ठूलो लगानी गर्न नपर्ने । आफ्नो सीप आफ्नै उद्योगमा प्रयोग गर्न पाइने । जोखिम कम, आम्दानी सन्तोषजनक । आफ्नै घरमा बसेर तयार गरेका सामग्रीले सजिलै बजार पाउने भएपछि हस्तकलाका सामग्री उत्पादनमा आकर्षण बढेको छ ।
ढुंगाको मूर्ति बनाउने काठमाडौँको भीमसेनवालका रूपेश वज्राचार्य रोजगारीका लागि कतै भौतारिएका छैनन् । बाउबाजेले गर्दै आएको मूर्ति बनाउने पेशाबाट उनी सन्तुष्ट छन् । वज्राचार्यले ढुंगामा भगवानका आकृति कोरेर मासिक ३० हजार कमाउँछन् । आफ्नो काम आफ्ना लागि रोजगारी र व्यवसाय दुवै भएको रूपेश बताउँछन् ।
वज्राचार्य मात्र होइनन् मैतीदेवीको भित्री गल्लीमा तान बुन्दै आएकी रामेछापकी प्रमिला अधिकारीले पनि हाइसन्चोसँग जीवन चलाएकी छिन् । अरूकोमा काम गर्नुभन्दा थोरै लगानी गरेर तान बुन्दै आएको उनले बताइन् । ‘बालबच्चा पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन,’ एकल महिला अधिकारीले भनिन्, ‘हातको सीपलाई यसै प्रयोग गरेको छु ।’ उनले पनि मासिक करिब २५ हजार रुपैयाँ कमाउने बताइन् ।
सानो लगानीमा हाते सीपको प्रयोग गरी हस्तकलाका उद्योगले लाखौँलाई रोजीरोटी दिएको छ । स्वदेशी तथा विदेशी बजारमा बिक्री हुने हस्तकलाका सामानप्रति सबैको आकर्षण बढेको छ । हस्तकलाका सामान प्रयोगसहित डेकोरेसनका लागि प्रयोग हुन थालेका छन् ।
हस्तकलामा करिब ११ लाखले प्रत्यक्ष रोजगारी पाएको नेपाल हस्तकला महासंघले जनाएको छ । पुरुषको तुलनामा महिला यस उद्योगमा बढी आबद्ध छन् । यसले उद्यमशीलता बढाएको छ ।
कपडा, बुटिक, नेपाली कागजका सामग्री, चाँदीका गहना, धातुजन्य सामान, ह्यान्डमेड पेपर प्रो, काष्ठकला सामान, सिसा, छालाका सामान, इन्सेन्स, थान्का, हाड र सिङबाट निर्मित वस्तु, सेरामिक्स, दाना, बासका सामान , चट्टान, प्लास्टिकका सामान, क्रिस्टलका सामान उत्पादनमा रोजगारी पाएका हुन् । सानो लगानीमा परम्परागत सीपको प्रयोग हुने भएकाले पुख्र्यौली पेशाको रूपमा पनि यसलाई लिएका छन् । अधिकांशले आफँै उद्योग सञ्चालन गरेका छन् भने केही उद्योगीले लगानी गरेर रोजगारीसमेत दिएका छन् । उपत्यकासहित दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, बागलुङलगायत जिल्लामा संस्थागत रूपमा घरेलु उद्योग संघ स्थापना गरेर काम गरिरहेका छन् ।
स्वदेशी बजारसँगै वार्षिक अर्बांै रुपैयाँको हस्तकलाका सामान निर्यात हुने गरेको हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । ‘यो वर्ष भूकम्प र नाकाबन्दीले उत्पादन र निर्यातमा असर पुग्यो,’ उनले भने, ‘हस्तकलाले स्वरोजगार सिर्जना गर्न टेवा पु¥याएको छ ।’ महासंघका अनुसार हस्तकलाका सामग्री वार्षिक करिब पाँच अर्ब विदेशी बजारमा निर्यात हुने गरेको छ । आर्थिक वर्ष ०७२÷७३ मा नेपालमा उत्पादित हस्तकलाका सामान ४ अर्ब ७६ करोड २४ लाख ६० हजार बराबरको विदेशमा निर्यात भएको छ । ‘यो वर्ष भूकम्पले कम निर्यात भएको छ,’ उनले भने, ‘वार्षिक रूपमा स्वदेशी र विदेशी बजारमा करिब १२ अर्ब रुपैयाँको कारोबार हुन्छ ।’
मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी प्रविधिको प्रयोग गर्न सके रोजगारी वृद्धि र निर्यात वृद्धि हुँदै जाने महासंघले जनाएको छ । रोजगारी र विदेशी मुद्रा आर्जन गर्ने माध्यम भएकाले सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् । ‘यो व्यवसायमा सरकारले सफ्ट लोनको व्यवस्था गर्नुपर्छ,’ अध्यक्ष शाक्यले भने, ‘औद्योगिक व्यवस्थापन गर्न सके नेपालको हस्तकलाको भविष्य उज्जवल रहेको छ ।’ उनले अहिले प्रयोग गर्दै आएको प्रविधिलाई आधुनिकीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
कुल निर्यातमध्ये सबैभन्दा धेरै ३० प्रतिशत अमेरिका निर्यात हुन्छ । महासंघका महानिर्देशक गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएको बताए । उनका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान बिक्री हुन्छ । हस्तकलाको बजार प्रवद्र्धनको स्वदेश तथा विदेशमा मेलामा हुने गर्छन् । धनुषाबाट काठमाडौँ आई आर्टको व्यापार गर्ने लक्ष्मण मण्डलले सरकारले बजारको व्यवस्था गरे थप रोजगारी सिर्जना गर्न सकिने बताए । ‘आर्टको माग विदेशी बजारमा राम्रो छ,’ यादवले भने, ‘सरकारले मार्केटिङमा सघाए हाम्रो पेशामा टेवा पुग्ने थियो ।’
Leave A Comment