‘शुक्रराज शास्त्रीको चस्मा’ कथाकार राजेन्द्र पराजुलीको भरखरै प्रकाशित कथासंग्रह हो । तीसको पूर्वाद्र्ध दशकदेखि नै आख्यान लेखनको यात्रा सुरु गरेका पराजुलीका ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’ र ‘सपनामा माक्र्स’ अन्य कथाकृति हुन् । यसका साथै उनका ‘अनायिका’ उपन्यास र ‘भ्रष्ट संवेदना’ कविताकृति पनि प्रकाशित छन् । सामाजिक बेथिति, राजनीतिक विसंगति र भ्रष्ट चरित्रहरूको कथामार्फत भण्डाफोर गर्न सिपालु पराजुलीसँग नयाँ पुस्तक प्रकाशनको सन्दर्भ, कथा लेखन र प्रकाशनको अवस्थालगायत विषयमा फणीन्द्र संगमले संवाद गरेका छन् ।
तपाईं राजनीतिक कथा लेख्न रुचाउनुहुन्छ तर विकृत बन्दै गएको राजनीतिप्रति धेरैको रुचि छैन । यस्तो अवस्थामा पाठकलाई कसरी सम्मोहित गराउनुहुन्छ ?
हो, देशमा राजनीति विकृत छ । खराब राजनीति बलियो भई संसदीय परिपाटीअनुरूप हुने चुनावमा अतिरिक्त खराबले बहुमत पाउने अवस्था छ । सीमित मान्छेका हातमा पुँजी अधिक थुप्रिन गएकाले गरिबी चरम अवस्थामा पुगेको छ । विभेदले हद पार गरेको छ । यसकारण म राजनीति र राजनीतिकर्मीमाथि व्यंग्य कस्न मन पराउँछु । कतिपय नेपालीलाई राजनीति बिग्रेका कारण आफूले दुःख पाएको हो भन्ने तथ्य पनि थाहा छैन, तिनलाई सचेत बनाउने सामथ्र्य पनि अक्षरमा बढी हुन्छ ।
त्यो सामथ्र्यमा पाइन लगाउने चाहिँ कसरी ?
राजनीति भनेको मूल नीति हो, मूल नै फोहोर भएपछि अरू कुरा कसरी सफा हुन सक्ला ? राजनीतिबारे अधिकांश नेपालीलाई चासो छ, तर वैचारिक विखण्डन बलियो बन्दै गएको छ । साँझ–बिहान, चियापसल–ठूला रेस्टुराँ, बच्चा–बूढा सबै नै राजनीतिक कुरा गर्न रुचाउँछन् । तर, राजनीति बिगार्नेलाई थप्पड लगाउन सक्दैनन् । म शब्दहरूमार्फत खराब राजनीतिलाई थप्पड लगाउने प्रयत्नमा छु । रुचिकर र आकर्षक ढंगमा लेख्न सकियो भने राजनीतिक कुरा नै बढी पढिन्छ भन्ने मलाई लाग्छ ।
राजनीतिक कथा लेखिरहँदा उत्पीडित जाति–जनजाति वा मधेशीबारे त खास कथा देखिएन नि । भए पनि ती न्यून छन् । देशमा यत्रो लामो मधेश आन्दोलन भयो । ती विषय उठानमा किन ‘बायस्ड’जस्तो देखिनुभएको ?
जनजाति र मधेशीबारे पनि केही कथा लेखेको छु । जनजाति तथा मधेशीबारे कलम चलाउन ती समुदायबारे गहिरो अध्ययन नगरी लेख्न सकिँदैन । तिनका जीवनसँग साक्षात्कार गर्नु आवश्यक हुन्छ । मलाई जनजातिका कथा लेख्न औधि मन छ, तर तिनका बारेमा गम्भीर अध्ययन तथा ती बस्तीमा गएर केही समय नबसी लेख्दिनँ । कथा लेख्दा अग्लो बार्दलीमा बसेर भुइँमान्छेबारे लेख्नु हुन्न भन्ने मेरो मान्यता छ । मधेशका कथा लेख्दा पनि मैले केही पटक त्यस क्षेत्र गएर मात्रै लेखेको हुँ ।
‘शुक्रराज शास्त्रीको चस्मा’ कथासंग्रहमा उत्पीडितका कथा बढी छन् । मैले कथा लेख्न थालेको करिब साढे तीन दशक लामो अवधिमा सबैभन्दा बढी उत्पीडनका विषयमै लेखेको छु । म सबाल्टर्नका कथा लेख्दै आएको छु । त्यसपछि अन्य विषय आएका छन् । यही संग्रहको ‘माई ! म अहिले जन्मन चाहन्न’ शीर्षकको कथा लेख्न चारपटक मधेश र मुसहर बस्ती पुगेको छु । मुसहरबारे जानकारी भएका मान्छेसँग सल्लाह लिएको छु । ‘बयान’ शीर्षकको कथा होस् या ‘गुलाफी सुट’ मा मूल चरित्र जनजाति र दलित छन् । यी वर्ग किन किनारमा परे भन्ने सन्दर्भलाई लिएर अन्य कथा पनि लेखेको छु ।
क्रान्ति (सशस्त्र युद्ध) र वामपन्थी आन्दोलनप्रति संकेत गरेर तपाईंको कथामा अलि आक्रोशजस्तो देखिन्छ नि । किन ?
