‘कलाकारको जिन्दगी.. बाहिर स्वाङ, भित्र ढ्वाङ’

सोमबार, ०६ भदौ २०७३, ११ : ११ अम्मर जिसी , Kathmandu
‘कलाकारको जिन्दगी..
बाहिर स्वाङ, भित्र ढ्वाङ’

वरिष्ठ हास्य कलाकार बसुन्धरा भुसालको अभिनय यात्रा लामो छ । सात वर्षकै उमेरदेखि रंगमञ्चबाट अभिनय थालेकी थिइन् उनले । फिल्म ‘सिन्दुर’मा उनले निर्वाह गरेको पात्र ‘नक्कली’ लाई दर्शकले असाध्यै रुचाएका थिए । नेपालमै निर्माण भएको पहिलो फिल्म ‘आमा’मा बालकलाकारको भूमिकामा अभिनय गरेकी उनी हिजाआज पनि व्यस्त छिन् । करिब डेढ सय फिल्ममा अभिनय गरिसकेकी उनीसँग अम्मर जिसीले अन्तरंग कुराकानी गरेका छन् ।
साउनमा व्रत बस्नुभयो होला नि ?
स्वास्थ्य र व्यस्तताले गर्दा व्रत बस्न छाडेको धेरै वर्ष भइसक्यो । सामान्य पूजापाठ चाहिँ गर्छु । म धर्ममा भन्दा कर्ममा बढी विश्वास गर्छु । यही विश्वासले मलाई फलिफाप भएजस्तो लाग्छ ।
तपाईंलाई सात वर्षकै उमेरदेखि फलिफाप हुन थालेको थियो क्यारे ।
त्यसै भनौँ । अञ्जानमै कलाकारिता क्षेत्रमा लागियो । सात वर्षकी हुँदा २०१४ सालमा भुवन थापा दिदीको पछि लागेर रंगमञ्चमा काम गर्ने मौका पाएँ । त्योभन्दा पहिला यसो नाचगान गर्न रुचाउँथे । पहिलोपटक ‘हात काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ बोलको गीतमा स्टेजमा नाचेकी थिएँ । २०१८ सालमा जनकविकेशरी धर्मराज थापाको नेतृत्वमा भुवन दिदी, शुभद्रा अधिकारी दिदीहरूसँग नेपाल कला केन्द्रमार्फत पूर्वपश्चिम राजमार्गका लागि चन्दा उठाउन हिँडियो । त्यही वर्ष भुवन दिदीसँग ‘डोलामैयाँ’ नाटक खेलेँ । नाचगान, अभिनय सबै अञ्जानमै गरियो ।
अनि त्यसपछि...
त्यसपछि २०२१ मा नेपालको पहिलो चलचित्र ‘आमा’मा काम गर्न पाएँ । भुवन दिदीलाई भेट्न राष्ट्रिय नाचघर पुगेकी थिएँ । दिदीले ‘सुटिङ हेर्न जान्छस् ?’ भन्नुभयो । कस्तो हुँदो रहेछ सुटिङ भनेर गएँ । चोभारको डाँडामा सुटिङ थियो । ब्वाइज कट कपाल काटेकी, मेडी लाएकी चञ्चले प्रकृतिकी मलाई देखेर डाइरेक्टर हिरासिंह थापाले ‘ए छोकरा, फिल्म मे काम करोगी ?’ भन्नुभयो । मैले फ्याट्ट ‘दे गा तो करेगा’ भनिदिएँ । बालकलाकारमा चान्स पाइहालेँ । फिल्मको इन्डोर सुटिङ कलकत्तामा भयो । मेरो रोल पनि थपियो । त्यहाँ डाइरेक्टर सापले ‘कुनै थेगो आउँछ ?’ भनेर सोध्नुभयो । थेगो भनेकै थाहा थिएन । उहाँले नै ‘ओ माई गड’ जस्तो भनेर प्रस्ट्याउनुभयो । दिमाग घुम्यो । धादिङ मामाघर गएका बेला मामाहरूले ‘ए रातै, शहरबाट भाञ्जी आइन्’ भनेको सुनेकी थिएँ । त्यही ‘ए रातै’ भन्छु भनेर उहाँलाई भनेँ । ठीक छ भनेर त्यही थेगो मिलाएर ‘ए रातै, यी ठूलोबुवा कति कराउन सकेका’ भन्न लगाइयो । वन टेक ओके भयो । इन्डियाका अपरिचित क्यामेराम्यानहरूले तारिफ गरे । डर नमानी, नआत्तिएर, क्यामेरा नहेरी एक्टिङ गरेको देखेर उहाँहरू प्रभावित हुनुभएछ । डाइरेक्टर खुशी भएर ट्रेसा घडी पुरस्कार दिनुभयो । त्यतिबेला नेपालको सरकारले नै दिनको १० रुपैयाँ आईसी पारिश्रमिक दिएको थियो ।  
‘आमा’ले नै तपाईंलाई कला क्षेत्रमा समर्पित हुन प्रेरित गरेको हो ?
