दिनदेखि नै उनलाई धम्की आउन थालेको सोफियाले बताइन्। उनले भनिन्, ‘रातभर पनि धम्की आइरहेको छ। विरोधका कार्यक्रम गर्नेदेखि भौतिक क्षति हुनसक्नेसम्म भनेर धम्क्याएका छन्।’

अझै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति नाम गरेको फेसबुक आइडीले त प्रेस विज्ञप्ति नै निकालेको छ। विज्ञप्तिमा सनातन हिन्दु धर्म, संस्कृति, संस्कार र परम्परा विपरीत गीतलाई हटाउन आह्वान गरिएको छ। धम्कीपूर्ण भाषामा लेखिएको सो विज्ञप्तिमा साउन ६ गतेसम्म नहटाइए विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने जानकारी गराइएको छ।
यस्ता धेरै धम्कीहरु फोनमा लगातार आइरहेकाले आफूले प्रहरीमा रिपोर्ट गरेको  सोफियाले बताइन्। उनले भनिन्, ‘डरलाग्दा धम्कीहरु आएपछि त आफू सुरक्षित हुनुप¥यो भनेर प्रहरीमा रिपोर्ट लेखाएकी हुँ। केही अप्ठ्यारोे हुनेबित्तिकै खबर गर्न भनिएको छ।’ 

उनका सामाजिक सञ्जाल मात्र होइन, भिडियो राखिएको युट्युबमा समेत भद्दा गाली गरिएको छ। गायिकाको भनाइ छ, ‘मेरो नाम सोफिया भएकाले म क्रिश्चियन नै हुँ कि भन्नेहरु पनि छन् तर सबैलाई म भन्न चाहन्छु म हिन्दु हुँ। नियमित ध्यान गर्छु।’ 

त्यसो त गायिका थापालाई चर्चामा आउन यस्तो गीत गाएको आरोप नलगाइएको पनि होइन। उनले तीजमा पानी पनि नखाई ब्रत बस्दा चिकित्सकले कहिल्यै स्वास्थवद्र्धक छ नभनेको हुनाले सोही कुरालाई गीतमार्फत राखेको बताइन्। उनले भनिन्, ‘पानी पनि नखाई गरिने व्रतले महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले नो ब्रत भनेको हो। अनि खुट्टाको पानी खाने भनेको महिलालाई नीच देखाउनु हो भनेर धेरै बहस भइसकेका विषय हुन्, मैले महिला पुरुष बराबरी भनेर गीत बनाउँदा कसरी धर्मसंस्कृति धरापमा प-यो ?’

आफू तीजविरोधी नभएको र तीजको विरोध गरेर नमनाऊ पनि नभनेको जनाउँदै गायिका थापाले भनिन्, ‘मैले त आफूलाई हानि हुने कुरा नगरौँ, राम्रो हुने कुरा मात्रै गरौँ भनेको हो। व्रतविरोधी र तीजविरोधी कुरा गरेको होइन। सबैको व्यक्तिगत जीवन हुन्छ र उनीहरुलाई आफूले चाहेको गर्ने छुट छ।’ 

त्यसो त हरेक वर्ष तीज गीतमा काण्ड मच्चिने भएकाले कतै यस्ता गीतमा विकृति भित्रिएको हो कि भन्ने आशंका पनि नगरिएको होइन। गायिका थापा भन्छिन्, ‘अरुको तीज गीतका बारेमा मलाई थाहा भएन। ती किन विवादमा पर्छन् भन्ने पनि मलाई थाहा छैन। त्यसैले त्यसबारेमा मैले बोल्नु उचित हुँदैन।’  

आधुनिक गायनमा रुचि राख्ने गायिका थापाले भनिन्, ‘मैले गाएको यो तीज गीत होइन, बरु तीजमाथि बनाइएको गीत हो। त्यसैले अन्य तीज गीत र यो गीतमा फरक बुझिदिनु होला।’

दुर्गेश पनि विवादमा
गायक तथा मोडल दुर्गोश थापाले यस पटक दुई वटा तीज गीत बजारमा ल्याएका छन्। उनले ल्याएका दुई वटै गीत विवादमा परेको छ। केही साता अघि मात्र उनले अघिल्लो वर्षको ‘बीच्चबीच्चमा’ गतिको विवाद र सफलताबाट हौसिएर त्यसको दोस्रो र तेस्रो शृंखला ल्याएका हुन्। यस पटक भने दुई वटै गीत ल्याएकामा दुई वटै गीत विवादमा आएको छ। ‘बीच्चबीच्चमा ३’ यतिबेला ट्रेन्डिङमा छ भने त्यसअघि दोस्रो गीत पनि ट्रेन्डिङको नम्बर एकमा परेको थियो।

यसअघि ‘बीच्च बीच्चमा’ गीतमा संगीत चोरेको भन्दै विवादमा परेका थिए। यस पटकको दोस्रोमा गीतका शब्द नै चोरेको आरोप लागेको थियो। उनले सो आरोप स्वीकार गर्दै माफीसमेत मागेका छन्। पोखराका लोकवि अलि मियाँको संकलनमा रहेको ‘आकाशैमा बादलु डम्मै छ भन्ने अन्तरा हुबहु मिलेको आरोप लागेको थियो।

प्रस्टीकरणमा उनले भनेका छन्, ‘बच्चाबेलामा सुनेको थिएँ, गुन्गुनाइरहेको पनि थिएँ। उहाँको गीत भन्ने थाहा नभएकाले यस्तो भएको हो।’

माफीनामापछि भने बीच्चबीच्चको तेस्रो संस्करण ल्याएका छन्। यतिबेला भने उनी र उनको समूहले लगाएको ड्रेसअपका कारण विवाद उचालिएको छ। भिडियोमा पुरुषहरुले ब्लाउज र साडी लगाएको भन्दै केहीले आपत्ति जनाएका छन्। 

यसले महिलाको शरीरमा प्रहार गरेको भन्दै महिलावादीले विरोध जनाइरहेका छन् भने कतिले तेस्रो लिंगीको खिल्ली उडाएको आरोप लगाएका छन्।

गायक थापाले आफू कलाकार भएकाले कथाले मागेअनुसार गरेको र यसलाई मनोरञ्जनका रुपमा मात्र लिइदिन आग्रह गरे।

Leave A Comment