देउडामय बन्दै सुदूरपश्चिम

शुक्रबार, १० भदौ २०७३, १० : १५ शुक्रवार , Kathmandu
देउडामय बन्दै सुदूरपश्चिम

विशु त्यार गई ओल्के त्यार गई, आइगई त्यार गौरा ।
धित मरुञ्जेल देउडा खेल्ला, आइजा जोली भौरा ।।
सुदूरपश्चिमका चर्चित देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ले माथिल्लो हरफ लेखेर फेसबुकमार्फत सुदूरपश्चिमेलीको गौरामा देउडा खेल्ने निम्तो दिएका छन् । गौरा पर्वको सुरुवातअघि नै यहाँका पहाडदेखि तराईका जिल्लामा देउडा भाका गुञ्जायमान भइरहेका छन् । सोमवार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्न (गुराउस, चना, कलउँ, केराउ र गहत)) भिजाएर गौरा पर्व सुरु भइसकेको छ ।
गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनक बढेको छ । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महŒवका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकैछिन भए पनि देउडामा रमाउन परदेशिएकाहरू पनि घर फर्कन्छन् । यस वर्षमा पनि छिमेकी देश भारतका विभिन्न शहरमा मजदुरी गर्ने हजारौँ सुदूरपश्चिमेली सीमावर्ती नाकाबाट घर फर्किएका छन् । द्वन्द्वका बेला सुस्ताएको गौरा पर्वले देशमा शान्ति छाएपछि वास्तविक लय पाएको छ ।
गौरामा मंगल गानका रूपमा ‘मांगल’ (फाग) गीत गाउने प्रचलन छ । अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ । सप्तमीका दिन गौरालाई खेतबाट गौराघरसम्म भिœयाउने  गरिन्छ । सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रूपमा गौराको मूर्ति बनाउने चलन छ । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भिœयाउने गर्छन् । अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । यसै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन रहिआएको छ । ‘सप्तमीमा भिœयाइएको गौरा प्रतीकलाई कम्तिमा पनि पाँच रात राख्ने गरिन्छ,’ डोटी मुडभराका पण्डित तथा विश्व हिन्दू महासंघ जिल्ला अध्यक्ष राजप्रसाद जोशीले भने, ‘पाँच रातसम्म गौरा घरमा देउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।’
सुदूरपश्चिमका हिन्दू धर्मावलम्बी महिलाले अनुष्ठान पर्वको रूपमा मनाइने गौरा पर्वमा यतिबेला सुदूरका गाउँबस्ती देउडाले गुञ्जायमान बनेका छन् । सोमवार बिरुडा भिजाएर औपचारिक रूपमा सुरु भएको गौरा पर्वले गाउँबस्ती रंगबिरंगी देखिएको छ । भाद्र शुक्ल सप्तमीको दिन भिœयाइने गौराले अहिले सुदूरपश्चिमका गाउँबस्तीमा रौनकता छाएको छ । सुदूरपश्चिमका गाउँबस्तीमा गौरा घरमा गौरा खेल्न सुरु भइसकेको छ । सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सूक्ष्म रूपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यताअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रूप बनाइ पूजा गर्ने परम्परा रहेको छ । यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । बाह्मण, क्षत्री समुदायका पुरुषले जनै लगाएजस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबोधागो’ लगाउने चलन रहेको पण्डित डिल्लीराज जोशीले बताए । गौरापर्व डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन् ।

‘गौराको व्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयु लामो हुन्छ भन्ने विश्वास रहेको छ,’ डोटी, मान्नाकापडीकी तारादेवी जोशीले भनिन्, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महŒव उत्तिकै छ ।’ डा. आर.डी. प्रभात चटौतको डोट्याली बृहत् शब्दकोषमा पनि हिमालय राजाले छोरी पार्वतीको विवाहका लागि अमुक्ताभरण सप्तमीका दिन महŒवपूर्ण तिथि भएकाले त्यसैको सम्झना स्वरूप गौरा पर्व मनाइने गरिएको उल्लेख गरिएको छ ।
‘गौरा यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व हो,’ देउडा गायक डोटेली कान्छाले भने, ‘देश विदेशमा गएकाहरू समेत फर्केर घर आउने प्रमुख पर्व पनि गौरा नै हो ।’ गौरा पर्वमा बनाइएका बिरुडालाई प्रसादको रूपमा बाँड्नुका साथै गौरामा घर आउन नसकेका आफन्तलाई समेत पठाउने गरिन्छ । यस पर्वमा चैत, भागेश्वरको ढुस्को, धुमारी, तुलसीका गीत तथा विभिन्न देउडा गीत गाएर खेल खेल्ने गरिन्छ । दसैँतिहारभन्दा महŒव दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयामा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाएपछि मात्र ल्याउन पाउने चलन रहेको कैलाली मसुरियाका पण्डित पदमराज ओझाले बताए ।