त्यसमा कुनै शंका छैन । त्यही फिल्मका कारण यहाँसम्म पुगेँ । परिवार–समाजको धेरै गाली, कुटाइ, पिटाइ खाएँ । त्यसलाई खबरदारीका रूपमा अहिले लिन्छु । नाचगान मेरो बच्चैदेखिको सोख हो । प्रज्ञा प्रतिष्ठानमा २०२१ सालदेखि तीन वर्ष कलाकारिता पढेँ । बालकृष्ण सम नाटकको गुरु हुनुहुन्थ्यो । ऐच्छिक विषय भायलिनको गुरु गोपालनाथ योगी हुनुहुन्थ्यो । १२–१५ जना दाइहरूसँग म एक्लै केटी थिएँ । दाइहरू ‘केटी मान्छेले यस्तो काम गरे उत्ताउली भन्छन् है’ भन्नुहुन्थ्यो । ‘जेसुकै होस्’ भन्दिन्थेँ । सानैदेखि साइकल चढ्थेँ । छोराजस्तो कडा स्वभाव थियो । बालकृष्ण सम गुरुले सिकाएको कुरा जीवनमा छाप बनेर बस्यो । उहाँले कसरी हाँस्ने, बोल्ने सिकाउनुभयो । ‘हाँस्दा मुख खुम्च्याएर हाँस्ने होइन, गाला चाउरी पर्छ’ भन्दै ‘यसरी हाहाहा गरेर हाँस्ने’ भन्नुहुन्थ्यो । घरमा आएर लुकीलुकी अभ्यास गर्थें ।
तपाईंको बिहे प्रसंग पनि कलासँगै जोडिएको छ, हैन ?
राजा महेन्द्रको जन्मदिनमा पुलिस क्लब गयौँ । एकजना पुलिससँग नाच्नुपर्छ भनियो । मेरा लागि ठूलो कुरा थिएन । सई चेतनारायण भुसालसँग ‘तिमी आउने बाटो, दियालोको साटो, दुवै आँखा बालेर’ बोलको गीतमा नाचियो । उहाँ लजाएजस्तो लाग्यो । जेन्टल हुनुहुन्थ्यो । हात चिसो थियो । मैले त च्याप्पै समाइदिएँ । ‘क्या हो भुसाल साप, लाज लाग्यो ?’ भनिदिएँ । त्यसपछि एकअर्कालाई मन पराउन थाल्यौँ । यो कुरा एसपी डीबी लामाले थाहा पाउनुभएछ । उहाँ मेरो धर्मदाइ हुनुहुन्थ्यो । उहाँले हामी दुवैसँग स्पष्टीकरण लिइसकेपछि २०२४ सालमा बिहे गराएर मलाई सिंह ठकुरीबाट भुसाल बनाइदिनुभयो ।
बिहेपछि कलाकारितामा अवरोध भएन ?