पहिलो जनआन्दोलनपछि उदाएका वामपन्थी दलले जनताको समृद्धिका कुरा अन्य दलले भन्दा निकै गरे, गर्दै आएका छन् । थिचोमिचो, असमानता, किनारीकृत वर्ग, जातजाति, दलित, महिला लगायतको आत्मसम्मान उचाल्दै समृद्धितर्फ लैजाने अठोट वामपन्थीले नै बढी गरेका छन् । देशमा बहुदल आएको अढाइ दशकको यो अवधिमा एमाले लगायतका अन्य वामपन्थी दल कुनै न कुनै रूपमा सत्ताबाहिर छैनन् । पछिल्लो समय सशस्त्र द्वन्द्वका माध्यमबाट सत्तामा आएको माओवादीप्रति त जनता झनै आशावादी थिए । तर, किन पूरा गर्न नसक्ने सपना गरिब जनतालाई बाँडिन्छ ? जनता भनेका सपना देखाउने भाँडो र मतभण्डार मात्रै हुन् त ? यी प्रश्नको उत्तर खोज्दा आक्रोशित को नहोला ? मैले सपना साँचेर बसेका गरिबका कथा लेख्दा आक्रोश देखिन्छ भने देखियोस्, मलाई चिन्ता छैन । त्यसमा राजनीतिक नारा वा विचारको बोझ देखिन्छ भने देखियोस् ! प्रमुख कुरा कोरा आक्रोश होइन, त्यसलाई कलात्मक बनाएर कथाका रूपमा प्रस्तुत गर्न सकेँ कि सकिनँ भन्ने कुरामा सधैँ म सचेत हुन्छु ।
एउटा सार्वजनिक कार्यक्रममा भन्नुभएको थियो, ‘नेपालमा पत्रकारिता साहित्यिक बन्दै गयो, साहित्यचाहिँ पत्रकारिता जस्तो बन्न थालेको छ ।’ यसको अर्थ पत्रकारहरू साहित्यकारको रूपमा आउनुलाई गलत भन्न खोज्नुभएको ?
होइन नि ! पत्रकार साहित्यकार बन्नु त झनै राम्रो । किनकि, पत्रकारहरुले रिपोर्टिङका क्रममा धेरै खालका मान्छे तथा घटनाबारे अध्ययन गर्ने–बुझ्ने मौका पाएका हुन्छन् । विषय र पात्रबारे पत्रकारले नै न्याय गर्न सक्छन् । तर, साहित्य भनिएको चिज पत्रकारिताको रिपोर्टिङजस्तो हुन थाल्यो र पत्रकारिताका कतिपय समाचार काल्पनिक बढी हुँदा साहित्यजस्तो हुन पुग्यो भन्ने सन्दर्भमा त्यसो भनेको हुँ ।
कतिपयलाई थाहा नहुन सक्छ— पुराना पत्रकार योगेश उपाध्याय कविता लेख्थे । आख्यानकार मदनमणि दीक्षित पत्रकार पनि हुन् । कुनै समय उनको सम्पादनमा निस्कने साप्ताहिक ‘समीक्षा’ चर्चित पत्रिका थियो । किशोर नेपाल, पुरुषोत्तम दाहाल, हरि अधिकारी, शिव अधिकारी, नारायण ढकाल, नारायण वाग्ले, गुणराज लुइँटेललगायत सबैको दक्षता पत्रकारितामा जसरी छ, त्यसै गरी साहित्यमा पनि छ । यस्ता नाम निकै छन् ।
त्यसो भए पत्रकारद्वारा प्रकाशित पुस्तकको मिडिया कभरेजलाई कसरी लिनुहुन्छ ?
पत्रकारले जे लेखे पनि त्यो साहित्य भइहाल्ने र महान् कृति बनिहाल्ने ढंगमा प्रचारप्रसार भएको देख्दा दिक्क लाग्छ नै । त्यो त केही पत्रकार–प्रकाशक मिलेर चलाएको सिन्डिकेट नै हो । लामो समयदेखि यस्तो सिन्डिकेटप्रति विमति राख्दै आएको छु । आवाज उठाउँदै आएको छु । निरन्तर लेखिरहेकै छु । यस्तो प्रवृत्तिले कुशल लेखकलाई पाखा लगाएको छ । निराश बनाएको छ । कमजोर लेखक साहित्यको सत्तामा पुगेका छन् । यसको अर्थ सबै पत्रकारले झुर नै लेख्छन् भन्न खोजेको होइन । यही कारण पनि पत्रकारिता साहित्य र साहित्य पत्रकारिताजस्तो हुन पुगेको हो । नेपालमा साहित्य नलेख्ने पत्रकार निकै कम छन् ।
राजनीतिभित्र पनि प्रेमलाई च्वास्स मिसाउनुहुन्छ । त्यहाँबाट प्रेम छुट्याउने हो भने के फरक पर्छ ?
