रूप फेर्दाका सुख–दुःख !

बुधबार, ०८ भदौ २०७३, १० : ३० हिमाल लम्साल , Kathmandu
रूप फेर्दाका सुख–दुःख !

राजु कमेडी ‘नारायण बाजे’
केही समयअघि सिक्किमबाट कार्यक्रमका लागि बोलाइएको थियो । कलाकारको समूहसहित काँकडभिट्टा पुग्दा आयोजक साथीहरू लिन आउनुभएको थियो । ‘खोइ, त  नारायण बाजे ?’  भनेर सोध्नुभयो । साथीहरूले ‘उहाँ नै त हो’ भन्दा धेरै बेरसम्म पत्याउनु नै भएन । पछि कार्यक्रम स्थलमा मेकअप गरेर स्टेजमा उभिएपछि मात्र सबैले पत्याउनुभयो ।
रूप बदलेर अभिनय गर्दा निकै रमाइलो लाग्छ । म २७ वर्षको मान्छे । ‘डिट्ठा सा’ब’मा ६०–७० वर्षे ‘नारायण बाजे’को भूमिकामा अभिनय गर्छु । बाहिर हिँड्दा मान्छेले खासै चिन्दैनन् । अरूले मलाई नचिन्दा पनि रमाइलो नै लाग्छ । धेरैबेर कुराकानी भएपछि मात्रै चिन्नुहुन्छ ।

कमलमणि  नेपाल ‘खुपीका बा’
प्रायः दर्शकले सुरुमा त चिन्दै चिन्दैनन् । ‘तपाईंलाई कता–कता देखे जस्तो लाग्यो’ भनेर निकै बेरसम्म दिमाग तताउँछन् । ‘खुपीका बा’ हो भनेर चिनेपछि गफिन् आउँछन् । सबैले चिन्दैनन् भन्ने पनि होइन । कसैले त सोझै ‘ए खुपीका बा’ भनेर पनि बोलाउँछन् । रूप बदलेर अभिनय गर्दा  मजा नै लाग्छ । मलाई कलाकारलाई उसको चरित्रभन्दा पनि वास्तविक पहिचानले चिन्नुपर्छ जस्तो लाग्छ । कहिलेकाहीँ नचिन्दा आनन्द पनि लाग्छ । जेहोस फरक देखाउन त सफल भइएको रैछु भन्ने अनुभव हुन्छ ।
सुनीता गौतम ‘मैयाँ’

मलाई देख्ने बित्तिकै धेरै दर्शक कन्फ्युज्ड हुन्छन् । कोही त ‘मैयाँको बहिनी’, ‘मैयाँकी छोरी’ हो भनेर सोध्छन् । आठ वर्षअघि आन्टीको चेकअपका लागि ओम हस्पिटल गएकी थिएँ । त्यहाँ झन्डै डेढ सयजनाको लाइन थियो । म पनि त्यहीँ लाइनमा बसेकी थिएँ । कोही खासखुस गर्दै ‘त्यो मैयाँ हो र ?’ भन्थे । कोही ‘होइन होला’ भन्थे । त्यसै क्रममा बुटबलबाट परिवारसहित उपचार गर्न आएकी एकजना हजुरआमालाई निकै खसखस लागेछ । अनि, आफ्नो बुहारीलाई सोध्न पठाउनुभयो । बुहारी पनि डराइडराइ ‘तपाईं मेरी बास्सैको मैयाँ हो र ?’ भनेर सोध्नुभयो । मैले ‘हो’ भनेर उत्तर दिएँ ।
त्यसपछि उनीहरू मलाई यसरी देख्न पाएकोमा दंग परे । ती हजुरआमाले मेरो बारेमा डाक्टरलाई समेत भन्नुभएछ । त्यसपछि त हामीलाई लाइनमा बस्नै परेन । छिट्टै पालो पाइयो ।

किशोर भण्डारी ‘डिट्ठा सा’ब’
मलाई भेट्दा दर्शक अचम्ममा पर्नुहुन्छ । ‘ओहो, तपाईं पो डिट्ठा सा’ब !’ भनेर सोध्नुहुन्छ । पहिला त धेरैले चिन्दैन्थे आजभोलि चाहिँ चिन्न थालेका छन् । बीच बाटोमा मोटरसाइकल नै रोकेर ‘सेल्फी खिचम्’ भन्छन् । ‘तपाईं  त बुढो हुनुहोला भनेको त यङ पो हुनुहुँदो रहेछ’ भन्छन् । आजभोलि त  सेल्फीकलाकार भएजस्तै लाग्छ । जहाँ भेटियो त्यहाँ सेल्फी दिनैपर्छ । कोहीकोहीले त ‘एउटा डाइलग भन्नुप¥यो’ भन्छन् ।
सुरवीर पण्डित ‘दारी बा’
बाटोमा हिँड्डुल गर्दा दर्शकले ‘तपाईंको छोरा धुर्मुसले कति दुःख दिन सकेको होला है ?’ भन्छन् । त्यो सुनेपछि मुसुक्क हाँसी दिन्छु । कोहीले त  ‘धुर्मुस तपाईंको आफ्नै छोरा हो ?’ भनी सोध्छन्  । ‘छोरा त छोरा नै हुन् । तर, सिरियलको छोरा हो’ भन्ने गरेको छु । हुन त छोरा धुर्मुस र बुहारी सुन्तलीले छोराबुहारीकै व्यवहार गर्दै आएका छन् । दुवैजनाले ‘केही दुःख परे भन्न आउनु’ भनेर ढाडस दिँदै आएका छन् । आफ्नै जस्तो माया लाग्छ उनीहरूको । १०–१२ वर्ष सँगै अभिनय गरियो । छोराबुहारीजस्तै लाग्छन् ।
दमन रूपाखेती
लामो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिकामा अभिनय गरेँ । बाटोमा हिँड्डुल गर्दा केही दर्शकले ‘तपाईं त हाम्रो पार्टी सभापति ज्यू हो, जय नेपाल !’ भन्छन् । कुनैले माओवादीसँग गठबन्धन गर्नुभएकोमा धन्यवादसमेत टक्रयाउँछन् । कोहीकोहीले त माओवादीसँग मिलेर सरकार बनाएकोमा धन्यवाद दिन्छन् । कलाकारलाई चिन्दा त खुशी नै लाग्छ । दर्शकले पात्रको आधारमा भए पनि चिन्नु हुँदो रैछ ।
 

Leave A Comment