झन् खुलेर लाग्न पाएँ । श्रीमान्कै साथ, सहयोगले यहाँ पुगेकी हुँ । बिहेअघि त धेरै दुःख, पीडा, आँधीबेहरी बेहोरियो । बुवामुमाको गाली, सिस्नुपानी, कुटाइको गिन्ती छैन । समाजले सक्ने जति कुरा काट्यो । एक दिन कहिल्यै बिर्सिन्नँ । सुटिङ सकेर रातको ९ बजेतिर घर पुगेँ । ढोकाअगाडि पुगेकी मलाई बुवाले माथिबाट एक गाग्री चिसो पानी खन्याइदिनुभयो । पुसको बेला । चिसो पानीले निथ्रुक्क भएँ । पछि माइली दिदीले ढोका खोल्ने बेला म दाँत किटिरहेकी थिएँ ।
परिवार र समाजले किन त्यसरी हैरान पाथ्र्यो ?
छोरी मान्छेले यस्ता काम गर्नु हुन्न भनिन्थ्यो । ‘डिट्ठाकी छोरीले नाक काट्ने भई’ भनियो । बुवा त जीवनभर मेरा फिल्म, नाटक नहेरी बित्नुभयो । मुमाले ‘कुखुराको एउटा फूल फुटे फुटोस्’ भन्दै कुट्नुहुन्थ्यो । म मुखमुखै लाग्थेँ । सीधै भन्दिन्थेँ, ‘तिमी मेरी सौतेनी आमा हौ ।’ गाउँभरि कुरा चल्थ्यो । बाटोमा केटाहरूले ‘ए रातै’ भन्दै सताउँथे । एक दिन शिव श्रेष्ठले क्षेत्रपाटीमा ‘ए रातै’ भनेर गिज्याउन खोज्यो । मैले जुत्ता झिकेर लखेटेँ । कता भाग्यो कता ! पछि ‘जीवनरेखा’मा छनोट भएपछि शिवलाई मैले नै मेकअप गरिदिएँ । ऊ अहिले पनि भेट हुँदा ती क्षण सम्झिरहन्छ ।
घरको अनुमति नहुँदै ‘आमा’का लागि कलकत्ता कसरी जानुभयो त ?
जिद्दी गरेरै गएँ । कलकता जाँदा उतिबेला राहदानी चाहिँदो रहेछ । बुवाको सिग्नेचर चाहिने भयो । सरकारले लाने भन्ने सुनेर चुप लागेर उता फर्केर सिग्नेचर गर्नुभयो । नत्र त ‘बम्बई लान्छन्’ भन्ने हल्ला हुन्थ्यो । ०२४ सालमा महेन्द्ररत्नभूषण पाउँदा बुवाले हल्का एप्रिसियट गरेको जस्तो लाग्यो । अलइन्डिया रेडियोबाट उहाँले हाम्रो नाम सुन्नुभएछ । मुमालाई भने नाचगान हेर्न–सुन्न मनपर्ने । तर, आफ्नी छोरीले गरेको होइन । साथी कमला श्रेष्ठलाई मुमालाई फकाउन भनेर घर लान्थेँ । साथीहरूसँग मिलेर अभिनय र नाचगानकै रिहर्सल गरेजस्तो गर्थें । छिँढीमा मुमाको साडीको पर्दा बनाएर, मुखबाट म्युजिक बजाएर, पर्दा झरेपछि नाच्ने वा अभिनय गर्ने गरिन्थ्यो । धेरै कन्सेप्टहरू दिमागमा घुम्थे । एक दिन घरको ऐनामा आँखामा थुक लगाएर रोएको अभिनय गर्दै थिएँ । मुमाले ड्याम्म मुड्कीले हिर्काउनुभयो । बोल्नै सकिनँ ।
कलाकार नभएको भए अरू के भइन्थ्यो होला ?
