वार्षिक करोडभन्दा बढी तलब खानेहरू

बुधबार, ०८ भदौ २०७३, ०९ : ४० दिलीप पौडेल , Kathmandu
वार्षिक करोडभन्दा बढी तलब खानेहरू

वरीयताक्रमअनुसार मुलुकको सबैभन्दा ठूलो को ? सहजै आउने उत्तर हो—‘राष्ट्रपति’ । त्यसो भए सबैभन्दा धेरै तलब खाने को हो त ? यसमा पनि लाग्न सक्छ राष्ट्रपति, प्रधानमन्त्री । यस्तो अनुमान लगाउनु भएको छ भने गलत हुन्छ ।
मुलुकको कार्यकारी पदमा बस्नेभन्दा बैंकको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले धेरै तलब लिने गरेका छन् । पद, शक्ति, सम्मानका हिसाबले राजनीतिक व्यक्तिलाई तलबसँग तुलना गर्न मिल्दैन । तर, तलबसँग तुलना गर्दा राष्ट्रपति, प्रधामन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रीभन्दा धेरै तलब खानेमा वाणिज्य बैंकका सीईओ पर्छन् ।
राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ छ भने उपराष्ट्रपतिको तलब १ लाख ८ हजार २५ रुपैयाँ छ । त्यसो भए बैंकरहरूको तलब कति होला त ? मासिक ५० हजार, एक लाख, दुई लाख वा पाँच लाख रुपैयाँ ? यो अनुमान पनि गलत हुन्छ । तपाईंलाई आश्चार्य लाग्न सक्छ । राष्ट्रपतिको भन्दा धेरै गुणा तलब खान्छन्, बैंकका सीईओहरू । एक बैंकर छन् जसको तलब मासिक साढे १६ लाख रुपैयाँ छ । यो तलब एनआईसी एसियाका सीईओको हो । एनआईसी एसिया बैंकका सीईओको वार्षिक तलब १ करोड ९६ लाख ८९ हजार ५ सय १० रुपैयाँ रहेको छ । वार्षिक तलबलाई एक महिनामा कन्भर्ट गर्दा १६ लाख ४० हजार ७ सय ९२ रुपैयाँ हुन आउँछ । सो बैंकमा सीईओ आर्थिक वर्षको सुरुवातमा शसिन जोशी थिए भने अहिले लक्ष्मण रिसाल रहेका छन् ।
नेपाल राष्ट्र बैंकमा वाणिज्य बैंकहरूले बुझाएको कर्मचारीको तलब र सीइओको वार्षिक तलब विवरणअनुसार वार्षिक १ करोड रुपैयाँभन्दा बढी तलब खाने १० सीईओ रहेका छन् ।
बैंकरमध्ये दोस्रो धेरै तलब खानेमा नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे रहेका छन् । उनको तलब वार्षिक तलब १ करोड ७४ लाख ५७ हजार रुपैयाँ रहेको छ । तेस्रो सूचीमा मेगा बैंकका अनिल केशरी शाहको १ करोड ६२ लाख १५ हजार ४ सय ५, चौथो नबिल बैंकका शसिन जोशीको १ करोड ५८ लाख, पाँचौँमा ग्लोबल आईएमई बैंकका अनिल ज्ञवालीको १ करोड ५४ लाख ११ हजार १ सय ४५ रुपैयाँ रहेको छ ।
त्यसै गरी वार्षिक एक करोड रुपैयाँभन्दा धेरै तलब खानेमा एनएमबी बैंकका सीइओ उपेन्द्र पौडेलको १ करोड ४६ लाख ३० हजार ९ सय ९५ रुपैयाँ, स्टान्डर्ड चार्डडका जोसेफ सिल्भनसको १ करोड ४३ लाख, हिमालयन बैंकका अशोक शम्शेर राणाको १ करोड २२ लाख ३५ हजार २ सय ४६, सिटिजन बैंकका राजनसिंह भण्डारीको १ करोड २० लाख १५ हजार ४ सय ८४, प्राइम बैंंकका सीइओ नारायणदास मानन्धरको वार्षिक तलब १ करोड ९ लाख ७६ हजार रुपैयाँ रहेको राष्ट्र बैंकमा पेश गरेको वित्तीय विवरणमा उल्लेख छ ।
तलबबाहेक बैंकरहरूले बैठक भत्ता, गाडी, आवाससहित अन्य विभिन्न सुविधासमेत पाउने गरेका छन् । बैंकका उच्च कर्मचारीको तलब धेरै भए पनि तल्लो तहका कर्मचारीको तलबमा श्रम शोषणसमेत गर्ने गरेको बैंककै कर्मचारीहरू बताउँछन् । सर्वसाधारणको अर्बौं निक्षेपको सुरक्षा गर्ने र बैंकलाई नाफामा लैजाने उच्च जोखिमयुक्त दायित्व रहेका बैंकरहरूको तलब धेरै हुने गरेको हो । टेड युनियन भएका बैंकमा तलब चित्त बुझ्दो भए पनि टेड युनियन नभएका बैंकका तल्लो तहमा काम गर्ने कर्मचारीको तलब भने सरकारी दरभन्दा कम हुने गरेको छ । बैंकको प्रमुख नेतृत्व सम्हाल्ने सीईओ एकै बैंकमा सीईओ दुई कार्यकालभन्दा धेरै लामो अवधि बस्न भने पाउँदैन । एक कार्यकाल चार वर्षको रहेको हुन्छ । राष्ट्र बैंकले सीईओको तलब घटाउने नीति ल्याए पनि कार्यान्वयनमा आएको छैन ।
पछिल्लो समय बैंक आकर्षक जागिरको गन्तव्य बन्दै गएको छ । निजी क्षेत्रको भरपर्दो करिअर बनाउन थलो बैंकलाई बनाउने गरेका छन् । बैंकहरूमा सबैभन्दा धेरै हिमालयन बैंकलेले कर्मचारी तलबमा ९० करोड ८३ लाख , नबिलले ७७ करोड ३५ लाख रुपैयाँ तलबमा विनियोजन गरेका छन् । वाणिज्य बैंकहरूले आकर्षक तलब दिएर कर्मचारी राख्ने गरेकोले आकर्षण बढेको हो । बैंक तथा वित्तीय संस्थाहरूमा करिब २७ हजार कर्मचारी कार्यरत छन् । वाणिज्य बैंकहरूले वार्षिक करिब १९ अर्ब ८३ लाख रुपैयाँ कर्मचारी तलबमा खर्च गर्ने गरेका छन् ।  

 

Leave A Comment