नेपाली कार्टुन भन्नेबित्तिकै सबैका दिमागमा आइहाल्ने नाम हो, वात्स्यायन । प्रसिद्ध कार्टुनिस्ट वात्स्यायनसँग मनोज घर्तीमगरले कार्टुनका विभिन्न आयामबारे संवाद गरेका छन् ।
पहिलो कार्टुन कहिले र कहाँ छापियो ?
विसं २०२२ सालमा ‘नयाँ सन्देश’ साप्ताहिकमा छापिएको हो ।
कार्टुन कसरी फुर्छ ?
सामान्यतया बाटोघाटोमा हिँड्दा, चियापसलमा बसेका मान्छेका गफ सुन्दा, गाउँघरमा सामान्य मान्छेले राजनीतिदेखि अनेकन विषयमा कुरा गरिरहेका हुन्छन् । उनीहरूको भनाइ के छ ? त्यो बुझ्छु । त्यसपछि मोटामोटी एउटा ‘कन्सेप्ट’ तयार हुन्छ । त्यसैलाई आधार बनाएर कार्टुन फुर्छ । अर्को कुरा, दैनिक पत्रपत्रिका, तिनमा छापिएका लेख, अन्तर्वार्ता, राजनीतक विचार, विश्लेषण पढ्दा पनि कार्टुन फुर्छ । देशमा कुनै नयाँ ‘इस्यू’ आयो भने त्यसले पनि कार्टुन बनाउन उक्साउँछ ।
तपाईंको कार्टुनमा देखिइरहने कागको खास अर्थ के हो ?
उहिले कान्तिपुर दैनिकमा नारायण वाग्ले ‘कोसेली गफ’ भन्ने स्तम्भ लेख्नुहुन्थ्यो । कान्तिपुरमा मैले पनि केही समय पूर्णकालीन कार्टुनिस्ट भएर काम गरेँ । २०५६ सालतिर हो, नारायणले ‘कोसेलीलाई सामाजिक कार्टुन बनाएर दिने गर्नुप¥यो दाइ’ भन्नुभो । सामाजिक कार्टुनमा केही न केही त फरक दिनुप¥यो भन्ने सोचेँ । त्यसपछि कार्टुनमा एउटा काग राखेँ । कार्टुनमा काग आउनुको अर्थ चाहिँ काग सन्देशबाहक पन्छी हो भन्ने हो । अर्को कुरा काग आउँछ तर, केही पनि बोल्दैन । त्यसैले काग आम मानिसको प्रतीक पनि हो । आम मान्छेको बोली धेरै सुनिँदैन । त्यसैले कार्टुनबाट सुनाउन काग राखिएको हो ।
तपाईंको कार्टुन हेरेर कुनै नेता रिसाएका छन् कि ?
पञ्चायतकालमा पार्टीहरूमा प्रतिबन्ध लगाइँदा एकपटक गिरिजाप्रसाद कोइराला कहाँ गएको थिएँ । त्यसपछि कुनै नेतासँग पनि दोहोरो चिनजान र त्यस्तो निकटता छैन । म कुनै नेताको अफिस र घरमा पनि गएको छैन । नेताको चाकडी गर्ने बानी पनि छैन । उनीहरू मेरो बारेमा के सोच्छन् ? त्यसबारे मलाई केही थाहा छैन । नेताहरूसँग आमनेसामने पनि भेटेको छैन । नेताका आसेपासेले र नजिकका मान्छेले पनि कार्टुनबारे केही कुरा ल्याउँदैनन्÷सुनाउँदैनन् ।
किन कुनै प्रतिक्रिया नआएको होला ?
म पनि छक्क पर्छु । किन कुनै प्रतिक्रिया आएको छैन भनेर । कार्टुनको यति ठूलो महŒव छ, तर यहाँका नेताहरूले हल्काफुल्का तरिकाले लिने गरेको भएर पनि होला । विदेशतिर एउटै कार्टुनले हंगामा मच्चाउँछ । यहाँ जति राम्रो कार्टुन भए पनि मतलब छैन ।
राजनीतिक र सामाजिक विसंगतिलाई कार्टुनमार्फत प्रहार गरिरहनुभएको छ । तर, तपाईंले प्रहार गरेका पात्र र प्रवृत्ति नफेरिएका देख्दा नमज्जा लाग्दैन ?
नमज्जा त लाग्छ । मैले कार्टुनमा प्रहार गरेका पात्र र प्रवृत्ति बिलकुल फेरिएका छैनन् । राजनीतिक व्यवस्था फेरियो, अरू फेरिएन । सामाजिक र राजनीतिक विसंगतिको आवरण फेरियो, भित्री अनुहार सबै उस्तै रह्यो । तर, निराश भएर बस्नुपर्ने अवस्था छैन । सफलता प्राप्त नगरेपछि दुःख त लाग्छ तर यो गर्दै जानुपर्छ । एकदिन सफलता अवश्य मिल्नेछ । कार्टुनकै प्रभावले विश्वका ठूला देशमा परिवर्तन भएका छन् । नेपालमा भएका विभिन्न आन्दोलनमा पनि कार्टुनको महŒवपूर्ण योगदान छ ।
तपाईंको सबैभन्दा बढी प्रतिक्रिया प्र्राप्त कार्टुन कुन हो ?