खेलाडी हुन्थेँ । स्कुलमा हुने सबै गेम खेल्थेँ । साह्रै कुटाइ खाएँ । अरूलाई पनि कुटियो । घरकी साहिँली छोरी, कडै थिएँ । सानैदेखि साइकल कम्पिटिसन गर्थें । जसले जे भनोस्–गरोस् । स्कुलबाट भागेर सुटिङ गइदिन्थेँ । आत्मबलकै कारण म कलाकार बनेकी हुँ । म पेटको रोगी मान्छे । पेनकिलर खाँदै सुटिङ गर्थें । सुटिङ स्पटमै गानो सारेर बस्थेँ । पेटको अपरेसन गरेर २८ वटा पत्थर निकालिसकेँ । एकपटक देब्रे हात नचल्ने भइदियो । यूएसमा अपरेसन गर्न डराएर यतै आएर उपचार गरेर सञ्चो भएँ ।
दरबारसँग पनि सम्बन्ध थियो ?
बुवा दरबारकै डिट्ठा हुनुहुन्थ्यो । ठूलोबुवा खरदार, कान्छोबुवा सेक्रेटरी । दरबारसँग परिचित थिएँ । दरबारकाहरूले ‘बिग्री डिट्ठाकी छोरी’ भनिदिँदा सायद बुवालाई पीर पर्दो हो । महेन्द्र, वीरेन्द्र सबैले माया पनि गर्नुहुन्थ्यो । दरबारमा स्वस्थानी गाउन पनि जान्थेँ । ‘मसान’ नाटकमा अभिनय गर्दा राजा महेन्द्रबाट प्रशंसा पाएकी थिएँ ।
थुप्रै भूमिकामा जम्नुभयो । त्यसको रहस्य के हो ?
धेरै डाइरेक्टरसँग काम गर्न पाएँ । प्रकाश थापाले जहिल्यै कमेडियन रोल दिनुभयो । लक्ष्मीनाथ शर्माले ‘सिरियस’, दीपक श्रेष्ठले ‘नेचुरल’ भन्नुभयो । गुरुहरू पनि फरक–फरक पर्नुभयो । बालकृष्ण समको नाटकमा धेरै कराउनुपर्ने, माइक राख्न हुन्न भन्नुहुन्थ्यो । विजय मल्लहरूको नाटकमा सानो स्वरमा बोल्नुपर्ने । कृष्णप्रसाद रिमाल र श्यामदासजीहरू आफ्नै खालका । सबै किसिमकासँग परेर जे आइलाग्यो त्यही गर्न सिकियो । दर्शकले भने नेचुरल अर्थात् अर्गानिक नै मन पराउँदा रहेछन् भन्ने बुझियो ।
हँसाउन सजिलो कि रुवाउन ?
रुवाउन त के गाह्रो ! कोही म¥यो भनेर ग्वाँ रोइदिए सबै उदास भइहाल्छन् । हँसाउन धेरै गाह्रो छ । हँसाउँदा ‘ओभर एक्टिङ भयो’ भनेर स्टेजबाट आउट भनिदिने सम्भावना हुन्छ । कम भयो भने हाई काढ्न थाल्छन् । हास्य कला अचार रहेछ । टक्क हुनुपर्ने । फेरि हास्य विधा समाजको राम्रो ऐना पनि बनिदिनुपर्छ । हाँस्ने कुरा औषधि पनि हो ।
हास्यमै चान्स पाएर म यहाँ छु । सानी हुँदा पनि मन पराउनुभयो । यसरी गाला चाउरी परिसक्दा पनि राम्रै भन्नुहुन्छ । उमेरको बन्देज नहुँदो रहेछ । फेरि यो क्षेत्रमा त्यो समयमा महिलाजस्तो मान्छेले सानोतिनो तपस्या गरेर टिक्न सक्ने कुरै थिएन ।
आफू चाहिँ कस्ता खालका फिल्म हेर्न रुचाउनुहुन्छ ?
