‘अभिनय मेरो सोख हो’

शनिबार, ११ भदौ २०७३, ११ : ५१ दिलीप पौडेल , Kathmandu
‘अभिनय मेरो सोख हो’

आयुर्वेद शिक्षा लिएका अर्घाखाँचीका ३३ वर्षीय हरि अधिकारी १० वर्षयता हर्बल सामग्री उत्पादन तथा बिक्रीवितरणमा सक्रिय छन् । र, उनी मोडलिङमा पनि आबद्ध छन् । अधिकारी समूहले वाइल्ड हब्सबाट हर्बलका नयाँ उत्पादन बजारमा ल्याएको छ । कुमकुम हर्बल इन्ड्रस्ट्रिजका अध्यक्षसमेत रहेका वाइल्ड हब्र्सका सञ्चालक अधिकारीसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः


सानो छँदा के बन्ने लक्ष्य थियोे ?
अभिनय गर्ने इच्छा थियो । फिल्म निर्देशक बन्छु भन्ने लाग्थ्यो । तर, पढाइ अर्को क्षेत्रमा भएकाले अहिले अल्पकालीन ढंगले सोखका रूपमा मोडलिङलाई अघि बढाएको छु ।

केमा रुचि छ ?
म्युजिक भिडियो, विज्ञापनमा मोडलिङ गर्छु । अभिनय मेरो सोख हो ।  


मन पर्ने निर्देशक ?
दीपेन्द्र के खनाल, नारायण रायमाझी ।
मन पर्ने नायक/नायिका ?
दयाहाङ राई र प्रियंका कार्की ।

पुस्तक पढ्नुहुन्छ ?
पढ्छु ।

मन परेको किताब ?
‘कर्नाली ब्लुज’ । त्यो मेरो आफ्नै कथा हो कि जस्तो लाग्छ ।

कसको प्रेरणाले आयुर्वेद क्षेत्रमा आउनुभयो ?
घरनजिकै एकजना आयुर्वेदिक डाक्टर हुनुहुन्थ्यो । उहाँको उपचार गाउँभरि लोकप्रिय थियो । त्यसैबाट प्रभावित भएर आयुर्वेदको शिक्षा लिएँ र यस क्षेत्रमा छिरेँ ।

व्यवसाय पनि थाल्नुभयो ?
हो त । क्लिनिकमा उपचार पनि गर्छु । आयुर्वेद पढ्दा हामीलाई औषधि तयार गर्नेदेखि उपचार पद्धति सबै सिकाइन्छ । त्यसलाई नै व्यहारमा उतारेको हँु ।

हर्बलमा के उत्पादन गर्नुभएको छ ?
हर्बल, ब्युटीसँग सम्बन्धित केसा, पेनगार्ड तेल र ग्लोअप  उत्पादन गरेका छौँ । अनुहार, मांसपेशीसहित रौँमा प्रयोग हुने स्वदेशी जडीबुटीयुक्त वस्तु रहेका छन् ।

कुन वर्ग लक्षित छन् तपाईंका उत्पादन ?
हाम्रा उत्पादन सुन्दरतासम्म मात्र सीमित छैनन् । तीबाट उपचार पनि हुने भएकाले बालबालिका, युवादेखि वृद्धवृद्धा सबैले प्रयोग गर्छन् ।
 
कस्ता समस्या भएकाले प्रयोग गर्दा हुन्छ यी उत्पादन ?
रौँ झर्ने, तालु खुइलिएकाले केसा हेयर ट्रान्स प्लान्टको स्याम्पू र तेल प्रयोग गर्न सक्छन् । मर्केको, सड्केको, बाथ, ढाड कम्मर दुख्नेको लागि पेनगार्ड तेल छ भने अनुहारमा देखिएका चायाँपोतो, दागधब्बा हटाउनका लागि स्मार्ट ग्लोअपअन्तर्गत स्पोट गार्ड क्रिम र पिम्पल फेसवास ढुक्कसँग प्रयोग गर्न सकिन्छ ।

बजार कस्तो छ ?
बजार निकै प्रतिस्पर्धी छ । केमिकल उत्पादनलाई हर्बल भनेर बेच्ने चलन छ । तर, हामीले शतप्रतिशत नेपाली जडीबुटी प्रयोग गरेर तयार गरेको हर्बल प्रोडक्ट तयार गरेका छौँ ।
 
उद्योग सञ्चालनमा कस्ता समस्या छन् ?
जडीबुटीबाहेक कच्चापदार्थ भारतबाट ल्याउनुपर्छ । तयारी सामानभन्दा चर्को मूल्य हुँदा साना लगानीका उद्योग मर्कामा पर्छन् । तयारी सामान कम मूल्यांकन गरेर भन्सारबाट छिराउँदा प्रतिस्पर्धा गर्न कठिन छ । सरकारले यो विषयमा संवेदनशील भए उद्योगलाई ठूलो राहत हुने थियो ।

चुनौती के–कस्ता छन् ?
मानव स्वास्थ्य र सौन्दर्यसँग जोडिएको विषय भएकाले निकै संवेदनशील भएर काम गर्नुपर्छ । हरेक व्यक्तिले दैनिक रूपमा प्रयोग हुने भएकाले साइड इफेक्टमा निकै चनाखो हुनुपर्ने अवस्था छ ।

तपाईंको उत्पादन किन प्रयोग गर्ने ?
हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ । यो व्यवसायबाट पलायन हुनु छैन । एकभन्दा दशकबढी समय यही क्षेत्रमा काम गरेकाले भविष्य पनि यसैमा बनाउनुछ । त्यसैले हामीले उत्पादन गरेका वस्तुको प्रयोगमा ग्यारेन्टी गर्छौं । गुनासा भए हामी सामना गर्न तयार छौँ । ‘नेपालको जडीबुटी नेपालकै जनताका लागि’ भन्ने नारासहित काम गरिरहेका छौँ ।

व्यावसायिक वातावरण कस्तो छ ?
साना उद्योगीलाई सरकारले प्राथमिकता दिएको छैन । देशको अस्थिर राजनीतिक परिस्थितिले उद्योगमा असर पु¥याएको छ । कच्चा पदार्थको भन्सार दरमा सहुलियत दिएमा सजिलो हुन्थ्यो ।
व्यवसायमा आउन चाहनेलाई सुझाव ?
लाखौँ खर्च गरेर विदेश जानुभन्दा यही दुःख गरे कहीँ भौतारिनु पर्दैन । नेपालकै वनजंगलमा रहेका हर्रो, बर्रो, अमलालगायत दर्जनौँ जडीबुटी संकलन गरेमात्र पुग्छ । सानो भए पनि आफ्नो कामबाट सुरु ग¥यो भने सजिलै सफल भइन्छ ।
 

Leave A Comment