सर्वनाममा 'जूनकीरी' को सपना र बाध्यता

शनिबार, ११ भदौ २०७३, ०० : ३० शुक्रवार
सर्वनाममा 'जूनकीरी' को सपना र बाध्यता

भदौ–३ गतेबाट काठमाण्डौं, कालिकास्थानस्थित सर्वनाम थिएटरमा नानी थापाको ‘'जूनकीरी' नामक एकल नाटक मञ्चन भइरहेको छ । नाटकमा नानी स्वयम्ले लेखन, निर्देशन र अभिनय गरेकी छिन् । 

गाउँकी सोझी युवती शहर पसेपछि विभिन्न बाध्यतामा हेलिएर कसरी ‘कलगर्ल’ बन्छिन् ? नाटकले यस्तै प्रश्नहरुको जवाफ दिने प्रयत्न गरेको छ । उच्च शिक्षाको साधारण सपनाको डुंगा चढेर सहर पुगेकी एउटी युवती उमेर, समय र पूँजीवादी संक्रमणग्रस्त परिवेशले कसरी दुर्घटनामा पर्छिन् ? नाटकको कथा यही हो ।  

उनको यो पाँचौ एकल नाटक हो । उनले यसअघि ‘अ ब्युटिफूल वुमन’, ‘बेचिएकी चेली’, ‘विद्रोह’, ‘म पनि कम छैन’जस्ता नाटकमा अभिनय गरेकी छिन् । 
‘जूनकीरीले नाटकभित्र हासो, रोदन, मिलन, बिछोड,क्रोध, शृङार, भयानक लगायत अभिनयका नौवटै रस दिने कोशिष गरेकी छे,’ नानीले भनिन्, ‘हाम्रै वरिपरि भैरहेको र हामीले दैनिक जिवनमा देखिरहेका, सुनिरहेका, भोगिरहेका र अनुभव गरिरहेका घटना र पात्रहरुको प्रतिनिधि पनि हो ‘'जूनकीरी'।’ 

नाटकमा प्रशासनको कमजोरी, महिलाको वैदेशिक रोजगारीको बाध्यता, ब्यूटी पेजेन्टहरुको विकृतिदेखि माओवादी जनयुद्धका विषयसमेत विषय र विम्बका रुपमा आउँछन् । करिब सवा १ घण्टा अबधिको यो नाटक भदौ ११ गतेसम्म चल्नेछ । 
 

Leave A Comment