२०६२ तिर राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिइसकेपछि पत्रिकामा सेन्सर लाग्यो । सबै पत्रिकाका अफिस आर्मीले घे¥यो । आर्मीको स्वीकृतिविना पत्रिका छाप्न नदिने भयो । सम्पादकीय पनि महŒवहीन कुरामा आउन थाल्यो । त्यतिबेला प्रतीक प्रधान काठमाडौँ पोस्टमा हुनुहुन्थ्यो । उहाँले ‘ल दाइ, एउटा गजबको कार्टुन बनाइदिनुप¥यो’ भन्नुभो । मैले कार्टुनमा गिरिजाप्रसाद कोइरालाले संवैधानिक राजतन्त्ररूपी मरेको घोडालाई काँधमा हालेको बनाइदिएँ । यो कार्टुन यति धेरै विवादमा आयो कि म हैरान भएँ । गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका सरकारी मिडियामा त शृंखलाबद्ध रूपमा मेराविरुद्ध आलोचना आयो । ‘राजाप्रति अनास्था फैलाउनेलाई बेलायतमा फाँसी दिइएको उदाहरण छ, वात्स्यायनलाई पनि दिनुपर्छ’ भन्नेहरू पनि देखिए । शैलजा आचार्य, सूर्यबहादुर थापालगायत नेताहरूले त कार्टुनबारे बोलेर जसरी पनि कारबाही गराउनतिर लागे । पञ्चायतकालीन व्यक्तिहरूबाट लगातार आरोप लगाइयो । तर, धेरै नेताले वास्ता गरेनन् । जतिसक्दो विरोध गरे पञ्चायतकालीन नेताहरूले । सरकारी मिडियामा अन्तर्वार्ता दिएर उनीहरू मेराविरुद्ध लागिरहे ।
त्यसपछि के भयो ?
गिरिजाप्रसादले बेबी किङ र संवैधानिक राजाको कुरा झिकेर राजतन्त्रको वकालत गरिरहेका थिए । मैले व्यंग्य गर्न खोजेको नेपाली कांग्रेसलाई थियो । कांग्रेसबाट केही प्रतिक्रिया आएन । दरबारले कान्तिपुर दैनिकलाई पहिलेदेखि नै वक्रदृष्टिले हेरिराखेको थियो । त्यही कार्टुनको विवाद देखाएर दरबारले कान्तिपुरलाई कारबाही गर्ने बहाना झिक्यो । एक दिन नारायण वाग्लेले फोन गरेर ‘ल है दुर्गा दाइ, मैले अपुष्ट समाचार पाएको छु, कान्तिपुर र काठमान्डू पोस्ट दुवैका सम्पादक, प्रकाशक अनि कार्टुनिस्टलाई गिरफ्तार गर्ने कुरो छ, तयार हुनुहोला’ भन्नुभो । पछि आन्दोलन सफल भयो, कसैलाई गिरफ्तार गरिएन । अनि, मैले सन् १९९० देखि २००० सम्म छापिएका कार्टुनबारे किताब निकालेँ । त्यो किताब फाइन प्रिन्टले निकाल्यो । किताब निकाल्ने सिलसिलामा मेरो छोरो अजित रमेशनाथ पाण्डेकहाँ गएछ । कार्टुनको विषयमा मलाई केही पनि जानकारी थिएन । ‘नयाँ सन्देश’को सम्पादक पाण्डे भएकैले उहाँले आइडिया दिनुभएको थियो । त्यही भएर रमेशनाथ परराष्ट्र मन्त्री हुँदा क्याबिनेटमा मलाई गिरफ्तार गर्नेबारे कुरा भएको बेला ‘दुर्गालाई थुन्न हुँदैन’ भनेर रोक्नुभएको रै’छ । धेरै पछि छोरोबाट थाहा पाएँ ।
कम्प्युटरबाट कार्टुन बनाउने अहिलेको ट्रेन्डलाई कसरी हेर्नुहुन्छ ?
राम्रो ट्रेन्ड हो, कार्टुनमा प्रविधिको प्रयोग गर्नु । मलाई पनि कम्प्युटरमा लेख्न मन लाग्छ । त्यसबाट छिटो हुन्छ । फिनिसिङ पनि आउँछ । तर, गुणस्तरीयता अलि कम हुन्छ । यत्रो वर्ष हातैले काम गरेँ । मैले फेरि जिरोबाट सुरु गर्नुपर्छ । यसमा धेरै पछि पर्छु भनेर नै कम्प्युटरतिर लागिनँ । सिक्दासिक्दै मेरो समय जान्छ भन्ने लाग्यो । कम्प्युटरबाट कलर गरिएका कार्टुन सबैका उस्तैउस्तै लाग्छन्, विचार र व्यंग्यको शैली फरक भए पनि । तर, कम्प्युटरको कलरमा मिठास हुँदैन ।
कार्टनुको काम के हो ?
खास गरेर जनमत बनाउनु हो । मनोरञ्जन दिनुका साथसाथै जनचेतना फैलाउनु पनि हो ।
राम्रो कार्टुनका विशेषता के हुन् ?
व्यंग्य खरो हुनुपर्छ, विचार सशक्त हुनुपर्छ, शैली पनि ‘स्ट्रङ’ हुनुपर्छ । कलात्मक पक्ष मजबुत हुनुपर्छ । कार्टुनिस्टसँग चित्रसँग खेल्ने सीप हुनुपर्छ । आम जनताले महसुस गरेको तर भन्न नसकेको कुरा कार्टुनमा आउनुपर्छ । मलाई धेरैले ‘हामीले भन्न नसकेको कुरा भनिदिनुभो’ भन्छन् । त्यो नै राम्रो कुरा हो । विशेषता हो ।
Leave A Comment