फोनबाट ब्ल्याकमेल

बिहिबार, १५ साउन २०७७, ०१ : २२ शुक्रवार
फोनबाट ब्ल्याकमेल

म दुई वर्षको लिभिङ टुगेदर रिलेसनमा थिएँ। बस्दै गर्दा उसप्रति मेरो माया औधि बढेर गयो। त्यही भएर होला उसले भनेका हरेक कुरा म मान्थेँ। 

म शारीरिक सम्बन्धको लागि तयार थिइनँ तर उसले मलाई सधैँ श्रीमान्–श्रीमती हौँ, बिहे पो नभएको त भन्दै सम्झाउँथ्यो। उसको कुरा हो जस्तो लागेर नाइँ भन्न सकिनँ र उसको कुरा मानेँ। 

एक पटक लत्तो छोड्नु त हो ! त्यसपछि हामीबीच धेरै पटक शारीरिक सम्बन्ध भयो। सम्बन्ध स्थापित भएको दुई हप्तापछि नै हाम्रो ब्रेकअप भयो। शारीरिक सम्बन्ध हुँदाका बेला उसले मेरा धेरै फोटोहरु खिचेको थियो। त्यो बेला मैले उसलाई नसोधेकी पनि होइन तर अनेक कुरा गरेर फुस्ल्यायो।

अहिले तिनै तस्बिरको दुरुपयोग गर्दै मलाई ब्ल्याक मेल गर्दैछ। म उसको घरमा गइनँ भने मेरो फोटो र भिडियो सबै फेक अकाउन्ट बनाएर सामाजिक सञ्जालमा राखिदिन्छु भनेर धम्क्याइरहन्छ। 

यतिबेला उसको धम्क्याइका कारण म एकदम तनाबमा छु। मेरा केही फोटोहरु उसले उदाहरणका रुपमा मेरा साथीहरुलाई पनि पठाएको छ। म ऊसँग फिजिकल हुन मानिनँ, उसलाई भेट्न गइनँ भनेर त्यस्तो गर्न मिल्छ त ?

दिलबाट मन पराएको मान्छेले केही कुरामा मतभेद भयो भन्दैमा मलाई यस्तो गर्ला भनेर सपनामा पनि सोचेकी थिइनँ। मलाई ऊ अहिले मन पर्दैन। मन परोस् पनि कसरी ? यस्तो हृदय भएको मानिसलाई मैले प्रेम गरेको पनि त होइन !

पहिला पनि ऊ अरु धेरै केटीहरुसँग जिस्किने, घुम्न जाने गथ्र्यो। मैले कति चोटी त आफैँले पनि देखेको छु तर उसलाई यसबारे कुरा गर्दा उसले के–के भनेर फकाइहाल्थ्यो। 

अहिले मलाई शारीरिक सम्बन्ध राख्नकै लागि गरिरहेको ब्ल्याक मेलबाट छक्क परिरहेकी छु। छानाबाट खसेको जस्तो महसुस भैराखेको छ। 

आफूले यत्ति धेरै माया गरेको मान्छेले पनि यस्तो गरेको देख्दा म एकदम अलपत्र परेकी छु। म अहिले के गरौँ भनेर सोच्न पनि सकिराखेकी छैन। केही उपाय भएन भने म मर्नेबाहेक अर्को उपाय देख्दिनँ। मैले सुसाइड गर्ने कोसिस पनि नगरेको होइन  तर फेरि आफ्ना आमा–बुवा र परिवारलाई सम्झेर उनीहरुको बेइज्जती सोचेर फेरि मन सम्हाल्ने गरेकी छु। 

मेरा आमा–बाबाले मबाट धेरै अपेक्षा राखेका छन्। एउटा पुरुषको धोकाका कारण म कसरी मेरा आमा–बाबालाई धोका दिऊँ ? मलाई यो समस्याबाट निस्कनका लागि सुझाव दिनुस् न !

Leave A Comment