गौरापर्वमा महिलाले गौरा–महेश्वरको उपासना बसी सुस्वास्थ्य, दीर्घायु, समृद्धि र सुमंगलको कामना गर्ने गरेको गौराप्रेमी बताउँछन् । कलासंस्कृतिका जानकार तीर्थराज पाण्डेका अनुसार गौरा पूजा (अष्टमी) देखि नै देउडा खेल्ने चलन रहेको छ । सुखदुःख, हाँसो–रोदन, हर्ष–विस्मात्, माया–प्रेम, समसामायिक परिस्थिति, विकृति विसंगति देउडामा व्यक्त हुने गरेको धारणा राख्दै पाण्डेले भने, ‘गौरा र देउडा पर्वले आपसी भाइचारा, शान्ति, समृद्धि तथा सहअस्तित्वको सूत्रमा बाँध्ने गरेको छ ।’
गौरा अष्टमीका दिन पूजाआजा गरिसकेपछि महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले घरपरिवारमा सुख, शान्ति र परिवारका सदस्यहरूको दीर्घायुका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ । बिरुडालाई प्रसादका रूपमा बाँड्ने चलन पनि छ । बिरुडा भुटेर खानेसमेत गरिन्छ ।
व्रतका क्रममा व्रतालु महिलाले ‘दुबोधागो’ पहिरन्छन् । दुबो–धागोको निकै महŒव रहने डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तथा संस्कृतिविद् डा. बद्री विनाडी बताउँछन् । ‘गौरामा महिलाहरूले ग्रहण गर्ने दुबोधागोको महŒव पुरुषले लाउने जनैसरह नै हुन्छ । व्रतालुले दुबोधागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन्,’ उनले भने । उनका अनुसार दुबोधागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातओटा धागोको डोरा) भनिएको छ । ‘शास्त्रअनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुबोधागो पहिरिनुपर्छ भनिएको छ,’ उनले भने ।
गौरालाई यस क्षेत्रमा ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ लगायत पनि भन्ने गरिन्छ । यी सबैको अर्थ पार्वती नै रहेको जानकारहरू बताउँछन्  । गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौँदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको जानकार तर्क गर्छन् । प्राध्यापक विनाडीकै कथनअनुसार पनि गौराले गौरा यस क्षेत्रको लोकसंस्कृति, लोकसाहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र भेषभूषाको प्रस्तुति गर्ने थलो हो । ‘यस क्षेत्रका यति धेरै पहिचानका विम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन,’ उनी भन्छन्, ‘यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध देउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन् ।’ यस क्षेत्रको कला, संस्कृति, भेषभूषाको अध्ययन गर्न चाहनेहरूका लागि गौराको समय महŒवपूर्ण रहने उनी बताउँछन् । गौरामा महिला नै व्रत बस्छन् तर पुरुष तथा बालबालिकाले पनि गौरालाई उत्तिकै महŒव दिन्छन् । गौराका समयमा व्रतालुका घरमा माछा, मासुलगायत परिकार वर्जित गरिन्छन् । गौरा समाजमा सात्विक विचार भावनाको विकासमा समेत सहयोग पु¥याउने पर्व रहेको जानकारहरू बताउँछन् ।
    गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यंग्य गरिन्छ । महिलाहरूले यस अवसरमा आफ्ना सुखदुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।

सशस्त्र द्वन्द्वका बेला गौरा पर्व ओझेलमा पर्दै गएकोमा अहिले भने पुरानै रौनकता आएको देउडाप्रेमीहरू बताउँछन् । गौरामा केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलनसमेत चलिआएको छ ।
सुदूरपश्चिममा मात्र नभई अहिले देउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ । बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडा सबैको आकर्षण बन्ने गरेको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने सुदूरपश्चिम क्षेत्रबाहेकका पनि देउडामा रमाउने गर्छन् । केही संघसंस्थाले यस अवसरमा देउडा प्रतियोगिताको समेत आयोजना गर्ने गरेका छन् । यो पर्व सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँबस्ती, कुमाऊँ, गढवालमा समेत धुमधामका साथ मनाइन्छ ।

Leave A Comment