भूतका फिल्म हेर्न मज्जा लाग्छ । तर, एक्लै होइन । सबै साथीहरू बसेर । केही फिल्म त भूतकै खेल्न चाहन्थेँ । म पहिल्यैदेखि उटुंग्याही हुँ । अरूलाई तर्साउने । साथीहरूलाई धेरै तर्साइयो । डाइरेक्टर प्रकाश थापालाई त तर्साएँ । निरुता सिंहलाई तर्साएर ऊ अचेल सँगै हिँड्दा मेरो अघि लाग्नै चाहन्न । मैले एकपटक छोरीलाई तर्साएर गल्ती गरेकी छु । छोरीलाई दूध खुवाउँदा मखुन्डो लगाएर हेरिदिएकी थिएँ । चारपाँच दिन मुखमै हेरिन छोरीले । श्रीमान्लाई पनि कहिलेकसो तर्साइन्छ । यूएस जाँदा ज्वाइँले ‘के किन्नुहुन्छ’ भन्दा मखुन्डो भन्थेँ । सुटिङका बेला मेरो तर्साउने कलाबाट बिरामी परेका डान्सर पनि छन् ।
तपाईं त नेता हुने गुण भएको मान्छे भन्दा रहेछन् । राजनीतिमा नलाग्ने ?
साथीभाइले त्यस्तै भन्छन् । तर, मलाई राजनीतिमा रुचि छैन । म सीमित मान्छेको मात्र प्यारी भएर मर्न चाहन्नँ । सबैले रुचाउनुभएको छ । यसमै खुशी छु । विभिन्न प्रस्ताव नआएका होइनन् । सीधै नाइँ भन्दा घमण्डी पनि भने । मलाई कुनै दलले एकदुई वर्ष कुर्सीमा राख्ला । तर, भोलि त यतै आउनुपर्छ । कलाकारले राजनीतिमा लागेर आफ्नो घेरा आफैँले खुम्चाउनु हुन्न भन्ने लाग्छ ।
अहिले फिल्म र हास्य अभिनयको क्षेत्र कस्तो देख्नुहुन्छ ?
दुवै क्षेत्रमा गज्जब प्रगति छ । पर्याप्त कलाकार आएका छन् । तर, कुनैकुनै परिवारसँग बसेर हेर्न नमिल्ने खालका बोली सुन्दा दुःख लाग्छ । म त अब मलाई पनि नयाँ कुरा सिकाउने नयाँ पुस्ता देख्न चाहन्छु । धेरैले मलाई सिनियर भनेर केही कुरा नसिकाई वन टेक गरिदिँदा दुःख लाग्छ । त्यही भएर अहिले दीपक–दीपाले ‘६क्कापञ्जा’मा नयाँ कुरा सिकाउँदा खुशी छु ।
 

छोराछोरीमा आमाको प्रभाव परेन ?
यही प्रभावले होला, कान्छी छोरीले केही फिल्ममा अभिनय गरी । डाक्टर बन्ने उसको सपना आर्थिक अवस्थाका कारण पूरा गर्न सकिएन । लाइन बदली । छोरा डाइरेक्टर बन्छु भन्थ्यो । ‘त्यत्रो पढेर, अनुभव गरेर आएका मान्छे त असफल हुन्छन् भने तँ के गर्न सक्छस्’ भनेर अन्तै लगाइयो । अहिले पनि एउटा फिल्म त डाइरेक्सन गरेरै छाड्छु भन्छ ।
छोराछोरीको सपना टुटाइदिनुभएछ ?
परिस्थितिले टुटाएको हो । आर्थिक अवस्थाले पनि प्रभाव पार्छ । कलाकारको जिन्दगी ‘बाहिर स्वाङ, भित्र ढ्वाङ’ हुन्छ ।
अभिनय के रहेछ ?
टेक्निकल कुरा, मेकअप, ड्रेसअप सिक्न सकिन्छ । तर, अभिनय सिक्ने भन्दा फिल गर्ने कुरा रहेछ । जस्तो छ त्यही हो देखाउने । भित्रैबाट आफैँ आउने हो ।
यो क्षेत्रमा लागेर के पाइयो ?
नामदाम केही कमाइनँ । सारा दर्शकको माया कमाइयो । अब यही समाजको सेवा गर्ने सपना छ ।

 

 

Leave A Comment