राजनीति गर्नेलाई प्रेम गर्न बन्देज छ र ! प्रेम जो कोही पनि गर्न चाहन्छ । अर्को कुरा, कथा त एउटा कलात्मक प्रस्तुति हो, त्यसमा राजनीतिमात्र हुँदा एकांगी वा निरस हुन पुग्छ । प्रेम पनि मिसाउँदा च्वास्स स्वाद आउँछ भन्ने मलाई लाग्छ । राजनीतिकर्मीको आदर्श भाषण र विकृत प्रेम सन्दर्भ उठाउन मन लाग्छ । हाम्रो समाजमा त्यस्ता पात्र बग्रेल्ती छन् । तिनको खोजी गर्नु, पछि लाग्नु र कथामा तिनलाई उतार्नु– कम्ता मज्जा आउँदैन !
‘शुक्रराज शास्त्रीको चस्मा’ भित्र एउटा कथा छ— ‘शारदामैँको झी’ । त्यहाँ पुरानो असनको परिवेशलाई खोतल्नुभएको छ । कसरी जन्मियो यो कथा ?
म राजधानीको पूर्वी क्षेत्र कोटेश्वरको स्थानीय बासिन्दा । कुनै समय यो कहलिएको काँठ थियो । अहिले पो महानगरपालिका वडा नं ३५ भयो ! सानो छँदा किनमेल गर्ने बजार असन वा ललितपुरको मंगलबजार थिए । असनको विम्बले मलाई सधैँ आकर्षित गरिरह्यो । त्यो कचौरा आकारको ऐतिहासिक बजारका व्यापारी, छाडा साँढे, मन्दिर अगाडिका थुप्रै धुपपसल, भीड र त्यसबाट उत्पन्न हुने गन्ध खूब मन पर्छ ।
‘शारदामैँको झी’ यौन मनोविज्ञानका साथै अलिकति सामाजिकता पनि मिसिएको कथा हो । महिलाले भोग्नुपरेका पीडा, छोरा र छोरीबीचको विभेदको पर्खाललाई पनि उतार्ने प्रयास गरेको छु । अहिले त समाज बिस्तारै परिवर्तन हुँदै जान थालेको छ, यो कथाको समय अलि अगाडिको कल्पना गरेको हुँ । चालीसको दशक र अहिलेको समयको केही फ्युजन पनि गरेको छु, त्यो कथामा ।
अहिले कि त कविता कि उपन्यासको चर्चा हुन्छ । यो चर्चाबीचमा कथा अलि टाक्सिएको अनुभव हुँदो रहेछ । कथामै लामो समय साधना गर्नुभएकाले तपाईंको अनुभवले के भन्छ ?
एउटा स्तरीय कथा जहिले पनि पढिन्छ । दोहो¥याइ–तेहे¥याई पढिन्छ भन्ने महसुस स्वयं कथाकार र प्रकाशकले गर्न सक्दा समग्र नेपाली कथाजगत्लाई फाइदा हुन्छ । कम पढिने वा बिक्री हुने भनिएको कथालाई बढी पढिने बनाउन र बेस्ट सेलर पार्न म आफ्नो पनि जिम्मेवारी रहेको देख्छु । त्यसका निम्ति कथा लेख्दा पुनर्लेखन, स्वसम्पादनमा बढी मेहनत गर्दै सल्लाह–सुझाव लिने गरेको छु ।
अहिलेको अवस्थामा नेपाली कथा लेखन संकटमै परेको हो त ?
निश्चय पनि कथा केही संकटमा परेको छ । समर्पित ढंगमा कथा लेख्ने लेखक नै पनि कम छन् । कतिपय कवि त उपन्यासमा आकर्षित हुन थालेका छन् भने कथाकारलाई त्यो प्रिय विधाले नतान्ने सवालै भएन । फुटकर रूपमा कथा पूर्वप्रकाशित हुन्छ नै । कतिपय पाठकले पुस्तककै रूपमा प्रकाशन हुनुपूर्व विभिन्न पत्रपत्रिकामा कथा पढिसकेका हुन सक्छन् । सोही कारण कम बिक्री हुने अनुमानमा प्रकाशकहरु कथासंग्रहमा लगानी गर्ने इच्छा राख्दैनन् । यस्तो संकटलाई चिर्न कथाकारले अलि बढी मेहनत गरेर राम्रो कथा बजारमा ल्याउन सक्दा संकट कम गर्न मद्दत पुग्छ ।
Leave A Comment